आजको शिक्षा र भोलिको नेपाल

एजुकेशन पाटी

Byएजुकेशन पाटी

१५ श्रावण २०७७, बिहीबार
पुष्कर कडेल

भोलिको गुणात्मक जीवन शैली, अभ्यास र अवसरका लागि आज सबैका लागि गुणस्तरीय शिक्षा अनिवार्य छ भन्ने कुरा बुझेर शैक्षिक क्रान्ति नगर्दा र त्यसमा लगानी नबढाउँदा नेपालको राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक, न्यायिक, प्रशासनिक र प्राज्ञिक क्षेत्रमा विकृति बढ्यो अनि भ्रष्टाचारले सहज रूपमा प्रवेश पायो । जसले गर्दा शिक्षालयको उत्पादन असल, न्यायलयको फैसला न्यायिक, कार्यालयका क्रियाकलापहरू पारदर्शी र देवालयका गतिविधिहरू सकारात्मक र प्रगतिशिल भएनन् । जस्तैः राजनीतिक परिवर्तनसँगै न्यायलयको संरचनात्मक परिवर्तनमा जोड नदिँदा पूर्व डिआजी रञ्जन कोइरालालाई पत्नि हत्या अभियोगको मुद्दामा प्रधानन्यायधिश र न्यायधिशलाई बदनियतपूर्ण फैसला गर्न सजिलो भयो । यो त एउटा प्रतिनिधिमुलक घटनामात्र हो। हाम्रो वरिपरि यस्ता कैयौं घटनाहरू भइरहेका छन् ।

जीवन र सोच कस्तो बनाउने भन्ने कुरा व्यक्तिले प्राप्त गरिरहेको औपचारिक तथा अनौपचारिक शिक्षाको स्तर र शिक्षामा भइरहेको लगानीको मात्राले निर्धारण गर्दछ । अनि शिक्षा कस्तो बनाउने भन्ने कुरा त्यसको दर्शन, उद्देश्य, नीति, कानुन र अभ्यासहरूले तय गर्छ । फेरि देश कस्तो बनाउने भन्ने कुरा शिक्षाको स्तर र लगानीमा भर पर्छ । त्यसैले शिक्षा, जीवन, दर्शन र विकास एकआपसमा अन्तरसम्बन्धित छ भनेर बुझ्नुपर्छ । जसले भोलिको नेपाल कस्तो बनाउने भनेर आधार तयार गर्छ र बाटो देखाउँछ ।

हामी पछाडि पर्नुको मुख्य कारण हामीले हाम्रो क्षमता, आवश्यकता, अवसर र सम्भावनाहरूलाई दलीय राजनीतिक मुद्दामा मात्र सिमित गरायौं । हामी बाह्य राजनीतिक र कुटनीतिक दबाव र प्रभावबाट मूक्त हुन सकेनौं । राजनीतिक रूपमा औपनिवेशिक नभएतापनि हामी आर्थिक, सांस्कृतिक र शैक्षिक रूपमा आजसम्म पनि औपनिवेशिक मान्यताबाट निर्देशित भइरह्यौं । जसले गर्दा नेपालको राजनीति र अर्थनीतिलाई नयाँ पुस्ताले गलत अर्थमा बुझ्यो र त्यसलाई गलत ढंगले सामाजिक सञ्जालदेखि मिडियामा संप्रेषण गरिरह्यो । फेरि असल पात्रले शिक्षा, स्वास्थ, अर्थ, न्याय, प्रशासन र सामाजिक मुद्दालाई राजनीतिको प्रमुख विषय नबनाउँदा राजनीतिमा खराब पात्र प्रवृत्तिहरू बलशाली देखिए ।

राजनीतिमा खराब पात्र र प्रवृत्तिको दबाव र प्रभाव फेरि बढ्न खोज्दा राज्य संयन्त्रहरूलाई ठीक ढंगले परिचालित गरेर काम लगाउन र काम गरेतापनि त्यो जनपक्षीय र दिगो प्रकृतिको बनाउन सकिएन । यसले गर्दा राजनीति र देशप्रति नागरिकको सोच र व्यवहार पनि सकारात्मक बनेन । अनि उनीहरू देशलाई सराप्दै परदेशिन मै रमाई रहने स्थिति बनि रह्यो । फेरि हाम्रो शिक्षाले राजनीतिको चरित्र र राज्यको क्षमता सुधार्न नागरिकको भूमिका मुख्य हुन्छभनेर सिकाएन ।

क्रान्ति भनेको राजनीतिक सत्ता परिवर्तनमात्र होईन भनेर नबुझ्दा न्यायलय, शिक्षालय र कार्यालयहरूको संरचनात्मक परिवर्तन भएन र त्यसले परिवर्तनले बढाएको जनपेक्षाबमोजिम काम गरेन र गर्न सकेन । यो खालको समस्यालाई राजनीतिक नेतृत्वले मनन गर्न सकिरहेको छैन । अहिले नेकपाभित्रको विवाद र नागरिकको असन्तोष बढ्नु मुख्य कारण यहि हो । अब समस्यालाई बुझेर समाधानउन्मुख तरिकाबाट अघि बढ्नु पर्छ । यथास्थितिमा गुणात्मक परिवर्तनको सम्भावना छैन भनेर बुझ्नु पनि पर्छ ।

कोभिड-१९ को माहामारीपछि नेपालमा आर्थिक प्रणालीमा मात्र हैन न्यायिक, सामाजिक तथा शैक्षिक प्रणालीमाथि पनि प्रश्न उठ्न थालेको छ । यो प्रश्नलाई सकारात्मक रूपमा लिनुपर्छ । तर समस्या प्रश्नलाई यथास्थिति मै परिवर्तन गर्ने ढंगले उठाउन खोजिएको हो कि भन्ने शंका उत्पन्न भएको छ। शैक्षिक संस्थाहरू चारपाँच महिनादेखि बन्द छन् । एकप्रकारले शैक्षिक गतिविधि अपवाद छोडेर लगभग ठप्प नै छ । यस बीचमा हामीले शैक्षिक स्तर गुणात्मक सुधार गर्न धेरै काम गर्न सकिन्थ्यो । तर त्यस्तो कुनै महत्त्वपूर्ण नीतिगत सुधार गर्ने कुरामा सरोकारवालाहरूले खासै कुनै चासो देखाएनन् । राजनीतिक दल तथा तिनका नेतृत्वहरू पनि आफ्नो अस्तित्व जोगाउन मै शक्ति केन्द्रीत हुँदा शैक्षिक मुद्दालाई राज्यको प्राथिमकतामा पारेर नीतिगत परिवर्तन गर्न राज्यलाई दबाव दिन सकिएन ।

‘उज्यालो हुँदै गर्दा बिहानी अध्याँरो हुन्छ भने हामीले बुझ्नुपर्छ अगाडि दिनहरू सम्भावनासहित चुनौतिपूर्ण बन्दैछन् । अब यी चुनौतिहरूलाई अवसरमा बदल्ने गरि कामको प्रकृति अनि हाम्रो संस्कार र संस्कृतिमा तालमेल मिलाउनु पर्छ ।’ यथास्थितिमा निरन्तरता दिएर शिक्षा व्यवस्थाबाट अपेक्षित परिणाम हासिल गर्न सकिने स्थिति रहेन । यो पक्षलाई स्वीकारेर निम्न उद्देश्यका लागि शिक्षा व्यवस्थामा आमूल परिवर्तन गर्दै भोलिको नेपाल सम्वृद्ध र नागरिक सुखी बनाउन सकिन्छ ।

१. सिकाइका लागि सकारात्मक वातावरण बनाउने

२. समान र सहि अवसर सिर्जना गर्दै सकारात्मक परिणामका लागि असल नागरिक तयार गर्ने

३. अन्वेषणात्मक र रचनात्मक मनस्थिति भएका पुस्ता तयार गर्ने

४. भाषिक तथा सांस्कृतिक विविधताको प्रयोगलाई प्रोत्साहित गर्ने

५. क्षमतालाई परिस्कृत गर्दै विशिष्ट अवसरहरू सिर्जना गर्ने र त्यससम्मको पहुँच वृद्धि गर्ने

६. चुनौतिहरूलाई अवसरमा बदल्ने र त्यसको सदुपयोग गर्ने

७. रचनात्मक सोच र सकारात्मक कार्य गर्न प्रोत्साहित गर्ने

८. नयाँ पुस्तामा देशभक्तिपूर्ण भावना विकास गर्दै देशभित्रै सक्रिय गराउने

९. न्यायिक, राजनीतिक र आर्थिक गतिविधि सकारात्मक र प्रगतिउन्मुख बनाउने

शिक्षाले व्यक्तिलाई शिक्षितमात्र बनाउन होईन, उसलाई कसरी नयाँ कुरा सिक्ने र समयानुसार गतिशिल किन हुनेभन्ने कुरा बुझाउनु पर्छ। शिक्षाले व्यक्तिलाई निरन्तर नयाँ विषयमा साक्षर हुन पनि सिकाउनु पर्छ। शिक्षाले व्यक्तिको मनस्थितिलाई सधैं फराकिलो, रचनात्मक र सकारात्मक बनाउन सहयोग गर्नुपर्छ । शिक्षा औपचारिकमात्र नभएर अनौपचारिक पनि हुन्छ भनेर बुझाउनु पर्छ । व्यक्तिले प्राप्त गर्ने शिक्षाले उसमा स्वअध्ययनको बानी विकास गर्दै निरन्तर सिकाई प्रक्रियामा संलग्न हुन अभिप्रेरित गर्नुपर्छ ।

‘कुनै पनि राष्ट्रलाई नष्ट गर्न आणविक बमको प्रयोग वा लामो दूरीको मिसाइलहरूको आवश्यकता पर्दैन । यसका लागि सार्वजनिक शिक्षाको गुणस्तर घटाउने र विद्यार्थीहरूलाई परीक्षामा चोर्ने अनुमति दिए पुग्छ ।’ श्रोतः अज्ञात अहिले नेपालमा ठ्याक्कै यस्तै-यस्तै भईरहेको छ। सार्वजनिक शिक्षाको स्तर निरन्तर खस्कदो छ भने संस्थागत विद्यालयमा विद्यार्थीको उपलब्धि राम्रो देखाउन परीक्षामा विभन्न ढंगले विद्यार्थीहरूलाई सहयोग गरिन्छ । अनि हामी त्यसैलाई मानक बनाएर संस्थागत विद्यालयको शिक्षामात्र राम्रो र स्तरीय भन्ने भ्रममा परेका छौं ।

कुनै पनि देश सबल बनाउन सबभन्दा पहिला त्यो देशको सार्वजनिक शिक्षा स्तरीय बन्नुपर्छ । नागरिकदेखि नेतृत्वहरूले सार्वजनिक शिक्षाको स्तरोन्नति गर्न ईमानपूर्वक सहयोग गर्दै आफ्ना सन्तानलाप सार्वजनिक शिक्षालय मै पढाउनु पर्छ । यसले सार्वजनिक शिक्षाप्रति जनविश्वास बलियो र सकारात्मक बनाउँछ । अनि शैक्षिक माफियाहरूबाट जनता ठगिने क्रम बन्द हुन्छ । यसर्थ शिक्षा क्षेत्रका सबै सरोकारवालाहरूले राज्यलाई शिक्षाको दर्शन, उद्देश्य, नीति, कानुन तय गर्न र नयाँ शिक्षा व्यवस्थाको विकास र कार्यान्वयनका लागि सकारात्मक र रचनात्मक सहयोग गर्नुपर्छ । अनि प्राज्ञिक वर्गले पनि आफ्नो पेसालाई अघि बढाउँदा राष्ट्रिय स्वार्थ कमजोर बन्छभने त्यस्तो कामलाई त्याग्न सक्नुपर्छ । यतिखेर प्राज्ञिक क्षेत्रले आफ्नो घर चलाउन सजिलो हुनेगरी काम गर्नेमात्र होईन देश बनाउने गरि पेसा चयन गर्दै क्रियाशील हुनुपर्छ । यसका लागि केहि त्याग र योगदान गर्नुपर्छभने पनि त्यो गर्न पनि तयार हुनैपर्छ। अनिमात्र आजको शिक्षाको दर्शन, उद्देश्य, नीति, कानुन र व्यवस्थाले भोलिको नेपालको चरित्र र चित्र राम्रो बनाउन मद्दत गर्न सक्छ ।

मितिः १५ श्रावण २०७७

-चितवन

प्रतिकृया दिनुहोस्