पढ्दै–कमाउँदै

एजुकेशन पाटी

Byएजुकेशन पाटी

१३ फाल्गुन २०७७, बिहीबार

वीरेन्द्रनगर  । सुर्खेतको बराहताल गाउँपालिका–५ रानीवनकी रीता आले गाउँकै जनज्योति माध्यमिक विद्यालयमा १८ महिने भेटेरिनरी जेटीए पढ्छिन् । विद्यालयमै च्याउ खेती गरिरहेकी उनले एक सय वटा ब्रोइलर कुखुरा पालेकी छन् ।

विद्यालयले दुई वर्षदेखि ‘पढ्दै–कमाउँदै’ कार्यक्रम सुरु गरी विद्यार्थीलाई आत्मनिर्भर हुन प्रेरित गरिरहेको छ । कार्यक्रमअन्तर्गत विद्यालयमा अध्ययन गरिरहेका सबैले ऋण लिएर कृषि व्यवसाय गर्न सक्छन् । सुरुमा च्याउ खेती गर्न विद्यालयबाट ५ हजार रुपैयाँ ऋण लिएकी आलेले अहिलेसम्म ३५ किलोजति च्याउ बिक्री गरिसकेको बताइन् । ‘स्कुलको ऋण तिरेर पनि अझै ५ हजार फाइदा हुन्छ होला,’ उनले भनिन्, ‘पढाइ खर्चबाट बचेको पैसा घरमा पठाउँछु ।’ आलेसँगै अरू चार विद्यार्थीले कुखुरापालनका लागि ६० हजार रुपैयाँ थप ऋण लिएका छन् ।

पढ्दै–कमाउँदै गर्न चाहने विद्यार्थीका लागि ऋण दिनुका साथै आवश्यक संरचना पनि उपलब्ध गराउने गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक मर्साङ्गीले बताए । ‘विद्यार्थीले काम गर्ने जाँगर मात्रै देखाउनुपर्‍यो,’ उनले भने, ‘उनीहरूलाई समूह वा व्यक्तिगत रूपमा सानोतिनो व्यवसायका लागि ऋण दिइरहेका छौं ।’ उनका अनुसार विद्यार्थीले लिएको ऋणको ब्याज पनि तिर्नुपर्दैन । विद्यालय छोड्ने बेलासम्म साँवा रकम मात्रै तिरे पुग्ने उनले बताए ।

विद्यालयमा प्राविधिक विषयसमेत पढाइ हुन्छ । भेटेरिनरी र कृषितर्फ १८ महिने र तीनवर्षे कक्षा सञ्चालन भइरहेको छ । बराहताल गाउँपालिका–५ कै १२ वर्षीय शेरबहादुर पौडेल विद्यालयमा कक्षा ५ मा पढ्छन् । घरको आर्थिक अवस्था कमजोर भएपछि उनले बाख्रा र विकासे कुखुरासँगै स्कुलकै जग्गामा ३४ वटा स्थानीय जातका कुखुरा पालेका छन् । उनलाई विद्यालयले २२ हजार ५ सय रुपैयाँ ऋण उपलब्ध गराएको छ । ‘सुरुमा साढे ७ हजार लिएर एउटा बाख्रा किनें,’ उनले भने, ‘त्यही बाख्रा अहिले १० हजारभन्दा बढीमा बिक्री हुन्छ, एक महिनायता बोइलर पनि पालेको छु ।’

विद्यालयबाट ऋण लिएर सामूहिक व्यवसाय गर्न चाहने विद्यार्थीले पहिले समूह गठन गर्छन् । त्यसमा कुन व्यवसाय रोजेर कक्षा शिक्षकलाई प्रस्तावना दिन्छन् । त्यसअनुसार शिक्षकले ऋण दिन विद्यालयलाई सिफारिस गर्छन् । विद्यार्थीलाई कम्तीमा ५ हजारदेखि एक लाख रुपैयाँसम्म ऋण दिइरहेको प्रधानाध्यापक नारायण सिग्देलले बताए । ‘विद्यार्थीलाई सर्च–रिसर्च र खर्चको विधि अपनाएर व्यवसायमा संलग्न गराएका छौं,’ उनले भने, ‘यसबाट विद्यार्थीले कतिसम्मको व्यवसाय गर्न सक्छु भनेर पहिचान गर्छ । धेरै लगानी गरेर व्यवसाय गर्नुपरे बैंकिङ प्रक्रियाबाट भए पनि ऋण उपलब्ध गराउँछौं ।’

प्रधानाध्यापक सिग्देलका अनुसार प्राविधिक शिक्षा पढ्ने विद्यार्थीले पहिले ५ हजार रुपैयाँ धरौटी राख्छन् । त्यही कोषमा जम्मा भएको रकम विद्यालयले ऋणस्वरूप दिने गरेको हो । कार्यक्रमका लागि कर्णाली प्रदेश सरकारले ५० लाख रुपैयाँ उपलब्ध गराएको छ । उक्त रकमबाट ३५ लाख रुपैयाँको लागतमा विद्यालयले दुई महिनाभित्र तयार हुने गरी तीन हजार कुखुरा, ५० वटा बंगुर र २० वटा माउ बाख्रा अट्ने खोरहरू बनाइदिन लागेको छ । ३० लाख रुपैयाँमा अर्को कोष बनाएर विद्यार्थीलाई आवश्यकताअनुसार ऋण दिने योजना छ ।

विद्यालयका अनुसार अबको १५ दिनभित्र प्राविधिकतर्फका सबै विद्यार्थीको एक/एक वटा फार्म हुनेछ । ‘लकडाउनका कारण विद्यालय ढिला मात्रै खुल्यो,’ प्रधानाध्यापक सिग्देलले भने, ‘एक महिनाभित्र कक्षा ४ र ५ का विद्यार्थीलाई दुई–दुईवटा कुखुरा वितरण गर्ने योजना छ ।’

उनले कक्षा ६ र ७ का विद्यार्थीलाई फूलका बिरुवा दिई गमला खेतीमा प्रेरित गरिने बताए । उनका अनुसार छिट्टै ११ र १२ कक्षाका विद्यार्थीलाई विद्यालयकै ब्रान्डको झोला बुनाइमा सहभागी गराइनेछ । जसका लागि विद्यालयले १० वटा सिलाइ मेसिन खरिद गरिसकेको छ । ८ कक्षामा पढ्ने विनोद नेपालीका लागि कपाल काट्ने सैलुन खोलिदिएको छ । उनले बिहान ६ देखि ९ बजेसम्म, दिउँसो हाफ टाइम र साँझ विद्यालय छुट्टी भएपछि सैलुनमा काम गर्छन् । जनज्योतिमा कर्णालीसहित अन्य प्रदेशका २६ जिल्लाका विद्यार्थीले प्राविधिक शिक्षा पढिरहेका छन् । अहिले विद्यालयमा १ हजार ३ सय ६१ जना विद्यार्थी अध्ययन गरिरहेको सिग्देलले बताए । त्यसमध्ये ३ सय जनाले प्राविधिक विषय पढिरहेका छन् ।

विद्यालयमा पढाइ हुने प्राविधिक शिक्षाअन्तर्गत प्रयोगात्मक कक्षाका लागि आवश्यक पर्ने सबै संरचना विद्यालयको आफ्नै छ । आफूसँग भएको जग्गा नपुगेपछि विद्यालयले पाँच रोपनी जग्गा भाडामा लिएको छ । त्यो जग्गामा पनि विद्यार्थीले माछा, बंगुर, कुखुरा तथा मौरीपालन गरिरहेका छन् भने तरकारी र च्याउलगायत खेती पनि गरिरहेका छन् ।

चाँदनी कठायतले कान्तिपुरमा खबर लेखेकी छन् ।

प्रतिकृया दिनुहोस्