एसईईमा होम सेन्टर वा सिधै अपग्रेड नै अहिलेको विकल्प हो त ?

एजुकेशन पाटी

Byएजुकेशन पाटी

२७ जेष्ठ २०७७, मंगलवार

अहिले एसईईको चर्चा देशभर व्याप्त छ । यो स्वाभाविक हो । जहाँ पीडा उत्कर्षमा छ । लगभग पाँच लाख  विद्यार्थीहरु परीक्षाको तनावमा छन् । त्यसो त कक्षा ११र १२ का  झण्डै नौ लाख विद्यार्थीहरु पनि उत्तिकै मानसिक पीडा र तनावमा गुज्रिरहेका छन् । यो भयावह कोरोना त्रासको स्थितिमा यी परीक्षाहरु सञ्चालन गर्न विभिन्न शिक्षाविद तथा विज्ञजनहरु बाट निम्न सुझाबहरु मिडियामा पढ्न सकिन्छ ।

१. परीक्षा होम सेन्टर गरौं ।
२. विगतका आन्तरिक परीक्षालाई आधार मानी कक्षा अपग्रेड गरौं ।
३. पढाउने शिक्षकको मूल्यांकनलाई नै आधिकारिकता दिई ग्रेडिङ गरौं ।
४. परीक्षा सेन्टर थपेर विद्यार्थीलाई पायक पर्ने गरी जाँच लिऔं ।
५. पर्खिएर विगत झैं लिनुपर्छ, हतार नगरौं ।
अब, उल्लेखित सुझावहरुलाई थोरै विश्लेषण गर्ने प्रयत्न पनि गरौं न ।

१.  परीक्षा होम सेन्टर गर्ने सुझाब धेरै पढ्न पाईएको छ । यसका केहि राम्रा पक्षहरु पनि छन् । शहरमा पढन बसेका विद्यार्थीहरु आआफ्नो घर गांउमा पुगेका छन् । उनीहरुले पढेको विद्यालयमा आएर परीक्षा दिन झनै समस्या देखिन्छ । विभिन्न स्थानबाट आउने विद्यार्थी नै खतरा बन्न सक्छन् । पहिलो कुरा त आवतजावतमा नै  असहजता उत्पन्न हुन सक्छ । प्रत्येक दिन बसबाट ओहोरदोहोर गर्न वा पहिलेको कोठामा नै बस्न उनीहरुलाई थप मानसिक तनाव हुन्छ नै । जाँचको तयारी भन्दा पनि सेन्टरमा जानेआउने स्थितिले ज्यादा सताउन सक्छ । विभिन्न शंका, भय, डर, आतंकका बीच यो होम सेन्टर कत्ति कामयावी बन सक्छ , विचारणीय पक्ष छ है ।

२.  प्रत्येक स्कूलले वर्षमा एकपटक मात्र जाँच लिने हैन । सबैजसो स्कूलहरुले कम्तिमा पनि एक वर्षमा तीन पटक मध्ये दुई पटक निर्माणात्मक र सत्रको अन्तमा एक पटक निर्णयात्मक परीक्षा लिने परम्परा छ । यसवर्ष पनि दुईवटा जाँच त भएकै हो । तर ती दुवै परीक्षाले पाठ्यक्रमको आधा भाग मात्र प्रतिनिधित्व गर्दछन् । अर्थात आन्तरिक परीक्षाले विषयवस्तुको र सिकाइ उपलब्धिको समग्र मूल्याङ्कन गरेको हुँदैन । विगतमा कक्षा १० को टेष्ट परीक्षा लिने चलन अनिवार्य थियो । अहिले यो टेष्ट स्वेच्छिक बनेको छ । धेरै विद्यालयले यो टेष्ट विभिन्न नाममा लिएको भएता पनि विद्यार्थीहरुले खासै गंभिरता नदेखाएको सत्य लुकाउन मिल्दैन । त्यस्तै कक्षा ११ र १२ को हकमा पनि समग्र पाठ्यवस्तु सहित विद्यार्थीको सहि मूल्याङ्कन आन्तरिक परीक्षाबाट हुनै सक्दैन । गरिएको पनि छैन । गफै त धेरै दिन गर्न सकिन्छ ।

३.  आफ्ना विद्यार्थीको शैक्षिक स्तर सम्बन्धित शिक्षकलाई स्पष्ट जानकारी हुन्छ । सम्बन्धित विषय शिक्षकलाई आफ्नो कक्षाको विद्यार्थीहरु कुन स्तरका छन् र उनीहरुले हासिल गर्ने ग्रेड यो हुन सक्छ भन्ने अनुमान ती शिक्षकबाट गरिने भएकाले जाँच लिनु पर्दैन भन्ने कुरा सुन्दा हो जस्तो लाग्न सक्छ । यदि सम्वन्धित शिक्षकहरुबाट आफ्ना विद्यार्थीहरुको सहि र निरन्तर मूल्याङ्कन गर्ने बानी कायम राख्न सकेको भए विभिन्न परीक्षा सेन्टर राखेर थप झमेला गर्नु नै पर्ने थिएन । तर हाम्रो सम्वन्धमा यो कागजमा मात्र सिमित रहेको यथार्थ स्विकार गर्नै पर्छ । नेपालको सन्दर्भमा विद्यार्थी मूल्याङ्कनको प्रमुख आधार बनेको परीक्षा प्रणालीलाई नै लत्याएर शिक्षकको सिफारिसमा कक्षा अपग्रेड गर्ने विकसित राष्ट्रको नक्कल गर्ने नाममा अरुले घोडा चढेको देखेर आफु घरको धुरी चढ्न लाग्दाको अवस्था हुने छ । यो शैक्षिक अराजकता प्रवेश गराउने प्रत्युत्पादक बन्ने खतरा ज्यादा रहन्छ ।

४. हालको लकडाउनको अवस्था र कोरोना भाईरसबाट आगामी दिनमा समेत बाँच्न बचाउन अपनाउन पर्ने सामाजिक दूरी, सरसफाईका विविध पक्षहरु समेतका अनुशासनका सबालमा सजग र सतर्क रहन परीक्षार्थीलाई तनावरहित वातावरणमा परीक्षा दिलाउन हालका परीक्षा सेन्टरको संख्या थप गरी सहज बनाउन पर्छ कि भनेर सो को लागि परीक्षा बोर्डले जिल्लालाई विवरण पठाउन सूचना नै गरिसकेको छ । तुलनात्मक रुपमा अन्य विकल्प भन्दा यो विकल्प केहि उपयुक्त देखिन्छ । हालको भन्दा सय वा दुई सय केन्द्र थपेर विद्यार्थीहरुलाई सजिलो बनाउंदा राम्रो हुन्छ नै । यसो गर्दा केहि व्यवस्थापकीय पक्षमा थप खटनु त पर्छ । थोरै झन्झटको सामना पनि गर्नु नै पर्छ । अलिक व्ययभारलाई अन्यथा लिनु हुदैन ।

५.  हाल परीक्षा सम्पन्न गर्नै पर्ने प्रेसरमा परीक्षा बोर्ड रहेको छ । यता कोरोना भाईरसको आतङ्क जारी छ । परिक्षार्थीको अवस्था छटपटी र तनावपूर्ण छ । शिक्षकमा पनि उत्तिकै भय र त्रास छ ।  यो परिवेशमा परीक्षाको वातावरण पटक्कै छैन । पर्खिनुको विकल्प नभएको हालको स्थितिमा लकडाउनको अवधिलाई गुजारेर शान्त बनेर मात्र परीक्षा लिनु नै उपयुक्त हुन्छ । यद्यपि तीन घण्टाको पेपर पेन्सिल टेष्ट मात्र विद्यार्थीको समग्र मूल्याङ्कनको आधार कदापी हुन सक्दैन । साथै तीन घण्टे जांचको प्रसंग हाल मात्र उब्जिएको भने पक्कै होईन । नेपालको हकमा यो परीक्षा प्रणाली औपचारिक शिक्षा संगै प्रारम्भ भएको पाईन्छ । यसको मतलव अहिलेको अवस्थामा यो पद्दति फेर्न नमिल्ने भन्नेचाहि पटक्कै होईन । सिंगो परीक्षा प्रणाली नै बदल्दा केहि तयारी त जरुरी पर्छ नै ।

निष्कर्ष :   डा. विद्यानाथ कोइराला सरले हालको विषम परिस्थितिमा घेरा बनाएर अत्याधुनिक प्रविधि  ईन्टरनेट सेवा मार्फत जुम क्लाउड कन्फरेन्स, स्काईप, स्मार्ट क्लास, अनलाईन कक्षाहरु, यो सम्भव नभए टिभी मार्फत, अनि रेडियोबाट दूर शिक्षा, मोवाईल एप्सहरुको माध्यमबाट, यी पनि सम्भव नभए शिक्षकद्धारा व्यक्तिगत सम्पर्कबाट अबको शिक्षणसिकाइ क्रियायलाप अगाडि लानुपर्ने सल्लाह दिनुभएको छ ।

यी विधिहरु हालको हाम्रो अवस्थामा कति व्यवहारमा उतार्र्न सकिन्छ, गम्भिर विश्लेषणको जरुरी त पर्छ नै । नेपाल देश भनेको काठमाडौं उपत्यका र केहि शहरहरु मात्र होईन भन्ने सत्य विज्ञसरहरुले बुझ्नु त भएकै होला । त्यस्तै डा. मन वाग्ले सरले भन्नु भएको विद्यालयको शैक्षिकसत्र नै अबदेखि  श्रावणबाट गर्नेकुरामा भने सहमत हुन सकिन्छ । यसभित्र केहि वैज्ञानिकता रहेको यथार्थ स्पष्ट छ ।

तर परीक्षा नै नगरि कक्षा अपग्रेड गर्ने भनाइमा भने हालको शिक्षा प्रणालीमा स्विकार गर्न सकिन्न । कक्षा नौ सम्मका विद्यार्थीहरुको परीक्षा सकिएकै हो । त्यो नतिजा प्रकाशन गर्ने अनि कक्षा १० संगै ११ कक्षाकालाई कक्षा प्रमोशन गरेर अनलाईन कक्षा शुरु गरीहाल्न हाम्रा विज्ञसरहरुले दिनुभएको सल्लाह उहाँहरुले साच्चै भनेको भन्नेमा विश्वास छैन ।  फिनल्याण्ड, डेनमार्क, अष्ट्रेलिया, जापान, वेलायत, अमेरिका, कोरिया, चीन, आदि विकसित मुलुकहरुको विद्यार्थी मूल्याङ्कन प्रणालीमात्र नभै शिक्षा प्रणालीको पनि बहस गरांै न ।

विषम परिस्थितिको नाममा थप शैक्षिक अन्यौलता निम्त्याउनु कदापी हुँदैन जबकि लेटर ग्रेडिङ सिस्टमको कारणले उब्जेको रोगको उपचार अहिले सम्म फेला नपरेको तथ्य स्विकार गर्नै पर्छ । हामी परिवर्तनका विरोधी विल्कुलै होईनौ । अझ परिवर्तन र अग्रगतिका पक्षमा, वैज्ञानिकताका पक्षमा, सीप र ज्ञानलाई संयोजन गर्ने सवालमा हामी सदैव चनाखो र गम्भिर छौं । सँगै,  परिवर्तनका स्पष्ट र ठोस रोडम्याप सहित नेपालको समग्र शैक्षिक प्रणाली नै युगानुकुल हुने गरी बदल्न विलम्ब भएकै हो र वर्तमान विषमता र प्रतिकुलता यो परिवर्तनको लागि अनुकुलतामा  बदल्न सकिन्छ भन्ने आवाज अझ सशक्त बनाउन जरुरी महसुस गरिएको छ ।

-हेटौडा, मकवानपुर

प्रतिकृया दिनुहोस्