काठमाडौँ ।  राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। 

परीक्षा नियन्त्रक टुकराज अधिकारीले मंगलबारसम्म नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए ।  उनका अनुसार सबै प्राविधिक तथा प्रशासनिक तयारी सकिएको छ र कुनै प्राविधिक समस्या नआएमा २ दिनभित्र नतिजा प्रकाशित गरिनेछ।

उनका अनुसार यस पटक उत्तरपुस्तिका परीक्षा केन्द्रमै परीक्षण गरिएको कारण नतिजा छिटो निकाल्न सम्भव भएको हो । यसले त्रुटि कम गर्न र समय बचत गर्न मद्दत गरेको परीक्षा नियन्त्रक  अधिकारीले बताए ।

राष्ट्रिय परीक्षा बोर्डका अनुसार प्राविधिक काम, तथ्यांक इन्ट्री तथा अन्तिम रुजु प्रक्रिया सबै सकिएको छ । अब नतिजा औपचारिक रूपमा सार्वजनिक गर्ने अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ। बोर्डले नतिजा प्रकाशनमा कुनै त्रुटि नहोस् र नतिजा सही तथा विश्वसनीय रूपमा सार्वजनिक गर्न सकियोस् भन्ने उद्देश्यले अन्तिम जाँच (verification) गरिरहेको जनाएको छ।

एसईई परीक्षा चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको थियो । यस वर्ष कुल ५ लाख १२ हजार ४२१ विद्यार्थीले परीक्षा फारम भरेका थिए, जसमा नियमिततर्फ ४ लाख ४१ हजार ५६६ र ग्रेडवृद्धितर्फ ७० हजार ८५५ विद्यार्थी सहभागी थिए ।

प्रतिकृया दिनुहोस्