• उपयुक्त हतियार गुणस्तरीय उत्पादन
    ()

  •  

    प्रसङ्गः शिक्षकको नियत र व्यवहार


    टिकाराम रेग्मी

    भारतका पूर्व राष्ट्रपति तथा वैज्ञानिक डाक्टर अब्दुल कलामको जीवनको अन्तिम दिन अर्थात् २०१५ जुलाईमा शिलोङको आइआइएमका विद्यार्थीहरूलाई प्रवचन दिने उद्देश्यले अढाइ घण्टा जहाज र त्यत्ति नै समय कारमा जाँदै गर्दा साथैमा रहेका एक युवा, श्रीजन पाल सिंहलाई उहाँले बारम्बार सोध्नुभयो – ‘तिमी युवा हौ, आफूलाई कसरी सम्झियोस् भन्ने चाहान्छौ ?’


    युवालाई लाग्यो–यतिका महान् मानिसले सोधेको प्रश्नको जवाफ पनि निकै नै गम्भीर हुनु पर्छ । त्यसैले उनले पनि निकै गम्भीर प्रकृतिको जवाफको निम्ति दिमाग लगाएछन् । तर चित्तबुझ्दो उत्तर फेला नपरे पछि उनैले सोधेछन्, ‘तपाईँले नै भन्नोस् न, तपाईँ राष्ट्रपति, वैज्ञानिक, लेखक, मिसाइल म्यान, इन्डिया २०२० या तीन बिलियनको लक्ष्यमध्ये केको रूपमा चिनिन चाहनुहुन्छ ?’ तर, उहाँको जवाफले उनी चकित परेछन् । के तपाईँ अन्दाज गर्न सक्नुहुन्छ, अब्दुल कलामको उत्तर के थियो होला ?
    उहाँको जवाफ थियो – शिक्षकको रूपमा ।


    हाम्रो सन्दर्भमा विचार गर्दा कति शिक्षकहरू शिक्षककै रूपमा आफूलाई चिनाउन चाहनुहोला ? जति धेरै शिक्षकहरू आफ्नो पेशाप्रति गौरवान्वित हुने अवस्था सिर्जना हुन्छ, त्यति नै गुणस्तर बढ्ने कुरामा सन्देह गर्नु पर्दैन पनि ।  


    नेपाली शिक्षाको स्तरका सन्दर्भमा सामान्यतया प्रवेशिका परीक्षाको परिणाम आएका दिन र यसका केही दिनहरू राष्ट्रियस्तरका पत्रपत्रिकाहरू, शिक्षाका हाकिमसा’बहरू, शिक्षाविद्हरू, स्वतन्त्र पत्रकारहरू, विद्यार्थीहरूको नाममा आजीवन पदमा आसीनहरू, दूर– दराजका अभिभावकहरूसमेतद्वारा आफ्ना विचार बोल्न लगाई राष्ट्रका कर्णधारहरूलाई बर्बाद पारिएको, देशको लगानी बालुवाको पानी बनाइएको आदि भाकामा झारिएका गोहीका आँसुले भिजेका पाइन्थे । अबको परीक्षा प्रणालीमा केही फरक स्वरूप देखापर्ला तर प्रवृत्ति (Tendency) भने फेरिएला जस्तो लाग्दैन ।


    अन्य दिनहरू ? अन्य दिनहरू आ–आफ्नै दैनिकीमा बित्ने हुन् । कसैले चासो दिएको पाइदैन । यसरी मौसमी रागले कसरी देला शिक्षामा योगदान ? के वक्तव्यवाजीकै भरमा शिक्षाको गुणस्तर उठ्न सक्ने कुनै सम्भावना छ ? हुन्थ्यो भने विगत केही वर्षदेखि यता वर्षेनी विद्यालयहरू गाभिने क्रम जारी छ । यसलाई अर्को शब्दमा भन्दा विद्यालयको खारेजी नै हो । जनसंख्या बढ्दो छ, अभिभावकहरूमा शिक्षाप्रतिको चासो बढ्दो छ तर किन भइरहेका छन् विद्यालयहरू खारेज वा त्यो बाटो समात्नेहरूको संख्यामा वृद्धि ? यो त पक्कै पनि राम्रो संकेत होइन ।


    मैले ९ कार्तिक २०७३ मा यसो फेसबुक खोली हेरेको थिएँ । एउटा राम्रोे समाचार पढ्न पाएँ– Teachers' Discussion on Educational Issuess को भित्तोमा । हरिहर दाहाल सरले सुझावको रूपमा राख्नुभएको त्यो पोष्टमा शिक्षकहरूको नियुक्ति, आधारभूत योग्यता, सेवा–सुविधा, बढुवाका आधारहरूलगायत पुरस्कार तथा सजायको व्यवस्थासमेत समावेश गरी धेरै नै बुँदाहरू राख्नुभएको रहेछ । यी विषयहरू शिक्षा नियमावलीमा समावेश भइसकेका हुन् वा पाससमेत भइसकेका हुन् भन्ने कुराचाहिँ थाहा हुन सकेन । जे भएतापनि शिक्षकहरूलाई हेर्ने आँखाहरू केही सकारात्मक हुन थालेको आभास भने पाउन सकिन्छ । खुसीको कुरा !


    विगतलाई सम्झी हेर्ने हो भने जिल्लाभरी एकजना मात्र पनि विद्यार्थी उत्तीर्ण हुन नसकेको अवस्थामा समेत त्यस जिल्लाका शिक्षा क्षेत्रका हाकिमसा’बहरू हुन् वा शिक्षकहरू, सबैमा बढुवाको प्रक्रिया रोकिएको थिएन । कमसेकम यस प्रकारको लाजलाग्दो परिस्थिति अब देख्नु नपर्ला कि ? हुन त, निरन्तर मूल्याड्ढनको नाउँमा सिकाइको पाटोमा बादल लागेपनि विद्यार्थी उत्तीर्ण हुँदै आएका छन् । अब ग्रेडिङ पद्धतिले त झन् सजिलो बनाइदिएको छ ।


    अभिभावकहरूमा समेत चासो बढ्दै जाँदा शैक्षिक नेतृत्व तहमा रहनुभएका राज्य यन्त्रका हाकिमहरूमा समेत लाज लाग्ने अवस्था आएकोले हुनसक्छ वा राजनीतिक प्रोपोगाण्डाकै लागि अथवा लोकप्रियताका निम्ति पनि हुनसक्छ, यतिखेर चलेको चर्चाले केही सुधार ल्याइदियो भने सकारात्मक कुरा मान्नु पर्छ । तर विद्यालयका शिक्षकहरू तथा स्रोतव्यक्ति र विनीहरूलगायत जिशिअहरूमा व्यवहारिक उर्जा आएन भने जस्तोसुकै नीति बनेतापनि सकारात्मक परिणामको आशा गर्न सकिँदैन । त्यसमा पनि शिक्षकहरूमा ।


    यसरी नै देशको शैक्षिक स्तर उकास्ने हो भने हालका दिनहरूमा विशेषतः शिक्षकहरूमा देखा परेको एउटा रोगको निवारण गर्नु नितान्त आवश्यक छ । शिक्षा क्षेत्रमा रहेका धेरै रोगहरूमध्ये शिक्षकहरूमा रहेको पुस्तक देख्यो कि निद्रा आउने सबैभन्दा खतरनाक रोग हो । अत्यधिक शिक्षकहरूले अध्ययनको क्रममा परीक्षा उत्तीर्ण गर्नका लागि जे अध्ययन गर्नुभया,े अध्यापनको क्षेत्रमा प्रवेश गरेपछि अध्ययनमा चासो राखेको पाइदैन । अध्ययन गर्ने बानी नभएकै कारणले राज्यले ठूलै लगानीमा चलाएका तालिमहरू प्रतिफलबिहीन बनेका छन् । अहिलेसम्मको अवस्थाको अध्ययन ग¥यौं भने स्पष्ट देख्न सकिन्छ सामुदायिक विद्यालयहरूका नब्बे प्रतिशतभन्दा अधिक शिक्षकहरू तालिम प्राप्त हुनुहुन्छ तर विद्यालय पुगी कक्षा अवलोकन गरेमा देख्न सकिन्छ – आफ्नो जवानामा आफूलाई अध्यापन गर्नुभएका गुरुहरूले गरेको अध्यापनको नमूनाबाहेक तालिमबाट सिकेको विधि प्रयोग गर्ने शिक्षक साथीहरूको संख्या कति होला ? कहालीलाग्दो अवस्था यहीनेर छ ।


    जबसम्म शिक्षकहरू अध्ययनशील बन्नु हुन्न, विद्यार्थीले मात्र किन अध्ययन गर्ने ? यस विषयमा कलम चलाउँदै गर्दा मलाई पञ्चायती व्यवस्थाको पतनको कारणबारे घोत्लिन मन लाग्छ । हामीले त्यतिबेला पञ्चायत एक विषयको रूपमा अध्ययन गर्नुपथ्र्यो । गथ्र्यौं । तर भयो के भने कक्षाकोठामा छँदासम्म हाम्रा गुरुले पञ्चयातको गुणगान गाउनु हुन्थ्यो, यसका राम्रा पक्षहरू लेखाउनुहुन्थ्यो र रटाउनुहुन्थ्यो तर कक्षा कोठाबाट बाहिरिनु भएपछि पञ्चायती व्यवस्थाविरुद्ध हामीलाई नै कक्षा लिनुहुन्थ्यो । अनि त्यो परीक्षा मात्र उत्तीर्ण गर्ने उद्देश्यले गरेको अध्ययनले के हुन्थ्यो ? परीक्षाको उत्तरपुस्तिकामा जे–जे लेखेतापनि हामी विद्यार्थीहरूको मानसिकता भनेको त्यो व्यवस्थाकै विरुद्ध खनिनु थियो । ‘यानी अस्माकम सुचरितानि तानि तयो पश्यानि न इतराणि’ भनी आदिमकालका गुरुहरूले ‘हाम्रा असल चरित्रको मात्र अनुसरण गर, अन्य होइन’ भनी शिष्यहरूलाई दिएको उपदेशले आजको शिक्षाको स्तर कसरी उठ्छ ? मैले पढ्नुपर्ने होइन, यो काम त तिमी विद्यार्थीहरूको पो हो त भनी उपदेश दिएकै भरमा आजका विद्यार्थीले कसरी मान्न सक्छन् ? अहिलेको विद्यालय शिक्षाको स्तरमा आएको गिरावटका धेरै कारणहरूमध्ये प्रमुख कारण यही हो भन्ने मेरो ठम्याइ छ ।


    संसारले गरेको अनुसन्धान आफ्नोे कोठामा बसेर एउटा सानो कम्प्युटरमा अझ मोबाइलमै पढेको भरमा कति धेरै नयाँ प्रविधि अपनाउन सकिने यो जवानामा प्रशिक्षक उपस्थित भएर, भत्तासमेत खुवाएर चलाएकोे तालिम मात्र पनि कक्षामा पुग्दैन । यहाँनेर सबैभन्दा महत्वपूर्ण भूमिका शिक्षक सेवा आयोगको पाठ्यक्रममा गुणात्मक शिक्षाका लागि कस्तो शिक्षक बनाउने भन्ने सोंच पुग्नु अपरिहार्य छ । यहाँ पुनः एउटा कुरा दोहो¥याउन चाहन्छु । हाम्रा कक्षाहरूमा तालिमको सीप किन पुग्न सकेन ? किनकी, नपु¥याए पनि भइरहेकै छ । सजिलो बाटो हिँड्न पाएपछि किन हिँड्ने असजिलो बाटो ? यद्यपि, त्यो सीप लागू गर्दा शिक्षकलाई झन् आनन्द आउनुपर्ने हो – आफूलाई शिक्षककै रूपमा आत्मसन्तुष्टि लिन चाहनेहरूका लागि, असल शिक्षक बनेरै आफ्नोे ख्याती राख्छु भन्ने सोचाइ राख्नेहरूका लागि ।


    तसर्थ, बढुवाको निम्ति आरक्षित होस्, आन्तरिक होस्, खुला होस्, लिखितमा होस् वा कासमुको आधारमा होस् जुनसुकै प्रक्रियाबाट हुने भएतापनि बढुवाको लागि यति ज्ञान, सीप तथा लगनचाहिँ थ्रेसहोल्ड नै हुनेछ भनी आयोगले तोकेर इमान्दारीपूर्वक लागू गरिदिएको खण्डमा शिक्षकहरूलाई लेखपढ गर्ने बानी बसाल्न जबर्जस्ती कर लाग्नेछ । त्यस अवस्थामा सिक्ने कोसिस गर्ने, सिकेको नयाँ विचार वा पद्धति सहकर्मीहरूबीच आदानप्रदान गर्ने, आफ्नोे खोज प्रकाशन गर्ने, आफ्नै देशमा मात्र नभई संसार कुन दिशातर्फ लम्किरहेको छ भनी चासो राख्ने अवस्था आउनासाथ शिक्षकहरूको बानीमा एकाएक परिवर्तन आउनेछ । त्यसो भएमा बिहानभरी आफ्नोे खेतबारीमा काम गरी थकान मार्न विद्यालय आउने होस् वा खाली पिरियड आउनासाथ गैर शैक्षिक गफ वा पार्टीको मिटिङमा सहभागिता देखाउन दौडने बानी छाड्न पनि बाध्यात्मक अवस्था सिर्जना हुनेछ । यो पढिरहनु हुँदा धेरै साथीहरूलाई मन नपर्न सक्छ । तर, हामीले आफैंलाई सोधी हे¥यौं भने त्यो चिन्ता आफै दूर हुनेछ ।


    अझै साँचो कुरा भनौं भने – एउटा माध्यमिक तहको प्रथम श्रेणीको शिक्षकसँग कुन हदसम्मको पेशागत क्षमता हुनुपर्ने होला ? भनी आँकलन गरौं । अनि हेरौं, हामीमाझ रहनुभएका सो वा सरहको पदीय दायित्व निभाइरहनु भएका शिक्षकहरूमध्ये कतिले आफूलाई अन्य नवागन्तुक शिक्षकहरूलाई नमूना कक्षा लिई, व्यवहारिक रूपमा मार्गनिर्देश गर्ने क्षमता राख्नुहुन्छ ? अर्थात् जाँगर देखाउनुहुन्छ ? हो, त्यो स्तरको जनशक्तिले त्यो क्षमता राख्नु पर्छ उहाँहरूले । एउटा शिक्षकले गरेको अध्यापनसम्बन्धी खोज, अनुसन्धान तथा प्रकाशन (अन्यत्र नसके आफ्नै विद्यालयको सूचनापाटीमा किन नहोस्)लाई अड्ढ दिने व्यवस्था गर्ने हो भने अध्ययनशील शिक्षकहरूको संख्या बढ्नेछ । यसको पहिलो सकारात्मक असर विद्यार्थीहरूमा पर्नेछ र उनीहरू यो सोच्न प्रेरित हुनेछन् कि मेरो गुरु–गुरुमाले त पढ्नुहुन्छ, अनि मैले नपढेर हुन्छ ? अर्को कुरा–उहाँहरूमा दिनमा एक घण्टा मात्र भएपनि पढ्छु है भन्ने भावनाको विकास हुनेछ । के होला, यसको परिणाम ?


    शिक्षकहरूलाई अन्य पेशा सोसरहको पदमा रहेको कर्मचारीलाई भन्दा अधिक सुविधा दिनु आवश्यक छ । यसका साथै शिक्षकहरूमा आफ्नोे पेशागत क्षमता अभिवृद्धि गर्नुपर्ने शर्त अगाडि राख्नु अन्याय हुने छैन । हामी जतिसुकै सिपालु मिस्त्री बोलाऊँ, यदि उसको हतियार नै भुत्ते छ भने कसरी बन्छ त्यो मिस्त्रीको स्तरीय उत्पादन ? हो, हाम्रा शिक्षक साथीहरूलाई धारिलो हतियार साथै लिनुपर्ने वातावरण सिर्जना गरौं, साथीहरूका लागि राम्रो सुविधाको प्रबन्ध गरौं र उहाँहरूबाट एक्काइसौं शताब्दीको शिक्षकमा हुनुपर्ने पेशागत दक्षता तथा इमान्दारीको माग गरौं । यसो ग¥यौं भने – पञ्चायत विषयका हामी अध्येताहरू उसैको जरा काट्न लागेको नजिर दोहोरिने छैन । अस्तु ।


    (लेखक, चितवन नेल्टाका पूर्व अध्यक्ष र आर्ट अफ टिचिङका लेखकसमेत हुन् ।)

     

    साभार : आजको शिक्षा साप्ताहिक