काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आजै सार्वजनिक गर्ने निर्णय गरेको छ । नतिजाको सम्पूर्ण काम सकिएकाले सोमबार अपराह्न बसेको बोर्ड बैठकले आजै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।

सरकारले यसपालिदेखि एसइई परीक्षाको नतिजा एक महिनाभित्रै सार्वजनिक गर्ने घोषणा गरे अनुसार वैशाख २९ को मिति तय गरिएको थियो। तर समयमै काम सकिएकाले एक दिनअगावै नतिजा सार्वजनिक गर्न लागिएको हो । यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएको कारण नतिजा छिटो सार्वजनिक गर्न सम्भव भएको बोर्डले जनाएको छ । एसईई परीक्षा गत चैत १९ देखि २९ गतेसम्म सञ्चालन गरिएको थियो ।

यस वर्ष एसईई परीक्षामा कुल ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए । नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना तथा ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना विद्यार्थी सहभागी भएका थिए ।

परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना रहेका छन् ।

प्रतिकृया दिनुहोस्