शिक्षामा समयको प्रभाव

एजुकेशन पाटी

Byएजुकेशन पाटी

३० जेष्ठ २०७७, शुक्रबार

समयले अनुभवबाट सिक भन्छ भने विज्ञानले अभ्यासबाट । हामी विभिन्न उमेर समूह, पेशा र समुदायमा छौं । सबैलाई समय र विज्ञानले भनेजस्तो सहजता छैन किनभने समय हुनेसँग अनुभव छैन किनकी उसमा अभ्यासको कमि छ भने अनुभव भएकाहरूसँग समय छैन किनकी उ वृद्ध बन्दैछ । उसमा विज्ञानको शैद्धान्तिक ज्ञानको कमी भएतापनि विज्ञानसम्मत अनुभव छ । फेरि विज्ञानको सैद्धान्तिक ज्ञान भएकाहरूसँग अभ्यास कसरी गर्नेभन्ने दक्षता छैन । अभ्यासमा पोख्त भएकाहरू विज्ञान राम्रोसँग जान्दैनन् । यहि अन्तरविरोधमा समाज अल्झिएको छ ।

हाम्रो सामाजिक–सांस्कृतिक र शैक्षिक व्यवस्थाले नयाँ पुस्तालाई समय, अनुभव, विज्ञान र अभ्यासका बारेमा बुझाउन नसक्दा विद्यालयदेखि विश्वविद्यालयसम्म हुने पढाई व्यावहारिक बन्न सकेको छैन । शिक्षालयमा विद्यार्थीहरूलाई जे पढाइदै वा सिकाइदै छ त्यो किन पढाइदै वा सिकाइदै छ भनेर बुझाइएको छैन । विद्यार्थीहरू पाठ्यक्रम र विषयहरूका बारेमा स्पष्ट छैनन् । जस्ले उनीहरूको संज्ञानात्मक [cognitive] पक्ष कमजोर भएको छ । उनीहरूको पढाइ परीक्षामा बढी अङ्क ल्याउनमा केन्द्रीत छ नकि सीप, दक्षता र क्षमता विकासमा ।

देशको गुणात्मक विकासमा असल नागरिक मुख्य आधार र पूर्वाधार पनि हुन् । तर यो कोणबाट राज्य चलाउनेहरूले सोचेको देखिदैन । जबसम्म शिक्षामा विज्ञान र अभ्यास, समय र अनुभवबीच व्यावहारिक रूपमा नियन्त्रण र सन्तुलन कायम हुँदैन नि तबसम्म देशको विकास गुणात्मक बन्दैन । दिगो प्रगति पनि सम्भव हुँदैन । आज तथ्याङ्कहरूले देशमा शिक्षित र साक्षरहरूको सङ्ख्या वा प्रतिशत बढेको देखाउँछ तर आर्थिक प्रगतिभने निरासाजनक नै भएको तथ्यहरूले पुष्टी गरिरहेको छ।

यस्तो अवस्था कायम हुनुको मुख्य कारण हाम्रो सामाजिक–सांस्कृतिक र शिक्षा व्यवस्थाले नागरिकलाई विज्ञान र अभ्यास, समय र अनुभवको बारेमा ठीक ढङ्गले प्रशिक्षित गर्न नसक्नु नै हो । यो यथार्थलाई राजनीतिक, प्रशासनिक, प्राज्ञिक र न्यायिक नेतृत्व अनि नीतिगत निर्णय गर्ने तहमा रहेकाहरूले अझैपनि स्वीकार गर्न सकिरहेका छैनन् । किनभने उनीहरूले आफ्ना आदर्श र व्यवहारबीच तालमेल मिलाउन सकिरहेका छैनन् ।

यहाँ प्रस्तुत घटनाहरूलाई उदाहरणका रूपमा लिन सकिन्छ । जस्तै प्रधानन्यायधीश खिलराज रेग्मीलाई सरकार प्रमुख बनाउनु, प्रधानन्यायधीश शुशिला कार्की बिरूद्ध महाअभियोग प्रस्ताव गर्नु, वैचारिक आधारमा भन्दा स्वार्थका आधारमा राजनीतिक समिकरण बन्नु, राजनीतिक प्रतिवद्धता अनुकुलको व्यवहार नगर्नु, संवैधानिक व्यवस्थाअनुसार शैक्षिक र आर्थिक, प्रशासनिक, न्यायिक नीति र प्रणाली तय नहुनु, कोरोना माहामारीलाई पनि राजनीतिक लाभका लागि प्रयोग गर्न खोज्नु आदि । यसबाट स्पष्ट हुन्छ, अहिले देखिएको द्वन्द्व हिजोको गलत चिन्तन र अभ्यासको परिणाम हो। विगतका गलत अभ्यास र अनुभवहरूबाट सिक्न नचाहने प्रवृत्ति नै हो । जसले गर्दा देशमा ।

अपेक्षा बढ्यो
क्षमता बढेन ।१।

ईच्छा बढ्यो
सदिच्छा बढेन ।२।

शिक्षित बढ्यो
साक्षरता बढेन ।३।

बुद्धि बढ्यो
बुद्धिमान बढेन ।४।

विद्वान बढे
विवेक बढेन ।५।

हाम्रो शिक्षाले अक्षर, शब्द र जीवनबीचको अन्तरसम्बन्ध खोज्न मद्दत गर्नुपथ्र्यो । यसका बारेमा चिन्तन मनन्, मन्थन र परामर्श गर्न प्रोत्साहित पनि गर्नुपथ्र्यो । समय, विज्ञान, अभ्यास र अनुभवहरूका बारेमा हामीलाई बुझाउनु पथ्र्यो । तर आजसम्म न हामीलाई त्यो सिकाइयो न त नयाँ पुस्तालाई सिकाउने कुनै व्यवस्था नै गरियो । जसले गर्दा हामी हिजोभन्दा आज पछाडि पर्दैछौं र हाम्रो देश पछाडि पर्दैछ । त्यसैले राजनीतिक क्रान्ति अनुकुल हुनेगरी शैक्षिक क्रान्ति गर्न ढिलो भइसकेकोछ भन्ने आवश्यकतालाई हामी व्यवहारमा स्विकार नगर्दा

निराशा बढ्यो
आशा बढेन ।१।

उपभोग बढ्यो
उत्पादन बढेन ।२।

विरोध बढ्यो
सहयोग बढेन ।३।

समस्या बढ्यो
समाधान बढेन ।४।

मात्रा बढ्यो
गुणस्तर बढेन ।५।

कोभिड–१९ को माहामारीमा विश्वसँगै नेपाल पनि परेकोछ । हामीले माहामारीको प्रभाव र दबाव प्रत्यक्ष अनुभव गर्न र आफ्नो क्षमता र दक्षता मापन गर्न पाएका छौं । माहामारीसँग जुध्न हाम्रो प्राविधिक र व्यवस्थापकीय क्षमता कमजोर भएको महसूस गरिरहेका छौं । अब यो खाल खराब अनुभव र मानवीय क्षति अर्को पुस्ताले व्यहोर्न नपरोस् भनेर हामीले कमजोरीहरूलाई सुधार गर्दै नीतिगत परिवर्तनमार्फत राज्यको डेलिभरी क्षमतालाई विशिष्ट बनाउनु परेको छ।

अहिले राज्यले माहामारीबाट जोगिन लागु गरेको बन्दाबन्दीलाई असफल बनाउन हामी जसरी प्रस्तुत भइरहेका छौं, यसले सरकार त अप्ठ्यारोमा पर्छ नै हाम्रो जीवन पनि सङ्कटमा पर्छभन्ने कुरा ख्याल गरेनौं । यसले माहामारीको गम्भीरता र चुनौतीलाई हलुका ढङ्गले लिएको संकेत गर्दछ । अनि हाम्रो चेतनाको स्तर कमजोर भएको प्रमाणित पनि गर्छ । राज्यले नागरिकको जीवन जोगाउन गरेको प्रयासलाई राजनीतिक रूपमा प्रतिरोध गर्न खोज्दा कतै राज्यको निर्णय नै ठीक थिएन कि भनेर जनमानस भ्रममा पर्न बाध्य भईरहेका छन् ।

अब हामीले कोभिड–१९ को माहामारीबाट सिकेर हाम्रो सामाजिक, सांस्कृतिक, शैक्षिक, प्रशासनिक र न्यायिक प्रणालीमा आमूल परिवर्तन गर्दै नीतिगत त्रुटीहरूमा सुधार गर्नुपर्छ । राज्यले पनि माहामारीबाट नागरिकलाई जोगाउँदै उनीहरूको मनस्थिति र देशको परिस्थिति सकारात्मक बनाउन लगानी बढाउनु पर्छ । हरेक नागरिकले राज्य हाम्रो स्वास्थ्यप्रति जिम्मेवार भएर कार्यशील भइरहेको छ भन्ने कुरा अनुभूति गर्न पाउनु पर्छ ।

यी सबै नहुँदा जनमन भ्रमित भएको छ । नयाँ पुस्ता वर्तमान राजनीतिक–संवैधानिक व्यवस्था नै खराब त हैन भनेर अन्यौलग्रस्त छ । बितेका सात दशक हामी अनुचित प्रभाव, दबाव र सूचनाहरूबाट पीडित भैरह्यौं । यहि पीडामा खेलेर खराब छिमेकीले हाम्रा प्राकृतिक श्रोतहरू र भूमिमाथि कब्जा गर्ने रणनीतिबमोजिम लगानी गरिरह्यो । हामीले त्यो लगानीलाई उसको सदासयता ठान्यौं, तर बदनियत चिन्न सकेनौं ।

जसका कारणले हामी विभाजित र विवादित भैरहदा उसले आफ्नो प्रभुत्व विभिन्न आवरणमा बढाई रह्यो । त्यसैले अब हामी समय, विज्ञान, अनुभव र अभ्यासका आधारमा हाम्रा प्रणालीहरूमा आमूल परिवर्तन गर्दै जनमुखी नीतिमार्फत अघि बढ्नुपर्छ । द्रुत र दिगो विकासको परिकल्पना पूरा गर्न नयाँ पुस्तालाई नयाँ शिक्षाबाट प्रशिक्षित गर्दै देश मै रम्ने राम्रो वातावरण बनाउनु पर्छ । दर्शन, उद्देश्यबमोजिम नयाँ शैक्षिक योजनानुसार काम थालौं । लगानीको अनुपातमा शैक्षिक उपलब्धि भयो कि भएन ठीक मापन र समयानुसार शैक्षिक पाठ्यक्रममा पनि परिमार्जन गर्ने थिति बसालौं ।
धन्यवाद !

– चितवन

३० जेठ २०७७

प्रतिकृया दिनुहोस्