२०७६ कार्त्तिक १ गते

हामी नमूनाको पनि नमूना विद्यालय बनाएरै देखाउँछौं

सरोजकुमार पाण्डे

 

सरोजकुमार पाण्डे
प्रधानाध्यापक
तिलिङ्गाटार माध्यमिक विद्यालय
धापासी, काठमाडौं

 

 

तिलिङ्गाटार माविको बारेमा बताइदिनुस न ?

यस विद्यालयको ऐतिहासिक पृष्ठभूमि हेर्दा प्युपाहरुले टारमा आएर तारो हान्ने ठाउँको रुपमा यसको नामाकरण भएको हो । वि.सं. २०१७ सालमा पञ्चकन्या विद्यालयको रुपमा अनौपचारिक रुपमा शुरुवात भएको यस विद्यालय २०१९ सालमा नेपाल सरकारबाट यसले पञ्चकन्या प्राविको स्वीकृत पाएको हो । २०२८/०२९ सालतिर तिलिङ्गाटार नामाकरण गरेर तिलिङ्गाटार मावि बन्यो । त्यसपछि २०५०/५१ सालतिर उमावि बनेको हो ।


विद्यालय सुधारको शुरुवात कहिले भयो ?

म २०४४ सालको अन्तिमतिर यस विद्यालयमा आएको हुँ । म १० वर्ष सहायक प्रधानाध्यापक बनेर बसेँ । त्यति बेला विद्यालय काँचो ईंट्टाका जस्ताका छानो भएको सा–साना भवनमा सञ्चालित थियो । मैले २०५५ साल कात्तिक ३० बाट प्रधानाध्यापकको जिम्मेवारी सम्हालेपछि २०५८ सालदेखि पुरानो भवनहरु भत्काइदिएर नयाँ भवन बनाउन शुरु गरेको हुँ । कक्षाकोठाहरु सुविधासम्पन्न बनाउँदै भौतिक सुधार गर्न शुरु गरेँ । १३५ जना विद्यार्थी र ३÷४ शिक्षक थिए । पछि विद्यार्थी र शिक्षक संख्या बढाउँदै लगेँ । अहिले लगभग १७ सय विद्यार्थी छन् । ५० कोठाको विद्यालय भवन बनाउन सफल भएका छौंं । एउटा स्थानमा इसिडि र ६ देखि १२ सम्म र अर्का स्थानमा २९ रोपनी जग्गा छ, त्यहाँ १ देखि ५ सम्म सञ्चालन गर्दै आएका छौं । त्यहाँ करिव ६०० विद्यार्थी अध्ययनरत छन् । विद्यालयले बडो दुःखका साथ भौतिक संरचनामा फड्को मार्न सफल भएको हो । विभिन्न सुधारका कार्यक्रम लागू गर्दा गर्दै हाल नमूना विद्यालयको रुपमा छनोट हुन सफल भएको छ ।


सुधारका लागि कस्ता–कस्ता फरक अभ्यासहरु गर्नुभयो ?

शिक्षामा निजीकरण शुरु भएपछि नेपालमा दुईखालको शिक्षा उत्पादन हुन थाल्यो । सरकारी विद्यालयहरुको स्तर पनि खस्किँदै गयो । मैले यही विद्यालयलाई निजीको जस्तै पठनपाठन अब्बल बनाउने, कक्षा ११ र १२ सञ्चालन गर्ने, यसैमा गुणस्तर कायम गर्ने भनेर संघर्ष गर्दै आएँ । समयको माग र निजी विद्यालयसँग प्रतिस्पर्धासँगै अन्तर्राष्ट्रिय बजारमा बिक्नका लागि शुरुमा अंग्रेजी माध्यममा पठनपाठन शुरु गर्यौं । सूचना प्रविधिको आधारमा शिक्षण सिकाइ गर्न शुरु गर्यौं । शैक्षिक सामग्री निर्माण गरी अन्तक्र्रियात्मक विधिबाट पढाउने, छलफल र क्रियाकलापमा आधारित भएर शिक्षण सिकाइ गर्न थाल्यौं । शैक्षिकसँगै व्यवस्थापकीय पाटोलाई पनि बलियो बनाउँदै लग्यौं । हरेक विषयको विभागीय प्रमुखहरु बनायौं । शिक्षकहरुलाई विभिन्न तालिम र कार्याशालाहरु आयोजना गर्यौं । विभिन्न राम्रा विद्यालयहरुको अनुगमन भ्रमण गरेर नयाँ कुरा सिक्यौं । विज्ञान, कम्प्यूटर ल्यावसँगै पुस्तकालयहरु अत्याधुनिकिकरण गर्यौं । खानेपानी शौचालय व्यवस्थित गर्यौं । त्यसपछि विद्यार्थीको विद्यालयप्रति आकर्षण बढ्न थाल्यो । हाम्रो वरिपरि लगभग ३० निजी विद्यालयहरु छन् । ती स्कूलसँग प्रतिस्पर्धी बन्दै अघि बढ्दै गयौं । ११ र १२ मा पनि ४ वटै संकाय शुरु गर्यौं ।

अन्यभन्दा यो विद्यालयका फरक अभ्यासहरु के–के छन् ?

हामीले अंग्रेजी माध्यममा, सूचना प्रविधिमा आधारित भएर शिक्षण सिकाइ गर्दे आएका छौं । विद्यालयमा ध्यानयोग सञ्चालन गर्छौं । महर्षि फाउण्डेशनबाट भागवत् ध्यान, चेतनामा आधारित शिक्षा, गहिराइमा डुबेर अध्ययन–अध्यापन गराउँदै आएका छौं । ध्यान गराएर शिक्षक विद्यार्थीलाई तनाबमुक्त बनाउने, विद्यार्थीका आचरण सुधार्दै बानी–ब्यहोरा सुधार गर्ने सबै काम वैज्ञानिक ढंगमा गर्दै आइरहेका छौं । महर्षि फाउण्डेशनबाट यूरोप र अमेरिकामा धेरै विद्यालय सञ्चालन छन् । भारतमा मात्रै १४८ वटा महर्षि स्कूलहरु छन् । नेपालमा सरकारी विद्यालयतर्फ तिलिङ्गाटारमा मात्रै पाइलट प्रोजेक्टको रुपमा ध्यानयोगमा आधारित शिक्षा अघि बढेको छ । हामी ध्यान हल बनाएर उद्घाटनको तर्खरमा छौं । हामी दिनको २ पटक शिक्षक–विद्यार्थी ध्यान गर्छौं । यसबाट हामी शिक्षक र विद्यार्थीलाई नैतिकवान, चरित्रवान, ध्यानी र ज्ञानी बन्न मद्दत मिलेको छ । हाम्रो विद्यालयमा खानेपानीका प्लान्टहरु असाध्यै व्यवस्थित छन् । सुविधा सहुलियत र १ देखि ८ कक्षासम्म पूर्ण निःशुल्क र ९ देखि १२ मा केही सहयोग लिएर विद्यालय सञ्चालनमा छ । ३० जना मात्रै सरकारी तलब खाने र ६१ जना निजी स्रोतमा शिक्षक व्यवस्थापन गरेका छौं । विद्यालय गुणस्तरीय बनाउन हामी प्रतिस्पर्धात्मक छौं । सामुदायिक विद्यालय खस्किरहेको बेला हाम्रो विद्यालय भने राष्ट्रिय र अन्तर्राष्ट्रिय ख्याति कमाउन सफल छ । हामीकहाँ कम्प्यूटर एनेक्सको कक्षा सञ्चालनमा छ र आगामी वर्षदेखि सिभिल डिप्लोमाको कक्षा सञ्चालनको तयारीमा छौं ।


एउटा राम्रो सामुदायिक विद्यालय कसरी बन्दो रहेछ ?

राम्रो विद्यालय बनाउन विद्यालयका प्रधानाध्यापक नेतृत्वदायी मात्रै नभएर कुशल व्यवस्थापक हुनु पर्छ । विद्यालयलाई प्रशस्त समय दिने, निरन्तर खट्ने, राम्रो शैक्षिक एजेण्डा बनाउने, शिक्षकहरुसँग सहकार्य, समन्वय र सहजीकरण गर्न सक्ने, गुणस्तरीय सुधारका लागि शिक्षकहरुलाई प्रतिबद्ध गराउने, विद्यार्थीलाई बालमैत्री वातावरण बनाइदिनुका साथै समुदाय र अभिभावकहरुको विश्वास जित्न सक्ने प्रधानाध्यापक हुनु पर्छ । विद्यालय सुधार गर्न समाज, राजनीतिक कार्यकर्ता, स्थानीय तहलगायत सबैको सहयोग चाहिन्छ ।


प्रायः सामुदायिक विद्यालयका विव्यस पदाधिकारी, प्रअ, शिक्षक स्रोतको अभावमा सुधार गर्न नसकिएको गुनासो गर्छन् । स्रोतको व्यवस्थापन कसरी गर्नुपर्दो रहेछ ?

स्रोत भनेको जहाँ इच्छा त्यहाँ उपाय भनेको जस्तै हो । हामीले चहुरमा बच्चा पढाएर चन्दाबाट १९ कोठाको भवन बनाएका हौं । देश/विदेशमा सहयोगका लागि गुहार मागियोे । शान्ति मन्त्रालय, जर्मनी, युनेस्को अन्य सरकारी निकायहरुबाट सहयोग जुटायौं । हामीले सहयोगकै भरमा नमूना म्याथमेटिक्स ल्याव बनाएका छौं । सहयोगका लागि चन्दा, घरदैलो त गरियो नै, तीनपटक धान्यञ्चल महायज्ञ ग¥यौं । महायज्ञबाटै ११ र १२ कक्षा चलाएका हौं । तत्कालीन जिविस, नगरपालिका, शान्ति मन्त्रालय, जिशिकाबाट विभिन्न मर्मत, भवनलगायतका सहयोग ल्यायौं । दुईवटा ट्रस्ट ल्याएर विज्ञानको फिजिक्स, बायोलोजी र क्यमेस्ट्रीको ल्याब बनाउन सफल भयौं । सिटिइभिटिबाट कम्प्यूटर ल्यायौं । जर्मनहरुबाट कम्प्यूटर, कोरियनहरुबाट ल्यापटप सहयोग र लाइब्रेरी ल्यायौं । युनेस्कोबाट सहयोग ल्यायौं । सहयोग माग्ने ठाउँमा कतै छाडेनौं । यदि इच्छा भए सहयोग जुटाउन समस्या हुँदैन जस्तो लाग्छ । पैसाबिनै काम शुरु गरेका छौं र त्यही काम देखाएर हात थाप्दै सहयोग माग्दै पूरा गरेका छौं । यसै गरेर २० वर्षमा विद्यालयले भौतिक पूर्वाधारमा आमूल फड्को मार्न सफल भएको छ । हामी भौतिक रुपमा कुनै निजीभन्दा कम छैनौं । निजी स्रोतका शिक्षकहरुलाई सकेसम्म सरकारीसरह सुविधा, पोशाक भत्ता दिने गरिएको छ । अहिले शिक्षक, विद्यार्थी अभिभावक सबै खुशी हुनुहुन्छ । हामी नमूनाको पनि नमूना विद्यालय बनाएरै देखाउँछौं । तीन वर्षभित्र भौतिक सुविधासम्पन्न बनाएर ५ वर्षभित्र मुलुकै नमूना शिक्षालय बनाएर छाड्छौं ।


भौतिक पक्षमा त विद्यालय अब्बल छ तर त्यतिले मात्रै भएन, सिकाइ स्तर सुधार्न के–के प्रयास गर्नुभएको छ ?

हामी सिकाइ सुधारमै केन्द्रित रहँदै आएका छौं । सबै शिक्षक साथीहरुलाई विज्ञबाट विषयगत शिक्षण तालिम दिइएको छ । विद्यार्थीलाई पढाइका अलावा अतिरिक्त क्रियाकलापमा सहभागी गराइन्छ । उनीहरु त्यसमा पनि अब्बल छन् । पुरस्कृत भइरहेका छन् । शिक्षकहरुको संकाय र विषयगत छलफल गरेर शिक्षण योजना बनाउने गरेका छौं । नतिजा विश्लेषण गर्ने, २६/२७ ब्याज एसएलसी र एसइइ उतारीसकियो । सबैमा शतप्रतिशत नतिजा छ । १२/१५ व्याज ११ र १२ व्याज उतारिसकेका छौं । हामी गुणस्तरमा कुनै सम्झौता गदैनौं । गुणस्तरका लागि गुणस्तरीय शिक्षक चाहियो । शिक्षकहरुले प्रतिस्पर्धातमक रुपमा शिक्षण सिकाइ गर्नुप¥यो । क्रियाकलापमा आधारित, सूचना प्रविधिमा आधारित, शैक्षिक निर्माण गरेर शिक्षण सिकाइ गर्दै आएका छौं । हरेक पाठको उद्देश्य निर्धारण, शिक्षण योजना निर्माण, नतिजा विश्लेषण सोही आधारमा शैक्षिक सामग्री निर्माण गरेर शिक्षण सिकाइ गर्दै आएका छौं । कक्षा रमाइलो भए विद्यार्थीहरु अल्छि गर्दैनन् । हामी म्याथम्याटिक्स रेस वा दौडाएर गणित कक्षा लिन्छौं । गीत गाएर, नाचेर, चित्र देखाएर हुन्छ कि अडियो÷भिडियो देखाएर सुनाएर हुन्छ, कसरी हुन्छ शिक्षकहरुले आफ्नो विषयमा प्रतिस्पर्धात्मक नतिजाका लागि शिक्षण गर्नु हुन्छ । हरेक विषयमा जान्ने र नजान्ने विद्यार्थीको समूह विभाजन गरेर पढाइन्छ । वार्षिक योजना बनाएर कार्यान्वयन, हरेक शनिबार परीक्षा गरेर अभिभावकलाई उत्तरपुस्तिका पठाउने, सुधारात्मक कक्षा सञ्चालन गर्ने र दिनदिनैको विद्यार्थीको उपस्थिति हेर्ने गर्छौं । एउटा प्रणालीमा विद्यालय सञ्चालन गरिएको छ । म भएपनि नभएपनि एउटा प्रणलीले विद्यालय सञ्चालन भइरहन्छ । विद्यालय अटोमोवाइल जस्तै चल्नु पर्छ । कसैले आदेश दिने होइन समझदारीमा योजनाबद्ध अघि बढ्ने हो । हामी गुरु योजना बनाएर यस विद्यालयलाई बृहत् शिक्षालयको रुपमा विकास गर्दैछौं । होस्टेल बनाउँदैछौं । बसहरु किन्दैछौं ।

तिलिङ्गाटारबाट अन्य विद्यालयहरुले के सिक्ने ?

यस विद्यालयमा अनुगमन गर्न केही नयाँ कुरा सिक्न भन्दै देश/विदेशबाट निरन्तर भ्रमणहरु हुने गरेको छ । गरे सम्भव छ । सुधार गरे शिक्षकले नै गर्ने हो । हामीले १५ वर्ष मिहिनेत गरेपछि मात्रै राम्रो नतिजा दिन सकेका हौं । अहिले ठूला–ठूला निजी विद्यालय छाडेर यहाँ विद्यार्थी आउन थालेका छन् । गर्न चाहेमा र खोजेमा परिवर्तन हुन्छ । बहाना छाडेर चाहना बढाउनु पर्छ । सामुदायिक विद्यालयमा भर्ना नपाए बल्ल निजीमा जाने वातावरण हामीले नै बनाउने हो । यो असम्भव छैन । हामीले गरेर देखाएका छौं ।

सामुदायिक विद्यालयको शैक्षिक स्तर कमजोर हुनुको कारण केलाई मान्नुहुन्छ ?

सरकारले निःशुल्क भनिदिनु नै पहिलो कारण हो । कहीं न कहीं राज्यको लगानी छ । निःशुल्क शिक्षा हुनै सक्दैन, कसले तिर्ने भन्ने मात्रै हो । सक्नेले तिर्नु पर्छ । राज्यको नीति नै कमजोर भयो । सक्नेसँग लिने र नसक्नेलाई मात्रै निःशुल्क भनिदिनु पर्छ । गुणस्तर दियो भने धेरै विद्यार्थी हुन्छन् । दुःख हुन्छ भनेर शिक्षकहरुले मिहिनेत गरेर नपढाएको पनि देखिन्छ । दोषी शिक्षक पनि हो । विद्यालयमा पढाउने र शिक्षकले ट्युसनमा पढाउनेमा भिन्नता पाइन्छ । शिक्षकले राम्रो पढाइदिने हो भने सामुदायिक पहिलो रोजाइको हुन्छ । धेरै सुविधा छ । माथिल्लो तहमा पनि अवसर छ, आकर्षण सामुदायिक विद्यालय हुनुपर्ने हो । समाजले पनि पहिलो प्राथमिकता सामुदायिक विद्यालयलाई दिनुप¥यो । निजीमा पढाउनु प्रतिष्ठाको विषय बन्नु हुँदैन । शिक्षकहरु समयसापेक्ष सुधार नहुने, सूचना प्रविधिमैत्री नहुनु, किताबमा मात्रै आधारित हुने, शैक्षिक सामग्री प्रयोग नगर्ने प्रवृत्तिमा सुधार आउन जरुरी छ । शौचालय, खानेपानीको सुविधा नहुने समस्या सुधार हुनु पर्छ । नगरेरै हो । गरे सम्भव छ । जागिर मात्रै नभनेर जिम्मेवारी बोध गर्दै अहिलेसम्मको गल्ति–कमजोरी स्वीकार्दै त्यसलाई सुधार गर्नतर्फ लाग्नुपर्छ । राज्यले पनि नीतिगत सुधार गर्नु पर्छ । पर्याप्त शिक्षक र भौतिक पूर्वाधार दिनु पर्छ । अनि सामुदायिक विद्यालयहरु अब्बल बन्छन् ।

प्रस्तुति : रोशन गाउँले

 

साभार : आजको शिक्षा साप्ताहिक

Comments: