काठमाडौँ । कक्षा १२ को परीक्षाको नतिजा गत वर्षभन्दा राम्रो आएको छ । विद्यालयहरूले संक्षिप्त र आन्तरिक परीक्षामा विद्यार्थीलाई बढाएर नम्बर दिएकाले नतिजा राम्रो आएको राष्ट्रिय परीक्षा बोर्डको भनाइ छ ।

गत वर्षहरूको नतिजामा मध्यम समूहको जीपीए ल्याउने विद्यार्थी सबैभन्दा बढी हुन्थे । यो वर्षको सोमबार प्रकाशित नतिजामा मध्यमभन्दा माथिल्लोस्तरको जीपीए ल्याउने विद्यार्थीको संख्या अत्यधिक छ । गत वर्ष ४ जीपीए ल्याउने विद्यार्थीको संख्या शून्य थियो भने यस वर्ष ४० जनाभन्दा बढीले ४ जीपीए प्राप्त गरेको बोर्डले जनाएको छ ।

विद्यार्थीले पढेकै विद्यालयमा परीक्षा सञ्चालन गरेर त्यहीं उत्तरपुस्तिका परीक्षण गर्दा कक्षा १२ को नतिजामा सुधार देखिएको हो । २० प्रतिशत पूर्णाङ्कको आन्तरिक मूल्यांकनमा समेत शिक्षकहरूले आफूखुसी नम्बर दिएकाले गत वर्षको भन्दा नतिजा राम्रो आएको हुन सक्ने बोर्डका अधिकारीहरू बताउँछन् ।

आन्तरिक मूल्यांकन, होम सेन्टरमा परीक्षा र विद्यालयमै उत्तरपुस्तिका परीक्षणका कारण पनि नतिजा गत वर्षको तुलनामा राम्रो देखिएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए । ‘गत वर्षभन्दा यसपालि विद्यार्थीले धेरै पढ्न पाएर पनि नतिजामा सुधार आएको हुन सक्छ,’ उनले भने । गत वर्षहरूमा वैशाख/जेठमा हुने परीक्षा यसपटक कोरोनाका कारण मंसिरमा मात्र सञ्चालन गरिएको थियो ।

अघिल्लो वर्ष (२०७६) भन्दा नियमिततर्फ करिब १८ हजार बढी विद्यार्थी परीक्षामा सहभागी थिए । दुई वर्षको नतिजा तुलना गर्दा माथिल्लो स्तरको जीपीए ल्याउने विद्यार्थीको संख्या बढी छ । ३.६ देखि ४.० जीपीए ल्याउने विद्यार्थीको संख्या यसपटक ६ हजार ९ सय १६ छ । गत वर्ष ३ हजार ६७ जनाले मात्र उक्त समूहको जीपीए प्राप्त गरेका थिए । जीपीएका ९ समूहमध्ये मध्यमस्तरको जीपीए ल्याउने विद्यार्थी यसपटक ५२ हजार मात्रै छन् । गत वर्ष ८६ हजारले उक्त जीपीए प्राप्त गरेका थिए । मध्यमभन्दा उपल्लो जीपीए (२.४ देखि २.८) ल्याउने विद्यार्थीको संख्या यसपटक सबैभन्दा बढी १ लाख ९ हजार ३ सय १२ छ । गत वर्ष ५६ हजार ५ सय ३ जनाले मात्र उक्त जीपीए ल्याएका थिए । ‘विद्यालयहरूले २/४ नम्बर बढी दिएको हुनुपर्छ,’ बोर्डका एक सदस्यले भने, ‘सबै विषयमा २/४ नम्बर बढाएर दिँदा समग्र नतिजा राम्रो देखिएको हो ।’

गत वर्ष जीपीए ३.२ देखि ३.६ ल्याउने १६ हजार २ सय ४ जना थिए भने यसपालि ३८ हजार ४ सय ८० जनाले उक्त जीपीए प्राप्त गरे । त्यस्तै जीपीए २.८ देखि ३.२ ल्याउने गत वर्ष ३१ हजार ६२ मात्रै थिए भने यसपटक ७६ हजार ८ सय ४१ जनाले उक्त जीपीए ल्याएका छन् । शिक्षकले नम्बर बढाएर दिँदा राम्रो जीपीए ल्याउने विद्यार्थीको संख्या बढेको तथ्यांकले पुष्टि गर्ने बोर्डका कर्मचारीले बताए ।

कुल पूर्णाङ्कमध्ये ४० प्रतिशतको संक्षिप्त परीक्षा, ४० पूर्णाङ्कको कक्षा ११ को नतिजा र २० प्रतिशत आन्तरिक मूल्यांकनको आधारमा यस वर्षको कक्षा १२ को नतिजा सार्वजनिक गरिएको हो । एसईईमा शतप्रतिशत नै विद्यालयलाई मूल्यांकन गर्न दिँदा ९ हजार ३ सय ९१ जनाले ४ जीपीए ल्याएका थिए । ४० प्रतिशत नम्बर कक्षा ११ को आधारमा दिइएकाले पनि एसईईजस्तो शिक्षकहरूले बदमासी गर्न नपाएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जनाए । ‘गत वर्षभन्दा केही प्रतिशत मात्रै नतिजा सुधार

भएको हो, एसईईबाट पाठ सिकेर ४० पूर्णाङ्क हाम्रो नियन्त्रणमा राखेका थियौं,’ उनले भने । यसपटक बोर्ड र नेपाल टेलिकमको वेबसाइट, टेलिकमको एसएमएस र आईभीआर सेवाबाट मात्रै नतिजा थाहा पाउने व्यवस्था गरिएको छ । बोर्डले मात्रै परीक्षा सञ्चालन नगरेका कारण नतिजा प्रकाशनलाई धेरै प्राथमिकता नदिइएको बताइएको छ । गत वर्षहरूमा विभिन्न वेबसाइटमा नतिजा हेर्न सकिने व्यवस्था गरिएको हुन्थ्यो । नियमित, ग्रेड वृद्धि र आंशिक गरी ४ लाख ३३ हजार २ सय ७१ परीक्षार्थी थिए । धेरै विद्यार्थीले एकैपटक ती वेबसाइट चलाउँदा नखुल्ने समस्या भएको थियो ।

नियमिततर्फ ६ हजार ३ सय २० विद्यार्थीको परीक्षा स्थगित गरिएको छ । यीमध्ये अधिकांश विद्यार्थीको विद्यालयबाट आन्तरिक मूल्यांकनको अंक प्राप्त नभएकाले स्थगित गरिएको शर्माले जनाए । कतिपय शिक्षकले पूर्णाङ्कभन्दा बढी र पूर्णाङ्क बराबर अंक दिएकाले नतिजा इन्ट्री र रुजुका क्रममा सच्याइएको थियो । मंसिर १६ मा परीक्षा सकिएपछि पुस १५ सम्म नतिजा प्रकाशन गर्ने लक्ष्य लिएको थियो । गत वर्षभन्दा परीक्षा केन्द्र धेरै भएकाले इन्ट्री र रुजुमा ढिलाइ भएको बोर्डले जनाएको छ ।

गत वर्ष करिब १ हजार १ सय परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुन्थ्यो । यसपटक देशभरका ४ हजार १ सय ५ केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो । विद्यालयमै उत्तरपुस्तिका परीक्षण गरेर बोर्डको प्रदेश कार्यालयमा नम्बर रुजु गर्दा पनि परीक्षा सकिएको दुई महिनामा नतिजा सार्वजनिक गर्न बोर्ड सफल भएको हो । गत वर्ष बोर्डमा प्रदेश कार्यालयमा उत्तरपुस्तिका परीक्षण र केन्द्रमा इन्ट्री र रुजु गर्दा साढे दुई महिनामा नतिजा सार्वजनिक गरिएको थियो ।

नियमिततर्फ एक जना विद्यार्थीको परीक्षा रद्द गरिएको छ भने ग्रेड वृद्धितर्फ २ हजार ९ सय ८२ जनाको परीक्षा स्थगित भएको छ । आंशिकतर्फ २ हजार १ सय ८८ जनाको परीक्षा स्थगित गरिएको छ । कोभिडले परीक्षा अनिश्चित हुँदा स्नातक तहको भर्ना र पठनपाठनसमेत प्रभावित बनेको थियो । बोर्डले मन्त्रिपरिषद्बाट परीक्षा कार्यविधि स्वीकृत गराएर परीक्षा सञ्चालन गरेको हो । परीक्षा सम्मिलित विषयहरूको सैद्धान्तिकतर्फ डी प्लस र प्रयोगात्मकतर्फ कम्तीमा सी ग्रेड ल्याउने विद्यार्थीलाई १५ दिनपछि शैक्षिक प्रमाणपत्र उपलब्ध गराउने बोर्डले जनाएको छ । साउनमा प्रकाशित हुने नतिजा ६ महिना ढिला भएको हो । विश्वविद्यालयहरूले कक्षा १२ को नतिजा सार्वजनिक हुनुअघि नै भर्ना प्रक्रिया सुरु गरिसकेका छन् ।

सुदीप कैनीले कान्तिपुरमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्