शिक्षामन्त्रीलाई एक विद्यार्थीको खुलापत्र

एजुकेशन पाटी

Byएजुकेशन पाटी

१ श्रावण २०७७, बिहीबार
सुवास गिरी

माननीय शिक्षा मन्त्रीज्यू,नमस्कार

कुशल छु त कसरी भनु तर तपाईंको कुशलताको कामना गर्दछु । आज म तपाईंलाई सम्बोधन गर्दै केही लेख्न अनुमति चाहान्छु । तपाईंलाई मेरा शब्दहरु तिता लाग्न पनि सक्ला । मेरा शब्दले विक्षिप्त हुन पुगेमा म क्षमा माग्दै विषयवस्तुतर्फ प्रवेश गर्न चाहन्छु ।

मन्त्रीज्यू, म एक सिटिइभिटिअन्तर्गतको एक कलेजमा एचए प्रथम वर्षमा अध्ययनरत विद्यार्थी हुँँ । यो पत्र म जस्ता सिटिइभिटिअन्तर्गत प्राविधिक शिक्षा पढ्ने लाखौंको संख्यामा रहेका विद्यार्थीको प्रतिनिधि पत्र हो ।

विगत ४ महिना देखि कोभिड–१९ को कारण भएको बन्दाबन्दीले गर्दा अवरुद्ध हाम्रो पढाइको विषयमा तपाईंले खासै केही बोल्नुभएको कुरा समाचारमा आएको छैन ।

तपाईंको नजर एसईई दिने र उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुमा मात्र परेको र हामी जस्ता प्राविधिक शिक्षा पढ्ने लाखौं विद्यार्थीतर्फ नपरेको देख्दा हाम्रो मनस्थिति बिग्रेको छ । यति बेला हामी सबै विद्यार्थी मानसिक तनावमा छौं ।

देशको दुरदराज बाट र सहरका केही भागबाट सबैजात, धर्म, वर्ग, समुदाय, पिछडिएको क्षेत्र बाट प्रतिनिधित्व हुनेगरि भर्ना र पठनपाठन गरिँदै आएको र छोटो समयमा प्राविधिक जनशक्ति उत्पादन गरि देशको समग्र स्थितिमा टेवा पुग्ने उदेश्यले लामो समय देखि संचालन हुँदै आएका सिटिइभिटिका कक्षाहरु ४ महिना देखि ठप्प छन् ।

समयमै केही ठोस निर्णय लिन नसक्नु र दीर्घकालीन योजनामा चुक्नु जस्ता कारणले गर्दा लाखौं विद्यार्थीको भविष्य खतरामा छ ।

पछिल्लो समयमा आएर अनलाइन पढाउनु भनी वैकल्पिक सिकाइ सहजीकरण निर्देशिका जारी गरिएको तपाईंको निर्णयले तपाईंको परिपक्वता माथि प्रश्न चिन्न खडा भएको छ ।

देशका दुर्गम क्षेत्रबाट ऋण धन गरि सदरमुकाम वा सहर सम्म पढ्नको लागि आएका विद्यार्थीहरु यति बेला सबै आ–आफ्नो घर फर्किएका छन् । दुर्गममा मोबाइलको नेटवर्कको लागि रुख चड्नु पर्ने हाम्रो देशमा अनलाइन कक्षा कसरी प्रभावकारी होला ?

डाटा किन्ने वाइफाइ जोड्नेका त कुरै छोडौं त्यसैमाथि यति बेला हावाहुरी र वर्षाको कारण समय समयमा हुने विद्युत कटानको समस्याले थप चुनौती दिएको छ । शतप्रतिशत विद्यार्थीको उपस्तिथि विना सहरका सिमित विद्यार्थी केन्द्रित अनलाइन कक्षा संचालन के न्यायोचित होला ?
अघिल्लो वर्ष संचालन गरिएका धेरै परीक्षाहरुको नतिजा करिव एक वर्ष बितिसक्दा पनि प्रकाशन भएको छैन । यस विषयमा पनि तपाईं र सिटिइभिटिका पदाधिकारीज्ूहरु समेत कानमा तेल हालेर बस्नु भएको छ। कोभिड–१९ को समस्यालाई प्रमुख कारण बनाएर तपाईंहरु जिम्मेवारी बाट उम्कन पाउनुहुन्न । हरेक समस्याको समाधान खोज्न सकिन्छ।

मन्त्रीज्यू, मैले देखेको र आम विद्यार्थीको तर्फबाट केही समाधानका उपायहरू म तपाईंलाई बताउछु ।

बन्दाबन्दी पुर्ण रुपले खुलेपछि सेमेस्टर प्रणालीका कक्षाहरुलाइ आन्तरिक मुल्यांकन गरि उपल्लो सेमेस्टरमा लाने र वार्षिक परीक्षागत प्रणालीका कक्षाहरुलाइ पनि आन्तरिक मुल्याङ्कन गरि उपल्लो कक्षामा लान सकिन्छ र अन्तिम वर्ष वा सेमेस्टर अध्ययन गर्नेहरुलाइ पनि आन्तरिक मुल्यांकन गरि लिखित परीक्षामा उत्तीर्ण गराउन सकिन्छ तर प्रयोगात्मक परीक्षालाई मुख्य मानेर हरेक सेमेस्टर र वर्षका प्रयोगात्मक परीक्षा अनिवार्य उत्तीर्ण गर्नुपर्ने गराउनु पर्दछ।

आंशिक परीक्षा दिने विद्यार्थीहरुलाई पनि पुनः एक पटक प्रयोगात्मक परीक्षा लिइ मुल्याङ्कन गर्न सकिन्छ । प्राविधिक अध्ययन पुर्णतःप्रयोगात्मक अभ्यासमा आधारित हुने हुँदा यहि समयमा सामाजिक दुरि कायम गर्दै आ–आफ्नै स्थानीय तहमा प्रयोगात्मक अभ्यास गराउने व्यवस्था मिलाउन सकिन्छ र सोही आधारमा प्रयोगात्मक परीक्षा लिइ चालू शैक्षिक सत्रलाई टुङ्गोमा पुर्याउन सकिन्छ ।

आगामी शैक्षिक सत्रलाई केही समय ढिला सुरु गर्न सकिन्छ। यसो गर्दा शैक्षिक तालिका नबिग्रने र आम विद्यार्थीमा परीक्षा बारे मानसिक बोझ हट्ने हुन सक्छ।

मन्त्रीज्यू, अन्त्यमा हाल सम्म सिटिइभिटिका पदाधिकारीहरु बाट पनि कुनै समस्या समाधान को कुरा, छलफल, बहसका कुरा सुन्नमा आएका छैनन् ।

त्यसैले मन्त्रीज्यू र सिटिइभिटि पदाधिकारीज्यू बिच छिटो छलफल होस् र लाखौं विद्यार्थीको भविष्यको बारेमा छिटोभन्दा छिटो सकारात्मक निर्णय होस यहि आश व्यक्त गर्दछु र हरेक समस्याको समाधानलाई आन्दोलन रोज्नु पर्ने स्थिति नबनाउनु हुन म र म जस्ता लाखौं विद्यार्थीको तर्फबाट विनम्र अनुरोध गर्दै पत्र बाट बिदा चाहान्छु।

धन्यवाद

सुवास गिरी
एचए प्रथम वर्ष
देवदह मेडिकल कलेज
देवदह,रुपन्देही

प्रतिकृया दिनुहोस्