कावासोती । नवलपुरका केही सामुदायिक विद्यालयले स्वास्थ्य मापदण्ड अप्नाउदै पठनपाठन सुरु गरेका छन् । कावासोती नगरपालिका १२ पिठौलीमा रहेको शान्ति निकुञ्ज माध्यामिक विद्यालयले असोज १ गतेबाट कक्षा सञ्चालन गरेको छ । कक्षा ६ देखि १२ सम्म पढाई हुने यस विद्यालयमा सामाजिक दुरी कायम गरि स्वास्थ्य सतर्कता अपनाउँदै पठनपाठन सुरु गरिएको विद्यालयका प्रध्यानाध्यापक हरि न्यौपानेले बताउनुभयो । सरकारले वैकल्पिक सिकाई सहजीकरण निर्देशिका जारी गरेपछि अन्य विकल्प अपनाएर पठनपाठन सुरु गर्न सम्भव नभएको हुँदा कक्षा नै सञ्चालन गरिएको न्यौपानेको भनाई छ ।

‘ यहाँ विपन्न , पिछडिएको समुदाय बढी छ । ग्रामिण क्षेत्र समेत भएकाले अनलाईबाट पठाउन सम्भव छैन । नेट राख्ने क्षमता अभिभावकमा छैन । एनरोइड मोवाईलसमेत चलाउन सक्दैनन् कसरी, अनलाई कक्षा सञ्चालन गर्नु । त्यसैले हामिले विद्यालयमा नै कक्षा सञ्चालन गरेका हौँ । ’ न्यौपानेले भन्नुभयो । शैक्षिक सत्रभित्र पाठ्क्रम जसरी नि सक्नुपर्ने निर्देशिकामा भएकाले ११ कक्षा बाहेकका अन्य कक्षा सञ्चालन गरेको उहाँले बताउनुभयो । कक्षा ६, ८ र १० का विद्यार्थी आईतबार , मंगलबार र बिहिबार विद्यालय आउछन् ।

कक्षा ७ , ९ र १२ का विद्यार्थी सोमबार , बुधबार र शुक्रबार आउछन् । एक दिनको ग्याप राखेर विद्यार्थी पढ्न आउँछन् । यस विद्यालयमा ३ सय ८० जना विद्यार्थी छन् । एउटा कक्षामा कम्तीमा २५ जनासम्म विद्यार्थी, एउटा बेन्चमा दुई जना मात्रै राखेर कक्षा सञ्चालन गरिएको छ । विद्यालय प्रवेश गर्दा थर्मल गनले ज्वरो नाप्ने , शौचालय जाँदा पनि दूरी कायम गरेर जाने , घरबाट आउदा जादासमेत विद्यार्थीलाई अनिवार्य रुपमा दूरी कायम गर्न भनि निगरानीमा राखेको न्यौपानेले बताउनुभयो ।

लामो समयको बन्दपछि विद्यालयमै आएर पढ्न पाउदा विद्यार्थी पनि खुसी छन् । कक्षा नौमा अध्यनरत विद्यार्थी प्रज्ञा खनालले सुरुको दुई दिन जति केहि डर लागेजस्तो भए पनि अहिले कुनै पकारको त्रास नभएको बताउनुभयो । घरमा बस्दा पढाईमा ध्यान नजाने मोवाईल चलाउने , टिभि हेरेर दिन बिताउने गरेको सुनाउदै उहाँले भन्नुभयो । ‘हाम्रो पढाई सुरु भएको छ हामि खुसी छौ । घरमा बस्दा पढ्न मन लाग्थेन अब कसरी फेरी पहिले जस्तै स्कूल जाने दिन आउला भन्ने सोच्थेँ अब त स्कूल जाने कहिले हो कहिले भन्ने लाग्थ्यो तर,पढाई सुरु भयो । दैनिक स्कूल आएर पढ्दा पुरानै लयमा फर्कदैछौ । ’ उहाँले थप्नुभयो ‘स्कुलमा हामि गेटबाट छिर्दा साुबन पानीले हात धुन्छौ , कक्षामा मास्क सबैले लगाएका छौ, दूरी कायम गरि बेन्चमा बस्छौ । घरबाट बनाएर ल्याएको खाजा खान्छौ । ’ मास्क लगाउनुपर्दा भने पसिना आउने , बोल्दा कतिपय कुरा नबुझिने समस्या हुने गरेको उहाँले सुनाउनुभयो ।

नवलपुरका केही स्थानीय तहले कक्षा ६ भन्दा माथिका कक्षा सञ्चालन गरेको शिक्षा विकास तथा समन्वय ईकाइ नवलपुरका प्रमुख कृष्णचन्द्र पोख्रेलले बताउनुभयो । साना बालबालिकालाई नियन्त्रण गर्न समस्या पर्ने भएकाले छदेखि माथिका कक्षा केहि विद्यालयमा सुरुवात गरिएको पोख्रेलले जानकारी दिनुभयो ।

पाख्रेलका अनुसार कावासोती , मध्यविन्दु , गैडाकोट र देवचुली नगरपालिकाका नेटको पहँुच नपुग्ने र विपन्न समुदायको बाहुल्य बढि रहेका, पहाडी क्षेत्रका केही विद्यालयमा स्वास्थ्य मापदण्ड पूरा गरि कक्षा सञ्चालन गरिएको छ । जिल्लाको पहाडी क्षेत्र हुप्सेकोट , बुलिङ्गटार र बौदीकाली गाउपालिकामा पनि केहि विद्यालयले कक्षा सञ्चालन गरेका छन् । ‘विषेश गरि बजार क्षेत्रमा कोराना संक्रमणको जोखिम अलि बढि छ । तर ग्रामिण र पहाडी क्षेत्रमा जोखिम कम भएको हुँदा विद्यालयमा नै कक्षा सञ्चालन गरिएको हो । अन्य वैकल्पीक विधीबाट पठनपाठन अगि बढाउन सम्भव नहुने क्षेत्रमा कक्षामै पठनपाठन सुरु गरिएको छ । ’ पोख्रेलले भन्नुभयो । जिल्लामा सामुदायिक ३ सय १२ र संस्थागत ९३ वटा विद्यालय छन् ।

ज्ञानु पंगेनीले गोरखापत्रमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्