काठमाडौँ । प्रधानाध्यापक सङ्घ नेपालका अध्यक्ष सुदामप्रसाद गौतमद्वारा लिखित ‘ज्योतिर्गमय’ पुस्तक विमोचन गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित विशेष समारोहबीच शिक्षा क्षेत्रका अग्रज विज्ञ, शिक्षाविद् तथा सरोकारवालाको उपस्थितिमा पुस्तक सार्वजनिक गरिएको हो ।

पुस्तकमाथि शिक्षाविद् विद्यानाथ कोइराला, बालचन्द्र लुईँटेल, नेपाल सरकारका पूर्वसचिव हरिप्रसाद लम्साल तथा शिक्षा पत्रकार प्रकाश सिलवालले समीक्षात्मक टिप्पणी गरेका थिए ।

सो क्रममा पुस्तकमाथि शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला, प्रा.डा. बालचन्द्र लुईँटेल, नेपाल सरकारका पूर्वसचिव डा हरिप्रसाद लम्साल, शिक्षा पत्रकार प्रकाश सिलवाल लगायतले समीक्षात्मक टिप्पणी गरेका थिए ।

पुस्तकमाथि टिप्पणी गर्दै प्राडा कोइरालाले पुस्तक निकै सान्दर्भिक र गहन विश्लेषणत्मक रहेको बताए । उनले पुस्तकले नेपालको सामुदायिक विद्यालयलाई रुपान्तरण गर्नुपर्ने आवश्यकतालाई विभिन्न कोणबाट विश्लेषण गर्दै तर्कपूर्ण कारणहरु प्रस्तुत गरिएको, शिक्षा रुपान्तरणको लागि आफ्नो अनुभवसहितको कार्ययोजना प्रस्तुत गरिएको र त्यो कार्ययोजना लागु गर्ने केही व्यवहारिक कार्यक्रम समेत प्रस्ताव गरिएको बताए । उनले शिक्षामा केही महत्वपूर्ण प्रस्तावका रुपमा यो पुस्तक आएकोले यसलाई सबै शिक्षा सरोकारवालाहरुले पढ्नुपर्ने बताए । डा. कोइरालाले यो पुस्तक शिक्षकहरुका लागि शैक्षिक चिन्तन र व्यवहारलाई जोड्ने सीपका रुपमा आएको बताए ।

त्यसैगरी काठमाडौं विश्वविद्यालय शिक्षा शास्त्र संकायका पूर्व डिन प्रा.डा. बालचन्द्र लुईटेलले पुस्तकको नाम र यसको विषयवस्तुमाथि प्रकाश पार्दै यो पुस्तक एक कोशेढुंगा बन्ने बताए । उनले शिक्षाले केवल ज्ञान र सूचना भर्ने मात्र नभई शिक्षाले मानिसको चेतनामा जागरण ल्याउनुपर्ने उल्लेख गर्दै यस पुस्तकले त्यो जागरण ल्याउने आशा व्यक्त गरे । डा. लुइटेलले पुस्तकमा अन्तराष्ट्रिय अनुभव र पाठको च्याप्टरमा भने केही प्रश्नहरु रहेको बताए ।

त्यसैगरी नेपाल सरकारका पूर्व सचिव डा. हरीप्रसाद लम्सालले शिक्षामाथि गहन बहस छेड्न सक्ने गरी पुस्तक आएकोमा खुसी व्यक्त गरे । यति सार्थक बहस सुरु गर्ने गरी पुस्तक आउनु खुसीको कुरा भएको उल्लेख गर्दै डा. लम्सालले यसबाट नेपालको सामुदायिक शिक्षालाई नयाँ ठाउँमा पु¥याउन सकिने बताए । पुस्तकमा १४२ वटा शिर्षक र उपशिर्षकहरु रहेको र सबै शिर्षकहरु उत्तिकै महत्वपूर्ण रहेको बताए । उनले पुस्तकमा सामुदायिक विद्यालयभित्र केही राम्रा गरेकाहरुको अनुभवलाई समेत समेटेको भए अझ राम्रो हुने सुझाव दिए । पूर्वसचिव लम्सालले नीति र व्यवहारलाई सिंहावलोकन गर्न पुस्तक निकै उपयोगी हुने बताए ।

पुस्तकमाथि आफ्नो समीक्षा प्रस्तुत गर्दै शिक्षा पत्रकार प्रकाश सिलवालले पुस्तकले निकै गहन बहस सिर्जना गर्ने बताए । उनले पुस्तकमा रहेका राम्रा पक्ष र केही अपूर्णताहरुमाथि चर्चा गर्दै यसले शिक्षाको रुपान्तरणमा योगदान गर्नेमा आफू आशावादी रहेको बताए । पुस्तकले नेपालको शिक्षा प्रणालीमाथि कठोर समीक्षा गरेको, थुप्रै समस्याहरु विश्लेषण गरेको र केही नयाँ प्रस्तावहरु गरिएको बताए । उनले यो पुस्तकलाई सबैले पढेर थप बहस सिर्जना गर्नुपर्नेमा जोड दिए ।

शिक्षक सेवा आयोगका पूर्वसदस्य नन्दकुमारी महर्जनले सामुदायिक विद्यालयको एक प्रधानाध्यापकले आफ्नो अनुभव र अध्ययनलाई यसरी व्यवस्थित रुपमा पुस्तक ल्याउनु साँच्चिकै प्रेरणादायक कुरा भएको बताइन । उनले पुस्तकले नेपाली शिक्षा, समाज र इतिहासलाई मार्मिक ढंगले विश्लेषण गरेको उल्लेख गर्दै शिक्षक, विद्यार्थी र शैक्षिक अभियन्ताहरूका लागि उपयोगी सन्दर्भ सामग्री भएको धारणा राखिन् ।

कार्यक्रममा शुभकामना मन्तव्य प्रस्तुत गर्दै प्रधानाध्यापक संघ, नेपाल (पान)का बरिष्ठ उपाध्यक्ष तथा विश्व निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले सामुदायिक विद्यालयलाई राम्रो गर्ने अभियानमा लाग्दा लाग्दै यो पुस्तक आएकोले यो विद्यालयहरुमा भइरहेको जीवन्त दस्तावेज र अनुभूतिको संगालो रहेको बताए । लेखक गौतम एक सामुदायिक विद्यालयलाई नेतृत्व गरेर राम्रो प्रविधिको हवका रुपमा विकास गरेको उल्लेख गर्दै देशव्यापी रुपमा प्रधानाध्यापकहरुको नेटवर्कमार्फत पनि उहाँले जागरण पैदा गरेको बताए । यो पुस्तक शिक्षक, प्रधानाध्यापक, शैक्षिक चिन्तकहरुका लागि साँच्चिकै सन्दर्भ सामग्रीका रुपमा आएको बताउदै उनले यसलाई सबैले पढ्नुपर्नेमा जोड दिए ।

समारोहमा पुस्तकको पृष्ठभूमि र सार प्रस्तुत गर्दै लेखक सुदामप्रसाद गौतमले नेपालका ६३ जिल्लाका सामुदायिक विद्यालयमा पुगेर शिक्षक तथा प्रधानाध्यापकहरूसँग गरिएको अन्तरक्रिया, अध्ययन–अनुसन्धान र अन्तर्राष्ट्रिय अनुभव आदानप्रदानले पुस्तक लेख्न प्रेरित गरेको बताए । आफूले नेपालका ६३ जिल्लाका सामुदायिक विद्यालयमा पुगेर त्यहाँ शिक्षालाई व्यवहारिक रुप दिइरहेका शिक्षक, प्रधानाध्यापकहरुसँग धेरै गहन अन्तरक्रिया र छलफल गरेको, प्रधानाध्यापक संघ, नेपाल (पान)को नेटवर्कमा सामुदायिक विद्यालय बदल्नका लागि थुप्रै रचनात्मक छलफलहरु गरेको, प्रिन्सिपलहरुको अन्तराष्ट्रिय नेटवर्क इन्टरनेशनल कन्फिडेरेसन अफ प्रिन्सिपल्स (आइसीपी)को नेटवर्कमा रहेर काम गर्दा शिक्षा रुपान्तरणका बारेमा गरिएका महत्वपूर्ण अन्तरक्रिया, अध्ययन अनुसन्धान र विचार आदान प्रदानले यो पुस्तक जन्माएको बताए ।

आफ्नो पुस्तक ६ भागमा रहेको उल्लेख गर्दै लेखक गौतमले पहिलो भागमा नेपाली समाज र शिक्षाको विकासक्रमको चर्चा गरिएको, दोस्रो अध्यायमा नेपालको शिक्षा प्रणालीमाथि समीक्षा गरिएको, तेस्रो अध्यायमा विश्वमा केही राम्रो गरेका पाँच वटा देशको शिक्षा प्रणालीको विश्लेषण गरेर अन्तराष्ट्रिय अनुभव र पाठ समेटेको, चौथो अध्यायमा नेपालको शैक्षिक रुपान्तरणका लागि सैद्धान्तिक मार्गचित्र प्रस्तुत गरेको, पाँचौ अध्यायमा उक्त मार्गचित्रलाई व्यवहारिक रुप दिने कार्ययोजना समेटेको र छैटौं अध्यायमा शिक्षा बदल्नका लागि केही महत्वपूर्ण सिफारिसहरु समेटिएको उल्लेख गरे । उनले पुस्तकलाई नेपालका प्रत्येक स्कूल र शिक्षकको हातमा पु¥याएर बहस सिर्जना गरेको बताउँदै पाठकलाई पुस्तक पढेर सुझाव तथा प्रतिक्रिया दिन आग्रह गरे ।

प्रतिकृया दिनुहोस्