काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निम्नमाध्यमिक विद्यालय र प्राथमिक विद्यालयको रिक्त शिक्षक दरबन्दीको विज्ञापन तत्काल खुलाउन निर्देशन दिएका छन् । सोमबार आयोगका पदाधिकारीहरूको छलफलमा उनले निमावि र प्राविको रिक्त शिक्षक दरबन्दीको विज्ञापन खोल्न निर्देशन दिएका हुन् । उनले भने, “देशभरिका विद्यालयमा शिक्षक अभाव छ । यसै साता निमावि र त्यसको केही समयपछि प्राविको विज्ञापन खोल्नुहोस् ।”

शिक्षक सेवा आयोगको ११औँ संशोधन नियमावली केही दिनअघि मन्त्रिपरिषद्बाट पारित भएको थियो । नियमावलीबारे जानकारी गराउँदै पौडेलले शिक्षकको आन्तरिक बढुवा एवं अध्ययन अनुमतिपत्र ९लाइसेन्स०को विज्ञापन गर्ने प्रक्रिया थाल्न आयोगलाई निर्देशन दिए। नियमावली संशोधन भइसकेकाले अब तीन हजार ३९८ शिक्षकको आन्तरिक बढुवा हुने भएको छ ।

छलफलमा शिक्षक सेवा आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले बुधबारसम्म निम्नमाध्यमिक तहको विज्ञापन खोल्ने तयारी भएको जानकारी दिए । रेग्मीले भने, “माविको एक हजार ५६५ पदका लागि विज्ञापन गरिसकेका छौँ । यसै साता निम्नमाध्यमिक विद्यालयमा रिक्त दुई हजार ५९८ पदका लागि विज्ञापन गर्छौं ।”

गोरखापत्रमा खबर छ ।

प्रतिकृया दिनुहोस्