काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा निधन भएको छ । मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा घरमै निधन भएको पारिपारिक श्रोेतले जनाएको छ । उनको जन्म विं सं १९७६ असोज ७ गते लमजुङको पुस्तन गाउँमा भएको थियो ।

घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली अपनाएर साहित्य सिर्जना गर्ने साहित्यकारका रूपमा चिनिन्छन् । उनी बाल्यावस्थादेखि निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख (प्रबन्धजस्ता अनेकौं विधाउपविधाहरुमा निरन्तर कलम चलाउदै आएका थिए । प्रकृतिका अनेकन विविध पक्षहरुलाई आफ्ना जीवन्त रचनाहरुमा समावेश गर्दै जीवनलाई नै प्रकृतिसापेक्ष ढङगबाट व्याख्या गर्ने उनका लेखाइहरु दीर्घसाधनाले भरिएका छन्।

उनले विसं १९९२ सालमा गोरखापत्रमा आफ्नो कविता छपाएका थिए। उनका नवमञ्जरी (विसं १९९४), घामपानी (विसं २०१०), नयाँ नेपाल (विसं २०१३), किन्नर-किन्नरी (विसं २०३३) जस्ता कवितासङ्ग्रह सङ्कलित छन्। उनलाई ‘राष्टकवि’ को उपाधिले सम्मान गरिएको थियो।

केहि समय अघि आजको शिक्षा साप्ताहिकका लागि रोशन गाउँलेले तयार पारेको सामग्री

कविताबाटै पढाइरहेको छु : राष्ट्रकवि

मैले भनेजस्तो शिक्षा छैन अचेल । मैले भने जसरी पढाइ पनि हुँदैन । बालमनोविज्ञान केन्द्रित शिक्षा छैन । मैले मेरा कविता बाटै मैले भनेजसरी शिक्षा दिइरहेको छु । मेरा चारवटा बालकविताहरु छन् । जसमा मैले १०० मा ९० प्रतिशत बालमनोविज्ञानलाई ध्यान दिएर लेखेको छु ।

शिक्षा कहाँबाट कहाँ पुगिसक्यो
शिक्षा दिएपछि बल्ल मान्छे ‘मान्छे’ बन्दछ । आफ्नो परिवेश, प्रकृति, विश्व ब्रम्हाण्ड शिक्षामा नै अटाएको छ । हामी शिक्षाबाटै संसार जान्दछौँ । ‘पीपल’ शब्दले गाउँको पीपलको रुख सम्झाउँछ । जापान, अमेरिका शब्दले नदेखेपनि ती देश सम्झाउँछ । शिक्षाको संसार भनेको छाँया संसार हो । शब्दले हामीमा वस्तु, क्षेत्र र जानकारी दिन्छ । हामीलाई संसार घुमाउँछ । गुरु र चेलाको बीचमा प्रत्यक्ष हुनुपर्ने शिक्षा अप्रत्यक्ष हुँदै गएको छ । एकजना गुरुले एकजना चेलालाई पढाएर सम्भव भएन । एउटा कक्षामा ४० जना विद्यार्थी पढाउनुपर्ने भयो । ४५ मिनेटको कक्षामा एकजना शिक्षकले एकै ठाउँमा भाषण गर्छ । अनि गुरु जान्छन्, विद्यार्थी जति सके त्यति बुझ्छन् । अनि परीक्षामा फलानो लेख भनेर सोधिन्छ । कुन बेलामा गुरुले कसरी सिकाएका थिए ? हेक्का रहँदैन । मैले ठानेको शिक्षा यो होइन । त्यसैले मैले चाहेको शिक्षा म कविताबाटै दिन्छु । बच्चालाई नयाँ कुरा पाउँदा जस्तो मज्जा अरु हुँदैन । रमाइलोसँग उनीहरुलाई नयाँ कुरा दिन सक्नु पर्छ । ‘तिमीहरुले फूलको रङ्ग बोटबाटै आएको भन्ठानेका हौला तर त्यो सूर्यको किरणबाट आउँछ,’ भनेर सिकाउन सकिन्छ । केटाकेटी अद्भूत हुन्छन् । जिज्ञासै जिज्ञासाले भरिएका हुन्छन् ।

किताबलाई होइन बच्चा पढाऊँ
बालमनोविज्ञान बुझेर बालबालिकालाई नयाँ ज्ञान, धारणा र संस्कार दिनु नै शिक्षा हो । बालबालिकाको इच्छा के छ ? उसले केमा दक्षता हासिल गर्न खोजेको छ ? त्यो नै शिक्षा दिनु पर्छ । ऊ डाक्टर, पाइलट, इञ्जिनियर के हुन खोजेको हो ? त्यही शिक्षा दिनु पर्छ । अहिलेको शिक्षा भनेको पैसा खर्च गरेर पढ्ने, डाक्टर बन्ने कमाएर खाने भन्नेछ । सबै छोराछोरीलाई डाक्टर बनाउन चाहन्छन् । सबै डाक्टर बनेर मात्रै हुँदैन । भविष्यमा छोराछोरी कवि बनाउँछु भनेर कसैले बन्दैनन् । सधैँ बाच्ने त कवि हुन् । हामीले किताब होइन, बच्चा पढाऊँ । सरलबाट जटिलतिर, ज्ञातबाट अज्ञाततिर शिक्षाको प्रवाह बग्दछ । फूल देखाएर उनीहरुको थरिथरिका रङ्ग देखाएर पनि शिक्षा दिन सकिन्छ । पढाइलाई भारी होइन, मज्जाको बनाउनु पर्छ । किताबभन्दा त्योसँग सम्बन्धित कुरा पहिले बुझाइदिने । कथा पढाउनुभन्दा पहिले आफ्नै भाषामा सिकाइदिने ।

बच्चाको जिज्ञासा सुनौं
बच्चाको भावना, इच्छा, रुचि बुझ्ने कोशिस गर्नु पर्छ । आकाशमा बादल गएर कसरी ‘गड्याङ्ग…!’ गर्छ ? भनेर सोधे ‘नचाहिने कुरा नगर, खुरुखुरु पढ्’ भन्ने होइन । बादल एक अर्कामा कसरी जुँद्छन् भनेर वैज्ञानिक किसिमले जानकारी दिनु पर्छ । पोको परेका पानीका बुँदहरु चिरिँदाखेरी आवाज आउँछ । त्यसमा संघर्ष हुँदा विद्युत निस्कन्छ र आगो बल्दछ भनेर स्थानीय उदाहरण दिएर जिज्ञासा मेटाइदिनु पर्छ । बच्चालाई नचाऔं, गाउन लगाऔं, त्यसैगरी पढाऔं । पढाइलाई बोझ नबनाइदिऊँ । उनीहरुलाई शैक्षिक सामग्रीबाट सिकाउने प्रयास गरौं । पुस्तकालयहरुमा जाने व्यवस्था गरिदिऔं । किताबहरु पढ्ने बानी विकास गरिदिन सक्नु पर्छ । किताबहरु बढीभन्दा बढी जुटाइदिने गर्नु पर्छ ।

बालमनोविज्ञान बुझौं
म बालकविता लेख्ने कवि । महाकवि पछि मैले बालकविता लेखँे । सबैले मबाटै सिकेका हुन् । बालकविता लेखेर मात्रै हुँदैन । बालकविता आदेशात्मक, धेरै जटिल भाषा, विज्ञता प्रकट गर्ने कुरा होइन । बालबालिकाको उमेरगत बोध क्षमताका आधारमा बालकविता लेखिनु पर्छ । बालकविता लेख्दा कवि पनि बालक नै बन्नु पर्छ । बालबालिककाको ग्रहण क्षमताका आधारमा कविता लेखिनु पर्छ । मेरो एउटा कविता छ ।

कुरा गर्दछन् कसरी भँगेरा र भँगेरी
चुरवुर गर्छ भँगेरो चिरबिर गर्छ भँगेरी

चारा चर्न हुन्न है यता उतर नहेरी
एउटा आँखी तँ हेरी एउटा आँखो म हेरी

टप्प, टिप कनिका टिपि हालौ नहेरी
चुर्र गर्छु म फेरी भुर्र उड्नु त फेरी

जिल्ल पर्छ बिरालो हिस्स पर्छ बोहोरी
कति बाठो भँगेरो कति बाठी भँगेरी

यसले बालबालिकालाई म भनेको साना भँगेरा हुँ भन्ने आभास गराउँछ । ‘टप्प टिप’ शब्दले सर्तक हुन सिकाउँछ । चुर्बुर गर्छ भँगेरा भन्दा पुलिङ्ग शब्द महाप्राण बनेर आएको छ । चिर्बिर गर्छे भँगेरी भन्दा स्त्रीलिङ्ग जनाउँछ । एउटा आँखा त हेरी, अर्को आँखा म हेरी भन्दा चाहरा चर्न चनाखो बनेजस्तै बालबालिकालाई चनाखो बन्न कविताले पे्ररित गरेको छ । काम गर्दा, पढ्दा ध्यान दिएर गर्नु पर्छ भन्दा बालबालिकाले बुझ्दैनन् तर कविताले सरल भाषामा बुझाएको छ । हामीले बाठो बन्नु पर्छ भनेर हजार चोटी भनेपनि सिक्दैनन् । बाठो, सर्तक हुनुपर्दछ भनेर बालबालिकाले आफै बोध गर्छन् । मैले आफ्ना सन्तानलाई पनि यस्तै व्यवहार गरे । मैले बाधा गरिन के गर्दा उनीहरु प्रफुल्ल हुन्छन पढ्छन् त्यसै गरे । मैले वास्तवमा उनीहरुलाई हेरेर उनीहरुको बालमनोविज्ञान बुझेँ र बालकविता लेखेँ ।

प्रविधिले बराल्यो
पढाइबारे नभई अन्य क्षेत्रको सिनेमा हेर्नमा बालबालिका बरालिने गरेका छन् । बालबालिकाहरु नयाँ प्रविधिमा व्यस्त हुन थालेका छन् । टेलिभिजन, चलचित्र हेर्नमा मस्त हुन थालेका छन् । बालबालिका मात्रै होइन् कवि, कलाकार, शिक्षक, डाक्टर पनि प्रविधिमा बरालिएका छन् । फिल्म हेर्ने, मोवाइल चलाउने, कम्प्युटरमा झुम्मिने प्रवृत्ति बढ्दै गएको छ । प्रविधिमा समय खेर फालिरहेका छन् । पहिले पुस्तक पढ्थे । मनोविज्ञानमा आधारित शैक्षिक सामग्रीको विकास हुन जरुरी छ । खोज्ने, सिर्जना गर्ने बानी घट्दैछ । यसले व्यक्तित्व कुण्ठित हुँदैछ ।

भाषाको प्रचार भएन
हामीले हाम्रो भाषा, साहित्य पश्चिमाहरुलाई बुझाउन सकेनौं । स्तरीय हुँदाहुँदै पनि यी अन्तर्राष्ट्रियकरण हुन सकेका छैनन् । विदेशीलाई नेपाली भाष पढाए उनीहरुले नेपाली दर्शन बुझ्न सक्छन् । भाषाको संरक्षण र प्रचारप्रसार हुन जरुरी छ । पूर्वीय चिन्तनका कालीदासको साहित्य सिकाउनु प¥यो । अनुवाद गरेर सिकाउनु पर्छ । हामीले अंग्रेजी सिक्यौं नि । यसैगरी उनीहरुले पनि नेपाली सिक्छन् । ज्ञान जति बढ्यो भाषा पनि सिकिँदै जाने माध्यम हो । पहिले भाषा सिकेर पछि ज्ञान सिक्ने होइन ।

राष्ट्रकविका अक्षर अनुभूति

  धुलौटो कोरेर अक्षर सिकेँ
माटो छिन्किएर मसिनो बनाएर काठको पाटीमा राखेर बाँसको छेस्काले कोरेर मैले  अक्षर चिनेको हुँ । त्यतिबेला कपी कलम कहाँबाट पाउनु ! कपुरी ‘क’ खरायो ‘ख’ भन्दै  घोकेर अक्षर जानियो । गाउँकै सानाबाबाज्यू नाम भएका कुटी बनाएर जोगीबाट अक्षर  सिकेको हुँ ।

  अक्षरमा परिवेश र संस्कृति झल्किन्छ
कपुरी क भन्दा आफ्नो संस्कृति झल्किन्छ । गाइगोडे ग भन्दा आफ्नो संस्कृति भयो ।  ग माने गधा भन्दा संस्कृति अर्को भयो । हाम्रो पद्धति लोप हुँदैछ । कपुरी क खरायो ख  नै भनेर सिक्नु पर्छ । आन्तरिक चेतनाबाट आउने हो अक्षर र आवाज । अक्षर  उच्चारण गर्दा अल्प र महाप्राण आउँछ । जुन ए बि सि डि छ, यसमा त्यस्तो छैन ।  यी क्रमिक पनि छैनन् । क्रमिक हुँदा सम्झिन पनि सजिलो हो । हाम्रा अक्षर सचित्र र  दिगो छन् । क मा टाउको निस्किएको, पुच्छर निस्किएको कति मिलेका छन् सिकाउन  । अक्षर र लिपी लोप नहोस् ।

  हराएको ‘ह’
मलाई अन्य अक्षर चिन्न त खासै समय लागेन । ३/४ दिनमा सिकेँ तर मलाई ह  अनौठो भयो । ‘ह’ अक्षर चिन्न मलाई गाह्रो भयो । म चलाख विद्यार्थी नै थिएँ । मैले  हरायो ‘ह’ भनेर ‘ह’ लाई चिनेँ । त्यसै क्रममा मैले अक्षर, लिपी र उच्चारण सँगसँगै  सिकेँ । सिक्ने क्रममा उट्पट्याङ् पनि आउँथ्यो । एकजना साथीलाई अक्षर सिक्न  ५/६ दिन लाग्यो भनेर हामीले यसलाई जिस्काउथ्यौं ।

  आकार प्रेरित लिपी
हाम्रो लिपी आकार प्रेरित छ । त्यसको विम्ब आत्मसात गरे अक्षर चिनिन्छ ।  गाइगोडे ग भन्दा गाई नदेखेकाले त गाई सम्झन्छ । देखेकाले भने घरको माली गाई  सम्झन्छ । प चिन्न परेवालाई चिने भयो । परेवाकै जस्तो चुच्चो परेको घुमेको  चिटिक्क । ख भन्दा खरायो, घ भन्दा घर सम्झिने । आकार र अक्षर सँगसँगै सम्झन  सजिलो ।

  पृथ्वी घुम्छ भन्दा…
म शिक्षक हुँदा मैले विद्यार्थीलाई पृथ्वी घुम्छ भनेर पढाएँ । उनीहरुले घरमा गएर    बाआमालाई भनेछन् । पृथ्वी घुमिरहेको छ भनेर । तर उनीहरुको बाआमाले कहाँ पृथ्वी  घुम्नु, घुम्ने भए हिमाल दक्षिणतिर देखिनपर्ने भनेर उनीहरुको झाँको झारेछन् ।

  लिपी छाड्न सकिएको छैन
हामी पहिलेभन्दा धेरै अगाडि बढिसक्यौं तर लिपीलाई छाड्न सकेका छैनौं । आगोको   आविस्कार भएपछि संसार धेरै अघि बढ्यो । तर लिपी हराएन । क ख ग घ भन्न      छाडेका छैनौं । शब्द, अक्षर र पद छाड्न सकेका छैनौं । हामी जहाँ पुगेपनि अक्षर  चाहिन्छ ।

  मेरा साहित्यका गुरु
प्रारम्भमा एउटा र पछि अर्कै प्रभाव पर्ने रहेछ । मैले प्रारम्भमा लेखनाथ पौडेल र  लक्ष्मीप्रसाद देवकोटाको कविताहरु पनि पढेँ । पछि संस्कृतमा कालीदास पढ्दै जाँदाखेरीमा थोरै लेखेर पनि उनका रचना गम्भीर लाग्यो । रविन्द्रनाथ टेगौर धेरै लेखेर पनि राम्रा कविता लेख्ने । म नेपाल छउञ्जेल मेरो लेखाइ एकखालको थियो तर बनारस गएपछि त्यहाँ रविन्द्रनाथको हिन्दीमा अनुवादित कविताले प्रभावित भएँ । मलाई त्यहीबाट कविता यस्तो हुँदो रहेछ भन्ने लाग्यो । उनको प्रभाव मलाई प¥यो । अनुकरण र प्रभावमा भने धेरै फरक छ ।

नेपालको महिमा गाउने मान्छे
म नेपालको महिमा गाउने मान्छे भएकाले मलाई हाम्रै पाखा पखेरो नै प्यारो लाग्छ । मलाई डिभी भरेर विदेश गएको मन पर्दैन । बाहिरी देशमा बाँच्न मात्रै होइन, मर्दा पनि कहाँ–कहाँ मरे जस्तो लाग्छ । आफ्नै देशमा मर्ने इच्छा छ मलाई ।

प्रतिकृया दिनुहोस्