म, मेरो बाबा र शिक्षण पेशा

एजुकेशन पाटी

Byएजुकेशन पाटी

१७ माघ २०७७, शनिबार
पुष्पा खड्का ‘परिशीलन’

त्यति बेला म चौध पन्ध्र वर्षकी थिए क्या रे । कक्षा ८ मा पढ्ने बेलाको कुरा हो । मलाई अहिले पनि सम्झना छ, नेपाली विषयको गुरुले एकदिन ल्फोरेन्स नाइटिंगेलको बारेमा पढाउने क्रममा भन्नु भयो–‘ल्फोरेन्स नाइटिंगेल एकजना नर्सको नाम हो । जसले लडाइमा घाइते भएका हजारौं सैनिक र गैरसैनिक नागरिकहरुको उपचार गरेर ज्यान जोगाइन । आफ्नो ज्यूज्यानको परवाह नगरी मानव सेवामा खटेको कारणले आज उनलाई विश्वले मानसम्मान गरेर महामानवको पङितमा राखेको छ र उनको जन्म दिनलाई अन्तर्राष्ट्रिय नर्सिङ दिवसको रुपमा मनाउने गर्दछ ।’

थाहा छैन, मैले त्यतिबेला सायद आफूलाई संसारकै एउटा शक्तिशाली नारी सम्झे की जस्तो पनि लाग्छ । मैले जे सोचे त्यही गर्न सक्छु भन्ने लाग्यो र मनमनै आफू पनि ल्फोरेन्स नाइटिंगेल जस्तै भएर गाउघरमा अकालमा मृत्युको मुखमा परिरहेका महिला, बालबालिका र बृद्धबृद्धालाई बचाउछु भन्ने अठोट गरें । कक्षा दशसम्म पढ्दा पनि मेरो त्यो अठोट जारी नै थियो । कक्षा दशमा पढ्दा पढ्दै मैले नचाहेर पनि मेरो विवाह भयो । त्यसपछि भने म पग्लिन थालेछु । मेरो अठोट पनि मसँगै पग्लिन थालेछ । कहिले बाबाआमाको मन राख्न पग्लिएँ । कहिले पति र सासुससुराको मन राख्न पग्लिएँ । समाजको मन राख्न समेत पग्लिनु पर्दोरहेछ, पग्लिएँ । पग्लिदा पग्लिदै मसँग भएको मपनि पग्लिएर स्वरुप नै परिवर्तन हुन थालेछ ।

मैले विवाह गरेपछि पनि पढेर नर्स हुने कुरा बारम्बार दोहो¥याए मेरा आफन्तहरुसँग । तथापि मेरो कुरा कसैले सुनेनन् । कसैले सुनेर पनि नसुने झै गरे । कसैले सुनेर हाँसो र उपहासमा उडाए । परिवेश यस्तो भएपछि म एक्लै परेछु । नेपाली विषयको सरले ल्फोरेन्स नाइटिंगेलको बारेमा पढाउदाको जस्तो म शक्तिशाली नारी हुन सकिनछु । जिन्दगी यस्तै रहेछ । विवाह गरेपछि घर फेरिदो रहेछ । आफूले गर्ने भर फेरिदो रहेछ । आफन्तहरु फेरिदा रहेछन् । जिन्दगीको भूमिका फेरिदो रहेछ । जिन्दगीको यत्ति महत्वपूर्ण कुरा आफ्नो निर्णयमा हुन नपाएपछि एकप्रकारले जीन्दगी सोचे जस्तो हुँदो रहेनछ । अरुको निम्ति पग्लदा पग्लदै आफ्नो जीवन त आफ्नै निम्ति निरसिलो हुँदो रहेछ । पग्लिने क्रममा मेरो ल्फोरेन्स जस्तै नर्स भएर काम गर्ने कुरा पनि पग्लिएर गयो । मैले नचाहेर पनि पग्लिएर गयो । मैले जोगाउदा जोगाउदै पनि पग्लिएर गयो । मेरै परेलीबाट झरिरहेका आँशुसँगै पग्लिएर गयो ।

विवाह गरेपछि सन्तानको आमा हुने आमनारीको भूमिका सँगै मैले पनि जेनतेन समय निकालेर दुःखजिलो गर्दै एसएलसी पास गरें । यस्तैमा शिक्षण पेशामा रहदै गर्दा मेरो बाबाको असामयिक निधन भयो । वावाको निधनले यो छोरीको दिलमा असह्य पीडाबोध भयो, यसकारण कि मलाई असल बाटोमा हिड्न प्रेरित गर्ने व्यक्तिको नाम हो बाबा । मलाई अन्यायको विरुद्धमा सम्झौता होइन सून्य सहनशिलता अपनाउन सिकाउने व्यक्तिको नाम हो बाबा । ममा गरीव, दुखी र असहायप्रति सहयोग गर्ने विचारको विजारोपण गरिदिने व्यक्तिको नाम हो बाबा । बाबाले दिएका ती उपहारहरु मसँग अहिले पनि सुरक्षित छन् । कहिलेकाही बाबाले दिएका ती उपहारहरुलाई मलाई मेरो जिन्दगीमा जोगाउन हम्मेहम्मे पनि पर्ने गर्दछ । कतिपटक त मेरा बाबाले दिएका ती उपहारहरुलाई मर्न दिनु भन्दा म आफै मर्छु भनेर रातविरात जङगल र नदी किनारमा पनि गएकी छु । त्यतिबेला ‘म यसरी सकिए भने मेरा बाबाको ती उपहारहरुलाई कसले जोगाउछ त ?’ भन्ने प्रश्नले मतिर औला तेस्र्याउछ । त्यसपछि भने मलाई मेरो बाबाले दिएका उपहारहरु बचाउनका लागि समेत म बाँच्नु पर्छ भनेर घर फर्केर आएकी छु ।

बाबाले हामीलाई छोडेर गइसकेपछि बाबाले काम गरेको शिक्षण पेशामा प्रतिष्पर्धा गरेर सफल भइ काम गरिरहेकी छु । सुरुमा अस्थायीे रुपमा प्रवेश गरेपनि अहिले स्थायी समेत भइसकेकी छुु । जहाँ इच्छा त्यहाँ उपाय भने झै बाबाले देखाएको बाटो र बाबाले दिएका उपहारहरुको संरक्षण र जगेर्ना गर्ने अवसर मैले अहिले गरिरहेको शिक्षण पेशामा पनि मनग्गे पाइरहेकी छु । मेरो नाम लिदै मेरै छेउमा आएर मेरा विद्यार्थीहरुले मलाई आफ्नो सम्झेर आफ्ना कथा व्यथा पोखिरहँदा मेरो बाबाले पनि मेरै छेउमा आएर मलाई भनिरहेको झै लाग्छ – ‘यिनीहरुका कुरा राम्रोसँग सुन है छोरी । यिनीहरुका पनि तिम्रा जस्तै कथा र व्यथाहरु छन् । तिमीले यिनीहरुका समस्याहरु सुनेर समाधान ग¥यौं भने तिमीलाई त एकप्रकारको सन्तुष्ठि मिल्छ नै । मलाई समेत मेरो छोरीले मेरा अधुरा सपनाहरु पूरा गर्दैछिन भनेर गौरवको अनुभूति हुनेछ ।’ साँच्ची मैले गर्ने हरेक कर्मको पछाडि बाबाले निर्देशन गरे झै लाग्छ । मैले गरेका हरेक कर्महरु जव उपलब्धिमूलक हुन्छन् । त्यतिबेला म त खुशी हुन्छु नै मेरो बाबा पनि खुशी भएझै लाग्छ ।

शिक्षण पेशामा काम गर्न थालेकै एक दशक नाघिसक्यो । बालबालिकाहरुले आफ्नै घरको अभिभावक जस्तै मन पराएको र आदर गरेको देख्दा असीमित खुशीको अनुभूति हुन्छ । मेरो कारणले उनिहरुको जीवनमा देखिएका परिवर्तनका आभाहरुले उनिहरुलाई मात्र होइन मलाई समेत छोएर रङ्गीन बनाइदिएझै लाग्छ । बालबालिकाहरुलाई कहिलेकाही फिल्ड वा शैक्षिक भ्रमणमा जाँदा सवैले मलाई रोजिरहेका हुन्छ । मेरै टिममा जान खोजिरहेका हुन्छ । त्यतिबेला यस्तो लाग्छ, मैले उनिहरुको मनमा बस्न सफल भएकी छु । यस्तै रहेछ मनको नियम पनि । उनिहरु मेरो मनमा बस्न सफल भएपछि मात्र म पनि उनिहरुको मनमा बस्न सफल हुँदो रहेछु । मैले उनिहरुप्रति जति जति माया र सदभाव पोख्न सक्छु, उनिहरुले पनि मप्रति त्यति त्यत्ति माया र सद्भाव खन्याउदा रहेछन् । यस्तै भइरहेको छ मेरो दिनचर्यामा हिजोआज । काम गरिरहेकी छु वा कुनै रमाइलो खेलमा सहभागी भइरहेकी छु । कहिलेकाही त आफैलाई द्विविधा हुने गर्दछ । यस्तै बेला दार्शनिक कन्फुसियसले भनेको कुरा मैले सम्झिरहेकी हुन्छु– ‘तिमीले आफूलाई मनपर्ने पेशा रोज्यौं भने तिमीले जीवनमा एकदिन पनि काम गर्नु पर्ने छैन ।’

म अहिले काम गरिरहेको विद्यालयमा सुरुमा आउदा अलि असजिलो महसुस भयो । बालबालिकाहरु पहिलेको विद्यालयका जस्तो सिकाइमैत्री होइनन् कि भन्ने पनि लाग्यो । कक्षामा शिक्षण सिकाइ गर्ने क्रममा बालवालिकाको समूह बनाइ कक्षा कार्य गर्र्न दिएँ । कक्षाकार्य प्रभावकारी हुन नसकेको महसुस भयो । कारण विद्यार्थीहरु आपसमा अन्तक्रिया गरिरहेका थिएनन् । छलफल र कुराकानी गरेर अघि बढ भन्दा पनि मानिरहेका थिएनन् । कक्षाकै एकजना छात्राले त मुखै खोलेर ‘यिनीहरुको एकआपस झगडा भएर बोलचाल नै छैन’ भनेर मलाई जानकारी गराइन । मैले जानकारी पाएकै दिन उनिहरुको बीचमा बोलचालको वातावरण बनाउन कोशीस गरें । त्यो दिन सम्भव भएन । पछि बुझ्दै जाँदा हाम्रा विद्यालयका कुल बालबालिकाहरुमध्ये आधाजति बालबालिकाहरु यस्तै कारणले नवोल्दा रहेछन् । यो परिवेशले मलाई मन र मुटुहरु टुक्र्याएर सम्बन्धमा विभाजन ल्याउन स्कूलको स्थापना भएझै महसुस हुन थाल्यो । त्यही दिनदेखि विद्यार्थीहरुका टुक्रिएका मनहरुलाई जोड्नका लागि अभियान चलाएँ । शिक्षकहरुको बीचमा कुरा राखें । अभिभावकको बीचमा पनि कुरा राखें । सवैबाट सहयोग प्राप्त भयो । हिजोआज त्यस्तो छैन । सवै मिलेर समूहमा काम गर्छन । उनिहरुका भाँजा फाटेका मन र मुटुहरु जोड्नका लागि अरु केही नभए पनि सियो र धागोको काम गरें कि झै लागेर गर्वको अनुभूति भइरहेको छ मलाई ।

मैले पहिले अध्यापन गर्ने विद्यालयमा अनुगमनको क्रममा तत्कालीन जिल्ला शिक्षा अधिकारी एवम् लेखक जीतवहादुर शाह आउनु भएको थियो । पछि वहाँको पुस्तक शिक्षा र सिर्जनामा मेरो बारेमा लेखिएको एउटा आलेख भेटाएँ– ‘पुष्पा, प्रेरणा र पुष्पहरुको प्रसङ्ग’ जसको एउटा अनुच्छेदमा यसरी लेखिएको छ–‘मनोवैज्ञानिक रुपले गर्व गर्ने र बालबालिकालाई सिकाउने भनेपछि हुरुक्कै हुने पुष्पा म्याडमजस्ता व्यक्तिहरुलाई शिक्षण पेसामा प्रवेश गराउन सकियो भने सार्वजनिक शिक्षामा देखिएका आधाभन्दा बढि समस्याहरु हल हुन्छन । यसका लागि शिक्षक हुन चाहनेहरुको मनोविज्ञानका साथै अभिवृत्ति पक्षको समेत परीक्षण गर्नु जरुरी छ ।’ मेरो बारेमा लेखिएका उक्त आलेख अध्ययन गर्दा समेत मलाई जीवनमा ठूलै सम्मान र पुरष्कार पाए झै महसुस भइरहेको छ । शिक्षण पेसामा काम गरेपछि अरुले नदेखे पनि बालबालिकाहरुले देख्छन र उनिहरुबाटै सम्मानका पुष्पगुच्छाहरु प्राप्त हुन थाल्छन् । त्यसैले अरु पेसामा जस्तो शिक्षण पेसामा सम्मानका लागि अरु कुनै टाढा रहेको शक्तिलाई पूजा गरिरहनु पर्दैन । आफ्नै बालबालिकालाई भगवान सम्झी पूजा गरे पुग्छ । केही शिक्षकहरुले आफ्नो विद्यालयका भगवानहरुलाई विर्सिएर अरु कुनै टाढा रहेको शक्तिलाई पूजा गर्न थालेपछि नै हाम्रा सार्वजनिक शिक्षामा विसङ्गतिहरु देखिन थालेका हुन् भन्ने कुरामा सन्देह छ जस्तो लाग्दैन मलाई ।

मलाई मेरो पेसामा प्रेरणा प्रदान गर्नका लागि मलाई मेरा बाबाले दिएका उपहारहरु छन् । सानो छँदा ल्फोरेन्स नाइटिंगेल जस्तै भएर काम गर्ने मेरो ईच्छाको परिपूर्तिका लागि शिक्षण पेसामा पनि भएका अवसरहरुले निदाउन र अल्छि हुनबाट मलाई जोगाइरहेका छन् । बालबालिकाको सफलता र मुस्कानमा आफ्नो प्रतिविम्ब देख्ने मेरो बानी मेरो निम्ति उर्जाको खानी भएका छन् । यी त भए मलाई शिक्षण पेसामा प्रेरणा दिने आन्तरिक तत्वहरु । कुनै पनि व्यक्तिलाई प्रेरित गर्नका लागि धेरै व्यक्तिलाई वाह्य तत्वहरुले पनि काम गरिरहेका हुन्छन् । जस्तै काम कस्तो हो ? काम गर्ने वातावरण कस्तो छ ? काम गरेवापत कति तलव पाइन्छ ? बढुवा र व्यक्तित्व विकासको सम्भावना के कस्तो छ ? सरकार र समाजको सम्बन्धित पेसालाई हेर्ने दृष्किोण कस्तो छ ? आदि आदि । यसरी वाह्य परिवेशको दृष्टिकोणले शिक्षण पेसाका निम्ति हाम्रो मुलुक त्यति अनुकूल नभएको हो कि झै प्रतित हुन्छ । अरु भन्दा पनि माथि उल्लेख गरिएको अन्तीम जिज्ञाशा अर्थात सरकार र समाजको शिक्षण पेसालाई हेर्ने नजर हुनुपर्ने जति उदात्त र फराकिलो हुन सकिरहेको छैन ।

आफ्नो देशमा कोविद १९ को भ्याक्सीन आविष्कार गरिसकेपछि रसियाका राष्ट्रपतिले पत्रकारहरुसँग गरेको भलाकुसारी सम्झिरहेकी छु यतिबेला । पुटिनले सवैभन्दा पहिले यो भ्याक्सिन शिक्षक र डाक्टरहरुलाई लगाउने हो भन्ने कुरा गर्दा पत्रकारहरुले के अरु नागरिक मान्छे होइनन् ? के अरुलाई बाँच्नु पर्दैन ? भनेर प्रश्न गरेका थिए । जवाफ दिने क्रममा पुटिनले नै पत्रकारहरुलाई प्रतिप्रश्न गरेका थिए–‘शिक्षक म¥यो भने कसले गर्छ डाक्टरको उत्पादन ? डाक्टर भएनन् भने कसले गर्छ विरामीको उपचार ?’ हामी कहाँ भने त्यो सोचको अभाव छ । अर्थात शिक्षाको महिमा बुझेर पनि कर्म गर्दा शिक्षालाई पन्छाउने स्वभावका मानिसहरु सत्तामा पुनरावृत्त भइरहेको अवस्था छ । हामी जेमा पनि अलि बढि नकारात्मक हुन उद्यत देखिन्छौं । कोरोनाको सङ्क्रमणको यो घडीमा आफ्नो जीवन हत्केलामा राखेर अहोरात्र विरामीको उपचारमा खटिरहेका डाक्टर र नर्सलाई त हामीले छिमेकमा बस्न नदिएर लखेट्न थाल्यौ भने अरुका कुरा धेरै टाढाका भए ।

कुनै पनि पेसालाई मानिसहरुको हेर्ने दुष्टिकोण र त्यो पेसाभित्र रहेर काम गर्ने मानिसहरुको प्रबृत्तिले उक्त पेशालाई कस्तो बनाउने भन्ने कुराको निधो गर्दछ । सारमा शिक्षण पेसा राम्रो र सम्मानजनक पेसा हो । यसमा पुटिन जस्ता राजनेताको सहयोग त चाहिन्छ नै । त्यसमा पनि लेखक जीतबहादुर शाहले भने झै शिक्षण पेसामा बालबालिकाप्रति सकारात्मक झुकाव राख्ने मानिसहरुलाई प्रवेश गर्ने वातावरण निर्माण गर्न सक्यौं भने यो पेशा अझै सुन्दर हुने देखिन्छ । मेरो निम्ति भने कसैले केही नगरे पनि यही परिवेशमा पनि यो पेसा मेरो निम्ति उत्कृष्ठ पेसा हो । किन कि मैले मेरो रोजाइको काम गरिरहेकी छु । मैले मेरा बालबालिकालाई प्राकृतिक हिसावले असीम माया गर्ने अवसर पनि पाइरहेकी छु । मेरा वावाका बाकी सपनाहरु पूरा गर्न हार्दिकतापूर्वक प्रयत्न गरिरहेकी छु । ल्फोरेन्स नाइटिंगेल जस्तै नर्स हुन नपाएर पग्लिएको यो मन बालबालिकाको सेवा गर्न पाउदा सङिलएर प्रफुल्ल्ति भएको छ । यो सवै गरेवापत सरकारले मलाई जागीर दिइरहेको छ । यति भए अरु के खोजू ? थ्याङ्क्स गड ! मलाई मेरा बाबा र म स्वयम्का अधुरा सपनाहरु पूरा गर्ने क्रममा मुस्कुराउदै जिउने जागिर दिएकोमा ।

शिक्षिका, श्री सूर्यज्योती आधारभूत विद्यालय, हर्रे, भेरीगङ्गा न.पा., सुर्खेत ।

प्रतिकृया दिनुहोस्