धुम्रपान रहित दिवस र हाम्रो समाज

एजुकेशन पाटी

Byएजुकेशन पाटी

१७ जेष्ठ २०७८, सोमबार
माधव प्रसाद पन्त

हरेक बर्ष मे ३१ अर्थात आजकै दिन विश्व धुम्रपान दिवस मनाइन्छ । विश्व स्वास्थ्य संगठनले विश्वलाई सुर्तिजन्य पदार्थको सेवन मुक्त बनाउनको लागि सचेतना फैलाउने समेतको लक्ष्य राखी यस दिवस सन् १९८७ बाट मनाउँदै आएको छ । धुम्रपान रहित दिवसको दिन सरकारी तथा गैरसरकारी निकायबाट विभिन्न कार्यक्रम आयोजना हुने गरेका छन् तर अन्य दिनमा यसप्रति यथेष्ट ध्यान पुगेको पाइँदैन ।

सरल भाषामा धुम्रपान भन्नाले चुरोट, बिँडी, सिगार, तमाखु , सुर्ती वा यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्ने कामलाई बुझिन्छ । यसले मानव जीवनको आर्थिक, सामाजिक र साँस्कृतिक क्रियाकलापमा समेत नकरात्मक असर पार्दछ । धुम्रपानले सेवन गर्ने व्यक्ति स्वयम्लाई मात्र नभएर वरपरका अरुलाई पनि असर गर्दछ । यसले क्यान्सर, मृगौलाको रोग, मुटुको रोग, नशाको रोग लगाएतका रोग निम्त्याउनुका साथै फजुल खर्च पनि बढाउँछ ।

संसारभरको तथ्याँक हेर्दा धुम्रपानबाट भएको मानवीय क्षति डरलाग्दो देखिन्छ । पछिल्लो आँकडाअनुसार हाल विश्वमा प्रत्येक बर्ष ७० लाख मानिसको मृत्यु धुम्रपानबाट भएको र यही दरमा अगाडि बढ्दा सन् २०३० सम्ममा प्रत्येक बर्ष संसारका ८० लाख मानिसले धुम्रपानका कारण ज्यान गुमाउनु पर्ने प्रक्षेपण गरिएको छ । विश्वमा धुम्रपान गर्नेमध्ये ८०५ भन्दा बढी मानिसहरु मध्य तथा निम्न आय भएका देशहरुमा नै बसोबास गर्दछन् ।

नेपाल तुलनात्मक रुपमा विश्वमै धेरै धुम्रपान गर्ने देशमा पर्दछ । विश्व स्वास्थ्य संगठनले गरेको एउटा अध्ययनबाट नेपालमा ३५।५ प्रतिशत पुरुष र १५।५ प्रतिशत महिलाहरु धुम्रपान गर्ने गर्दछन् । हाम्रो नेपाली समाजमा विगतमा अशिक्षा वा चेतनाको कमीको कारणले गर्दा धुम्रपान गर्नेको संख्या धेरै भएकोमा आजको समयमा शिक्षित तथा पढेलेखेका व्यक्तिहरुले समेत धुम्रपान गर्नु निकै दु:खलाग्दो कुरा हो । आजपनि हाम्रो समाजमा धुम्रपानलाई सानको रुपमा लिइएको पाइन्छ । धुम्रपानका नकरात्मक असर बताउँदा, सम्झाई बुझाई गर्दा चुरोट सुर्ति नखाने पनि बिरामी परेका तथा अकालमा मरेका छन् भन्ने ओठे जवाफ पाउँदा निकै नराम्रो लाग्छ ।

मानव शरीरका जन्मदेखि मृत्युसम्म निरन्तर क्रियाशील रहने महत्वपूर्ण अंग फोक्सो, मुटु, मस्तिष्कलाई सुर्तिजन्य पदार्थको सेवनले थप भार दिनुहुँदैन । प्राकृतिक रुपमा दिइएको सफा फोक्सो, स्वस्थ मुटुलाई धुवाँसँगै उडाउनु पक्कै राम्रो होइन । धुम्रपान गरिरहेका व्यक्तिहरुले यसलाई कम गर्दै त्याग गर्नुपर्दछ जसले फजुल खर्च घटाउनुको साथसाथै जनस्वास्थ्य विज्ञका अनुसार उक्त रक्तचाप, रगतमा कार्वनमोनोअक्साइडको स्तर, खोकी, श्वास प्रश्वासको समस्या र दम रोगमा समेत कमी ल्याउँछ ।

नेपाल सरकारले सुर्तिजन्य पदार्थको प्रयोगमा कमी ल्याई जनताको स्वास्थ्य रक्षा गर्नको लागि रेडियो,टेलिभिजन तथा अन्य सञ्चार माध्यमबाट धुम्रपान सम्बन्धी विज्ञापन र प्रवर्धनात्मक गतिविधीमा रोक लगाउने, धुम्रपानजन्य वस्तुको उत्पदानमा करको दायरा बढाउने नीति लिएको छ । सम्मानित सर्वोच्च अदालतबाट सुर्तिजन्य पदार्थको बट्टा तथा बाहिरी आवरणको ९०% भाग ढाकिने गरी धुम्रपानको असर देखिने दृश्य तथा चेतनामुलक सन्देश राख्न नेपाल सरकारका नाममा आदेश जारी समेत गरेको छ ।

नेपाल सरकारले सर्वसाधरण जनताको स्वास्थ्य सुविधा र आर्थिक हितको अभिवृद्धि गर्न सुर्तिजन्य पदार्थको आयात, उत्पादन, बिक्री वितरण तथा सेवन गर्ने कार्यलाई नियन्त्रण तथा नियमन गर्न सुर्तिजन्य पदार्थ (नियन्त्रण तथा नियमन) ऐन २०६८ तथा नियमावली २०६८ जारी गरेको छ । २०६८ साल बैशाख २६ गते प्रमाणीकरण तथा प्रकाशन भएको उक्त ऐनको दफा ४ ले सरकारी निकाय, संस्था वा कार्यालय, शिक्षण संस्था, विमानस्थल, वायुसेवा, सार्वजनिक शौचालय, चलचित्र घर, होटल तथा लज, डिपार्टमेन्टल स्टोर लगाएतका सार्वजनिक स्थलमा धुम्रपान गर्न निषेध गरेको छ । सोही ऐनको दफा ११ ले अठार बर्ष नपुगेका व्यक्ति र गर्भवति महिलालाई सुर्तिजन्य पदार्थ विक्री वितरण गर्न वा गर्न लगाउन वा नि स्शुल्क उपलब्ध गराउनमा रोक लगाएको छ ।

ऐनमा कसलै पनि नि:शुल्क रुपमा सुर्तिजन्य पदार्थ वितरण गर्न वा उपहार दिन नपाईने समेत स्पष्ट व्यवस्था गरिएको छ । नियमावलीमा सुर्तिजन्य पदार्थको विक्रेताले आफ्नो विक्रीकक्षको प्रवेशद्वारमा सजिलै देख्न र पढ्न सक्ने गरी अठार बर्ष नपुगेका व्यक्ति र गर्भवति महिलालाई सुर्तिजन्य पदार्थ विक्री वितरण गर्न वा गर्न लगाउन वा नि स् शुल्क उपलब्ध गराउनमा रोक लगाएको कुरा खुलाई सुचनापाटी राख्नुपर्ने तथा उत्पादकले कम्तिमा २० खिल्ली अटाउने गरी चुरोट वा बिँडीको प्याकेट तयार गर्नुपर्ने कुरा उल्लेख गरेको छ । ऐनको दफा १७९१०९क० ले सार्वजनिक स्थलमा धुम्रपान गरेमा रु १०० सम्म जरिवाना हुने व्यवस्था गरेको छ । तर हाम्रो समाजमा सानसँग सार्वजनिक स्थलमा धुम्रपान गरेको, वरपर रहेका मानिसलाई चुरोट बिँडी बाँड्ने गरेको प्रशस्तै पाइन्छ । सार्वजनिक सवारीको चालकलाई ऐनले व्यवस्थापक मानेको छ । सार्वजनिक सवारीको चालकले अन्य यात्रु तथा सहचालकले धुम्रपान गरेमा सम्झाईबुझाई गर्ने र नमानेमा जरिवाना गर्नुपर्नेमा आफैँ धुम्रपान गर्ने गरेको समेत पाइन्छ , जसलाई रोक्न सबैको साझा प्रयास आवश्यक छ ।

यसरी नेपालमा धुम्रपान तथा सुर्तिसेवनलाई न्यूनीकरण गर्नका लागि आवश्यक कानुन, नियम तथा नीति तर्जुमा गरिएतापनि सहकार्य समेतको अभावले गर्दा यथोचित कार्यान्वयन भएको छैन । दुधे बालककै अगाडि बसेर पनि धुम्रपान गर्ने, नाबालकलाई समेत धुम्रपान खरिद गर्न पठाउने र नाबालकले समेत धुम्रपान गर्ने, नाबालक तथा गर्भवती महिलालाई धुम्रपान विक्रीवितरणमा लगाउने, अरुको निजी घरमा बसेर धुम्रपान गर्ने जस्ता कानुन विपरितका कार्यलाई रोक्नु हामी सबैको दायित्व हो । सार्वजनिक स्थलमा धुम्रपान नगरौँ, बरु निषेधित क्षेत्र घाषणा गरौँ । कानुन पालना गरिदिने भन्दा पनि आफ्नै हितका लागि गर्ने हो । आजका शिक्षित युवापुस्ताले धुम्रपान न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्नुपर्दछ । तपाईँ हाम्रो साझा प्रयासबाट धुम्रपानलाई घटाउन सकेमा देशमा स्वस्थ जनशक्ति निर्माणमा सहयोग पुग्ने, फजुल खर्च कटौती हुने, अकालमा हुने मृत्युमा कमी आउने र धुम्रपान रहित दिवसले सार्थकता पाउने देखिन्छ ।

त्यागौँ सबैले सुर्तिसेवन, धुम्रपान
अकालैमा लिन्छ नि यसले ज्यान
स्वाथ्य र अर्थ धुवाँमा नउडाऔँ
सभ्य, स्वस्थ बनी सभ्यता जोगाऔँ
अमूल्य छ नि यो मानव जीवन
बनाऔँ सबैले आफ्नो सोच नवीन

पाँचखाल न.पा. १०, काभ्रे
शिक्षक तथा अधिवक्ता

प्रतिकृया दिनुहोस्