काठमाडौं । शिक्षा क्षेत्रका समस्या, चुनौती र सुधारका विषयलाई प्रभावकारी रूपमा उठान गर्न शिक्षा पत्रकारहरूको क्षमता विकास आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन् ।

शिक्षा पत्रकार समूह (ईजेजी) ले शुक्रबार काठमाडौंमा आयोजना गरेको एकदिने अभिमुखीकरण कार्यक्रममा वक्ताहरूले शिक्षा पत्रकारिताले केवल घटना र कार्यक्रमको विवरण मात्र नभई शिक्षा नीतिका कमजोरी, कार्यान्वयनका समस्या र सुधारका सम्भावनालाई पनि उजागर गर्नुपर्ने बताएका हुन् ।

कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार तथा शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहालले शिक्षा पत्रकारिता नीतिगत विषयसँग जोडिनुपर्ने बताए । उनले विद्यालय, विश्वविद्यालय र शिक्षा प्रणालीमा देखिएका समस्याको गहिरो अध्ययन गरी तथ्यमा आधारित समाचार सामग्री तयार गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै, शिक्षा नीति तथा अभ्यास केन्द्रका कार्यक्रम संयोजक टिका भट्टराईले शिक्षा क्षेत्रका विषयमा रिपोर्टिङ गर्दा नीतिदेखि व्यवहारसम्मका पक्षलाई बुझ्न आवश्यक रहेको बताए । स्थानीय तहले शिक्षामा गरिरहेका प्रयास, बजेटको उपयोग र विद्यालयको वास्तविक अवस्थाबारे पत्रकारहरूले नजिकबाट अध्ययन गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा विद्यालय शिक्षा, शैक्षिक बजेट, दुर्गम क्षेत्रका समस्या, शिक्षाको गुणस्तर, नीति निर्माण र कार्यान्वयनबीचको अन्तरलगायत विषयमा छलफल गरिएको थियो । शैक्षिक मुद्दालाई प्राथमिकताका साथ समाचारमा कसरी स्थान दिने भन्ने विषयमा पनि सहभागीहरूबीच अनुभव आदानप्रदान गरिएको थियो ।

अभिमुखीकरणमा विभिन्न सञ्चार माध्यममा कार्यरत ३५ भन्दा बढी शिक्षा पत्रकारको सहभागिता रहेको थियो । सहभागीहरूले यस्ता कार्यक्रमले शिक्षा क्षेत्रका विषयमा अझ गहिरिएर काम गर्न प्रेरणा र नयाँ दृष्टिकोण दिएको बताएका छन् ।

 शिक्षा क्षेत्रका महत्वपूर्ण मुद्दालाई सार्वजनिक बहसमा ल्याउन र पत्रकारहरूको पेशागत क्षमता बढाउन आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्ने शिक्षा पत्रकार समूहकी अध्यक्ष निर्जला कक्षपतिले जानकारी दिइन् ।

 

प्रतिकृया दिनुहोस्