सूचनामा व्यवस्थापकको भूमिका

एजुकेशन पाटी

Byएजुकेशन पाटी

२७ भाद्र २०७७, शनिबार
रामप्रसाद सुवेदी

सम्बन्धित सबैलाई कुनै कुराको जानकारी दिने काम सूचना हो र जानकारी दिनका लागि पठाइएको, टाँसिएको वा प्रकाशित गरिएको लिखतलाई सूचना भनिन्छ । हरेक कार्यालयमा आधिकारिकरुपमा एउटा सूचना दिने व्यक्ति तोकिएको हुन्छ । यसरी तोकिएको व्यक्तिलाई सूचना अधिकारी भनिन्छ । सूचना परापूर्वकालदेखि विभिन्न माध्यमबाट दिने प्रचलन थियो । सूचना नदिएर वा गलत सूचनाका कारणले ठूला—ठूला युद्ध, द्वन्द्व तनाव भएको हामीले मानव इतिहासदेखि नै अनुभव गर्दै आइरहेका छौँ । सूचना लिने र दिने प्रचलन परम्परादेखि आफ्नै प्रकारको थियो कटुवाल घोकाउने, चरालाई खुट्टामा चिठी टाँसेर पठाउने, झ्याली पिट्ने, घोडाको काँंधमा सूचना बाँंधेर पठाउने र मानिसका हातहातमा चिठी दिएर वा कुनै समाचारलाई खवरको रुपमा पठाउने प्रचलन रहेको थियो ।

महाभारत युद्दमा कौरव र पाण्डववीच कहिल्यै पनि समझदारी र मेलमिलाप भएन यसको मुख्य कारण कुन्तीले सूचना नदिएकाले थियो । एकदिन दुर्वासा घुम्दै कुन्तीको घरमा जाने क्रममा कुन्तीले दुर्वासाको खुव सम्मान गरिन् अनि दुर्वासा ऋषि खुसी भएर ‘तिमीले जसलाई आफ्नो भित्री मनले चाहेर आराधना गर्दछ्यौ तुरुन्त पतिको रुपमा त्यसलाई प्राप्त गर्ने छौ, अनि उसैबाट तिम्रो सन्तान रहने छ । आवश्यक परेको वेलामा मात्र तिमीले यो वरदान प्रयोग गर्नू ।’ एकदिन कुन्तीले बिहानै उठेर बाहिर हेरिरहेकी थिइन् । उनले उदाउँदै गरेको सूर्यलाई टह–टह र मनमोहक देखिन्,उनी आफ्नो बढ्दो जवानीमा सूर्यदेखि मनमोहक भएर दुर्वासा ऋृषिले दिएको वरदान सम्झिइन् । तत्काल सूर्यदेव त्यही उपस्थित भएर उनीहरुवीच शारीरिक सम्पर्क रहन गयो ।

कुन्ती कुमारी थिइन्, उक्त कुरा उनले लुकाइन् र कसैलाई भनिनन् । बच्चा जन्मिएपछि उक्त बच्चालाई नदीमा लगेर बगाइन्, उक्त बच्चा कर्ण थियो । कर्णलाई दरवारमा काम गर्ने सेवकले नदीबाट लगेर पालेर हुर्कायो बढायो । कुन्तीलाई आफ्नो छोरा कहाँ छ, कसले हुर्काएको छ भन्ने थाहा त थियो, तर उनले त्यो कुरा कहिल्यै कसैलाई बताइनन् । पछि उनको विवाह पाण्डुसँग भयो । दुर्वासाको वरदान स्वरुप पछि कुन्तीले धर्मराजबाट युधिष्ठिर, वायुवाट भीम, इन्द्रबाट अर्जुन गरी तीन महारथीको जन्म दिइन् । तर कहिल्यै कर्ण र पाण्डुपुत्रहरुको परिचय गराइनन् । यसको फलस्वरुप महाभारत युद्धभरि दाजुभइहरु प्रमुख शत्रुको रुपमा एक अर्कालाई सिध्याउने रणनीतिमा रहे । यो सबै कुन्तीले सूचना लुकाएको परिणाम थियो ।

महाभारत युद्दमा कर्ण र द्रोणाचार्यको हत्या पनि गलत सूचनाकै कारण थियो । युद्ध चरमसिमामा पुगेको बेलामा अजुनले कर्णलाई सामान्य युद्दका नियम प्रयोग गरेर हराउन सम्भव थिएन । लडाइको बेलामा कर्णको रथको एउटा पाङ्ग्रा जमिनमा गाडियो । त्यतिवेला उनले रथको पाङग्रा निकाल्न लागेको बेलामा अर्जुनले गाण्डिव धनु प्रयोग गरेर आफ्नै दाइ कर्णको हत्या गरेका थिए । यो पनि सूचनाको कमीकै कारण थियो किनकि युद्धको नियम समान अवस्थामा बाहेक विशेष अवस्थामा लडाइ नगर्ने थियो ।

द्रोर्णाचार्यको हत्या पनि गलत सूचनाको कारण नै थियो । युद्धमा हराउन सम्भव नभएपछि कृष्णले एउटा युक्ति निकाले । अश्वश्थामा नाम गरेको हात्तीलाई भिमद्वारा मार्न लगाइयो । अनि भीमलाई मैले अश्वस्थामाको हत्या गरेँ भन्दै दौडन लगाइयो । द्रोणाचार्यले आफ्नो छोराको नाम सुनेर विचलित भई नजिकै रहेका युिधष्ठिरलाई सोध्न गए । युधिष्ठिर सत्यवादितामा गनिएका थिए । द्रोणचार्यले युधिस्ठिर; अश्वश्थामा मारिएको हो ? भनेर सोधे अनि युिधष्ठिरले ‘अश्वस्थामा हतोहत इति नरो या कुञ्जर’ भनेर जवाफ दिए । द्रोणचार्यले युिधष्ठिरले दिएको जवाफ(सूचनाको) विश्लेषण तुरुन्त गर्न सकेनन् र भूईमा लडे किनकि उनी विक्षिप्त भई सकेका थिए । त्यति नै बेला पाण्डव सेनाका सेनापति धृष्टधुम्नले उनको शिरच्छेदन् गरिदिए ।

सूचनाको महत्वको वारेमा महाभारटमा अर्को एउटा कथा छ; वार्णावट जानुभन्दा पहिला पाण्डवहरु आमासँग विदाइको लागि विदुरको घरमा गएका थिए । कुन्ती त्यतिबेला विदुरको घरमा थिइन् । विदुरले वार्णावटको लाक्षाग्रहको संकेत पहिला नै थाहा पाइसकेका थिए तर उनी भन्न सक्ने अवस्थामा थिएनन् । विदाई भएर हिँड्ने बेलामा विदुरले युिधष्ठिरलाई सोधे ‘वत्स जंगलमा धेरै किसिमका जनावरहरु हुन्छन्, यदि जंगलमा आगो लागेको अवस्थामा कस्ता सुरक्षित हुन्छन् अनि कस्ता मर्दछन् ?’ युधिष्ठिरले जवाफ दिए, ‘काकाश्री; त्यसोे भएमा ठूला सिंह, बाघ, मृगहरु मर्दछन् तर मुसा, बांँच्छन् किनकि तीनिहरु दुलाभित्र रहन्छन् ।’ विदुरले सोधेको प्रश्नको युधिष्ठिरले विश्लेषण गरे, यो एउटा सूचनाको संकेत थियो र पाण्डवहरु लाक्षागृहमा आगो लगाउँदा सुरुमा भित्र थिए र उनीहरु सुरक्षित भए । यो अहिलेको विश्वव्यापी लकडाउनको सन्दर्भसंँग पनि सान्र्दभिका छ ।

यी माथि उल्लेखित पौरााणिक कालका घटनाहरु गलत सूचना वा सूचना नदिएका वा सूचना समयमा नपाएका कारणले घटेका थिए । सूचना दिने कुरालाई व्यवस्थापकले आफ्नो कर्तव्य ठान्दैनन् त्यसैले, राज्यले वा कुनैपनि कार्यालयले कानुनत; गोप्य राख्नु पर्ने संवेदनशील क्षेत्रको सूचनावाहेक हरेक नागरिकलाई सूचना लुकाउनु हुँदैन । सूचनाको हक सम्बन्धी ऐन २०६४ को परिच्छेद २ मा देहायका कुराहरु उल्लेखित छन् ।

यदि कुनै व्यक्तिले यस ऐन बमोजिम कुनै लिखित सामग्री वा काम कार्बाहीको अध्ययन अवलोकन गर्नका लागि निवेदन दिएको भए सूचना अधिकारीले निवेदकलाई त्यस्तो लिखित सामग्री वा काम कार्बाहीको अध्ययन वा अवलोकनका लागि मनासिव समय उपलब्ध गराउन सक्ने छ । यसरी प्राप्त भएको निवेदनउपर जाँचबुझ गर्दा निवेदकले माग गरेबमोजिम आफ्नो निकायसँंग सम्बन्धित नदेखिएमा सूचना अधिकारीले सो खुलाई त्यस कुराको जानकारी निवेदकलाई दिनुपर्नेछ ।

सूचना अधिकारीले सूचना उपलब्ध नगराएमा वा सूचना दिन अस्वीकार गरेमा, आंशिक वा गलत सूचना उपलब्ध गराएमा वा होइन भनी सूचना नदिएमा सम्बन्धित ब्यक्तिले त्यसरी सूचना नपाएको वा गलत सूचनाको मितिले ७ दिनभित्र प्रमुख समक्ष निवेदन दिन सक्नेछ । उक्त निवेदन जाँंचबुझ गर्दा सूचना अधिकारीले गलत सूचना दिएमा वा आंशिक सूचना दिएको पाइएमा प्रमुखले त्यस्तो सूचना अधिकारीलाई कानून बमोजिम कारवाही गर्नेछ ।

यसरी प्रमुखले गरेको निर्णयउपर चित्त नबुझेमा निवेदकले त्यस्तो निर्णय पाएको ३५ दिनभित्र आयोगसमक्ष पुनरावेदन दिन सक्नेछ । प्राप्त पुनरावेदनको कारवाही किनारा गर्दा आयोगले सम्वन्धित प्रमुख वा सूचना अधिकारीलाई आफू समक्ष उपस्थित गराई बयान गराउन कुनै लिखित पेश गर्न लगाउन, सो सम्बन्धमा साक्षी प्रमाण बुझ्न वा सार्वजनिक निकायबाट कुनै लिखतको नक्कल माग गर्न सक्नेछ । यदि पुनरावेदनको व्यहोरा मनासिव देखिएको अवस्थामा समयावधि तोकी पुनरावेदनलाई विना शुल्क सूचना उपलब्ध गराउन भनी सम्बन्धित प्रमुखको नाममा आदेश जारी गर्ने छ ।

सार्वजनिक निकायको प्रमुखले मनासिव कारणविना सूचना दिन इन्कार गरेको वा आंशिक रुपमा वा गलत सूचना दिएको पाइएमा आयोगले त्यस्ता प्रमुखलाई विभागीय कारवाहकिा लागि सम्बन्धित निकायमा लेखी पठाउने छ । सोही ऐनको दफा(३३)मा क्षतिपूर्ति सम्बन्धी व्यवस्था गरेको छ जसमा सम्बन्धित प्रमुखले सूचना नदिएको वा गलत सूचना दिएको वा आंशिक सूचनाको कारणले हानि नोक्सानी भएको कारण खुलाई तीन महिनाभित्र आयोग समक्ष निवेदन दिन सक्नेछ । यसरी सूचनाको हक सम्बन्धी ऐन २०६४ मा सूचना नदिएमा सजाय सम्बन्धी व्यवस्था गरेको छ ।

यसरी सूचनाको हक सम्वन्धी ऐनमा उल्लेखित भएपनि, कतिपय व्यवस्थापकहरु सो सम्वन्धी जानकार नै छैनन् र कतिपयले भएपनि वास्ता गर्दैनन् । उनीहरु कसैले सूचना मागेर दिनु नै परेमा त्यसलाई संस्थाको गुणस्तर र इज्जत प्रतिष्ठासँग जोडेर हेरेका हुन्छन् । सूचना नदिएर भन्दा दिएर गुणस्तर बढ्दछ भन्ने कुरा तिनिहरुले बुझेका हुँदैनन् । अहिले विश्वमा माहामारीको रुपमा कोरोनाको संक्रमणले भयावहको रुप लिइरहेको अवस्थामा सूचना जीवन र मरणसँग जोडिएको छ । जिम्मेवार निकायहरुबाट सूचना लिँदा र दिँदा अलि होसियार हुनुपर्नेे अबस्था छ ।

यस्तो चुनौती सायद यो भन्दा पहिला कहिल्यै थिएन । बिहान समाचार आउदा कोरोना पोजिटिभ आउने फेरि वेलुका त्यसैको नेगेटिभ । वेलुका नेगेटिभ भएकाको भोलिपल्ट पोजिटिभ जस्ता समाचारहरु दैनिक आइरहेका छन्, यस्ता सूचनाले त्रासको वातावरण सृजना गरेका छन् । सामाजिक सन्जाल प्रयोगकर्ताहरु पनि आफ्ना वालहरुमा मनमा जे आयो त्यही, अरुको जीवनको ख्याल नै नगरी पोष्ट गरेका छन् । यस्ता पोष्ट गर्नेहरुले आफूलाई एउटा जिम्मेवार नागरिकको रुपमा ल्निुपर्ने अवस्स्था हो यो ।

सही सूचना नदिनेभन्दा दिने व्यवस्थापक प्रतिष्ठित र सम्मन् हुन्छ भन्ने कुरा व्यवस्थापकरुले बुझेका छैनन् । जसले नियमित र पारदर्शी काम गरेको हुन्छ उसले सूचना लुकाउँदैन र जसले खराव नियतपूर्वक संस्थामा काम गर्दछ, आफ्नो गलत कामलाई छेक्नका लागि मोहराको रुपमा गलत सूचनालाई प्रयोग गर्दछ र सूचना लुकाउँछ । राम्रो उत्तर पुस्तिका परीक्षण गर्ने शिक्षकले विद्यार्थीले चाहेको अवस्थामा उत्तर पुस्तिका देखाउन हिचकिचाउँदैन तर त्यही कुरा कामचोर शिक्षकका लागि गाह्रो हुन्छ । व्यवस्थापक एउटा संस्थाको प्रवक्ता हो । उसले नियमितरुपमा आर्थिक, शैक्षिक, अनुसन्धानात्मक र परिआएका सम्पूर्ण क्रियाकलापको सूचना सरोकारवालाले मागे वा नमागेपनि खुट्टा नकमाइ उपयुक्त र भरपर्दो किसिमबाट उपलब्ध गराउनु पर्दछ, तब मात्र ऊ उत्तम व्यवस्थापक र प्रशासक ठहरिन्छ ।

                                                      [email protected]

सुवेदी पृथ्वीनारायण क्याम्पस पोखराका उप प्रध्यापक हुन् ।

प्रतिकृया दिनुहोस्