घरमै बसेर नि:शुल्क विश्वविद्यालय शिक्षा

एजुकेशन पाटी

Byएजुकेशन पाटी

२१ जेष्ठ २०७७, बुधबार

काठमाडौं ।के तपाईं घरमै बसेर विश्वका विभिन्न विश्वविद्यालयको निःशुल्क डिग्री लिन चाहनुहुन्छ ? तीन घण्टामा इन्टरनेटको पढाइ र परीक्षाले तपाईँको घरको भित्तामा विश्वका विभिन्न विश्वविद्यालयका सर्टिफिकेट झुन्ड्याउन चाहनुहुन्छ ? यसका लागि तपाईँले इन्टरनेटमा च्याटिङ होइन, ‘मुकिङ’ गर्नुपर्ने हुन्छ ।

फेसबुकमा लामो समय बिताउने हाम्रा शिक्षक, अभिभावक र विद्यार्थी जोकोहीले पनि Massive Open Online Course (MOOC)‘मुक’ लाई फेसबुकको केही समय दिएर घरमै बसेर विश्वविद्यालयको सर्टिफिकेट पाउन सकिन्छ । त्यो पनि हार्वड, क्यालिफोर्निया जस्ता विश्वका उत्कृष्ट विश्वविद्यालयका । यसबाट कक्षा पाँचमा पढ्ने विद्यार्थीहरुले पनि विश्वविद्यालयको सर्टिफिकेट निःशुल्क लिन सक्नेछन् ।

घरमै बसेर खुला विश्वविद्यालयको अनलाइन पढाइ त पहिले नै सुरु भएको हो । तर, यो पढाइको लागि भने विश्वविद्यालय शिक्षा लिन योग्य नै हुनुपर्ने छैन । विद्यालयस्तरका विद्यार्थीले पनि सजिलै घरमै बसेर विश्वविद्यालयको सर्टिफिकेट प्राप्त गर्नेछन् । नेपालमा यस मुकिङ अभियान सञ्चालन गरिरहेका अभियानकर्ता एवं मदरल्याण्ड हाइस्कूल पोखराका अंग्रेजी शिक्षक वामनकुमार घिमिरे बताउँछन् । उनका अनुसार यसको लागि धेरै मिहिनेत र खर्च गर्नुपर्दैन, निश्चित अनलाइन ठेगानामा गएर पढ्ने र परीक्षा दिए पुग्छ । पहिले अनलाइनबाटै एनिमेशन, फोटो र भिडियोमार्फत् पढाइन्छ र परीक्षा लिइन्छ । जतिपटकसम्म नबुझे पनि दोहो¥याउन पाइन्छ । यसले अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा विद्यार्थीहरुलाई प्रतिस्पर्धी बनाउने घिमिरे बताउँछन् ।
नेपाल राष्ट्रिय शिक्षक संगठनका महासचिव लक्ष्मण शर्मा संसारभर

इन्टरनेटले कक्षाकोठामा पढाउने गरिएपनि नेपालमा भने इन्टरनेट चलाउने विद्यार्थीलाई राम्रो नमानिने गरेको भन्दै मूकले विद्यार्थीलाई अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा प्रतिस्पर्धा गर्न तागत दिने र सीप आर्जन गर्दै कसैलाई गुरु मान्दै बिन्ति गर्नुनपर्ने बताउँछन् । आफूले प्रविधिकै कारण बोल्नबाट लेख्न र विभिन्न मुलुकको भ्रमण गर्ने अवसर पाएको भन्दै महासचिव शर्माले शिक्षामा प्रविधिको प्रयोग अनिवार्य भएको जिकिर गरे ।

राष्ट्रिय परीक्षा बोर्डका उपसचिव डिल्ली लुइटेल खुला सिकाइको यस मुकिङ प्रक्रियाले व्यक्तिलाई ग्लोबल नागरिक बनाउने बताउँछन् । अब विद्यार्थी र विद्यालयहरुले छेउका विद्यालय, जिल्लाका विद्यालयलाई जितेर नहुने उसले विश्वसँग प्रतिस्पर्धा गर्नुपर्ने भन्दै लुइटेलले मुकबाट ४/५ कक्षाबाटै विश्वविद्यालयको सर्टिफिकेट लिई विश्व शिक्षामा कामयावी बनाउने उल्लेख गरे ।

अल्मुनाई अमेरिकन राजदूतावासका अशोक सापकोटा शिक्षण सिकाइ भनेको शिक्षकले पढाउने र विद्यार्थीले किताब रट्ने मात्रै नभएको भन्दै जीवन उपयोगी सीपका लागि मुकिङ शिक्षा महत्वपूर्ण रहेको बताउँछन् । यदि विद्यार्थीहरुसँग विद्यालय पढ्दाखेरी नै विभिन्न विश्वविद्यालयको सर्टिफिकेट भए उनीहरुको उच्च शिक्षा के हो आफै कल्पना गर्न सकिन्छ भन्दै सापकोटाले मुकले विद्यार्थीको सिकाइस्तर बढाउने र आत्मविश्वासी बनाउने दावी गर्छन् ।

मदरल्याण्ड हाइस्कूल पोखराका निर्देशक त्रिभुवन शर्मा बराल विद्यार्थीहरुलाई तैले गर्न सक्दैनस् भन्ने मान्छेहरु नभएपनि उनीहरुले धेरै गर्न सक्ने बताउँछन् । १० वर्ष पछि सायद विद्यार्थीहरुसँग किताव र कपी हुने छैन उनीहरुले इन्टरनेट र कम्प्युटरमा सिकेर पेनड्राइभमा गृहकार्य बुझाउनेछन् भन्दै शर्मा मूकले ग्लोवल विद्यार्थी उत्पादन गर्ने बताउँछन् ।

नन्दी मावि नक्सालकी प्रअ गीता काफ्ले फेसबुक र इन्टरनेटमा रमाउने पुस्तालाई इन्टरनेटबाटै सिकाई गर्न मूक महत्वपूर्ण भएको बताउँछिन् । त्यस्तै, साङ्लेभार मावि तारकेश्वरका प्रअ टिकाराम भट्ट विद्यालयस्तरका विद्यार्थीहरुले पनि अनलाइनबाट मुककोर्ष गरेर भविष्यमा विदेशमा शिक्षाको दैलो खोल्न सक्ने बताउँछन् ।

मुकिङ शिक्षाबाट विश्वका ३० बढी विश्वविद्यालयका सर्टिफिकेट प्राप्त गरेकी मदरल्याण्ड हाइस्कूलकी कक्षा ११ अध्ययनरत छात्रा सोनिया गौतम हप्तामा केही समय मुकलाई दिए विदेशी विश्वविद्यालयको सर्टिफिकेट घरमै आउने र यसबाट अभिभावकहरुलाई पनि खुसी दिन सकिने बताउँछिन् । मुकिङ शिक्षाबाट विश्वका १३ बढी विश्वविद्यालयका सर्टिफिकेट प्राप्त गरेकी सोही विद्यालयकी कक्षा १० पढ्ने सोजिता पहारी विद्यालय पढाइबाहेकको केही समय इन्टरनेटमा मुकलाई दिएर पढ्न सकिने र यसबाट विश्वका उत्कृष्ट प्रोफेसर र विद्यार्थीहरुसँग सम्पर्क स्थापित हुने बताउँछिन् ।

मुक कोर्षमा हजारौं कोर्षहरु हुने र एउटा कोर्ष विश्वका हजारदेखि तीन लाखसम्मले गर्ने गरेका नेपालमा मुक अभियान चलाएका वामन घिमिरे बताउँछन् । यो कोर्ष जुनसुकै उमेर समूहका व्यक्ति, विद्यालयका विद्यार्थी सबैले इन्टरनेटबाट गर्न पाउने घिमिरे बताउँछन् । विश्वका विभिन्न विश्वविद्यालयहरुले अनलाइनमा विभिन्न कोर्षहरु दिने र निश्चित अनलाइनबाट मुक शिक्षा लिन सकिने तथा यो निःशुल्क हुने घिमिरे बताउँछन् ।

अहिले मुलुकका विभिन्न १० स्थानमा यसबारे विद्यालयका विद्यार्थीहरुलाई जानकारी दिने अभियान चलाइएको छ । काठमाडौं उपत्यकामा पनि चार सेन्टरमा यसबारे अभियान सञ्चालन गरिएको छ । एक सेन्टरमा ५ निजी र ५ सामुदायिक विद्यालयका ६ जना गरी ६० जना विद्यार्थी सहभागी हुने घिमिरेले जानकारी दिए ।

यो कोर्सले विद्यार्थीहरुलाई विश्वशिक्षा क्षेत्रमा प्रतिष्पर्धी बनाउँछ

वामन कुमार घिमिरे
मुकिङ अभियानकर्ता

मुकिङ कोर्स भनेको केहो ?
घरमै बसेर जोकोहीले पनि इन्टरनेटमा बसेर गर्न सक्ने कोर्ष हो । यसमा कुनै शुल्क लाग्दैन । एउटा कक्षाकोठामा कोर्स लिँदा ३०÷४० जना विद्यार्थी हुन्छन् भने यो कोर्स लिँदा एकैचोटी हजारदेखि तीन लाखसम्म विद्यार्थी हुन्छन् । यो खुला भएकाले विश्वका जुनसुकै स्थानबाट जुनसुकै उमेर समूहको जसले पनि लिन सक्छ । यसलाई इन्टरनेटबाट लिइने हुनाले अनलाइन कोर्स भनिएको हो ।

टोफललगायत विभिन्न इन्टरनेट कोर्सहरु छन् । यी भन्दा यो के मानेमा भिन्न छ ?
इन्टरनेटबाट गरिने भएकाले यो पनि इन्टरनेट कोर्स हो । अन्य कोर्स गर्दा ५० देखि १५० डलरसम्म तिर्नु पर्छ । तर यो पूर्ण निःशुल्क छ । र, जो कोहीले पनि गर्न सक्छ । केही निश्चित वेवसाइटहरु विद्यार्थीहरुलाई जानकारी गराउँछौं, जसले सर्टिफिकेट दिन्छ । अन्य कोर्सहरु १० हप्तादेखि ४ महिनासम्मका हुन्छन् । तर यो एकै दिनमा वा एकै हप्तामा सकिन्छ । यसबाट मैले सर्टिफिकेट लिनका लागि परीक्षा दिन्नँ, मात्रै यसबाट सिक्छु । शैक्षिक सूचना लिन्छु मात्रै पनि भन्न पाइन्छ ।

एउटा विद्यार्थीले घरमै बसेर यो कोर्स लिन सक्छ ? तपाईँहरुलाई सम्पर्क गर्नु पर्दैन ?
सक्छ । हामीले एउटा अनलाइन ग्राजुएट क्लब फोरम फेसबुक ग्रुप बनाइएका छौं । यदि कोही विद्यार्थीले यसबारे जानकारी लिनुपरेमा यहाँबाट लिन सक्छन् । हामीले एउटा एरियामा १० स्कूलका ६ जनाका दरले ६० विद्यार्थी र १० जना शिक्षकहरुलाई यसबारे जानकारी दिने अभियान चलाएका छौं । विद्यार्थीहरुले समस्या परे फेसबुक या आफ्ना शिक्षकलाई राख्न सक्छन् । हामीले यस्ता अभियान मुलुकका १० सेन्टरमा चलाएका छौं । त्यहाँ १० जना एरिया कोर्डिनेटर बनाएका छौं । कुनै विद्यालयमा समस्या भए शिक्षकले एरिया कोर्डिनेटरलाई जानकारी गराउन सक्नेछन् ।

वास्तममा कस्तो कोर्स हुन्छ ? कसरी परीक्षा दिने ?
पहिले पढाउने काम हुन्छ । त्यसपछि परीक्षामा धेरै जसो धेरै प्रश्नहरुबाट रोजेर गर्न सकिने प्रश्नपत्रहरु हुन्छन् । अनुच्छेद पढेर दिइने प्रश्नहरु हुन्छन् । ८० प्रतिशतभन्दा कम ल्याउनेलाई सर्टिफिकेट दिइँदैन । एकपल्ट मिलेन भने ८ घण्टाभित्र तीनपल्ट उत्तर दिन सकिन्छ । १० वटा प्रश्नहरु भए ८ वटा मिलाउनै पर्दछ । यसमा हरेक क्षेत्रको निबन्ध, व्याकरण, नर्स, विज्ञान, भाषालगायतका विषयहरु पढ्न पाइन्छ । जो भविष्यमा काम लाग्दछ । निबन्ध लेख्ने कोर्स गर्दा पहिले दुई–चार हरफ कसरी राम्रो लेख्ने भन्ने सिकाइन्छ । दोस्रो पटक अनुच्छेद कसरी लेख्ने भन्ने सिकाइन्छ । तेस्रोमा निबन्ध कसरी बनाउने भन्ने सिकिन्छ र परीक्षा लिइन्छ । एकाथरी सामान्य ज्ञानबाट परीक्षा हुन्छ भने अर्को लेखेरै बुझाउनु पर्दछ । लाखौं मान्छेले संसारभरबाट त्यो कोर्स लिइराखेका हुन्छन् । त्यो मध्येका कुनै तीन जनाले हाम्रो उत्तर परीक्षण गर्छन् । त्यहाँ यति लेखेकालाई यति नम्बर दिने उल्लेख हुन्छ । नेपालमा कक्षा ५ को एउटा विद्यार्थीले बनाएको एक निबन्ध स्वीडेनको प्रोफेसर डक्टरले परीक्षण गर्न सक्छ । विश्वका उत्कृष्ट प्रोफेसरका उत्तर नेपालको ५ कक्षाको विद्यार्थीले परीक्षण गर्न सक्छ ।

यसका फाइदाहरु के–के छन् ?
ज्ञान लिने र विदेशी विश्वविद्यालयको सर्टिफिकेट पाउने त भइ नै हाल्यो । यहाँका विद्यार्थीको उत्तर संसारभरका जोसुकैले परीक्षण गर्ने भएकाले अन्तर्राष्ट्रिय सम्बन्ध बढ्छ । एकआपसमा सांस्कृतिक आदनप्रदान हुन्छ । यहाँका विद्यार्थीले पनि संसारभरका उत्तर परीक्षण गर्न पाउने भएकाले उसलाई अमेरिका र यूरोपका साथीहरुसँग सम्बन्ध बढाउने र उनीहरुको लेखाइ, पढाइको स्तर र नयाँ आइडियाहरु सिक्ने मौका हुन्छ । एकजना यूरोपका वरिष्ठ प्रोफेसरको निबन्ध हाम्रो विद्यालयको कक्षा आठको विद्यार्थीको हातमा समेत परेको छ । यसले हामीले गरे जान्दा रहेछौं नि भन्ने आत्मबल पनि बढाउँछ । विद्यार्थीलाई सिक्न, शिक्षकलाई ज्ञान पुनर्ताजगी गर्न र अभिभावकहरु पनि नयाँ कुरा जान्नका लागि यो कोर्स महत्वपूर्ण छ । यहाँबाट शिक्षण सामग्री लिएर कक्षा कोठामा पढाउन पनि सकिन्छ ।

यसका सर्टिफिकेटको मान्यता के हुन्छ ?
यो शिक्षाको तहगत डिग्री हासिल गर्ने कोर्स होइन । पश्चिम देशहरुमा पनि १२ र विश्वविद्यालयको बीचमा ग्याप छ । १२ पास गरे पनि विश्वविद्यालयको प्रवेश परीक्षामा फेल हुने गर्दछन् । यी कोर्सहरु विश्वविद्यालयमा आएर पढ्न सजिलो होस् भनेर डिजाइन गरिएका हुन्छन् । यसले विद्यार्थीको ज्ञानको क्षेत्र फराकिलो बनाउँछ । उनीहरुलाई अन्तर्राष्ट्रिय क्षेत्रमा गएर प्रतिस्पर्धा गर्न सक्षम बनाउँछ ।

यी कोर्सहरु कसले दिन्छ ?
यो कोर्स संसारभरका सयौं विश्वविद्यालयले दिने कोर्स हो । सर्टिफिकेट पनि विश्वविद्यालयकै निर्देशकले सोही विद्यार्थीले गरेको हो भनी निरीक्षण गरी दिन्छन् । यस्ता कोर्स दिने सस्ंथाहरु पनि पचासौं बढी छन्, उनीहरुले वेवसाइटमा गएर कोर्स लिने हो । कुन–कुन विश्वविद्यालयहरुले कस्ता–कस्ता कोर्स दिएका छन् भनेर छानेर मनपरेको विश्वविद्यालय र विषयको कोर्स गर्न सकिन्छ । इन्टरनेट चलाउने धेरै विद्यार्थी जमात हामीहरुसँग छन् । फेसबुक चलाउने त्यही समयबाट केही समय यसलाई दिए विश्वविद्यालयको सर्टिफिकेट भित्तामा टाँस्न पाइन्छ । मोवाइलबाट समेत यो कोर्स गर्न पाइन्छ । चाइना, अमेरिका, बेलायत, अष्ट्रेलिया र भारतका धेरै विद्यार्थीहरु यसमा सहभागी भएको पाइन्छ । यो विश्वविद्यालयको डिग्री नभइ विश्वविद्यालय प्रवेश सहज बनाउने बाटो हो । यो कोर्स गरेकाहरुले सजिलै विश्वका जुनसुकै विश्वविद्यालयमा प्रवेश पाउँछन् ।

नेपालमा कसरी शुरु भयो ?
यस्ता कोर्सहरु गर्न विश्वमा १९६० बाटै शुरु भएको पाइन्छ । तर २००८ बाट चाहिँ यसले व्यापकता पाएको पाइन्छ । २०१४ मा मलाई अष्ट्रेलियन अमेरिकन उत्कृष्ट शिक्षणको अवार्ड प्रदान गरियो । मैले उता गएर पढाएँ । त्यहाँ हेर्दा सयौं विद्यार्थीहरुले यो कोर्स गरेको पाएँ तर नेपालीहरु एकजना पनि थिएनन् । मलाई नेपालमा पनि यो कोर्स सजिलै गराउन सकिन्छ भन्ने लाग्यो । नेपाल फर्किएर यो कोर्सबारे धेरै साथीहरुलाई भनें तर कसैले वास्ता गरेनन् । पछि विद्यालयमा विद्यार्थी र अभिभावकहहरुको कार्यशाला गरें यस कोर्सबारे । अनि तयारीका साथ सन् २०१४ को अन्त्यतिर मेरो विद्यालयमा यो कोर्स गराउन सुरु गरें । मेरा २७ विद्यार्थीहरुलाई यो कोर्स गर्न लगाएँ जसमा १८ जनाले सर्टिफिकेट पाउन सफल भए । उनीहरुको फोटो अमेरिकन राजदूतावासको फेसबुक साइटमा राखिएपछि यसको चर्चा चुलियो । सबैले जान्न र लिन खोजे बिस्तारै यो विस्तार हुँदै गयो । हाल हाम्रो विद्यालयबाट १४ जना विद्यार्थी ट्रेनरको रुपमा देशभर पुगेर कार्याशाला सम्पन्न गर्ने गरेका छन् ।

२०७३ मंसिर १४

प्रतिकृया दिनुहोस्