नगेन्द्रराज पौडेल

गतसाता प्रदेश नम्बर ५ का केही सांसदहरुले प्रदेश सभा बैठकमा जुन गतिविधि देखाए, त्यसले हाम्रा माननीयहरुको कद घटेको छ । नेपाली बृहत् शब्दकोशले माननीयलाई ‘मान वा आदर गर्न योग्य, मान्य, आदरणीय’भनी परिभाषा गरेको छ । यसरी मान्यजनहरुले नेपालको संविधान बमोजिम प्रदेश सभामा प्रस्ताव नै पेश गर्न नदिएर वा पेश गरेको प्रस्तावमाथि छलफल हुन नदिएर आफ्नो गैर संसदीय चरित्र मात्र होइन, बैठक कक्षका कुर्ची, टेबुल तोडेर पशुवत् व्यवहारको राम्रै प्रदर्शन गरे । उक्त घटनाले आम नेपाली जनताका माझ ‘माननीय ’भन्ने शब्द नै हलुका, फितलो र अलोकप्रियताको पर्याय बन्न थालेको छ ।

कागती रोपेर सुन्तला फल्दैन
खेती अनुसार बाली भित्रिने कुरा पक्का हो । नेपालको संसदीय इतिहासमा पहिलोपटक ५ नम्बर प्रदेशमा मात्र घटेको यो घटना होइन । २०४७ देखिकै संसदमा यस्ता हर्कतहरु बाराम्बार देखिदै आएको हो । सडक र सदन एकैपटक आन्दोलन भएको इतिहास पनि हाम्रा सामु छ । विगतमा सभामुख रामचन्द्र पौडेलमाथि सभाषद गोल्छे सार्कीको मुक्का होस वा सांसद पासवानको कुर्चीकाण्ड ,ती सबैले हाम्रा सांसदको हैसियद उजागर उहिल्यैदेखि गरेका हुन् । पुर्वजहरुले ब्रिफकेश खोस्नेदेखि सभामुख घेर्नेसम्मका गतिविधिहरु बुटवलमा कुर्ची हान्नेहरुले नियालीसकेका हुन् । एक किसिमले ‘सिक सिक देवरानी घरमै जेठानी’ को अवस्था हाम्रोमा भएकै हो । यसैकारण वुुटवल प्रकरण विगतकै गतिविधिको निरन्तरतामा एउटा संस्करण मात्र हो । कागती हिजै रोपेको थियौ। आज त्यो बोटबाट हामीले सुन्तलाको अपेक्षा गर्नु नै हाम्रो भुल देखियो ।

शिक्षामा नैतिक पक्ष उपेक्षित
यस्ता घटना तब घटछन् , जब मानिसहरु विवेक गुमाउँछन् । मानिसमा विवेक भर्ने काम शिक्षाको हो । शिक्षाले नैतिक पक्षका बारेमा व्यक्तिलाई अभ्यस्त गनुपर्ने थियो तर सकेन । शिक्षाको नैतिक पक्ष त्यस्तो पक्ष हो, जसको माध्यमबाट असल व्यक्ति, समाज र चरित्रको निर्माण गर्न सकिन्छ ।

‘नीति र‘इक’ मिलेर नैतिक शब्द बनेको हो । यसको अर्थ ‘नीतिको पालना गर्नु’ भन्ने हो । नीतिको पालना हुँदा समाजमा सकारात्मक सोचको विकास हुन्छ । नागरिकमा आफ्नो दायित्वबोध हुँदै जान्छ र समाज सकारात्मक तरिकाबाट अगाडि बढ्दै मानिसमा सदाचार, विनम्रता, सद्भाव, प्रेमभाव, श्रद्धा र परोपकारजस्ता सकारात्मक पक्षले स्थान पाउँछ । यसैकारण शिक्षामा नैतिक पक्षको अभाव आजका यी घटनाका लागि जिम्मेवार देखिन्छ ।

नेपाली बृहत् शब्दकोशले ‘नैतिक’लाई ‘राम्रो आचरण, नीतिसँग सम्बन्धित कुरा’का रूपमा व्याख्या गरेको छ । नीतिमा पनि ‘विद्या विनय सम्पन्ने’ भनिएको छ । अर्थात् विद्याले विनय दिनुपर्छ । प्रसिद्ध समालोचक डाक्टर ताना शर्माले चाँदनी शाहका कविताको समीक्षा गर्दा उनलाई चाकडी गर्ने, राजा महाराजाका सामुु टाउको निहुुराउने भनेर आलोचना गर्दा उनले भन्ने गर्थे ‘मेरो टाउको छ, यसैले निहुरिन्छ, टाउको नै नहुनेको के निहुरिओस् ? मसँग कोही मान्छे झुक्न आउँछन्, यसैले म पनि मान्यवरसँग झुक्नुुपर्नेरहेछ भनेर थाह पाएँ, जोसँग कोही मान्छे झुक्नै आउँदैन उसलाई अरूसँग झुक्नपर्दोरहेछ भन्ने के थाहा ?’

शिक्षाले यस्तै मानव मूल्यको अभिवृद्धि गर्न सक्नुपर्छ । सत्य, धर्म, शान्ति, पे्रम र अहिंसा मानवीय मूल्य हुन् । यिनको संरक्षण, विकास र रक्षाका लागि शिक्षा सदैव तत्पर हुनुपर्छ । तर, हामीकहाँ न शिक्षा मानवीय मूल्यकै संरक्षण गर्न सक्ने खालको छ, न त नागरिकलाई गरिखान नै सिकाउने खालको छ । कति पढ्ने भन्ने कुरामा जोड दिँदा के पढ्ने भन्ने विषयवस्तु छायामा परेको छ । यसैले बेरोजगार नागरिक उत्पादन गर्नकै लागि शिक्षा किन चाहिने ? बहसको विषय बन्न सक्छ । अहिले पुरानै ढर्रामा नयाँ मान्यतालाई बोक्न खोज्दा शैक्षिक प्रणालीमाथि नै प्रश्नचिह्न खडा हुने अवस्था छ ।

नकारात्मकताविरुद्ध शिक्षा
शिक्षाले दुव्र्यवहार, खराब आचरण रोक्न सक्नुपर्छ । पढेका र नपढेबीच अन्तर देखाउन सक्नुपर्छ । माननीय र न माननीयबीच फरक छुट्याउनसक्नुपर्छ । तर आज यस्तो अवस्था देखिँदैन । हामीकहाँ मात्रै होइन, विश्वमा नै शिक्षाले मानवीय मूल्य बोक्न सकेको छैन । भनिन्छ, अमेरिकामा हरेक पाँच मिनेटमा एउटा बालक हिंसात्मक अपराध गरेको अभियोगमा समातिन्छ र प्रत्येक तीन घण्टामा एउटा अमेरिकन बालकको मृत्यु बन्दुकसँग सम्बन्धित हिंसाबाट हुन्छ । किन्डरगार्डेन जानुअघि नै केटाकेटी ५ हजार घण्टा टिभी हेर्दछन् । मोबाइलको दुरुपयोगमा केटाकेटी अधिक छन । जुवा, तासमा पनि कैयन् बालबालिका संलग्न भएको पाइन्छ । शिक्षाले यस्ता कुरा नरोके पनि कम गर्न सक्नुपर्छ । यसका लागि तल्लो कक्षाबाटै नैतिक पक्षको ज्ञान दिनुपर्दछ । आज पढाइने गरेको नैतिक शिक्षा परीक्षाका लागि मात्र भएको छ, व्यावहारिक जीवनका लागि हुन सकेको छैन ।

शिक्षाको नैतिक पक्षले मानवीय चेतना उजागर गराउन सक्नुपर्छ । यसका लागि नर्सरीदेखि आध्यात्मिक ज्ञान, योगा शिक्षा र प्रभात संगीत, धर्मचक्रमा सहभागी गराउने गरी व्यावहारिक शिक्षा दिनुपर्छ । तर, हामीकहाँ नैतिक, आध्यात्मिक र सदाचारयुक्त शिक्षाको खाँचो छ । हाम्रो सोच अंग्रेजी माध्यमतर्फ छ । भाषिक माध्यम मात्र परिवर्तन गरेर हामीलाई चाहिने नागरिक उत्पादन हुन सक्दैन । बरु अंग्रेजी माध्यममा जोड दिन लालायित हुनु भनेको त दुई/चार जना विदेश नगई स्वदेशमा बस्न खोजेकालाई पनि जबर्जस्त विदेश धकेल्न खोज्नु हो । अंग्रेजी मोहको सोच कुनै पनि हालतमा त्याज्य नै छ ।

नकारात्मक पक्ष
अहिलेको शिक्षाले शैक्षिक उपलब्धिमा मात्र बढी जोड दिएको छ । पाठ्यक्रम र परीक्षामा बढी जोड दिएर कति अंक ल्यायो भन्नेमा जोड दिएको छ । अर्थात् कति पढ्ने भन्ने कुरामा चासो राखेको छ तर किन पढ्ने र के पढ्ने भन्ने कुरामा चासो राखेको छैन । यसले गर्दा चरित्र विकासमा कम जोडदिएको पाइन्छ । उदाहरणीय र असल नागरिक बन्नुपर्नेमा कम चासो दिएको छ । रूपान्तरण नभई जानकारीमा मात्र जोड दिएको छ । यो राम्रो होइन । प्रायः हामी जे सिक्दछौं, त्यो तुरुन्तै बिर्सिहाल्छौं । हामीले बालबालिकालाई के सिकाउँदै छौं भन्ने कुरा बिर्सेर विषयवस्तुमै रुमलिन्छौं । यसैकारण शिक्षा प्रक्रियामै सम्मिलित रहने जोकोही पनि असन्तुष्ट देखिन्छन् । विद्यार्थी, शिक्षक, अभिभावक, सरकार र समाज कोही पनि अहिलेको ज्ञानार्जन प्रक्रिया, विषयवस्तु र विधिबाट सन्तुुष्ट देखिँदैनन् । यसैको परिणाम हो माननीयको गैर माननीय व्यवहार प्रदर्शन ।

हामीबीच शैक्षिक विरोधाभासको स्थिति छ । एकातिर शिक्षाकै माध्यमबाट मानिसले पदार्थ र अन्तरीक्षमाथि नै विजय प्राप्त गरिरहेको छ भने अर्कोतर्पm शान्ति र खुसीको खोजीमा भौतारिरहेको अवस्था पनि छ । यो वा त्योको दोधारमा हाम्रो शैक्षिक अवस्था रुमलिइरहेको छ । धैरैजसो समाजमा मद्यपान, लागूपदार्थ सेवन, मानसिक रोग, अपराध र नाबालकहरूको बढ्दो आपराधिक संलग्नता विकराल बन्दै गएको छ । यो अवस्थालाई शिक्षाले न्यूनीकृत गर्नुपर्ने हो तर वर्तमान शिक्षाले भाषा र अवधारणा सिकाउँछ तर आपूmसँग र अरूसँग कसरी सन्तुलित जीवनयापन गर्ने भन्ने सिकाउँदैन । यो नै आजको शिक्षाको मूल कमजोरी हो । व्यवहारमा आउने सकारात्मक परिवर्तनको खोजी शिक्षाको नैतिक पक्षले समेट्न सक्नुपर्छ ।

आजकलको शिक्षा दिमागलाई किताबी कुराले भर्ने, भरिएको कुरा परीक्षा हलमा खन्याउने र घर फर्कंदा रित्तो दिमाग फर्कने प्रक्रियाको छ । परीक्षामा मात्र जाने र पुुग्ने शिक्षा छ । वर्तमानमा शिक्षाले बुद्धि र गफको विकास गर्दछ तर असल गुणको विकासमा कम योगदान दिन्छ ।

अबको शिक्षा कम्तीमा पनि मानव कल्याणका लागि हुनुपर्दछ । यसले सामाजिक कुसंस्कार कुरीति र अमानवीय व्यवहारलाई चिर्न सक्नुपर्दछ । समाजमा रहेका राम्रा पक्षलाई उजागर गर्न सघाउनुपर्छ । व्यक्तिगत सदाचार, स्वावलम्बीपना र नैतिक मूल्य–मान्यतालाई संरक्षण गर्ने शिक्षा नै आजका लागि आवश्यक छ । विनम्रता, आदर, संस्कारजस्ता मान्यतामा विशेष जोड दिनुपर्दछ । जसबाट बालबालिका वयष्क हुँदा भविष्यमा असल र कुशल नागरिक भई देश, समाज र विश्वमै अनुकरणीय उदाहरण बन्न सकून् , नकि प्रदेश ५ का केही माननीयजस्ता ।

प्रतिकृया दिनुहोस्