२०७६ असोज ३ गते

प्रधानाध्यापकले कि विद्यालय सुधारौं कि त पद छाडौं

राजेन्द्र अधिकारी


राजेन्द्र अधिकारी
प्रधानाध्यापक
टंगाल मावि, टंगाल,काठमाडौं



समग्र विद्यालयको अवस्थाबारे बताइदिनोस् न ?
वि.सं. २०२० सालमा स्थापना भएको यो विद्यालय क्रमिक रुपमा २०२७/०२८ सालमा निम्न माध्यमिक हुँदै २०४० मा माध्यमिक तह भएको हो । २०६५ सालदेखि कक्षा ११ र १२ अध्ययन अध्यापन गराउन शुरु गरेको हो । यस टंगाल माविले स्थापनाकालदेखि अहिलेसम्म  आइपुग्दा धेरै आरोह र अबरोहहरु झेल्दै आएको छ । तर, आज समाजमा प्रतिष्ठित विद्यालयको रुपमा स्थापित हुन सफल छ ।


अरु विद्यालयमा भन्दा यहाँ राम्रा अभ्यासहरु के–के छन् ?
यहाँ विद्यार्थीका अभिभावकहरुसँग हरेक महिना नियमित भेटघाटको सम्बन्धलाई निरन्तरता दिँदै आएका छौं । विद्यार्थीलाई कुनैपनि पाठ सिद्धिएपछि त्यसको अनिवार्य गृहकार्य परीक्षण गर्ने, त्यो पनि चेक र रि–चेक प्रणालीमार्फत् गर्ने गरेका छौं । शिक्षकहरु कक्षाकोठामा प्रवेश गर्दा सिकाइ योजना, पाठयोजना र अनिवार्य रुपमा शैक्षिक सामग्री लिएर जानुपर्ने व्यवस्था गरिएको छ । विद्यार्थीलाई कम्तिमा हप्ताको एक पटक अतिरिक्त क्रियाकलापको माध्यमबाट प्रतिभा प्रष्फुटन गर्ने अवसर प्रदान गरिँदै आइएको छ । विद्यालयमा बालकेन्द्रित शिक्षण सिकाइ हुँदै आएको छ । उनीहरुले करले भन्दापनि रहरले सिक्ने वातावरण सिर्जना गर्न हरसम्भव प्रयास गरिएको छ । त्यसैले विद्यालयमा विद्यार्थी रमाएर सिक्ने गर्छन् । विद्यालयको समग्र वस्तुस्थिति विद्यार्थीमैत्री र विद्यार्थीमै केन्द्रित गर्ने प्रयास गरेका छौं । यो अनुभव विद्यार्थी आफैले र समुदायले पनि गरेको पाएको छु । विद्यालयमा १ कक्षा देखि १२ सम्मै अंग्रेजी माध्यममा पठनपाठन गर्दै आएका छौं । अत्याधुनिक कम्प्यूटर, विज्ञान प्रयोगशाला र पुस्तकालयको व्यवस्था गरेका छौं । अनिवार्य कम्प्यूटर शिक्षा लागू गरेका छौं । खानेपानीको उचित प्रबन्ध छ । निजी विद्यालयमा हुने सबैखाले सुविधा यस विद्यालयमा उपलब्ध गराउने प्रयास गरेका छौं । यी सुविधा उपलब्ध गराएपनि हामी विद्यार्थीसँग कुनैपनि शुल्क वा स्रोत लिने गरेका छैनौं । विद्यार्थी कुनै कारणले विद्यालयमा ढिलो आए वा नआए अभिभावकहरुसँग तुरुन्त जानकारी लिने काम गर्ने गरेका छौं ।


सिकाइ सुधारका प्रयासहरु के–के भएका छन् ?
शिक्षकहरुले विद्यार्थीका समस्या पहिचान गरी आफ्नो पाठयोजना र सिकाइ योजना बनाउने व्यवस्था गरेका छौं । विद्यार्थीलाई के कसरी पढाउने, कुन शिक्षण विधि र सिकाइ सामग्रीको प्रयोग गर्ने भन्ने योजनाका साथ शिक्षकहरु कक्षाकोठामा प्रवेश गर्नुहुन्छ । विद्यार्थी केन्द्रित शिक्षण सिकाइ लागू गरिएकाले हरेक विद्यार्थीको क्षमता र प्रतिभाको मूल्याङ्कनका आधारमा सिकाइ योजना बन्ने गरेको छ । सिक्ने र सिकाउने प्रक्रियालाई विद्यार्थीमैत्री बनाउन सोही अनुसार नियमित गृहकार्य दिने र त्यसको परीक्षण गर्ने काम हुन्छ । हाम्रो विद्यालयमा शिक्षकहरु धेरै व्यस्त हुन्छन् । घरमा पनि सिकाइ सुधारका लागि मिहिनेत गर्ने वातावरण तयार पार्ने काम हुँदै आएको छ । यस विद्यालयका शिक्षकहरु जागिर खान र कक्षाकोठामा पढाउन मात्रै आउँदैनन् । ठूलो जिम्मेवारी पूरा गर्न र विद्यार्थीको सुनौलो भविष्यको खाका कोर्न आउँछन् । एउटै कक्षामा गृहकार्य परीक्षण, सिकाइ सामग्रीको प्रयोग र पाठयोजना अनुसारको सिकाइ सम्पन्न गर्नुपर्ने हुन्छ । अफिसमा पनि शिक्षकहरु योजना बनाइरहेका नै हुन्छन् । घरमा पनि इन्टरनेटबाट सिकाइ सामग्री संकलन गर्नुपर्ने व्यवस्था गरेका छौं । हरेक दिनलाई विशेष सिकाइ दिन बनाउन हामी कम्मर कसेर लागेको अवस्था छ । पाठयोजना अनुसार सिकाइ र त्यसको मूल्याड्ढन गर्दा के–के सिकाउनुपर्ने, विद्यार्थीले के–के सिके, निक्र्योल गरेर बाँकी विषय सिकाएर मात्रै अर्को पाठ शुरु गर्ने परिपाटीको शुरुवात गरेका छौं । यसले विद्यार्थीसँगै शिक्षककै पनि सिकाइ सुधार हुने गरेको छ ।


सिकाइ अवस्था कस्तो छ ?
हामी परीक्षालाई मात्रै केन्द्रित नभएर विद्यार्थीको समग्र विकासमा आधारित भएर शिक्षण सिकाइ गर्दै आएका छौं । त्यसैले ३ घण्टाको परीक्षाले मात्रै हाम्रा विद्यार्थीको सही मूल्याड्ढन हुन सक्दैन भन्ने हाम्रो ठम्याइ रहेको छ । तरपनि, हरेक कक्षाको सिकाइ उपलब्धि र एसइइ तथा एसएलसीको नतिजा उत्कृष्ट छ । सि ग्रेडभन्दा कम आउने अवस्था छैन ।


शहर बजारका केही राम्रा भएपनि समग्र रुपमा सामुदायिक विद्यालयको अवस्था राम्रो छैन । सामुदायिक विद्यालयको सिकाइ अवस्था खस्कनुको दोष सिकाइको हो कि शिक्षकको  ?
शिक्षण सिकाइ खस्कनुको दोष शिक्षक, शिकाइ वा सरकारको होइन प्रधानाध्यापकको हो । जुन विद्यालयमा प्रधानाध्यापक बलियो र योग्य मिहिनेती छन्, ती विद्यालयको अवस्था पनि राम्रो छ । प्रअको नेतृत्व राम्रो, सबै शिक्षकहरुलाई समेट्न सक्ने, विद्यार्थीलाई अनुशासित र अभिभावकको मन जित्न सक्ने प्रअ भएको विद्यालयको सिकाइ पनि राम्रो छ । विद्यार्थीको सिकाइमा रुचि बढाउन सक्ने, शिक्षकहरुको शिक्षण सिकाइमा चाख बढाउने, अभिभावक तथा सरोकारवालाहरुको चासो र सक्रियता बढाउने वातावरण व्यवस्था गर्न सक्ने प्रअकै विद्यालय उत्कृष्ट हुन्छ र भएका पनि छन् । सामुदायिक विद्यालयमा शिक्षकको मानसिकता जागिर खाने मात्रै छ । प्रअचाहिँ विद्यालय जान नपरे हुन्थ्यो भन्ने प्रवृत्ति छ । प्रअहरु कुनै दल विशेषको झोला बोकेर उसको कार्यकर्ता बन्न पायो भने मख्ख पर्ने, गौरव गर्ने परिपाटीले सामुदायिक शिक्षा ध्वस्त भएको हो । एउटा आशलाग्दो के पनि छ भने काठमाडौंका धेरै विद्यालयहरुका प्रअमा झोले कार्यकर्ताको हैसियतबाट बिस्तारै पन्छिँदै यो विद्यालय नै मेरो कर्मथलो हो, यसैलाई राम्रो बनाउन सके मेरो राजनीतिक भविष्य राम्रो बन्छ, राम्रो प्रशासक पनि बन्छु, शिक्षा क्षेत्रमा सबैले मान–सम्मान पनि गर्छन् भन्ने मानसिकता क्रमशः विकास हुँदै गएको छ । अहिले शहरका विद्यालयका प्रअहरुमा राजनीतिक भन्दापनि शैक्षिक चेतनाको विकास भएको देखिन्छ । जसले गर्दा शिक्षण  सिकाइहरुमा पनि सुधार हुँदै गएको पाइन्छ ।


विद्यालयको सिकाइ सुधारमा कसको भूमिका बढी हुनुपर्ला ?
मेरो विचारमा शिक्षक, विद्यार्थी, अभिभावक, सरकारभन्दा प्रअकै भूमिका बढी हुन्छ । सामुदायिक विद्यालयको प्रमुख समस्या व्यवस्थापनकै हो । नेतृत्व ठीक भए व्यवस्थापन सुध्रने हो । शिक्षा सुधार एकै पटक हुने कुरा पनि होइन । प्रअको असल नेतृत्व हुने हो भने कम्तिमा पाँच वर्षमा कुनै पनि विद्यालयको सुवर्णकाल शुरु हुन्छ । प्रअहरुमा विद्यालय मेरै हो, मैले नगरे कसले गर्छ ? भन्ने धारणा हुनु पर्छ । प्रअले सही नेतृत्व दिन सक्दैन भने कि पद छाड्नु पर्छ कि त स्कूल बनाउन दत्तचित्त भएर लाग्नु पर्छ । प्रअ नियुक्ति कार्यसम्पादन सम्झौताका आधारमा गर्ने कुरासँग म सहमत छु । काम गर्ने मान्छेले मौका पाउनु पर्छ । काम नगर्ने दलको झोला बोक्ने, कुरा मात्रै ठूला गर्नेले शिक्षण क्रियाकलापबाट बिदा लिनु पर्छ । अक्षम प्रअकै कारण सामुदायिक विद्यालय धारासाही भएका हुन् । सुधार गर्ने नचाहेर हो । शिक्षक विद्यार्थी कसैले नगरेका होइनन् । नगरेको प्रअले नै हो ।


सामुदायिक विद्यालयको सिकाइ सुधारमा सरकारको भूमिका कस्तो देख्नुहुन्छ ?
सरकारको सधैँ विरोध मात्रै गर्ने होइन । सरकारलाई धन्यवाद दिनुपर्छ । सरकारले गर्नसक्ने र गर्नुपर्ने काम गरेको छ । शिक्षण सिकाइका लागि चाहिने भौतिक पूर्वाधारहरु, कक्षाकोठा, भवन, कम्प्यूटर, प्रयोगशाला, पुस्तकालय, किताब–कुनो सरकारले व्यवस्था गरेकै छ । विद्यालयले योजनाबद्ध रुपमा अभावको प्रमाणित गर्दै माग गरेमा सरकारले उपलब्ध गराउँदै आएको छ । निःशुल्क पाठ्यपुस्तक, शिक्षक तालीमलगायत उपलब्ध गराउने काम गरेको छ । राज्यले गरेन, दिएन भनेर दोष मात्रै थोपरेर हुँदैन । दिएको जति पूर्वाधारको सही परिचालन पनि हुनुपर्छ । राज्यले दिएको पाठ्यपुस्तकमा कमिशन खाने, कम्प्यूटर नचलाएर धुलो जमाउने, शैक्षिक सामाग्री प्रयोग नै नगर्ने, विज्ञान प्रयोगशाला कुहाउने अनि राज्यले गरेन भन्ने ? मेरो विचारमा राज्यले शिक्षण सिकाइ सुधारका लागि पर्याप्त लगानी सहयोग छ ।


एउटा राम्रो प्रधानाध्यापक हुनका लागि कस्तो क्षमता र योग्यता चाहिन्छ ?
पहिलो कुरो प्रअ लगनशील हुनु पर्छ । विद्यालयलाई आवश्यक समय उपलब्ध गराउन सक्ने हुनु पर्छ । सबै शिक्षकलाई मिलाएर अगाडि बढाउन सक्ने क्षमता हुनु पर्छ । तुरुन्त निर्णय लिनसक्ने, स्थानीय तह, अभिभावक र विद्यार्थीसँग समन्वय गर्न सक्ने, समस्या पहिचान गरी समाधानको योजना बनाउन सक्ने क्षमता पनि प्रअले राख्नु पर्छ । तालिम र योग्यता त चाहिन्छ नै । मुख्यतः नेतृत्व दिनसक्ने क्षमता नै हुनु पर्छ । तुरुन्त आफू सुधारिन सक्ने, सबैको कुरा सुन्ने, समग्र विद्यालय टिमलाई विश्वासमा लिँदै सिकाइ सुधारमा प्रेरित गराउन सक्ने व्यक्ति नै सफल प्रअ हुन्छ । नेतृत्व र निर्णय लिने प्रअ सबै ठाउँमा सफल हुन्छ ।


अरु विद्यालयहरुले टंगाल माविबाट के सिक्न सक्छन् ?
हामीले विद्यार्थी मूल्याङ्कनका लागि लागू गर्दै आएको पाठगत, साप्ताहिक र मासिक परीक्षा, नियमित गृहकार्य परीक्षण, विद्यार्थी केन्द्रित शिक्षण सिकाइ अन्य विद्यालयले सिक्दा राम्रो हुन्छ । विद्यार्थीको नियमितता, अनुशासन र सिकाइमा अभिभावकसँगको नियमित छलफल, शिक्षकहरुको सिकाइप्रतिको लगाव र प्रतिबद्धता पनि सिक्ने ठाउँ हुन् ।

प्रस्तुति :रोशन गाउँले

साभार: आजको शिक्षा साप्ताहिक





 



Comments: