काभ्रे । काभ्रेपलाञ्चोक जिल्लामा कोरोनाको सङक्रमण बढ्न थालेपछि ‘फेस्टुफेस’ पढाउँदै आएका विद्यालय बन्द हुन थालेका छन । धुलिखेल नगरपालिका र मण्डनदेउपुर नगरपालिकाले विद्यालयहरुलाई ‘फेस्टुफेस’ पढाई बन्द गर्न निर्देशन दिएका हुन । जिल्लामा असोज महिनाको पहिलो हप्ता देखी विद्यालयहरु सञ्चालन हुँदै आएका छन ।

धुलिखेल नगरपालिका शिक्षा शाखा प्रमुख (उपसचिव) माधवप्रसाद शर्माले विद्यालयहरुले प्रत्येक्ष विधि (फेस्टुफेस) बाट गराइरहेको पठनपाठन बन्द गर्न निर्देशन दिएको बताउनुभयो । नगरले कोभिड–१९ को जोखिम १२ वटै वडामा रहेकाले अर्काे सूचना प्रकाशित नभएसम्मका लागि विद्यालयमा सञ्चालन भएका प्रत्येक्ष विधि पठनपाठन तत्काल बन्द गरी बैकल्पिक विधि अपनाउन भनेको छ । अनलाइन र दुर शिक्षा माध्यमका कक्षाहरु मात्र सञ्चालन गर्न सूचनामा भनिएको छ । सूचनालाई बेवास्ता गरी प्रत्येक्ष विधिबाट विद्यालयमा पठनपाठन गरेमा त्यसबाट हुने जोखिमको सम्पूर्ण जिम्मेवारी प्रधानध्यापक र विद्यालय व्यवस्थापन समितिको हुने सूचनामा उल्लेख छ ।
जिल्लाका अन्य ११ वटा पालिकाले भने ‘फेस्टुफेस’ पठनपाठन गरिरहेका छन । जिल्लाका करिब नौ सयमा कोरोना सङक्रमण पुष्टि भइसकेको छ ।

मण्डनदेउपुर नगरपालिका कार्यालयबाट अत्यावश्यक बाहेक सेवा बन्द
मण्डनदेउपुर नगरपालिकाले पनि सामाजिक क्षेत्रमा कार्यरत व्यक्ति तथा परिवार समुदायमा समेत कोरोना देखिएकाले अर्काे सूचना जारी नगरेसम्मका लागि नगरपालिकाको कार्यालय, वडा कार्यालय, विद्यालय लगायत सम्पूर्ण सरकारी तथा गैर सरकारी संघसंस्थाहरुबाट हुने सेवा अनिश्चितकालिन बन्द गरिएको छ । मण्डनदेउपुर नगरपालिका कोभिड संयोजक दीपक घिमिरेले नगरपालिकासँग प्रत्येक्ष सम्पर्कमा रहेका परिवारका सदस्यलाई कोरोना पोजेटिभ देखिएकाले तत्काललाई सबै बन्द गरिएको जानकारी दिनुभयो । मण्डनदेउपुरमा १८ जनामा सङक्रण देखिएको छ । नगरले जारी गरेको सूचनामा भेला, गोष्ठि लगायतका काम नगर्न तथा बजार क्षेत्रमा दैनिक उपभोग्य सामग्री बाहेकका सम्पूर्ण होटल, पसल तथा व्यवसायहरु बन्द गर्न गराउन र अनावश्यक जमघट तथा भेटघाट नगर्न नगराउन निर्देशन दिएको छ ।

मधुसुधन तिमल्सिनाले गोरखापत्रमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्