काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको भौतिक उपस्थितिमा आइतबारबाट स्नातक तहको परीक्षा सुरु गरेको छ । कोरोना भाइरसका कारण लामो समयदेखि सञ्चालन हुन नसकेको परीक्षा सुरु गरिएको हो । परीक्षामा यसपटक ९५ प्रतिशत विद्यार्थीको सहभागिता रहेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिनुभयो ।

विद्यार्थीको भौतिक उपस्थितिमै राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीको परीक्षा लिएको झण्डै दुई सातापछि विश्वविद्यालयले परीक्षा लिन थालेको हो । बोर्डले झण्डै चार लाख विद्यार्थीको परीक्षा मङ्सिर दोस्रो साता सकेको थियो ।

विगतका वर्षका परीक्षामा भन्दा यस पटकको परीक्षामा विद्यार्थीको उपस्थिति धेरै उत्साहजनक देखिएको जानकारी उहाँले दिनुभयो । त्रिविले आइतबारबाट सञ्चालन गरेको स्नातक तहको व्यवस्थापन, शिक्षाशास्त्र र विज्ञानमा ७२ हजार विद्यार्थी परीक्षामा सहभागी रहेको जनाइएको छ ।

काठमाडौँ उपत्यका बाहिरका धेरै परीक्षा केन्द्रमा होमसेन्टर दिइएको र विद्यार्थीले परीक्षाको तयारीसमेत गर्न पाएका कारण विद्यार्थीको सहभागिता बढेको नियन्त्रक जोशीले जानकारी दिनुभयो । यसले आफूहरूलाई उत्साहित बनाएको उहाँको भनाइ छ । यसपटक विश्वविद्यालयले भौतिक उपस्थितिमा परीक्षा गर्ने निर्णय गर्दै परीक्षा केन्द्रसमेत बढाउने निर्णय गरेको थियो ।

शेषकान्त पण्डितले गोरखापत्रमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्