सिमकोट । लामो समय कोरोना कहरले बन्द रहेका हुम्ला जिल्लाका ७७ वटा विद्यालयमा बिहीवारबाट पठन–पाठन सुरु भएको छ । यसअघि गाउँपालिकाले विद्यालय सुचारु गर्ने निर्णय गरेपछि यी विद्यालयहरुले पठन–पाठन सुरु गरेका हुन् ।

बाल मन्दिर माध्यामिक विद्यालयमा पढाइ सुरु भएकै दिन असी भन्द बढी प्रतिशत विद्यार्थीको भौतिक उपस्थिती रहेको विद्यालयका शिक्षक मधु बस्नेत शाहीले जानकारी दिइन् ।

कक्षा एकदेखि पाँचसम्मका विधार्थीको उपस्थिती केही कम भएपनि माथिल्लो कक्षाका विद्यार्थीको उपस्थिती राम्रो रहेको उनको भनाई छ । कोरोना संक्रमणको सुरक्षाका लागि विद्यार्थी तथा शिक्षकका लागि अनिवार्य माक्सको प्रयोग गर्नुपर्ने ब्यबस्था विद्यालयले गरेको छ ।

सिमकोटका २८ वटै विद्यालयमा बिहीवारबाट पठन–पाठन सुरु भएको सिमकोट गाउँपालिकाले जनाएको छ ।

त्यसैगरी, जिल्लाको मध्य क्षेत्रको सर्केगार्ड गाउँपालिकाका ३२ वटा विद्यालयमा पठन–पाठन एक साथ सुरु भएको गाउँपालिकाका उपाध्यक्ष जोशी धामीले जानकारी दिए । नयाँ शैक्षिक सत्र सुरु हुन लागेका बेला पठन–पाठन सुरु भएको हुँदा विधार्थीको उपस्थिती सन्तोसजनक रहेको उनले बताए ।

त्यसैगरी, ताँजाकोट गाउँपालिकाका १७ वटा विद्यालयमा पठन–पाठन सुरु भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लाल प्रसाद ढकालले बताए । विद्यार्थी र शिक्षकले कोरोना संक्रमण विरुद्धका सामग्री प्रयोग गरेर विद्यालय सञ्चालनमा आएका उनले बताए ।

फागुन २ गतेबाट हुम्ला जिल्लाका विद्यालयमा नयाँ शैक्षिक सत्र सुरु हुनु पर्नेमा कोरोनाको कारण भरखर पढाइ सुरु भएकोले पठन–पाठनलाई तिब्रता दिने विद्यालयले जनाएका छन् ।

शुक्रवार समेत पुरा दिन पढाइ सञ्चालन गर्ने विदालयले जनाएका छन् । पठन पाठन सुरु भएका अधिकाँस विद्यालयका शिक्षकहरु विद्यालयमा पुगि सकेको र केही नआएको भएपनि सम्पर्कमा आई सकेको जनाइएको छ ।

यस अघि पुस १५ गतेबाट अदानचुली गाँउपालिकाका विद्यालयमा पठन–पाठन सुरु भई रहेको छ भने अब तीनवटा गाउँपालिका नाम्खा, खार्पुनाथ र चंखेलीमा पनि चाँडै पठन–पाठन सुरु गर्ने तयारी भई रहेको गाउँपालिकाले जनाएका छन् । हुम्लाका विद्यालयमा पहिलो पटक पुस माघ महिनामा पठन–पाठन सुरु भएको हो ।

प्रतिकृया दिनुहोस्