परीक्षा प्रणाली नै अन्त्य गरौं

एजुकेशन पाटी

Byएजुकेशन पाटी

२७ जेष्ठ २०७७, मंगलवार

 

कोभिड – १९ ले समग्र विश्व त्रसित छ । अत्यन्तै सीमित स्रोत र साधका कारणले गर्दा लकडाउन नै बाँच्ने उपयुक्त विधि मान्दा नेपाल विश्वकै बढी लकडाउन हुने देशहरूकै सूचीमा तेस्रो स्थानमा छ । अर्थात् आजको दिनसम्म आइपुग्दा हामीले २६ दिन लकडाउनमा बिताएका छौं । अझ कतिसम्म बस्नुपर्ने हो थाहा छैन ।

समस्या ‘समस्या’ मात्र होइन नयाँ कार्यको शुरुवातका लागि ठूलो अवसर पनि हो भन्ने कुरालाई मनन् गर्न सक्यौं भने समस्यालाई सफलतामा बदल्न सक्छौं ।

शिक्षाको क्षेत्रमा रहेर अहिलेको परिस्थितिलाई हेर्ने हो भने शिक्षालयहरु बन्द छन् । अहिलेको समयमा विद्यार्थी र अभिभावकको सर्वाधिक चासोको विषय भनेको कक्षा १ देखि ९ सम्मको नतिजा र एसईई र ११ तथा १२ को परीक्षा कहिले ? भन्ने नै हो ।

अहिलेको त्रसित परिस्थितिमा विद्यार्थीहरु लकडाउन खुलेतापनि सहजै सामेल हुन सक्ने छैनन् यसले हामीलाई परीक्षा प्रणाली नै सुधार गर्ने ठूलो अवसर पनि प्रदान गरेको छ ।

प्रष्ट रुपमा भन्नुपर्दा कक्षा ११ सम्म कुनै विशिष्ट किसिमको वा बोर्ड परीक्षा नै हटाएर निर्माणात्मक मुल्याङ्कन गर्दै सुधारात्मक परीक्षण गरौं । नेपाल सरकारकै शिक्षा नियमावली हेर्ने हो भनेपनि विद्यार्थीले कक्षा १२ सम्म पुनः कक्षा नदोहोर्याउने भन्ने छ यसले पनि निर्माणात्मक मुल्याङ्कन नै होस भन्ने कुरालाई जोड पुग्छ । विद्यार्थीको वर्षभरिको पढाइलाई तीन घण्टामा केही प्रश्न दिएर मुल्याङ्कन गर्नु पनि पक्कै उचित होइन ।

विश्वव्यापीकरणको यस समयमा विद्यार्थीको सिकाइलाई परीक्षाको लागि सीमित गर्यौं भने समग्र शिक्षा प्रणाली नै पछाडि धकेलिने निश्चित छ । संसारमा जन्म लिने हरेक प्राणीमा आफ्नो छुट्टै विशेषता र क्षमता हुन्छ । हामीले आँपको बोटमा सुन्तला र स्याउको बोटमा आँप खोज्यौं भने आँप र सुन्तलाले दिने पोषणबाट विमुख हुन्छौं ।

शिक्षाप्रेमीहरुले पनि यो कुरा बुझ्नु जरुरी छ, विद्यार्थीको पनि आफ्नो विशेषता र क्षमतामा गरिने मुल्याङ्कन नै सर्वोत्कृष्ट मुल्याङ्कन हो जसले उनीहरुको रुचीमा थप सुधार गर्न प्रोत्साहन गर्छ जुन चिज ३ घण्टे परीक्षाले गर्न सक्दैन ।

अहिलेका विद्यार्थीहरु पुरानो शिक्षा प्रणालीमा अभ्यस्त अभिभावकको चेपुवामा परेका छन् । आफ्नो क्षमता र रुची भन्दा पनि अभिभावकका लागि राम्रो ग्रेड (जिपिए) ल्याइदिनुपर्ने भएको छ । जसले गर्दा उनीहरुमा भएको जोश र जाँगर मर्दछ ।

एक्काइसौं शताब्दीका विद्यार्थीहरुलाई विश्वस्तरीय नागरिक बनाउन नसक्नु भनेको आगामी पिढीं प्रतिको धोका हो यसका लागि पनि परीक्षामै संकुचित भएर बस्नुभन्दा परीक्षा प्रणाली नै अन्त्य गर्नु उपयुक्त हुन्छ ।

१०० वा ७५ अङ्कको प्रश्नपत्र निर्माण गरेर दायाँ बाँया पनि फर्कन नदिइ दिइने अङ्कभन्दा पनि आफ्नो रुची र क्षमताका आधारमा गरेका कार्यमा निरीक्षक भई दिइने सुझाबले सकारात्मक उर्जा प्रदान गर्दछ ।

विद्यार्थीको रुची के हो ? सिकाइ शैली कस्तो छ ? व्यवहारीक ज्ञानमा सुधारको अवस्था कस्तो छ ? सीप विकासका क्षेत्रहरु के के हुन ? जस्ता पक्षमा सुझाब दिन सक्यौं भने मात्र विद्यार्थीहरुमा सिकाइप्रति रुची बढ्छ । जुनसुकै प्रणाली भएपनि अङ्कमा मात्र निर्भर भएर गरिने मुल्याङ्कनले विद्यार्थीलाई हतोत्साहित गर्छ भन्ने कुरा विगतका एसईई परीक्षाको नतिजा पश्चात् देखिएका विविध घटनाले पनि प्रष्ट पार्छ ।

त्यसैले शिक्षक तथा अभिभावकले पनि परीक्षा नै अन्तिम र सर्वोत्कृष्ट मुल्याङ्कनको अस्त्र हो भन्ने कुरा छाडौं । विद्यार्थीलाई उनीहरुकै ढङ्गबाट सिक्ने अवसर दिउँ । बाटो बिराउन खोज्नेलाई बाटो देखाउँ एउटा बाटो हिडेकालाई जवरजस्ति नमोडौं बाँदर र माछालाई समुद्रमा पौड्न लगाएरको राम्रो भनेर मुल्याङ्कन गर्ने पद्धतिको सदाका लागि अन्त्य गरौं ।

परिस्थिति अनुसार पढाइ हुने पाठ्यक्रम तयार पारौं । ‘फेनोमेनोलजिकल लर्निङ’ मा जाने हो भने विद्यार्थीले छिटो पनि सिक्छन् । त्यही विधि अपनाएको फिनल्याण्डको शिक्षा संसारमै उत्कृष्टभित्र परेको छ । यसरी जाँदा विविध कारणले विद्यालय बन्द हुँदा भर्चुअल तथा अनलाइन कक्षा सञ्चालन गर्न पनि कुनै कठिनाइ आउदैन र संसारका उत्कृष्ट शिक्षा प्रणालीतर्फ हामी पनि प्रवेश गर्न सक्छौं । यसतर्फ सरकारी निकायको पनि ध्यान जाओस् ।

प्रतिकृया दिनुहोस्