जमाना अनुसार पढाइमा प्रविधि : त्यो खरीपाटी, यो भर्चुअल कक्षा

Avatar photo

Byएजुकेशन पाटी

२१ जेष्ठ २०७७, बुधबार

कुनै जमाना थियो । धुलौटो पाटीमा अक्षर कोरेर सिकाइन्थ्यो । त्यसपछि खरीपाटी आयो । लामो समयसम्म विद्यालयमा राजगरेको कालोपाटी पनि विस्तारै विस्थापित हुँदै गएको छ । त्यसको स्थान अहिले सेतोपाटी र हरियोपाटीले लिन थालेका छन् । त्यति मात्रै नभई विद्यालयमा अहिले स्मार्टबोर्ड र प्रोजेक्टरको माध्यमबाट समेत पढाइ हुन थालेको छ । धूलोट, सिलोट, दूधेखी, खरी घोटेर वा हरिया पात र अँगार पिसेर बासको कलमले कालोपाटीमा लेखेको इतिहास अब पुराना भइसकेका छन् ।

भर्खरै शिक्षा मन्त्रालयले भूकम्प प्रभावित क्षेत्रका केही विद्यालयहरुमा ‘भर्चुअल क्लास’ शुरुवात गरेको छ । काठमाडौंमा बसेर शिक्षकले पढाउनेछन् । यसमा जिल्ला–जिल्लामा विद्यार्थीहरुले कक्षाकोठामा इन्टरनेटको माध्यमबाट सिक्नेछन् । कक्षा १० को परीक्षाको तयारी गरेर बसेका विद्यार्थीहरुप्रति विशेष लक्षित यस पढाइले विद्यालयहरुलाई एउटा सानो कोठामा लगेर पठनपाठनमा जोडिदिएको छ । एकजना शिक्षकले एकै ठाउँबाट, एकैपटक र एकै समयमा हजारौं विद्यार्थीलाई पढाउन सक्नेछन् । शिक्षामन्त्री धनीराम पौडेलले भर्खरै यो पढाइ प्रणालीको उद्घाटनसमेत गरिसकेका छन् ।

सरकारले भर्चुअल शिक्षण पद्धतिका लागि अघिल्लो वर्ष नै १८ करोड रुपैयाँभन्दा बढी लगानी गरिसकेको छ । सरकारले यस वर्ष बजेट वक्तव्यमार्फत् नै ग्रामीण तथा दुर्गम क्षेत्रका एक सय विद्यालयहरूमा परीक्षणका रूपमा ब्रोडब्यान्ड इन्टरनेटका माध्यमबाट अंग्रेजी, विज्ञान र गणित विषयको अध्यापन शुरु गरिने उल्लेख गरिएको थियो । हाल सञ्चालनमा ल्याइएको भर्चुअल कक्षा ३० मिनेटको हुनेछ । टेलिभिजनबाट पढाएका विषयवस्तु रेकर्ड गर्ने सुविधा पनि छ । टेलिभिजन हेर्न नभ्याएका विद्यार्थीले वेबसाइटमा गएर पनि हेर्न सक्छन् ।

यो ‘लाइभ स्कूल’मार्पmत् विषय शिक्षक नभएका विद्यालयका हजारौं विद्यार्थीले इन्टरनेटको माध्यमबाट विद्यालयको हलमा नै बसेर पढ्न पाउनेछन् । विद्यालयमा राखिएको ५० इञ्चभन्दा ठूलो टेलिभिजनमा हेरेर विद्यार्थीले पढ्नु पर्नेछ ।

पढाइमा प्रविधिको प्रयोगले शिक्षक र विद्यार्थीको सिकाइ प्रणालीलाई सहज त बनाएको नै, साथसाथै सिकाइ स्तरलाई अन्तर्राष्ट्रियकरणसमेत गरिदिएको छ । विद्यालयहरुमा ई–क्लास, भर्चुअल क्लास, हरियो बोर्ड, टेक्नो ल्याब, स्मार्ट बोर्ड, ई–पाटीलगायतका प्रविधिहरु भित्रिएका छन् । पहिले जस्तो कालोपाटीमा चकले घडी र गाई बनाएर सिकाउने चलन बदलिँदै गएको छ । अब गाई र घडीकै तस्बिर र भिडियोबाट पढाउन थालिएको छ ।

पढाइमा प्रविधि एकदमै आवश्यक छ भन्छन् खोटाङका जिशिअ ज्ञानमणि नेपाल । भन्छन्, ‘विद्यार्थीले प्रविधिबाट अनुसन्धान गरेरै सिक्ने हुनु पर्छ । माछा मारेर दिने होइन, माछा मार्न सिकाइदिने हो । पाठ्यक्रममा आधारित भएर प्रविधिको प्रयोग गरेर सिकाउने हो ।’

पढाइमा प्रविधि किन ?
पढाइमा प्रविधि प्रयोगले सिकाइ प्रणालीलाई सरल, व्यवहारिक, मनोरञ्जक र चिरस्थायी बनाउने शिक्षाविद्हरु बताउँछन् । समयसापेक्ष शिक्षा, प्रतिस्पर्धी जनशक्ति, शैक्षिक रुपान्तरण र व्यवहारिक सिकाइ सीपको विकास र विस्तारका लागि समेत सिकाइमा प्रविधिको प्रयोग अत्यावश्यक रहेको देखिन्छ । विद्यालयको कक्षाकोठाको चौघेराले वा ४५ मिनेटका दरले हुने दैनिक सात घण्टी पढाइले मात्रै विद्यार्थीहरुको सिकाइ भोक र तलतल थेग्न नसक्ने निश्चित देखिएको छ । गुम्बा, मद्रसा, गुरुकुलबाट विकास हुँदै आएको हाम्रो सिकाइ प्रणालीलाई अन्तर्राष्ट्रिय सिकाइसँग जोड्नसमेत प्रविधियुक्त पढाइ आवश्यक देखिन्छ ।

संसारमै असीको दशकको अन्त्य र नब्बेको शुरुवातमा जब इन्टरनेटको विकास भयो, त्यसयता सिकाइका लागि कम्प्यूटर ठूलो प्रविधि थियो । सन् १९९२ पछि इमेलमा सर्वसाधारणको पहुँच बढ्यो र सीमित पुस्तकमा मात्रै रहेका ज्ञानका स्रोतहरु बदलिँदै गए । सन् २००० पछि नयाँ प्रविधि जडान भएका स्मार्ट फोनहरुको शुरुवातसँगै विभिन्न सिकाइको नयाँ चरण शुरु भयो । हामी त्यही सिकाइको चरणमा संसारसँगै हिँडिरहेका छौं । नेपालमा पनि २०४६ साल पछि भएको ठूलो विकास भनेको सञ्चार र शिक्षाको विकास हो । मोबाइलले व्यक्तिसितको सम्पर्क मात्रै जोडेको छैन, ज्ञानको अथाह सागरमा पनि पौडाउन थालेको छ ।

इन्टरनेट र यसका प्रविधि समाजको अभिन्न अङ्ग बनिसके तर हाम्रा कक्षाकोठामा अझै छिर्न सकेका छैनन् । अंगे्रजी भाषा सिकाउन ब्रिटिस काउन्सिले उत्पादन गरेका अंग्रेजी नै मातृभाषा भएका (नेटिभ अंग्रेज) व्यक्तिले सिकाउने प्रोग्रामहरु विद्यार्थीले प्रयोग गर्ने तरिका नै सिक्न पाएनन् । भूगोल सिक्नका लागि ‘गुगल अर्थ’ जस्ता प्रोग्राम प्रयोग हुनुको सट्टा उही कालोपाटीमा हस्तनिर्मित नक्सा नै प्रयोग भइरहेका छन् । स्वास्थ्य विषय पढ्न यस क्षेत्रमा नयाँ केही खोज भएको छ कि भनेर इन्टरनेटमा खोजेर पढ्न अझै सकिएको छैन ।

शिक्षामा प्रविधिको प्रयोगबारे वकालत गर्दै आएका नेपाल राष्ट्रिय शिक्षक संगठनका महासचिव लक्ष्मण शर्मा प्रविधिद्वारा शिक्षण सिकाइ गर्ने, शिक्षण सिकाइमा भरपूर प्रविधिको प्रयोग गर्ने/गराउने र परीक्षामा प्रविधिको प्रयोग नगरे २१ औं शताब्दीको शिक्षा नै नहुने बताउँछन् । कम्प्यूटर साइन्स पढाउन मात्रै कम्प्यूटर प्रयोग गर्ने नभई गणित, अंग्रेजी, विज्ञान, सामाजिक सबै विषय कम्प्यूटरको माध्यमबाट गर्नुपर्नेमा उनी जोड दिन्छन् । प्रविधिको प्रयोगद्वारा सिकाइ दिगोे, टिकाऊपूर्ण, विद्यार्थीको बहुरुचि एवं बहु प्रभावको सम्बोधन र बहु प्रविधिको प्रयोग हुने उनको कथन छ । यसरी नै शिक्षण सिकाइ बढ्ने उनी दाबी गर्छन् ।

रमाइलो र खोजमुलक अनि दिगो सिकाइ
प्रविधिले कक्षाकोठाको शिक्षण सिकाइलाई पहिलेभन्दा रमाइलो, चाखलाग्दो त बनाएकै छ । यसले विद्यार्थीमा अनुसन्धान र खोज गरेर सिक्ने बानीको समेत विकास गरिदिएको छ । विद्यालयहरुले दैनिक गृहकार्यको साटो प्रोजेक्ट वर्क दिन थालेका छन् । जसलाई विद्यार्थीले इन्टरनेट तथा अन्य क्षेत्रबाट खोजेर पूरा गर्नुपर्ने भएको छ । किताब–कपीको ठूलो झोलाको स्थानमा एउटा ल्यापटप भए पुग्ने भएको छ । केही विद्यालयमा इमेलद्वारा नै गृहकार्य दिने र विद्यार्थीले पनि इमेलबाटै शिक्षकलाई बुझाउन गरेका छन् ।

कम्प्यूटर, इमेल, इन्टरनेट त शिक्षण सिकाइको लागि बरदान सावित भएका छन् । शिक्षकलाई सम्बन्धित विषय र शीर्षकमा अत्यन्त नवीन ज्ञान प्राप्त गर्नदेखि विद्यार्थीले सिकेको ज्ञानलाई स्थायी बनाउन, नयाँ–नयाँ विषयमा ज्ञान आर्जन गर्न इन्टरनेटको प्रयोगले निकै सहयोग पु¥याउँछ । कक्षाकोठा शिक्षणको लागि कुनै पनि यस्तो विषयवस्तु छैन, जुन सिक्न र सिकाउन कम्प्यूटरले सहयोग नपु¥याओस् ।

मोवाइलमै पाठ्यपुस्तक
अचेलका विद्यार्थीहरुमा प्रविधि मोह बढ्दै जान थालेको छ । कम्प्यूटर, ल्यापटप र मोवाइल उनीहरुको अनिवार्य आवश्यकता बन्दै गइरहेका छन् । त्यही प्रविधिलाई नै पढाइसँग जोडिदिँदा विद्यार्थीहरुको पढाइ नै रुचिपूर्ण र खोजमुलक बन्दै जान थालेको छ । यसैलाई मध्यनजर गर्दै पाठ्यक्रम विकास केन्द्रले पनि यस वर्ष पाठ्यपुस्तकको एप्सहरु सार्वजनिक गरेको छ ।

अब विद्यार्थीको एउटा मोवाइलमा नै सम्पूर्ण विषयका पाठ्यपुस्तकहरु अट्ने भएका छन् । मनलागेको बेला उनीहरुले मोवाइल र ल्यापटपमा कुनैपनि विषयका पुस्तक पढ्न सक्ने भएका छन् । यसले हाम्रो शिक्षण सिकाइ प्रणालीलाई प्रविधिमैत्री बनाउँदै लगेको छ । यसले पक्कै पनि पाठ्यपुस्तक कहिले आउँला र पढौंला पढाउँला भन्ने मानसिकतालाई बदलिदिनेछ ।

चुनौतीहरु पनि छन्
पढाइमा प्रविधको प्रयोग बढ्दैछ । तर, यसको हुनुपर्ने जति विकास र विस्तार हुन सकेको छैन । मुलुकमा एकातिर विद्यार्थीहरु भूईँमा बसेर कालोपाटीमा अक्षर चिन्दैछन् भने अर्कोतिर स्मार्ट बोर्ड र ल्यापटपमा दुनियाँ सिक्दैछ । प्रविधियुक्त पढाइ विशेष गरेर ठूला निजी स्कूल र केही उत्कृष्ट सामुदायिक विद्यालयको मात्रै पहुँचमा पुगेको छ । न सबै निजी विद्यालय न त सामुदायिक विद्यालयले यसको स्वाद चाख्न पाएका छन् । भवन नभएर त्रिपालमा बडो कष्टसाथ पढिरहेका विद्यार्थी र विद्यालयका लागि यसको पहुँच सपना मात्रै बन्न सक्छ ।

के हो भर्चुअल कक्षा ?
सरकारले लामो समय विदा लिने र विषयगत शिक्षक नभएर विद्यार्थीको पढाइमा बाधा नहोस् भनेर भर्चुअल कक्षा शुरु गरेको हो । शैक्षिक जनशक्ति विकास केन्द्रले काठमाडौंबाट भूकम्पबाट प्रभावित ११ जिल्लाका एक सय सार्वजनिक विद्यालयमा ‘लाइभ भर्चुअल क्लास’ शुरु गरेको छ । देशका दुर्गम क्षेत्रका विद्यालयमा मुख्य तीन विषयका शिक्षक अभाव हुँदाका बखत र तिनले लामो समय विदा लिने अवस्थालाई ध्यानमा राखेर भर्चुअल शिक्षा शुरुवात गरिएको केन्द्रले जनाएको छ ।

यस कक्षामा विद्यार्थीले टिभिमा हेरेर आफ्नो पाठ पढ्न पाउँछन् । केन्द्रले भक्तपुरमा टिभि स्टेसन स्थापना गरी पढाउने र विद्यार्थीको जिज्ञासाको उत्तर दिने व्यवस्था गरेको छ । स्टुडियोबाट विषयगत शिक्षकले पढाएका कुरा सोही समयमा ब्रोडब्याण्ड इन्टरनेट प्रविधिद्वारा विद्यालयका सम्बन्धित कक्षाका विद्यार्थीले आ–आफ्नो कक्षामा जडान गरिएको टेलिभिजनमा हेर्न र सुनेर पढ्न सक्नेछन् । यसका लागि सम्बन्धित विद्यालयमा केही महिनाअघि नै टेलिभिजनसहित आवश्यक सबै सामग्री जडान भइसकेको छ । सरकारले टिभि स्टेशनबाट कक्षा १० का लागि हाललाई अंग्रेजी, गणित र विज्ञानका कक्षा सञ्चालन गरिरहेको छ । केन्द्रले शुरुमा प्रतिविषय ५ देखि ६ जना शिक्षकको व्यवस्था गरिएको जानकारी दिएको छ ।

जिल्ला शिक्षा कार्यालयले रोष्टरबाट छनोट गरेका सामुदायिक तथा संस्थागत दुबैखाले विद्यालयका शिक्षकहरूलाई प्राविधिक तालिम दिएर दक्ष बनाइएको केन्द्रका उपनिर्देशक शिवकुमार सापकोटाले बताए । भर्चुअल कक्षा सञ्चालन पछि चैतमा हुने माध्यमिक शिक्षा परीक्षा (एसइइ) अर्थात् कक्षा १० को नतिजामा सुधार आउने अपेक्षा गरेको छ । विद्यालयमा भर्चुअल कक्षा सञ्चालन गर्न प्रतिविद्यालय करिव ५ लाख रुपैयाँ लगानी गरिएको छ ।शिक्षक नेता लक्ष्मण शर्मा भने सरकारले सञ्चालन गरेको भर्चुअल कक्षा नाम मात्रको भएको र यो प्रभावकारी हुन नसकेको बताउँछन् । ‘यो एकोहोरो भयो । सिकाइ अन्तक्र्रियात्मक हुनुपर्दथ्यो । विद्यार्थीका जिज्ञासा समाधान हुनु पथ्र्याे । सिकेपनि नसिकेपनि यही सिक भनेर लादिएको सिकाइ भयो भर्चुअल कक्षा,’ शर्माले सुधार्न सुझाव दिँदै भने ।

सरकारको लगानी नाम मात्रको
शिक्षा विभागले शिक्षामा प्रविधिको प्रयोगका लागि खासै उल्लेखनीय काम गरेको भने पाइदैन । केही वर्ष अगाडि ओएलइ नेपाल नामक संस्थाको सहयोगमा ‘वान चाइल्ड, वान ल्यापटप’ अर्थात् ‘एक विद्यार्थी, एक ल्यापटप’ भनी केही जिल्लामा ल्यापटप वितरण गरिएको थियो । तर, हाल त्यो सहकार्य टुटेको छ । कम्प्यूटर शिक्षाको लागि विद्यालयमा एक लाख ४० हजार रुपैयाँ दिएर विद्यालयलाई थप ६० हजार थप्न लगाई दुई लाखको ५ वटा डेस्कटप कम्प्यूटर किन्न लागाउने र केही स्कूलमा इन्टरनेट जडानका लागि भन्दै ५० हजार रुपेयाँ बजेट पठाउनुबाहेक विभागले प्रविधियुक्त सिकाइमा लगानी गरेको देखिँदैन ।

विभागको शैक्षिक प्रविधि पूर्वाधार शाखाका उपनिर्देशक दिनेश खनाल ७/८ हजार विद्यालयमा कम्यूटर किन्न एक लाख ४० हजारका दरले बजेट पठाउनु र केही स्कूलमा इन्टरनेट जडानका लागि सहयोग गर्नुबाहेक अन्य सहयोग गर्न नसकिएको स्वीकार्छन् । केही जिल्लाहरुले भने दाताहरुको समन्वयमा विद्यालयमा विभिन्न प्रविधिहरु उपलब्ध गराउने गरेका छन् । सरकारले एसएलसीलाई लक्षित गरी रेडियो र टेलिभिजनबाट दूरशिक्षा दिने गरेको भएपनि त्यो नियमित हुन सकिरहेको छैन ।

राष्ट्रिय शिक्षक संगठनका महासचिव लक्ष्मण शर्माले एक्काइसौं शताब्दिमा प्रविधिबिना शिक्षण सिकाइ असम्भव रहेपनि शिक्षा मन्त्रालय यसप्रति उदासीन रहेको बताउँछन् । दाताले केही दिए प्रयोग गरिहाल्ने, बाँडिहाल्ने भएपनि मन्त्रालयले आफ्नै बुँतामा प्रविधियुक्त सिकाइका लागि सिन्को नभाँचेको शर्माको भनाइ छ ।

प्रविधि प्रयोग गर्ने विद्यालयहरु के भन्छन् ?
हाल स्मार्ट बोर्ड र मल्टिमिडिया प्रोजेक्टरबाट पढाउँदै आएको भक्तपुरको श्रीपद्म माध्यमिक विद्यालयका प्रधानाध्यापक राम हाडा प्रविधियुक्त पढाइले शिक्षणसिकाइ सहज बनेको अनुभव सुनाउँछन् । यसले सिकाइ उपलब्धिसमेत बढेको उनको ठम्याइ छ । सो विद्यालयमा एक हजार सात सय विद्यार्थी अध्ययनरत छन् । उनीहरुलाई अडियो, भिडियो साथै तस्बिर देखाएरै प्रविधिमार्फत् शिक्षण सिकाइ गरिएको उनी बताउँछन् । ‘हामी पेपर र पेनलेस शिक्षण सिकाइ गराउनतर्फ लागिरहेका छौं,’ हाडाले भने । भक्तपुरकै तीन हजार तीन सय विद्यार्थी अध्ययनरत सामुदायिक विद्यालय बागेश्वरी माविले पनि केही वर्षदेखि स्मार्ट बोर्ड, स्मार्ट टिभी र मल्टिमिडिया प्रोजेक्टरमार्फत् पढाउँदै आएको छ । शिक्षक एकोहोरो कराएर पढाउनुभन्दा प्रविधिमार्फत् श्रव्यदृश्यको आधारमा सिकाउँदा प्रभावकारी भएको विद्यालयका सहायक प्रअ ज्ञानसागर प्रजापति बताउँछन् ।

यस्ता छन् नयाँ प्रविधि

मिदास ई–क्लास
मिदास ई–क्लास एनिमेटेड अन्तक्र्रियात्मक श्रव्यदृश्य पाठ्य सामग्री हो । मल्टिमिडिया प्रयोग गरी श्रव्यदृश्यको संयोजनबाट तयार पारिएको यो सामग्री सरकारी वा निजी क्षेत्रका विद्यालयमा पढाइ हुने औपचारिक पाठ्यक्रममा आधारित छ । विद्यार्थीलाई पढाउनुपर्ने किताबका कोर्सहरु र जुनसुकै प्रकाशनका किताबमा पढाइएका पाठलाई एनिमेसनको माध्यमबाट रमाउँदै सिक्ने ‘लर्न विथ फन’ सिद्धान्तमा आधारित यस मिदास ई–क्लास मिदास प्रालिले तयार पारेको । अहिले प्ले ग्रुपदेखि कक्षा १० सम्म नेपाली, अंग्रेजी, विज्ञान, गणित, सामान्य ज्ञान र आईक्यूका गरी ४० बढी एनिमेटेड अन्तक्र्रियात्मक श्रव्यदृश्य सीडी मिदास ई–क्लासमा रहेको छ । यसको प्रयोगबाट कक्षाकोठामा शिक्षकले पढाउँदा विद्यार्थीको कान मात्र नभएर सम्पूर्ण ज्ञानेन्द्रिय आँखा, कान, मन र मस्तिष्क सँगसँगै ध्यान केन्द्रित हुने भएकाले संसारमै शिक्षण सामग्रीको सबैभन्दा एक उत्कृष्ट माध्यम मान्न सकिन्छ ।

साझा शिक्षा ई–पाटी
साझा शिक्षा ई–पाटी (ओएलई नेपाल)ले विशेषगरी नेपालका सामुदायिक र सरकारी विद्यालयलाई प्रविधिमैत्री वातावरणमा शिक्षा दिलाउन शैक्षिक सामग्री जुटाइदिने काम गर्छ । सन् २००७ मा स्थापना भएको यस संस्थाले दूरदराजमा रहेका सरकारी तथा सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क रूपमा शिक्षण सामग्री अडियो भिजुअल, अन्तक्र्रियात्मक सीडी, ल्यापटप र अनलाइन अफलाइन पुस्तकहरू पु¥याउने गर्छ ।

टेक्नो ल्याब
परम्परागत शैक्षिक प्रणालीलाई स्मार्ट स्कूल बनाउँदै अबका विद्यार्थी तथा शिक्षकहरूलाई प्रविधिमैत्री र स्मार्ट बनाउन यसको विकास गरिएको हो । आईसीटी फर एजुकेसन नाम दिएर बनाइएको कुल ल्याबलाई सुशीलदेव भट्टराई, अधिप पौडेल, अमित जोशीलगायतले शिक्षामा प्रविधि प्रयोग गरेर निर्माण गरेका हुन् । विशेषगरी कक्षा ८, ९ र १० को लर्निङ एजुकेसन प्याकेजका रूपमा कुल टेक्नो ल्याब एन्ड रिसर्च सेन्टर प्रालिले विद्यालयस्तरको शिक्षण पद्धतिलाई डिजिटलाइज्ड गरेको हो । हाल कक्षा ७ देखि १० सम्मका विद्यार्थीका लागि नेपाली र गणितबाहेक सबै विषयमा ई–पाठ तयार गरिएका छन् ।

ग्रिनबोर्ड
ग्रिनबोर्डले चकको झन्झटिलोपना हटाउनुका साथै विद्यार्थीको रचनात्मक क्रियाकलापलाई सहज ढङ्गले चार्टमार्फत् देखाउन पनि मद्दत गर्छ । आईसीटी एसोसिएसन अफ नेपालले अध्ययन अध्यापनमा सहजता ल्याउन ग्रिन बोर्ड निर्माण गरेको छ । ब्ल्याकबोर्डको झन्झटिलो पानाबाट छुटकारा पाउन ग्रिनबोर्ड निर्माण गरिएको आईसीटी एसोसिएसन अफ नेपालका अध्यक्ष भेषराज पौडेलले बताए । सन् २००६ मा निर्माण भएको यो बोर्ड दुई वर्षपछि शैक्षिक क्षेत्रमा प्रयोगमा आएको हो ।

पढाइमा प्रविधिको इतिहास
संसारमै विद्यालयमा कालोपाटी अर्थात् ‘ब्ल्याकबोर्ड’ सबैभन्दा लोकप्रिय र प्रचलित नै रह्यो । अझ भन्दा यसको एकछत्र राज नै रह्यो । पहिलोपटक सन् १८०१ अमेरिकामा कालोपाटीको बिक्री भएको मानिन्छ । १९६० को दशकदेखि कालोपाटीको स्थानमा सेतोपाटीको प्रयोग हुन थालेको पाइन्छ । चकको धुलाले एलर्जी र स्वास्थ्य समस्या देखिएपछि धुलोरहित शिक्षण सिकाइका लागि सेतोपाटी प्रयोगमा ल्याइयो । १९४० देखि शिक्षामा अडियो÷भिजुवेल (श्रव्यदृश्य) प्रयोग गर्न शुरु गरियो ।

सन् १९७० को दशकमा आएर शिक्षण सिकाइका लागि कम्प्यूटरको प्रयोग थालिएको हो । सन् १९९० देखि भने शिक्षामा धेरै सूचना प्रविधिहरुको प्रयोग भएको पाइन्छ । विद्यार्थीको सिकाइलाई मनोरञ्जनपूर्ण र दिगोपन बनाउँदै शिक्षकको बोझ कम गर्न तथा विद्यार्थीको आवश्यकता, रुचि, क्षमता र स्तर अनुसार सिकाइ गर्न शिक्षामा नयाँ–नयाँ प्रविधिहरुको विकास हुँदै आएको हो । परिणामतः स्मार्ट बोर्ड, भर्चुअल कक्षालगायतका प्रविधि क्रमशः विकसित हुँदै आएको पाइन्छ ।

२०७३ माघ ४

प्रतिकृया दिनुहोस्