एकान्तबासमा मेरो दैनिकी

एजुकेशन पाटी

Byएजुकेशन पाटी

११ असार २०७७, बिहीबार

विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ को प्रभावले मेरो दैनिकीमा पुरै परिवर्तन आएको छ । बिहान हतार–हतार उठ्ने, विद्यालय जानको लागि खाना पकाउने तयारी, ड्रेसको व्यवस्थापन, किताब कापी मिलाउने, जुत्ता पोलिस गर्ने देखि खाना खायर ९ बज्दा नबज्दै हतार–हतार विद्यालयतर्फ जाने मेरो दैनिकी आजभोलि अदैनिकी जस्तै भएको छ।

म जस्तै चुलबुले स्वभावका मेरा कैयन साथीसंगीहरु अनि साना भाइबहिनीहरु लगभग तीन महिनादेखि बन्द कोठामा निस्सासियर बस्न विवस छन् । हामीलाई कक्षामा पढाउँदा शिक्षकहरुले भन्ने गर्नुहुन्थ्यो कि, आजको संसार भनेको आर्टिफिसियल इन्टेलिजेन्सको जवाना हो । सिङ्गै जगतलाई मानिसले काबुमा राख्न सकेको छ । मानिसले गर्ने सबै काम रोबटले गर्दैछ ।

आज मलाई अचम्म लाग्ने गर्छ, जो व्यक्ति हिजो यो संसारलाई मेरो पाउले टेकेर अन्तरीक्षमा राज गर्छु भन्थ्यो, जो व्यक्ति हिजो यो चरालाई मैले पिँजडामा राखेर बोल्न सिकाए भन्थ्यो, जोसँग आफ्नो अमुल्य स्वास्थ्यकोलागि खाने र आराम गर्ने समयसम्म हुँदैनथ्यो आज उ एउटा सुक्ष्म जीवाणुको त्रासले कहलियको छ । यद्यपि जीवनबाट अलिकति स्वतन्त्र प्रकृति र आफ्नो परिवारसँग रमाउने सुनौलो अवसर भने पाएको छ ।

जो व्यक्ति हिजो मद्यपान, धूम्रपान गरेर बाटोमा लम्पसार भएर बस्थ्यो, आज उसले बोतल समाउने हातले कुटो कोदालो समाईरहेको देख्दा मेरो मन खुसीले चङ्गा जस्तै भएको छ। जब म विद्यालय जान्थे म र मेरा साथीहरु संगै खेल्दा, अनि शिक्षक–शिक्षिका सँग आफूले नजानेको प्रश्नहरु सोध्दा अनि नियमित आफ्ना कक्षा कार्य, गृहकार्य गर्दागर्दै मेरा दिन बितेको कुनै पत्तो हुँदैनथ्यो । कहिलेकाहीँ त कहिले शनिबार आउला अनि आफूले चाहेको जस्तो फिल्म हेर्ने अनि मनोरञ्जन गरौंला भने जस्तै लाग्थ्यो । तर अहिले यति लामो समय घरबाट बाहिर ननिस्ककन बिताउनु पर्दा निकै पट्यारलाग्दो महसुस गरेको छु ।

हुन त म भीडभाड काठमाडौ सहरको अलि पर निकै शान्त, मनोरम जंगल चम्पादेवी पहाडको काखमा अबस्थित सुन्दर ठाउँमा बसेको छु । सीमित घरहरु, मानिसको आवाज जावत निकै कम हुने, नानाथरीका चराका चिरबिर आवाज सुन्दा म प्रकृति सँगै हराउछु । दिनहुँ स्कुलको क्यान्टिनमा खाने खाजाको सट्टा बनको ऐसेलु, काफल, चुत्रो पाक्ने यो समय दिनहुँजसो यिनै जंगलमा पाइने फलफूल खाएर बिताइरहेको छु । प्रकृतिसँग यतिधेरै सामिप्यता मैले अहिलेसम्म कहिलै पनि गरेको थिइन । साहेद यो महामारीले पक्कैपनि एउटा अविश्मरणीय अवसर जुटाइदिएको मैले अनुभूत गरेको छु ।

काठमाडौंको अस्तव्यस्त सडक, धुलो,धुवाँ अनि प्रदूषणबाट मुक्त भएको छ । शहरको ठाउँ–ठाउँमा ज्याकारान्डा फुलले दुलही जस्तै सिंगारिएको दृश्य अनि घरको छतमा गएर एक्लै क्षितिजसम्म नियाल्दा मलाई लाग्ने गर्छ यो काठमाडौं सहर पहिले कहिले पनि यति सुन्दर थिएन होला । घर माथिको हरियो जंगल, ठिक्क अगाडि सुन्दर जुगल हिमालको दृश्य, यति सुन्दर मेरो शहरलाई देख्दा मलाई लाग्छ यो पुरै ब्रह्माण्ड मेरो लागि हो र म यो ब्रह्माण्डको लागि हुँ ।

प्रतिष्ठा बोहरा
कक्षा ७
विष्णुदेवी शिक्षा सदन माध्यमिक विद्यालय
सतुंगल, काठमाडौं

प्रतिकृया दिनुहोस्