
नुवाकोट । “पहिले म छोरालाई गाली गरेर, हप्काएर र डर देखाएर सिकाउँथेँ। विद्यालयमा भर्ना गरिसकेपछि पढाउने जिम्मा शिक्षकको मात्र हो भन्ने लाग्थ्यो । तर अहिले बल्ल बुझेँ । सिकाइ त घरबाटै पो सुरु हुने रहेछ ।”
यो अनुभव हो नुवाकोटको चापाबोटे आधारभूत विद्यालयमा अध्ययनरत एक बालककी आमा रिमा तामाङ (नाम परिवर्तन) को । केही महिनाअघिसम्म उनको धारणा अधिकांश अभिभावकको जस्तै थियो—विद्यालयले पढाइदिए पुग्छ, घरमा अभिभावकको विशेष भूमिका हुँदैन । तर अभिभावक शिक्षा कार्यक्रममा सहभागी भएपछि उनको सोच मात्र बदलिएन, छोरासँगको व्यवहार र सिकाइमा सहयोग गर्ने तरिका पनि परिवर्तन भयो ।
रिमा अहिले घरका सामान्य कामकाज, खेल, कुराकानी र दैनिक गतिविधिलाई नै सिकाइको माध्यम बनाएकी छन् । बालबालिकालाई गाली गरेर होइन, बुझाएर र प्रोत्साहन गरेर सिकाउन सकिने अनुभव उनले प्राप्त गरेकी छन् । उनीजस्तै धेरै अभिभावकमा आएको परिवर्तनले प्रारम्भिक बाल विकास शिक्षामा नयाँ आशा जगाएको छ ।
विद्यालय तयारीको आधारमा अभिभावक
बालबालिकाको सिकाइ र विकास विद्यालय पुगेपछि मात्र सुरु हुँदैन । उनीहरूको भाषा, व्यवहार, आत्मविश्वास, सामाजिक सम्बन्ध र सिक्ने आधार घरमै निर्माण हुन्छ । त्यसैले प्रारम्भिक बाल विकासलाई विद्यालय तयारीको महत्वपूर्ण चरण मानिन्छ ।
यही अवधारणालाई व्यवहारमा उतार्न शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षा विकास तथा समन्वय इकाइ, स्थानीय तह तथा गोल्डेन कम्युनिटी संस्थाको सहकार्यमा नुवाकोट र धादिङका चार स्थानीय तहअन्तर्गत २४ विद्यालयमा “बालबालिका, अभिभावक र शिक्षकद्वारा विद्यालय तयारीको अन्तराल हटाउने तथा विस्तार गर्ने” अनुसन्धानमूलक परियोजना सञ्चालन भइरहेको छ ।
यस परियोजनाअन्तर्गत प्रारम्भिक बाल विकास सहजकर्तालाई विशेष तालिम प्रदान गरिएको गोल्डेन कम्युनिटीका वरिष्ठ शिक्षा संयोजक नेत्रलाल सुनारले जानकारी दिए । उनका अनुसार तालिम प्राप्त सहजकर्ताले प्रत्येक दुई साताको अन्तरालमा अभिभावकसँग नौवटा शिक्षा सत्र सञ्चालन गरेका छन् । सत्रमा बाल विकास, विद्यालय तयारी, भाषिक तथा गणितीय सीप, सामाजिक तथा संवेगात्मक विकास, सकारात्मक अभिभावकत्व र समावेशी शिक्षाजस्ता विषय समेटिएका उनको भनाइ रहेको छ ।
छोरीमा आएको परिवर्तनले उत्साहित आमा
बच्छला माध्यमिक विद्यालयकी एक अभिभावक सिमा पाठक (नाम परिवर्तन) लाई केही समयअघिसम्म छोरीको व्यवहारले निकै चिन्तित बनाएको थियो ।
छोरी आफ्नो नामसमेत स्पष्ट भन्न सक्दिनथिन् । कक्षामा बस्न मन नलाग्ने, निरन्तर यताउता डुलिरहने, साथीहरूसँग नघुलमिल हुने र आफ्ना आवश्यकतासमेत व्यक्त गर्न नसक्ने अवस्था थियो ।
“म पनि बेला–बेला झर्किने, रिसाउने गर्थेँ,” सिमा भन्छिन्, “तर अभिभावक शिक्षा सत्रमा सहभागी भएपछि मैले पहिले आफ्नो व्यवहार परिवर्तन गर्नुपर्छ भन्ने बुझेँ ।”
त्यसपछि उनले छोरीलाई सजाय दिनुभन्दा कुरा बुझाउने, ध्यानपूर्वक सुन्ने, खेल, कथा र गीतमार्फत सिकाइमा जोड्ने अभ्यास सुरु गरिन् । अहिले छोरीको व्यवहारमा उल्लेखनीय सुधार आएको उनी बताउँछिन् ।
“उनी अहिले आफ्नो नाम भन्न सक्छिन्, कक्षामा बसेर सिक्छिन्, साथीहरूसँग खेल्छिन् र आफ्ना कुरा व्यक्त गर्न थालेकी छिन्,” उनले खुसी हुँदै भनिन् ।

बदलिँदै अभिभावकको अपेक्षा
विद्यालयका शिक्षक र सहजकर्ताहरूका अनुसार कार्यक्रमको प्रभाव अभिभावकको सोचमा स्पष्ट रूपमा देखिन थालेको छ।
बागेश्वरी माध्यमिक विद्यालयकी बाल विकास सहजकर्ता माया न्यौपानेका अनुसार पहिले धेरै अभिभावकले बालबालिकाले विद्यालय भर्ना भएलगत्तै पढ्न र लेख्न जान्नुपर्ने अपेक्षा राख्थे ।
“धेरै अभिभावकको ध्यान अक्षर चिनाउने र लेख्न सिकाउनेतर्फ मात्र थियो,” उनी भन्छिन्, “तर अहिले उहाँहरूले बालबालिकाको समग्र विकासलाई बुझ्नुभएको छ। बालबालिका खेल्दै, रमाउँदै र अनुभवबाट सिक्छन् भन्ने कुरामा उहाँहरू सचेत हुनुभएको छ।”
उनका अनुसार अभिभावक र शिक्षकबीचको सम्बन्ध पनि पहिलेभन्दा धेरै सुदृढ बनेको छ।
घरबाट विद्यालयसम्म सहकार्य
थाक्रे गाउँपालिकास्थित लाटीदेवी माध्यमिक विद्यालयकी बाल विकास सहजकर्ता सीता कुँवरका अनुसार अहिले अभिभावकहरू विद्यालयसँग नजिकिन थालेका छन् ।
“अभिभावकहरू नियमित रूपमा विद्यालय आएर बालबालिकाको सिकाइबारे जानकारी लिनुहुन्छ,” उनी भन्छिन्, “उहाँहरूले कक्षाकोठाका लागि स्थानीय सामग्रीसमेत उपलब्ध गराउन थाल्नुभएको छ ।”
डोको, डालो, काठका औजार तथा स्थानीय स्रोतसाधनबाट बनाइएका सामग्री कक्षाकोठामा प्रयोग हुन थालेपछि बालबालिकालाई वास्तविक वस्तुसँग जोडेर सिकाउन सहज भएको शिक्षकहरूको अनुभव छ ।
यसले बालबालिकाको जिज्ञासा बढाउनुका साथै सिकाइलाई थप रोचक बनाएको गोल्डेन कम्युनिटीका वरिष्ठ शिक्षा संयोजक सुनारले जानकारी दिए ।

प्रारम्भिक संकेत सकारात्मक
परियोजनामार्फत हालसम्म ३३८ जना अभिभावकले अभिभावक शिक्षा प्राप्त गरेका गोल्डेन कम्युनिटीका वरिष्ठ शिक्षा संयोजक सुनारले जानकारी दिए । उनका अनुसार सहभागीमध्ये १५ जना अपाङ्गता भएका बालबालिकाका अभिभावकसमेत रहेका छन् ।
कार्यक्रमअन्तर्गत नियमित अनुगमन, सुपरिवेक्षण तथा कक्षाकोठा अवलोकनका गतिविधि पनि सञ्चालन भइरहेका सुनारले जानकारी दिए । यसले कार्यक्रमको प्रभावकारिता मूल्याङ्कन गर्न र सुधारका क्षेत्र पहिचान गर्न सहयोग पुर्याइरहेको उनको भनाइ रहेको छ ।
यद्यपि परियोजना अझै अनुसन्धानको चरणमा रहेको र यसको विस्तृत परिणाम आउन बाँकी रहेको उनको भनाइ छ । उनले भने, प्रारम्भिक अनुभवहरूले एउटा महत्वपूर्ण सन्देश दिएका छन्—बालबालिकाको सिकाइमा विद्यालय मात्र होइन, अभिभावक पनि उत्तिकै महत्वपूर्ण साझेदार हुन् ।
जब अभिभावकको सोच बदलिन्छ, घरको वातावरण बदलिन्छ। घरको वातावरण बदलिँदा बालबालिकाको सिकाइ, आत्मविश्वास र व्यवहारमा परिवर्तन आउँछ भन्ने कुरा परियोजनाबाट प्रष्ट भएको उनले बताए । नुवाकोट र धादिङका विद्यालयमा देखिएको यो परिवर्तनले प्रारम्भिक बाल विकास शिक्षामा अभिभावकको भूमिकालाई अझ स्पष्ट रूपमा स्थापित गरिरहेको वरिष्ठ शिक्षा संयोजक सुनारले स्पष्ट पारे ।
