लकडाउनमा कसरी सिकाउने ?

एजुकेशन पाटी

Byएजुकेशन पाटी

२७ जेष्ठ २०७७, मंगलवार

चैत्र ६ गतेदेखि नै बन्द भएका विद्यालयहरू छन् । आज वैशाखको पनि ३० गते भइसक्यो । सामान्य अवस्था भएका भए  विद्यार्थीहरूको पढाइ निकै रफ्तारमा अघि बढिरहेको हुनेथियो । शिक्षक साथीहरू, अभिभावकहरू र विद्यार्थीहरू सबै अब के हुने हो, विद्यालयहरू कहिले खुल्लान्, पढाइ कहिले होला भन्ने चिन्तामा हुनुहुन्छ ।

यसबीच हरेकमा छाएको यो सन्त्राशलाई केही न केही गर्नैपर्छ भन्ने कामनाका साथ राज्यदेखि शिक्षाविद्हरू, विद्यालयहरू, शिक्षकहरू, विभिन्न क्षेत्रका शिक्षाकर्मीहरू केही केही गर्दै पनि हुनुहुन्छ । यसै गर्दा राम्रो होला भन्ने ढुक्कको विधि बनिसकेको छैन ।

समस्या नै आविष्कारकी जननी हुन भन्ने कुरा चरितार्थ गर्दै कम्प्युटर नै नचलाउनुभएका साथीहरूसमेतले अनलाइन कक्षा चलाउने अभ्यास गरिरहनु भएको सुखद् क्षण छ अहिले । केही नहुनुभन्दा यो पनि एउटा उपाय हुनसक्छ भन्ने पवित्र भावनाले चलाइएको यस कार्यक्रमका सन्दर्भमा पनि सकारात्मक नकारात्मक टिप्पणिहरू देखा परेकै छन् । यसका पनि आफ्नै सीमा हुने भएकाले फरक मत राख्नुहुने साथीहरूले राख्नुभएका विचार पनि त्यज्य छैनन् । उहाँहरूका विचार –

हाम्रोजस्तो म्लुकमा कति विद्यार्थीहरू नेटको पहुँचमा हुनुहोला ?

कति अभिभावकहरूले आवश्यक कम्प्युटर वा राम्रो मोबाइल उपलब्ध गराउन सक्नुहोला ?

ती उपलब्ध भएता पनि कतिले आफ्ना बालकालिकालाई साथै राखेर गाइड गर्ने क्षमता राख्नुहोला ?

कति अभिभावकले यस प्रविधिमा आफ्ना बालबालिकालाई गाइड गर्ने समय निकाल्नुहोला ?

कक्षामा त विद्यार्थीलाई एकाग्र गर्न नसकिने अवस्थामा अनलाइन कक्षामा विद्यार्थीको ध्यान कसरी एकाग्र पार्न सकिएला ?

सक्षम अभिभावक भएकालार्य अनलाइन अध्यापन गर्दा आर्थिक अवस्था र चेतनाको स्तर न्युन भएका भिभावकका बालबालिकामाथि पक्षपात हुन्छ, यसो गर्नु हुँदैन । यसले सक्षम विद्यार्थी अघिको अघि र अक्षहरू झन् पछि पर्नेछन् ।

त्र्कहरू हेर्दा सहजै होइन भन्न सकिंने अवस्था छैन । यसो भन्दैमा जुन साथीहरूले जाँगर निकाल्नु भएको छ, उहाँहरूको प्रयत्नलाई निस्तेज गर्ने काम पनि राम्रो हुँदैन । हुन त हामीले यो पनि बिर्सनु हुँदैन कि संसारमा हरेक दृष्टिले समानता कहाँ थियो र? सामुदायिक वा निजी विद्यालयहरूमा अध्ययन गर्ने विद्यार्थीहरूकै बीच समानता छ र ? विद्यालयकोको एउटै छानोमुनि पनि अङ्ग्रेजी माध्यम र नेपाली माध्यम भनेर कसैलाई शुल्क लगाएर र कसैलाई निशुल्क अध्यापन भएको छैन र ? तसर्थ, जे सम्भव छ त्यस विधिलाई अपनाएरै भए पनि सम्भव भएसम्म विद्यार्थीहरूलाई केही समय अध्ययनमा भुलाऔं भन्ने अभिप्रायलाई नराम्रो मान्न हुँदैन ।

केही विशिष्टतालाई बिर्सने हो भने, हाम्रो सन्दर्भमा अनलाइन शिक्षा नितान्त नयाँ विषय हो । यो यसै वर्षको कोरोनाले दिएको बाध्यकारी वरदान भन्दा पनि अत्युक्ति नहोला । विकसित तथा पश्चिमा मुलुकहरूमा अनलाइन शिक्षाको अभ्यास  पहिलेदेखि चलेको पाइन्छ ।

तथापि ती देशहरूमा पनि विशेष गरी स्नातक वा स्नातकोत्तर तहका विद्यार्थीहरूलाई चलाइएको विधि हो । पाको उमेरका विद्यार्थीहरू जो आन्तरिक वा बाह्यकारणले प्रोत्साहित (Intrinsically/ or Extrinsically motivated) हुन सक्दछन्, अर्थात् जसलाइ कुनै क्षेत्रप्रति कसैले नभनीकन पनि आफैँभित्रबाट रुचि जाग्छ, कुनै काममा आफैं रमाउँने गर्दछन्, उदाहरणका लागि गायन, नुत्य, चित्रकला, हस्तकला, पौडी, खेलकुद आदि जस्ता सिकाइ अरू कसैले नभने पनि गरिरहने बालबालिका हुन्छन् । यही हो आन्तरिक प्रोत्साहन हो ।

यसमा सम्बन्धित व्यक्तिले आफूलाई कसरी प्रोत्साहन मिलिरहेको छ भन्ने कुरा थाहै नपाएर पनि प्रोत्साहित भइरहेको हुन्छ । तर कसैले भनेको सुनेर, कहीँ देखेर वा तैंले यति गरिस् भने यो पुरस्कार पाउनेछस्, यो जागिर पाउने छस्, तेरो पदोन्नति हुनेछ भन्ने सूचनाले यति गरें भने मैले यो प्राप्त गर्न सक्नेछु, यति त नगरी छाड्दिन भन्ने भावना जागृत हुने कुरा बाह्य प्रोत्साहन हो । हाम्रा सानो उमेरका विद्यार्थीहरूलाई दिने गरिएको बाह्य प्रोत्साहनमा परीक्षामा राम्रो अङ्क प्राप्त गर्न सकिने कुरा, तात्कालीन पुरस्कार, धन्यवाद वा फलानोलाई त नजिती छाड्दिनँ भन्ने गलत ढङ्गले प्रयोगमा ल्याइने गरेको छ ।

पश्चिमा मुलुकहरूमा विद्यालय तहका कक्षाहरूमा सामान्य (असाइन्मन्ट्स) गृहकार्यहरू दिने, निेर्देशनहरू दिने, परियोजना कार्यहरू दिने उद्देश्यले र अभिभावकलाई विद्यालयका सूचना सम्प्रेशण गर्ने अदि कार्यमा प्रयोगमा ल्याइने गरिन्थ्यो । कोरोनाको महामारीले गर्दा त्यहाँ पनि सानै कक्षाहरूमा समेत अनलाइन कक्षा चलाइएको पाइन्छ तर अभिभावकको प्रत्यक्ष उपस्थितिमा चलाउनु पर्ने बाध्यता छ । र तिनै देशहरूमा समेत यस विधिबाटसम्पूर्ण विद्यार्थी लाभान्वित हुन नसकेको कुरा यथार्थ हो ।

अब हाम्रा विद्यार्थीहरूका बारेमा अलिकति चर्चा गरोैं । हाम्रा अत्यधिक शिक्षक साथीहरूलाई के सिकाउने भनी प्रश्न गर्दा फलानो पाठ भन्ने जवाफ पाउनुलाई अनौठो मानिरहनु पर्दैन । तसर्थ पुस्तकको फोटो राख्ने, त्यसैलाई देखाएर व्याख्या गरिदिने र प्रश्न दिएर जवाफ लेखाउँने पद्दति नै प्रचलिन विधि हो । साना साना कक्षा एक दुईतिर अध्ययन गर्नेहरूलाई नि ?  अभिभावकको मोबाइल मेसेन्जरमा प्रश्न पठाउँने, बालबालिकालार्य गर्न लगाइ तस्बिर खिचेर फिर्ता गराउने सबैभन्दा सजिलो बिधि हुने गरेको छ । यसको कारण माथि भनिए झैं अध्यापन भनेको पुस्तकका सामग्री मात्र हुन भन्ने मानिन्छ ।

अब सोचौं, यसरी गरिने अध्यापनमा हाम्रा बालबालिकाहरू कति सम्म प्रोत्साहित होलान् र हामीले सिकाएको सिक्लान् ? सानासाना नानीबाबुहरूलाई कक्षामा तुरुन्तै तुरुन्तै प्रोत्साहन र पुनर्बल प्रदान गरिरहँदा पनि राम्ररी सिकाउँन नसकिरहेको अवस्थामा यो विधिमा तिनलाई कसरी प्रोत्साहित गर्न सकिएला ? कसरी गर्न सकिएला पुनर्बलन ? के कति सिकाउन सकिएला ? समस्या छ ।

कक्षामा प्रत्यक्ष रहेका विद्यार्थीसमेत विषयवस्तुमा किन कमजोर भइरहेका छन् ? यस विषयको अध्ययनको पाटो अर्कै हुनुपर्ला तर यहाँ सङ्केतका रूपमा मात्र राखौं । साराशंमा पाठ्यपुस्तकहरू बालरुचिका नहुनु, भएकालाई पनि अध्यापनमा रुचिपूर्ण बनाउँने प्रयत्न नहुनु, अद्यापि हाम्रो अध्यापन पम्रपरागत शिक्षक केन्द्रित हुनु, कक्षा मित्रवत र बालकेन्द्रित बनाउँन नसकिँनु प्रमुख अवरोध हुन ।

तथापि अनलाइन कक्षा चलाउँने साथीहरूले अलिकति ध्यान पु¥याउँन सकेको खण्डमा केही सिकाउँन सकिने छ ।

पाठ्यपस्तक नभएर पाठ्यक्रमलाई ध्यान दिऊँ ।

उनीहरूले सिक्नु पर्ने विषय र क्षेत्र के हो ? बुझौं र, त्यस वरिपरिका सरल कुराहरू, जसमा बालबालिका रमाउँन सक्छन्, तिनमा केन्द्रित रहौं, राखौं ।

भाषागत विषयमा बालबालिकाको वपिरिका विषयमा केन्द्रित भएर प्रस्तुत गर्न मिल्ने कुरा सिकाऊँ । मानौं जीवनी लेखन सिकाउनु पर्नेछ । आवश्यक उपशीर्षकबारे बालबालिकालाई दिएर आफ्नै आमाबुवामाथि लेख्न लगाऊँ । (सकिन्छ भने पहिले नै कसैको जीवनी पढ्न दिऊँ ।) अर्को दिनको कक्षामा एकले लेखेको जीवनी अरूलाई सुन्न लगाऊँ ।

वरिपरिका वस्तु वा वातावरणका बारेमा हेरेर, कतै सोधेर भन्नु सिकाऊँ ।

बालबालिकालाई अघिललो वर्ष पढेको पुस्तकको कुनै पाठमा आधारित मौलिक प्रश्नहरू बनाउँन लगाऔं । र, ती प्रह्नहरू सोध्न र अरू विद्यार्थीलाई जवाफ पत्ता लगाउन लगाऔं ।

गणितमा उनीहरूको दैनिक जीवन आइपर्ने समस्या दिऊँ ।

साधारण गणितीय अभिव्यक्तिलाई वीज गणितीय अभिव्यक्तिमा रूपान्तरित गर्न सिकाऔं ।

ज्यामितीका शिक्षणलाई आफू वरिपरिका वस्तुहरूको नाप आदिको खोजी गर्न लगाऔं ।

विज्ञान अध्यापनमा उनीहरूलाई आफ्ना वरिपरिको वातावरणबाट सिक्न सकिने कार्यमा लगाऔं ।

आफ्नो वातावरणबाट, कोठाबाट, वगैंचा वा बारीबाट सिकाउँन सकिने विषयवस्तुको खोजी गरी तिनमा संलग्न गराऔं ।

सामाजिक शिक्षा अध्यापनमा त झन कति विषय हुन आउँछन् ? तिनमा अभ्यस्त गराऔं । यसको अर्थ हाम्रो उद्देश्य भनेको हाम्रो सामान्य उत्प्रेरणाले विद्यार्थीको स्वाध्यायानमा स्वक्रियाकलापमा अभ्यस्त बनाउँने प्रयत्न गरौं ।

कहिलेकाहीँ विद्यार्थीलाई चित्र कोर्न, नृत्य वा गायनमा, जोक भन्न, अन्ताक्षरी गाउन, आफ्ना वरिपरिको वातावरणबारे भन्न, । वक्तृत्वकलामा लगाऔं । यी क्रियाकलाप समय कटाउने निहुँ मात्र हुने छैनन् । यस प्रकारका क्रियाकलापले बालबालिकामा सिर्जनात्मकतामा संलग्न गराउन सकिने छ । यी बालबालिकाको बहुआयामिक व्यक्तित्व विकासमा सहायक हुनसक्ने क्रियाकलाप हुन् । यिनीहरू तिनको जीवनमा निकै धेरै महत्व राख्ने क्षेत्र हुन । अहिलेका शिक्षक साथीहरू मभन्दा युवा पुस्ताका हुनुहुन्छ । मलाई विश्वास छ, उहाँहरूसँग झन् बढी रचनात्मकता छ, नभए खोज्ने जाँगर छ, निकाल्नुहुनेछ ।
यो कुरा चाहिँ नबिर्सौ, पाठ्यपुस्तक नै सबै कुरा होइन ।

अभिभावकहरूसँग अनुरोध गरी औपचारिकबाहिरका पुस्तक पढ्न लगाउने, ती पुस्तकमा प्राप्त सूचना व्यक्त गर्न लगाउने गरौं । ठिकै छ, विद्यार्थीहरूको रुचिको आधारमा पाठ्यपुस्तकको सन्दर्भ पनि जोडौं । उनीहरूलाई समस्या खोज्न लगाऔं । हाम्रो अनलाइन सम्पर्कमा एउटाको समस्या अर्को छात्रछात्रालाई समाधान गर्न प्रेरित गरों । बालबालिकामा विश्वास जगाउँने, आत्मबल जागृत गराउँने विधि अपनाऔं । यसो ग¥यौं भने, आजै सिकाउन सकिएनछ भने पनि उनीहरू आफ्नै प्रयत्नले पनि सिक्नेछन् । आशा र विश्वास जगाउँनु मूख्य कुरा हो ।

यिनका अतिरिक्त मेरो फेरि पनि आग्रह छ साथीहरू, हाम्रा शिक्षक युनियन, प्याब्सन, हिसान वा अन्य पनि कुनै संस्था होलान् ती मार्फत स्थानीय निकायसँग समन्वय गरी स्थानीय टिभीमा कक्षा प्रदर्शशन गराऔं । रेडियोलाई तिनै कार्यक्रम प्रशारण गराउँन लगाऔं । विद्यार्थीहरू कुनै न कुनै माध्यममा त जोडिने छन् ।

केही पनि नहुनुभन्दा, केही न केही गरिरहूँ । बिस्तारै हिँडे ढिलोचाँडो पुगिएला, हिँड्नै नहिँडे त कहिल्यै पुँिगदैन

प्रतिकृया दिनुहोस्