काठमाडौँ । मासिक १ सय रुपैयाँमा पढाइ हुने समता स्कुलले पढाइलाई कामसँग जोड्ने व्यावहारिक शिक्षा सुरु गरेको छ । ‘घोकन्ते विद्या र धावन्ति खेती’ भनिए पनि समताले व्यावहारिक ज्ञानलाई पनि जोड दिन थालेको हो।

सो क्रममा प्रधानमन्त्रीकी श्रीमती राधिका शाक्य, हास्य कलाकार तथा समता शैक्षिक गुठीका संरक्षक महजोडी, गैरआवासिय नेपाली संघका संस्थापक उपेन्द्र महतो, गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे र समता स्कुलका संस्थापक उत्तम सञ्जेलले विद्यार्थीलाई कुखुराका चल्ला वितरण गरेका छन् ।

प्रधानमन्त्रीकी पत्नी राधिका शाक्यले सय रुपैयाँमा शिक्षालाई काममा जोड्नु चानचुन कुरा नरहेको बताइन् । ‘नेपालमा रहेका अधिकतर विद्यालयमा घोकन्ते शिक्षा छ,’ उनले भनिन्, ‘तर सय रुपैयाँमा समता स्कुलले गरेको कामले देशको जनशक्ति बलियो हुनेछ ।’ उनले प्रधानमन्त्रीलाई पनि समता स्कुलको प्रस्ताव राख्ने कुरा सुनाइन् ।

संरक्षक गैरआवासीय नेपाली संघका उपेन्द्र महतोले विद्यार्थीको शिक्षालाई काममा परिवर्तन गर्ने कुरामा थप सघाउने प्रतिबद्धता जनाए । भर्खरै मात्र १ सय रुपैयाँदेखि ८ करोडसम्मको यात्रा तय गरेकी अस्मितालाई उनकै पहलकदमी हो । उनले विद्यालय स्थापना गर्दा करिब चार करोड रुपैयाँ सहयोग गरेका थिए । हास्य कलाकार महजोडी समता स्कुलका संरक्षक पनि हुन् । उत्तम सञ्जेलले विद्यालय खोल्दा उनकै सल्लाहमा खोलेका थिए । उनले समता स्कुललाई हेर्ने जिम्वारी बोकेका छन् । उनीहरूले भने, ‘हरेक विद्यार्थीले किताब पढेर मात्रै सिक्न सक्दैन । उसको बौद्धिक विकासका लागि शिक्षामा व्यावहारिकता जरुरी छ ।’

संस्थापक सञ्जेलले विद्यार्थीले चल्ला पालेर त्यसबाट व्यावसायिक शिक्षा सिक्ने बताए । ‘चल्लाले तीन महिनामा अन्डा पार्नेछ । ती कुखुराले ३० ओटा अन्डा पार्छन्,’ उनले भने, ‘विद्यार्थीले पालेका कुखुराले पारेको अन्डा बेचेर समता स्कुलमा महिनामा १ सय रुपैयाँ फी तिर्नेछन् भने बाँकी रुपैयाँ आफैंले खर्च गर्नेछन् ।’

प्रअ अजय अधिकारीका अनुसार किताबसँगै विद्यार्थीलाई प्राक्टिकल शिक्षामा लगाउन सकियो भने विद्यार्थी एसइईलगत्तै आम्दानी गर्ने हुन्छन् । कति विद्यार्थीको चाहना फरक फरक हुन्छ । अहिले व्यावसायिक रुपमा कुुखुराका चल्ला वितरण गरिएको छ । अर्कातिर कृषि शिक्षा पनि सिकाइँदै छ, ‘उनले भने, ‘शिक्षासँगै व्यावहारिक शिक्षा पनि उत्तिकै जरुरी हो । दुई महिनामै विद्यार्थीको पढाइमा परिवर्तन आएको छ ।’

नागरिकमा खबर छ ।

प्रतिकृया दिनुहोस्