काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ । यस पटक पनि विद्यालयको आन्तरिक मूल्यांकनकै आधारमा नतिजा हुने भएको हो । मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमणको कारण राष्ट्रव्यापी रूपमा एसईई परीक्षा सञ्चालन गर्न नसकिने भन्दै आन्तरिक मूल्यांकनबाटै गर्ने निर्णय लिएको हो ।

त्यस्तै, नयाँ शैक्षिक सत्र असार महिनाबाट सुरु गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय लिएको छ । असार महिनाअघि नै एसईईको आन्तरिक मूल्यांकन सक्ने तयारी रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जानकारी दिएको छ ।

विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनका विवरण सम्बन्धित जिल्ला शिक्षा विकास तथा समन्वय समितिमा पठाउने र शिक्षा विकास तथा समन्वय इकाईले प्रमाणित गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्नेछ । प्राप्त विवरणका आधारमा परीक्षा बोर्डले परीक्षाफल तयार पारेर सार्वजनिक गर्नेछ । गत वर्षपनि कोरोना महामारीका कारण परीक्षा रोकिएपछि आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गरिएको थियो ।

गत वर्ष पनि कोरोना महामारीका कारण आन्तरिक मूल्यांकनकै आधारमा एसईईको नतिजा तयार पारिएको थियो । यसका लागि राष्ट्रिय परीक्षा बोर्डले छुट्टै कार्यविधि तयार पारेको थियो । यसपालि पनि सोही कार्यविधिका आधारमा विद्यार्थीको मूल्यांकन गर्न लागिएको हो । तर बोर्डले कार्यविधिमा संशोधन हुन सक्ने जनाएको छ । विज्ञहरूले गत वर्षको कमीकमजोरी कार्यविधिमा संशोधन गर्नुपर्ने औंल्याएका थिए ।

यसअघि जेठ १३ गतेबाट हुने भनिएको एसईई राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीका कारण स्थगित गरेको थियो । बोर्डका अनुसार ५ लाख १७ हजार विद्यार्थी एसईईको तयारी छन् ।

यस्तै बोर्डले जेठ २६ गतेबाट हुने भनिएको कक्षा १२ को परीक्षा पनि स्थगित गरेको थियो । कक्षा १२ को परीक्षा कसरी गर्ने भन्ने निर्णय भने सरकारले लिइसकेको छैन ।

प्रतिकृया दिनुहोस्