
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्थालगायतका सुधारात्मक प्रयासका कारण यस वर्ष माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा समयमै प्रकाशन गर्न सम्भव भएको बताएका छन् ।
सोमबार राति एसईईको परीक्षाफल सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै मन्त्री पोखरेलले परीक्षा सम्पन्न भएको करिब एक महिनामै नतिजा सार्वजनिक हुनु नेपालको शिक्षा प्रशासनका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, “एसईई २०८२ को परीक्षाफल परीक्षा सम्पन्न भएको करिब एक महिनामै सार्वजनिक हुनु नेपालको शिक्षा प्रशासनका लागि केवल एउटा नियमित प्रक्रिया मात्र होइन, समयमै सेवा प्रवाह गर्न सक्ने राज्य संयन्त्रको सामूहिक प्रतिबद्धता र कार्यक्षमताको महत्त्वपूर्ण उदाहरण पनि हो।”
मन्त्री पोखरेलले नतिजा प्रकाशनका लागि दिनरात खटिने शिक्षक–शिक्षिका, कर्मचारी, राष्ट्रिय परीक्षा बोर्ड, सुरक्षा निकाय तथा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा योगदान पुर्याउने सबैप्रति आभार व्यक्त गरेका छन् । उनले सफल विद्यार्थीलाई बधाई दिँदै आगामी शैक्षिक यात्राका लागि शुभकामना पनि दिएका छन् ।
उनका अनुसार एसईईमा देखिएको गति र सुधारलाई कक्षा ११–१२, स्नातक तथा स्नातकोत्तर तहसम्म विस्तार गर्दै परीक्षा प्रणालीलाई थप व्यवस्थित, छिटो, विश्वसनीय र विद्यार्थीमैत्री बनाउने दिशामा मन्त्रालय प्रतिबद्ध छ ।
यस पटक अपेक्षाअनुसार नतिजा प्राप्त गर्न नसकेका विद्यार्थीलाई निराश नहुन आग्रह गर्दै मन्त्री पोखरेलले एउटा परीक्षाले मात्र जीवनको सम्पूर्ण भविष्य निर्धारण नगर्ने बताएका छन् । उनले धैर्य, आत्मविश्वास र पुनः प्रयास गर्ने साहसलाई सफलताको वास्तविक आधारका रूपमा लिन विद्यार्थीलाई सुझाव दिएका छन् ।
