कञ्‍चनपुर । सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले अनलाईन प्रणालीबाट परीक्षा सञ्चालन गर्ने भएको छ । कोभिड–१९ का कारण लामो समयदेखि पठनपाठन बन्द भएको अवस्थामा विश्वविद्यालयले अनलाइनबाटै पठनपाठनसं‘गै परीक्षाको तयारी गरेको हो ।

विश्वविद्यालयले अनलाइन परीक्षाको कार्यविधि बनाएर सबै क्याम्पसलाई त्यहीअनुसार कामकाज गर्न पत्राचार गरिसकेको छ । अनलाइन परीक्षा सञ्चालनका लागि सहयोग गरिदिन आग्रह गर्दै सुदूरपश्चिम प्रदेशका सबै जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र स्थानीय तहहरुलाई समेत पत्र पठाइएको उपकुलपति अम्मराज जोशीले जानकारी दिए ।

‘विश्वविद्यालयका विद्यार्थी जुनसुकै ठाउँमा भए पनि इमेलबाट प्रश्नपत्र डाउनलोड गर्नेदेखि उत्तरपुस्तिका स्क्यान गरेर फेरि अपलोड गर्नका लागि सहयोग गरिदिन सबै स्थानीय तहलाई आग्रह गरिएको छ,’ उनले भने, ‘सबै विद्यार्थीसँग इन्टरनेटको पहुँच छैन । विद्यार्थीले बसेकै ठाउँबाट सम्बन्धित वडा कार्यालय वा पालिकाको कार्यालयमा गएर प्रश्नपत्र डाउनलोड गर्न र आफूले लेखेको कापी स्क्यान गरेर इमेलमार्फत पठाउन सक्छन् ।’

विश्वविद्यालयले स्नातक तहको पहिलो र तेस्रो सेमेस्टरको परीक्षा असोज ९ गतेदेखि गर्ने तयारी गरेको छ । यसका लागि समय तालिका सार्वजनिक भइसकेको छ । अन्य सेमेस्टरको पनि क्रमिक रूपमा समय तालिका बनाउने काम भइरहेको छ ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा १४ आंगिक र १ केन्द्रीय गरी १५ क्याम्पस छन् । ती क्याम्पसमा साढे १२ हजार विद्यार्थी छन् । अहिले विश्वविद्यालयले सबै विद्यार्थीको इमेल आईडी बनाउनेदेखि उनीहरुको ट्रेसिङ गरिरहेको छ । ‘को विद्यार्थी कहां‘ छ, खोजी भइरहेको छ,’ उपकुलपति जोशीले भने, ‘परीक्षाबाट कोही वञ्चित हुनु नपरोस् भनेर सबै क्याम्पसलाई निर्देशन पनि गरिएको छ ।’

विभिन्न क्याम्पसले अनलाइन परीक्षाको अभ्यास पनि गरिरहेका छन् । विश्वविद्यालयले अनलाइनबाटै जुम मिटिङदेखि प्रश्नपत्र डाउनलोड र उत्तरपुस्तिका अपलोडलगायतका विषयमा विद्यार्थीलाई अभ्यास गराइरहेको उपकुलपति जोशीले बताए । कोर्स नसकिएका विषयको पठनपाठन पनि चलिरहेको उनले जानकारी दिए । विद्यार्थीले परीक्षा फारम भर्नेदेखि शुल्क बुझाउनेसम्म सबै काम अनलाइनबाटै गर्न सक्नेछन् ।

अनलाइन परीक्षामा विद्यार्थीले नक्कल गर्न सक्ने खालको प्रश्नपत्र नबनाइने उपकुलपति जोशीले बताए । तर विद्यार्थीको सिकाइ र सीपभन्दा बाहिर गएर प्रश्नपत्र नबनाइने उनको भनाइ छ । उनका अनुसार परीक्षाको समय स्नातक तहका लागि ५ घण्टा र स्नातकोत्तर तहका लागि ६ घण्टा तोकिएको छ । ‘विद्यार्थीले प्रश्नपत्र डाउनलोड गरेदेखि निर्धारित समयमा उत्तर अपलोड गरिसक्नुपर्नेछ’ उनले भने, ‘कहीं कतै इन्टरनेट अवरुद्ध भए सम्बन्धित क्याम्पसले बुझेर त्यही दिन राति १२ बजेभित्र अपलोड गरिसक्नुपर्नेछ ।’

कोरोना संक्रमणको जोखिमका कारण सबै विद्यार्थी घर फर्किएका छन् । दार्चुलाको व्यास क्षेत्रका ५ विद्यार्थी सम्पर्कमा आउन नसकेकाले उनीहरुको ट्रेस भइरहेको सम्बन्धित क्याम्पसले जानकारी गराएको उपकुलपति जोशीले बताए । कैलालीको टीकापुरमा सञ्चालित कृषि क्याम्पसमा अध्ययनरत विद्यार्थी सुदूरपश्चिमका नौवटै जिल्लाका छन् । उनीहरुको पनि ट्रेस भइरहेको छ ।

‘अहिलेसम्म धेरै विद्यार्थी सम्पर्कमा आइसकेका छन्,’ दार्चुला बहुमुखी क्याम्पसका प्रमुख कृष्ण साउदले भने, ‘सम्पर्कमा नआएका विद्यार्थीको पनि ट्रेस गरिरहेका छौं ।’ उनले जिल्लाका सबै स्थानीय तहलाई परीक्षाका लागि सहयोग गर्नसमेत आग्रह गरिएको बताए ।

भवानी भट्टले कान्तिपुरमा खबर लेखेकी छन् ।

प्रतिकृया दिनुहोस्