शैक्षिक स्तरमा अभिवृद्धि कि होमसेन्टरको परिणाम ?

एजुकेशन पाटी

Byएजुकेशन पाटी

२४ माघ २०७७, शनिबार
रमेशप्रसाद लामिछाने

१. सत्य तितो हुन्छ भनिन्छ तर सबै अवस्थामा तितै हुने सत्य स्विकार्न कठिन हुने गरेको छ । आफूले सोचे जस्तो नहुने बित्तिकै गलत नै हो भन्ने संस्कार आज जन्मेको भने होईन । वास्तविकता हामीले बुझेको भन्दा भिन्न पनि त हुन सक्छ । सन्दर्भलाई कक्षा १२ को नतिजा पश्चात बाहिर आएका चर्चा संग समेत यस आलेखमा जोड्न खोजिएको छ ।

२०७७ माघ १९ गते कक्षा १२ को नतिजा प्रकाशन भएको छ । उक्त नतिजाले कक्षा १२ को परीक्षामा सहभागी नियमित तर्फका ३१०३१६ जना मध्ये ६३२० को नतिजा स्थगित भएको र १९१७६ विद्यार्थीको नतिजा १.६ जिपिए भन्दा कम भएको तथ्याङ्क राष्ट्रिय परीक्षा बोर्डले उक्त नतिजामा देखाएको छ । उक्त तथ्याङ्क बमोजिम कूल परीक्षार्थी बाट स्थगित र १.६ जिपिए भन्दा कम ल्याउनेहरुको संख्या घटाउँदा हुने संख्या २८४८२० ले यस वर्ष स्नातक तहमा प्रवेश गर्दैछन् । यो नतिजा सकारात्मक हो । आगामी वर्षहरुमा यो संख्या नघटोस् भन्दै बृद्धिको क्रमले निरन्तरता पाउनु पर्दछ भन्ने हाम्रो अपेक्षा हो ।

२. एसईईको नतिजा प्रकाशन पछि विद्यालयको मूल्याङ्कनमा विश्वासको आशंका छरपस्ट भएको छ । केहि संस्थाहरुले गरेको मूल्याङ्कनले सबै शिक्षण संस्थाहरुप्रतिको दृष्टिकोण नकारात्मक बनेकै हो । यो प्रवृत्तिले कक्षा १२ को नतिजामा पनि हस्तक्षेप भएको भन्ने टिप्पणी सुनिएको छ ।  २०७६ सालको कक्षा १२ को अन्तिम परीक्षा २०७७ साल वैशाख ८ गतेबाट संचालन गर्नेगरी प्रकाशित कार्यतालिका कोभिड—१९का कारणबाट उत्पन्न असहज र विषम स्थितिले गर्दा स्थगित गरेकोमा परीक्षाको प्रक्रियामा फेरबदलका साथ संक्षिप्त परीक्षाको नामले प्रत्येक विषयको ४० प्रतिशत पूर्णाङ्कमा मिति २०७७ मंसिर ९ गतेदेखि होम सेन्टरबाटै सम्पन्न भयो । बाँकी ६० प्रतिशत मध्ये ४० प्रतिशत कक्षा ११ को नतिजाबाट र २० प्रतिशत विद्यालयले आन्तरिक मूल्याङ्कन गर्ने कार्यविधि तोकिएको थियो ।

३. होम सेन्टर नहुँदा गतवर्ष ३.६ देखि ४.० जिपिए ल्याउने विद्यार्थी संख्या ३०६७ थियो भने यसवर्ष यो संख्या बढेर दोब्बर भन्दा पनि बढि ६९१६ जना भनिएको छ भने कूल परीक्षार्थी संख्यामा सामान्य बृद्धि, बिसहजार पनि छैन । जबकि स्थगित भएका नियमित परिक्षार्थी नै ६३२० जनाबाट अझ केहि संख्या यसमा थपिन सक्छ । गतवर्ष ४.० जिपिए ल्याउने संख्या शुन्य भएकोमा यस वर्ष ४७ जनाले ४.० जिपिए ल्याए भनिएको छ । त्यस्तै ३.२ देखि ३.६ जिपिए ल्याउने गतवर्ष १६२०४ थिएभने यसवर्ष यो संख्या पनि बृद्धि भै ३८४८० पुगेको छ । संगै २.८ देखि ३.२ जिपिए ल्याउने संख्या पनि ३१०६२ जनाबाट बढेर ७६८४१ भएको छ । गत वर्ष ११ सय लगभग परीक्षा केन्द्रबाट संचालन भएको परीक्षा यस वर्ष ४१०५ वटा परीक्षा केन्द्रमा परीक्षा सम्पन्न भएको भनिएको छ ।

४. कक्षा १२ को नतिजा प्रकाशन भन्दा अगाडि विद्यालयले आन्तरिक मूल्याङ्कनको २० प्रतिशत अंक पठाउँदा पूर्णाङ्क भन्दा बढि अंक दिएको कारणले पनि नतिजामा ढिलाई भएको भन्ने समाचार मिडियामा आएकै हो । गत वर्ष १.६ देखि २.० जिपिए ल्याउने विद्यार्थी ६२६१९ भएकोमा यस वर्ष यो संख्या ७१६४ मा र १.२ देखि १.६ जिपिए गतवर्ष १९५८५ भएकोमा यस वर्ष ३३३ मात्र भनिएको छ । यति ठूलो अन्तरमा नतिजा आउँदा ब्यापक शंका उत्पन्न हुनुलाई अस्वभाविक भन्न सकिदैंन । विद्यालयले गर्ने मूल्याङ्कनमा शुद्धता भएन भने समग्र प्रणालीमै गम्भिर बन्नुपर्ने स्थिति मात्र नभै शिक्षा ब्यवस्थामा नै परिवर्तन गर्नै पर्दछ । सम्वन्धित विषय शिक्षकहरुले विभिन्न कारणबाट प्रभावित भएर विद्यार्थीको शैक्षिक स्तर, क्षमता, क्रियाकलाप र उपलब्धिबाट अलग रहेर मूल्याङ्कन गर्ने अवस्था बनेको हो भने हाम्रो शिक्षा ब्यवस्थाको भविष्य पछाडि जान सक्छ र यो राम्रो हुनै सक्दैन । यसले शिक्षण संस्थाको विश्वसनियतामा संकट पैदा गरेकै छ । यसो भन्दा हामीले समग्र विद्यालय कलेजहरुलाई एकै डोकोमा राखेर नकारात्मक बन्न हुँदैन । जहाँ कमजोरी छ, त्रुटी भएको छ , ती संस्थाहरु किटानी गरेर दण्डको दायरामा ल्याउनै पर्दछ जस्को कारणले आगामी दिनमा यसप्रकारका त्रुटीहरु नदोहोरिउन ।

५. बिगतका वर्षहरुको नतिजा संग यस वर्षको नतिजा तुलना गरेर विश्लेषण गर्दा प्राप्त अंकहरुले ब्यापकतहमा स्तर बृद्धि भएको सिद्ध गरेको छ । यथार्थमा यो पत्याउने र विश्वास गर्ने आधारहरु भने हामीसंग छैन । वास्तविकता स्विकार्नै पर्छ । गतवर्ष २.४ देखि २.८ जिपिए ल्याउने ५६५०३ थिए र यस वर्ष यो समूहमा १०९३१२ जना रहेका छन् । यो संख्याले गरेको संकेत बुझ्न कठिन छैन । सम्वन्धित विद्यार्थी स्वयंलाई पत्याउन सहज नबनेको यो नतिजाबाट स्तरबृद्धि भएको पटक्कै होईन । कोभिड—१९ का कारणले परीक्षार्थीहरुमा उत्पन्न निराशा र आशंका बीच भएको ४० प्रतिशतको परीक्षा र कक्षा ११ को नतिजाबाट ४० प्रतिशत मूल्याङ्कन हुँदा यो स्तरबृद्धिको आधार बन्नै सक्दैन ।

महामारीको त्रास र श्रृजित स्वास्थ्य लगायतका कारणबाट विद्यार्थीहरुको मनोविज्ञानमा परीक्षा प्रतिको धारणा सकारात्मक बन्न सकिरहेको थिएन । नयाँ कुरा सिक्ने पक्ष टाढिदै गएको बेलामा सिकेका कुराहरुको सम्झनामात्र पनि कठिन बनेकै हो । परीक्षा हुन्छ भन्नेमा नै बारम्बार आशंका उब्जेको अनिश्चयको समयमा सम्पन्न संक्षिप्त परीक्षाको नतिजामा शैक्षिकस्तर बढेको तथ्याङ्क स्विकार गर्न कठिन भएको हो । सैद्धान्तिक परीक्षाको ४० पूर्णाङ्कमा १२ अंक ल्याउने विद्यार्थीको सोहि विषयको २० पूर्णाङ्कको आन्तरिक तथा प्रयोगात्मक मूल्याङ्कनमा १८ अंक पाएको हुन्छ र यी दुईको मात्र जम्मा प्राप्ताङ्क ३० देखिन्छ जसलाई लेटरग्रेडमा “डि प्लस” भनिएको छ । अझ कक्षा ११ को नतिजाबाट ४० प्रतिशत त थप्नै बाँकि हुन्छ । यो एक उदाहरणले उक्त नतिजाको शैक्षिकस्तर बारे सुक्ष्म विश्लेषणको मार्ग प्रशस्त गरेको छ ।

६. कक्षा १२ को उक्त परीक्षामा नियमित परीक्षार्थी ३१०३१६, ग्रेडबृद्धितर्फ ९१९०० र आंशिकतर्फ ३१०५५ जना गरी कूल परीक्षार्थी ४३३२७१ मध्ये १ जनाको रद्ध भएको, ११४९० जनाको भने स्थगित भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । उल्लेखित नतिजाबाट १.६ भन्दा कम जिपिए प्राप्त गर्ने १९१७६ जना मात्र देखिनुले झण्डै ९५ प्रतिशत अर्थात ४ लाख भन्दा बढि विद्यार्थीहरु विश्वविद्यालयको स्नातकतहमा प्रवेश पाउने अवस्था हुनुलाई सकारात्मक मानिएता पनि हाम्रो शैक्षिक अवस्थाको यथार्थ चित्र बारे शैक्षिक सरोकारवर्ग अनभिज्ञ छैन । कक्षा ८ को परीक्षा स्थानियतहको बोर्डबाट र कक्षा १० को एसईई परीक्षा प्रदेशतहको परीक्षा बोर्ड संगै कक्षा १२ को भने संघीय स्तरमा राष्ट्रिय परीक्षा बोर्डबाटै संचालन गर्ने निर्णय भएको सन्दर्भमा ब्यवस्थित र प्रभावकारी कार्यान्वयन गर्न आवश्यक पहल र संयन्त्रको निर्माणमा सरकारी निर्णयको अपेक्षा अन्यथा होईन ।

स्थानियतहको शिक्षा शाखा परीक्षा संचालनको लागि सक्षम हुन आवश्यक जनशक्तिको पर्खाईमा रहेको गुनासो बाहिर आएको छ । त्यस्तै प्रदेश स्तरमा एसईई परीक्षा संचालनार्थ आवश्यक आधार र संयन्त्र बनाएर प्रक्रिया अगाडि बढाउनु पर्नेमा संघीय स्तरकै बोर्डले कक्षा ९ को रजिष्ट्रेसन संगै कक्षा १० को एसईई परीक्षा आवेदन फर्म भर्ने सूचना प्रकाशित भएबाट उक्त निर्णयको कार्यान्वयनमा थप आशंका जन्माएको छ । संघीय स्तरको परीक्षा बोर्डले बिगतमा कक्षा ११ र १२ को परीक्षा लिर्दै आएकोमा यस वर्षबाट कक्षा ११ को परीक्षाको जिम्मेवारी सम्वन्धित शिक्षण संस्थालाई प्रदान गरेर कक्षा १२ को परीक्षामात्र बोर्डले संचालन गर्ने निर्णय बाहिर आईसकेको स्थितिमा सरोकारवर्गले शैक्षिक स्तर अभिवृद्धिबारेको चिन्ता जाहेर गर्नुलाई स्वभाविक मात्र मानेर पुग्दैन, बहसको विषय समेत बनाउनु पर्ने प्रसंग बाहिर आएको छ

 हेटौंडा

प्रतिकृया दिनुहोस्