दाङ  । गणितमा शून्य नम्बर ल्याएको भन्दै शिक्षकले विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन् । राजपुर गाउँपालिका–७ को सिक्टा माविका शिक्षक हेमराज विकले गत बिहीबार विद्यार्थीलाई पिटेका हुन् ।

कक्षा १० का केही विद्यार्थीलाई आन्तरिक परीक्षामा शून्य र एक नम्बर ल्याएको भन्दै लाठीले कुटपिट गरेको पाइएको अनुगमनमा गएका अनेरास्ववियुका जिल्ला अध्यक्ष सर्जन परियारले बताए । ‘शर्मिला नेपालीलाई बढी चोट लागेको छ,’ परियारले भने, ‘उनलाई २ हजारको औषधि गर्नुपरेको रै’छ । अरू विद्यार्थीलाई पनि चोट लागेको छ ।’

स्थानीय जनप्रतिनिधिसँगको छलफलमा शिक्षकले माफी मागेको र अब त्यसो नगर्ने प्रतिबद्धता जनाएको उनले बताए । ‘यस्ता शिक्षकलाई तत्काल हटाउनुपर्छ भन्ने हाम्रो माग थियो । शिक्षकले गल्ती स्वीकार गरे,’ उनले भने, ‘विद्यालयमा विज्ञान र गणित शिक्षकको अभाव भएकाले तत्काल हटाउन नसक्ने पाइयो ।’

विक निजी स्रोत शिक्षक हुन् । उनले तीन महिनादेखि विद्यालयमा विज्ञान र गणित पढाइरहेका छन् । विद्यार्थीले लापरबाही गरेकाले सामान्य दण्ड दिएर सुधार्न खोजेको विकले बताए । ‘मैले गल्ती महसुस गरेको छु,’ उनले भने, ‘विद्यार्थीलाई यातना दिने मनसाय होइन ।’ राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीले शिक्षकले गलत गरेकाले कारबाही हुनुपर्ने बताए ।

सिक्टा राजपुरको विकट गाउँ भएकाले तत्काल अर्को शिक्षक पाउन कठिन हुने भन्दै अभिभावक उजुरी दिन तयार नभएका हुन् ।

दुर्गालाल केसीले कान्तिपुरमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्