काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष सञ्चालित कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको छ । गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा शुक्रबार बिहान सार्वजनिक गरिएको हो ।

बोर्डका अनुसार नियमिततर्फ परीक्षामा सहभागी ३ लाख ३२ हजार २४१ विद्यार्थीमध्ये २ लाख ३१ हजार ७७० जनाले सबै विषयमा ग्रेड प्राप्त गर्दै उत्तीर्ण भएका छन् । यो कुल परीक्षार्थीको ६९.७५ प्रतिशत हो ।

त्यसैगरी, १ लाख ४ सय ७१ विद्यार्थीले ‘एनजी’ (नन–ग्रेडेड) प्राप्त गरेका छन्, जुन नियमिततर्फका कुल परीक्षार्थीको ३०.२५ प्रतिशत हो ।

यस वर्ष नियमित र आंशिक गरी कुल ४ लाख ९५ हजार १७० विद्यार्थी परीक्षामा सहभागी भएका थिए । तीमध्ये आंशिकतर्फका ३६ हजार ४२० जनासहित कुल २ लाख ६८ हजार १९० विद्यार्थी उत्तीर्ण भएका छन् । समग्रतर्फ उत्तीर्ण प्रतिशत ६४.३१ रहेको बोर्डले जनाएको छ।

परीक्षाका क्रममा अमर्यादित गतिविधिमा संलग्न ४० जनाको परीक्षा रद्द गरिएको छ ।

कुन जीपीएमा कति विद्यार्थी ?

बोर्डले सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा धेरै विद्यार्थी २.८१ देखि ३.२० जीपीए समूहमा रहेका छन्। यस समूहमा ९४ हजार २४९ विद्यार्थी छन्।

३.६१ देखि ४.० जीपीए : १७ हजार ७८६ जना
३.२१ देखि ३.६० जीपीए : ६४ हजार ८२१ जना
२.८१ देखि ३.२० जीपीए : ९४ हजार २४९ जना
२.४१ देखि २.८० जीपीए : ५० हजार ५९७ जना
२.०१ देखि २.४० जीपीए : ४ हजार ३०८ जना
१.६१ देखि २.०० जीपीए : ९ जना

मौका परीक्षा दिने व्यवस्था

राष्ट्रिय परीक्षा बोर्डका अनुसार सैद्धान्तिक परीक्षामा कम्तीमा ‘डी’ ग्रेड प्राप्त गर्नुपर्ने व्यवस्था छ। दुई विषयसम्म ‘एनजी’ प्राप्त गरेका वा बढीमा दुई विषयमा अनुपस्थित भएका विद्यार्थीले मौका (पूरक) परीक्षा दिन पाउनेछन्। पूरक परीक्षाको समयतालिका छिट्टै सार्वजनिक गरिने बोर्डले जनाएको छ।

नतिजा कसरी हेर्ने ?

विद्यार्थीहरूले आफ्नो नतिजा राष्ट्रिय परीक्षा बोर्ड तथा नेपाल टेलिकमको वेबसाइटमार्फत, साथै एसएमएस सेवाबाट पनि हेर्न सक्नेछन् ।

प्रतिकृया दिनुहोस्