एसईई नतिजामा चित्त नबुझे पुनर्योगको व्यवस्था, जेठ १ देखि आवेदन दिन सकिने

विद्यार्थीले उत्तरपुस्तिका हेर्नसमेत पाउने

Avatar photo

Byएजुकेशन पाटी

२९ बैशाख २०८३, मंगलवार

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गरेको छ । बोर्डले प्रकाशित नतिजामा चित्त नबुझ्ने परीक्षार्थीका लागि पुनर्योग, उत्तरपुस्तिका अवलोकन र पुनः परीक्षणको व्यवस्था गरिएको जनाएको छ ।

बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालद्वारा सोमबार जारी विज्ञप्तिअनुसार पुनर्योग गर्न चाहने परीक्षार्थीले जेठ १ गतेदेखि जेठ ७ गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । यसका लागि विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्डको वेबसाइटमा गई तोकिएको फाराम भर्नुपर्नेछ ।

बोर्डका अनुसार पुनर्योगसँगै विद्यार्थीले आफ्नो उत्तरपुस्तिका हेर्न र आवश्यक परे पुनः परीक्षण गराउनसमेत पाउनेछन् । नतिजामा देखिएको अंक, ग्रेड वा अन्य विवरणमा चित्त नबुझेका विद्यार्थीलाई लक्षित गरी यस्तो व्यवस्था गरिएको हो ।

यस वर्ष नियमिततर्फ एसईईमा ४ लाख ३० हजार ६६७ परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये २ लाख ८४ हजार १६० जना अर्थात् ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यस्तै १ लाख ४६ हजार ५०७ जना अर्थात् ३४.०२ प्रतिशत विद्यार्थी नन–ग्रेडेड भएका छन् ।

नन–ग्रेडेड भएका विद्यार्थीका लागि पूरक परीक्षा असार १ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ ।

प्रतिकृया दिनुहोस्