क्रूर बन्दै शिक्षक

एजुकेशन पाटी

Byएजुकेशन पाटी

२१ जेष्ठ २०७७, बुधबार ,

कुनै जमाना थियो–गुरु अर्थात् शिक्षकलाई देवताका रुपमा मान्ने । आधुनिक जमानामा पनि शिक्षकलाई मान्ने मूल्य–मान्यताको रुप मात्र बदलिएको छ । तिनलाई अहिले आदरणीय, मार्गदर्शक र सहजकर्ताका रुपमा हेरिन्छ । तर, बदलामा शिक्षकहरुले आफूलाई शासक÷प्रशासक र बालबालिकालाई केवल तह लगाउने व्यक्तिको रुपमा ठान्दा ठूला–ठूला नचिताएका घटनाहरु विद्यालय भित्र वा बाहिर घटिरहेका छन् । यसले शिक्षकलाई बदनाम बनाउँदै लगेको छ । केही क्रूर शिक्षकका कारण बालबालिकाले मानसिक, शारीरिक क्षति व्यहोरिरहेका छन् जसले गर्दा असल र कर्तव्यपरायण शिक्षकका निम्ति पनि शिक्षण पेशालाई आदरणीय बनाउन हम्मे परिरहेको छ ।

केही दिनअघि काभ्रेकी लक्ष्मी परियारको स्थानीय शिक्षकको कुटाइ र अपहेलनाका कारण मृत्यु भयो । उनलाई समाजकै आर्दश मानिने शिक्षकले आफ्ना विद्यार्थीसमेत रहेका परियारका छोराकै अगाडि बोक्सीको आरोप लगाउँदै दिसा खुवाउँदै निर्घात कुटपिट गरे । यही कारण परियारको मृत्यु भयो । शिक्षकले भनेपछि ‘ठीक हो’ भन्ने मान्यता राख्ने समाज र आदर्श शिक्षक जगतले ती शिक्षकको नाजायज हर्कतले शीर निहुराउन बाध्य बन्यो ।

असल शिक्षा दिएर विद्यार्थीको उज्ज्वल भविष्य बनाउने जिम्मा पाएका शिक्षकहरुले नै विद्यार्थीको भविष्य बर्बाद पार्न उद्दत देखिन थालेका छन् । सजाय दिने नाममा शिक्षकले विद्यार्थीका आँखा फोडिदिने, यौन दुव्र्यवहार गर्ने र लैंगिक एवं जातिय विभेद गर्ने गरेका घटनाहरु समाचार निरन्तर सुन्नु परेको छ । त्यसो त, बलात्कारदेखि विभत्स हत्या गर्नेसम्मका घटनाहरु शिक्षकसँग जोडिएका छन् । विद्यार्थी एवं समाजले रोलमोडल ठान्ने शिक्षक आफैं गलत र कुकर्ममा लाग्न थाल्नुले शिक्षा जगतमा गम्भीर प्रश्न उठेको छ ।

सम्मानित पेशा र आदर्श व्यक्तित्व शिक्षक क्रमशः आफ्ना कुकृत्यका कारण विद्यार्थी र समाजबाट तिरस्कृत बन्दै जान थालेका छन् । शिक्षककै कारण विद्यालय असुरक्षित बन्दै जानुले विडम्बना निम्तिएको  छ । शिक्षकसँगै विद्यार्थी र समाज डराउनुपर्ने अवस्था सिर्जना हुन थालेका छन् ।

केन्द्रीय बाल कल्याण समितिले एक वर्षभित्र विभिन्न पत्रपत्रिकामा प्रकाशित समाचारका आधारमा गरेको अध्ययनमा वर्षभरी १९ वटा यस्ता घटनाहरू प्रकाशमा आएका छन्  । जसमा विद्यालयमा सामान्य कुटाई तथा सजाय पाएका १२ प्रतिशत, गम्भीर प्रकारको कुटाइ खाएका ८८ प्रतिशत बालबालिका रहेका छन् । गम्भीर सजाय पाएकामध्ये एकजना बालिकाको आँखाको ज्योति नै गुमेको छ । दुईजना बालकको कानको जाली फुटेको तथा अन्य १५ जनालाई शिक्षकले शरीरमा निलडाम हुनेगरी पिटेको र एकजना बालकलाई विद्यालयबाट निष्काशन गरिएको पाइएको अध्ययनले औंल्याएको छ ।

विद्यालयमा दिइने शारीरिक दण्ड–सजायका कुल घटनामध्ये ३० प्रतिशत सामुदायिक तथा ७० प्रतिशत निजी विद्यालयमा हुने गरेको पाइएको छ । विद्यालयमा बालबालिकालाई दिइने शारीरिक सजाय ९५ प्रतिशत पुरुष शिक्षकबाट र पाँच प्रतिशत महिला शिक्षकबाट हुने गरेको समितिले जनाएको छ ।
शिक्षकहरुमा आपराधिक मानसिकता बढ्दै जानु नै घटनाको कारक हो भन्छन् शिक्षाकर्मीहरु नै । शिक्षक छनौट र विकासमै समस्या देख्छन् नेपाल राष्ट्रिय शिक्षक संगठनका महासचिव लक्षमण शर्मा । ‘शिक्षक छान्दा ज्ञान मात्र अनि विकासमा सीपसम्म ख्याल गरिन्छ तर त्यसभन्दा अझ उन्नत र आत्मिक तहको प्रवृत्ति र मूल्य–मान्यताको विकासका विषयमा परीक्षण हुन्न, त्यसैले खराब मनोवृत्तिका मानिस पनि शिक्षण पेशामा पुग्छन्,’ शर्मा भन्छन्, ‘अनि यस्ता मनोवृत्ति भएका मानिसहरुले मौका ढुक्छन्, मौका पर्नेबित्तिकै झम्टन्छन् ।’

गुरु हुन् कि…?

काभ्रेपलाञ्चोक जिल्ला सानोवाङथलीकी लक्ष्मी परियारलाई गाउँकै शिक्षक हीरा लामा र उनकी आमा काइँलीमाया लामाले कथित बोक्सीको आरोपमा दिसा खुवाउँदै २२ मंसिर ०७३ मा निर्घात कुटपिट गरे । यही कारण लक्ष्मीको २४ मंसिरमा मृत्यु भयो । ०७३ असारमा डोटीमा युवती हत्याकाण्डमा संलग्न रहेको आरोपमा ११ तलकोटस्थित हरिहर उमाविका शिक्षक लालबहादुर चन्द पक्राऊ परे । ०६६ मा १२ कक्षामा पढ्ने ख्याती श्रेष्ठलाई आफ्नै शिक्षक वीरेन प्रधानले विभत्स हत्या गरे । सामाखुशीको लुरोसेन्ट एकेडेमीकी एक छात्रा भाइस प्रिन्सिपल रमेश पनेरुबाट यौन दुव्र्यवहारको पीडित भइन् ।

०७० मा ‘होमवर्क’ नगरेको भन्दै शिक्षिका आराधना रानाले पिट्दा ‘भेरिजोन इङलिस मिडियम स्कूल’मा नर्सरी कक्षा पढ्ने बाँके हिरमिनिया–१ स्थित भनघोटना गाउँका आठवर्षे बालक अजय धोबीको नानी (आँखा) फुट्यो । बालकले बायाँ आँखाको दृष्टि सदाको लागि गुमाए ।

०७१ मा विद्यालयको कक्षा कोठाभित्रै तीनजना छात्रामाथि गृहकार्यका विषयमा दण्डित गर्ने बहानामा कपडा फुकाल्न लगाउने कोहबरा–९ दामुना बजारस्थित शहीद प्राथमिक विद्यालयका शिक्षक मित्रराज नेपाल विरुद्ध प्रहरीमा  मुद्दा दर्ता भयो । शिक्षक नेपालले गृहकार्यका रुपमा दिएको गणित विषयको गुणा कक्षाकोठामा भन्न नसकेपछि तीनजना छात्राको सर्ट, फ्रक र कट्टुसमेत खोलिदिएर नाङ्गै बनाएको भन्दै पीडितका अभिभावकले प्रहरीमा उजूरी दिएका थिए । ७ चैत ०६५ मा प्युटार–७ की ४५ वर्षीया कल्लीकुमारी विकलाई भञ्ज्याङ प्राथमिक विद्यालयकी प्रधानाध्यापक विमला थापाको टोलीले दिसा खुवाउँदै कुटपिट गरेको थियो । यद्यपि, उनी बाँच्न सफल भइन् । पीडक थापा पक्राऊ परिन्, तर अदालतले सामान्य धरौटीमा रिहा ग¥यो ।

०७१ मा नवलपरासीको सिद्धार्थ माविका प्रधानाध्यापक शशीभूषण पाण्डेसहितले दलित भएकै कारण बुद्धिलाल हरिजनलाई निर्घात कुटपिट गरे । शिक्षकको दुव्र्यवहारकै कारण दलित समुदायका विद्यार्थीहरू विद्यालय जानै छाडे । यही कुरा उठाउँदा हरिजनमाथि कुटपिट भयो । यो मुद्दा अदालतसम्म पुग्यो । पीडकलाई अदालतले १५ सय रुपैयाँ जरिवाना गरेर छाडिदियो । धनुषामा ०७० फागुनमा एउटा विद्यालयका विद्यार्थी फेरन महराले सरस्वती पूजाको प्रसाद छुन पाएनन् । कक्षाका अब्बलमध्येका उनलाई प्रधानाध्यापक किशोरप्रसाद दाहालले प्रसाद छुन दिएनन् । महराका उजूरी प्रहरीले नै लिन मानेन । २९ साउन ०७० मा मोरङ बेलबारीकी माया सार्कीलाई स्थानीयले विद्यालयमा लगेर मोसो र जुत्ताको माला लगाइदिए । स्थानीय शिक्षक चेतन भेटवाल नेतृत्वको टोलीले दलित भएर अनावश्यक दुःख दिएको भन्दै सार्कीलाई कुटपिट गरेको थियो । ६ चैत ०७२ मा इलामका मातृकाप्रसाद विकलाई दलित भएकै कारण शिक्षकबाट राजीनामा माग्दै कुटपिट गरिएको थियो । स्थानीय शिक्षक पुण्यप्रसाद घिमिरेको नेतृत्वमा भएको त्यो घटना पछि मिलेमतोमा टुंग्याइयो ।

असुरक्षित विद्यालय

भनिन्छ, विद्यालय बालबालिकाका लागि दोस्रो घर हो । विद्यालय बालबालिकाका लागि घर जस्तै सुरक्षित, आत्मीय, प्यारो र रमाइलो हुन्छ । बालमैत्री वातावरण, अभिभावक झैं आत्मीय र प्यारा शिक्षक, मिलनसार साथीभाई विद्यालयका पर्याय हुन् । तर, हाम्रा बालबालिकाहरु आफ्ना शिक्षकहरुबाटै बलात्कृत, दण्डित र दुव्र्यवहारको शिकार हुनु परेको छ ।

यसले हाम्रा विद्यालयहरु असुरक्षित बन्दै गइरहेको देखिन्छ । आफ्नै गुरुहरुबाट शारीरिक र मानसिक दुव्र्यवहार, विभेद भइरहनु परेको छ । शिक्षकहरुबाट आफ्नै विद्यार्थीलाई कुटेर आँखा तथा कान फुटाउने, बलात्कार गर्ने र हत्या गर्नेलगायतका अपराध भएका छन् । ज्ञान र शिक्षा लिएर भविष्य बनाउन विद्यालय जाने विद्यार्थीहरुको विद्यालयका शिक्षकहरुबाटै भविष्य बर्बाद बन्न थालेका छन् ।

विद्यालयको वातावरणले नै विद्यार्थीहरुको शिक्षालाई बाधा पुगिरहेको छ । शिक्षकबाटै छात्राहरु बलात्कृत र यौन दुव्र्यवहारका शिकार भएका छन् । विद्यालयमा शिक्षकबाट र आफ्नै सहपाठी केटा साथीहरुबाट हुने नकारात्मक व्यवहारले पनि छात्राहरु विद्यालय जान छोडेका कैयौं घटनाहरु छन् । यस वर्ष विश्वभर मनाइएको महिला हिंसा विरुद्धको १६ दिने अभियानको नारा नै ‘विश्व शान्ति नै घर शान्तिको आधारः सबैको लागि सुरक्षित शिक्षा’ रहेको छ । चर्चित अभिनेता आमिर खानले सञ्चालन गर्ने ‘सत्वेमेव जयते’ कार्यक्रमले सन् २००७ को सरकारी रिर्पोटको हवला दिँदै भारतको ५३ प्रतिशत बालबालिकाहरु विद्यालयमा कुनै न कुनैखाले बाल यौन दुव्र्यवहारको शिकार बन्ने गरेको देखाएको थियो ।

जसमा ३१ प्रतिशत बालबालिका बलात्कार, अश्लिल गतिविधिको शिकार हुने गरेको, ३२ प्रतिशत बालबालिकालाई जबर्जस्ती चुम्ने, अश्लिल भिडियो देखाउने जस्ता कुकर्म गर्ने गरिएको तथ्य सार्वजनिक गरिएको थियो । बालबालिकामाथि हुने कुल यौन दुव्र्यवहारमध्ये ५३ प्रतिशत छात्र थिए । यस आँकडाले दक्षिण एशियाको ठूलो देशमै पनि विद्यालय कति असुरक्षित छ भन्ने देखाउँछ ।

नारामा मात्रै विद्यालय शान्ति क्षेत्र

केही दिन अगाडि राजधानीका आधा दर्जन स्कुलहरुमा बम भेटियो । यस वर्षभित्र धेरैपटक विद्यालय बन्द भए । शिक्षकहरुले नै दुई दिन विद्यालय बन्द गराए । प्रधानमन्त्री उपस्थित कार्यक्रममा स्वागतका लागि लाइनमा धेरै बेर उभिँदा धपडीले हालै एकजना छात्राले ज्यान गुमाइन् । प्रधानमन्त्री सिरहा जाँदा विद्यालय बन्द गरेरै उनीसंबद्ध पार्टीको आमसभा भयो । विद्यालय व्यवस्थापन समिति गठन गर्दा विद्यालयमा गोली चल्नु सामान्य बनिसकेको छ । ११ जेठ २०६८ मा सरकारले विद्यालय र बालबालिका शान्तिक्षेत्र घोषणा गरेके भएपनि कार्यान्वयन शून्य प्रायः देखिन्छ ।

सरकारले विद्यालय शान्तिक्षेत्र राष्ट्रिय ढा“चा र कार्यान्वयन निर्देशिका २०६८ जारी गरिसकेको छ । तर, विद्यालय परिसरभित्रै आफ्नै शिक्षकहरुबाट विद्यार्थीहरु पीडित बन्न छाडेका छैनन् । विद्यालय शान्तिक्षेत्र विद्यालय बन्द नहुनु वा विद्यालयमा राजनीतिक गतिविधि नहुनु मात्रै होइन । विद्यार्थीहरुले भयरहित वातावरणमा पढ्न पाउनु पनि हो । ‘मेरो सामाजिक शिक्षकले मेरो ममीलाई यही पोलमा पछाडि हात बाधेर पिट्नुभएको हो,’ काभ्रे सानोवाङथलीकी लक्ष्मी परियारलाई शिक्षकले कथित बोक्सीको आरोपमा दिसा खुवाउँदै पिटेको भन्दै उनको छोराले दिएको बयान हो यो । अब ती बालक त्यही स्कूलमा कुन मानसिकता लिएर पढ्न जालान् ? अन्य बालबालिकाको मानसिकता र शिक्षकप्रतिको धारणा कस्तो रहला ?

भयावह स्थिति

केन्द्रीय बालकल्याण समितिका अनुसार आर्थिक वर्ष २०७२÷०७३ मा प्रहरीमा दर्ता भएका एक हजार ९० वटा जबर्जस्ती करणीको घटनामा ६२.५ प्रतिशत पीडित (६ सय ८१ जना) १८ वर्षमुनिका बालबालिका रहेको पाइएको छ  । यसैगरी, जबर्जस्ती करणी उद्योगमा चार सय ५२ घटनामा १८ वर्षमुनिका ५८.८ प्रतिशत (२ सय ६६ जना) बालबालिका पीडित रहेको देखिन्छ । युनिसेफ नेपालको सहयोगमा सिभिक्टले सन् २००४ मा गरेको एउटा अनुसन्धान ‘नेपालमा बालबालिकाविरुद्धको हिंसाः नेपालका बिद्यालयमा अनुशासन प्रणालीका बारेमा अध्ययन’ रिर्पोटमा भनिएअनुसार विद्यालयमा होस् या घरमा, बालबालिकालाई कुटपिट गर्ने एवं हिनताबोध महशूस गराउने क्रियाकलाप एकदमै सामान्य हो ।

विद्यार्थी, शिक्षक एवं अभिभावकसँग छुट्टाछुट्टै छलफल गर्ने क्रममा यस्तो निष्कर्ष आएको थियो । यही अध्ययनमा ‘किन यस्तो हुन्छ त ?’ भन्दा शिक्षक एवं अभिभावकले ‘हामीलाई हाम्रो बाल्यकालमा अनुशासनका नाममा यस्तै शारीरिक एवं मानसिक यातना भोगाइयो र हामीले पनि त्यही कुरालाई पछ्याइरहेका छौं,’ भन्ने जवाफ आएको निष्कर्ष छ । सोही अध्ययनमा प्राथमिक तहका बालबालिका यस किसिमका यातनाको बढी शिकार हुने गरेको र उनीहरुले त्यसविरुद्ध बोल्न सक्नेसमेत नदेखिएको उल्लेख छ ।

सिभिक्टकै सोही अध्ययन रिपोर्टमा उल्लेख गरिएअनुसार नेपाल मानव विकास रिपोर्ट २००८ मा भनिएको छ– ‘सन् १९९४ मा विद्यालय भर्ना भएका ६३ प्रतिशत विद्यार्थीले प्राथमिक चरण पार नगर्दै विद्यालय छाडे र थप २७ प्रतिशतले निम्न माध्यमिक चरणमा विद्यालय छाडे ।’ यसैलाई आधार मानेर भन्ने हो भने १० प्रतिशत मात्र विद्यार्थी माध्यमिक चरणमा पुग्छन् अर्थात् कक्षा १ मा भर्ना भएका १०० जना विद्यार्थी दश कक्षामा पुग्दा १० जनामा सीमित रहन्छन् ‘र यसको एउटा महत्वपूर्ण कारण विद्यालयमा दिइने यातना एवं सजाय पनि हो,’ भनिएको छ । यो निचोडले पनि सवाल कति गम्भीर छ र कुन मानसिकताका कारण बालबालिका विद्यालयमा यातना भोग्न बाध्य भएका छन् भन्ने पुष्टि हुन्छ ।

विदेशमा के छ ?

विद्यार्थीलाई बलात्कार गरेको अभियोगमा ०७१ म चीनमा एक प्राथमिक तहका शिक्षकलाइ मृत्युदण्ड दिइयो । करिव ११ विद्यार्थीलाइ बलात्कार गरेको आरोपमा ५९ वर्षिया गाओदाओशेंगलाई मृत्युदण्ड दिइएको थियो । त्यसअघि पनि हेनान प्रान्तको नान्यांगका ५६ वर्षिया शिक्षकलाई यस्तै बालबालिकाको बलात्कार गर्ने र सताउने अभियोगमा मृत्युदण्ड दिइएको थियो ।

नाम मात्रको शिक्षक आचारसंहिता

शारीरिक र यौनहिंसाको त कुरै भएन, मानसिक, भावनात्मक र अन्य कुनै पनि प्रकारका हिंसाबाट शिक्षक टाढा रहनुपर्ने विभिन्न मुलुकका शिक्षक आचारसंहितामा उल्लेख छ । तर, हाम्रो शिक्षक आचारसंहितामा प्रायः व्यवसायिक कुराहरू मात्रै उल्लेख छन् । तर त्यो पनि कार्यान्वयन हुनसकेको छैन ।

कतिपय शिक्षकलाई त आफ्नो आचारसंहिता छ र त्यसको पालना गर्नुपर्छ भन्नेसमेत थाहा भएको देखिन्न ।  शिक्षक पेशालाई जागिरका रूपमा मात्रै लिनेहरूको संख्या यहाँ ठूलो छ । शिक्षक हुनु भनेको जागिर खानु मात्र होइन, मुलुकका लागि होनहार, दक्ष, अनुशासित र उत्तरदायी नागरिक निर्माण गर्नु हो । त्यसैले, शिक्षकजस्तो महत्वपूर्ण र सम्मानित पेशालाई मर्यादित बनाउन शिक्षक महासंघ र शिक्षक स्वयंले पनि यसको कार्यान्वयनमा पहल गर्नु आवश्यक छ ।

शिक्षा नियमावलीमा उचित र पर्याप्त कारण भएमा शिक्षक वा कर्मचारीलाई बढीमा पाँच वर्षसम्म तलब वृद्धि रोक्का गर्ने, बढीमा दुई वर्षसम्म बढुवा रोक्का गर्ने, भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य नठहरिनेगरी नोकरीबाट हटाउने, भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य ठहरिनेगरी नोकरीबाट बर्खास्त गर्ने लगायतको  विभागीय सजाय गर्न सकिने व्यवस्था गरिएको छ ।

तनाबले आत्महत्या

विद्यालय एवं परिवारबाट हुने विभिन्न यौन हिंसा एवं सजायका कारण बालबालिकाहरुले आत्महत्यासमेत गर्ने गरेका छन् । सजाय, बालयौन दुव्र्यबहार, अशिक्षा, गरिबी, पढाइमा असफलता, मानसिक तनाब, निराशा, आवेश वा आक्रोश आदि विविध कारणहरूले बालबालिकाहरुले आत्महत्या गर्ने गरेका छन् । केन्द्रीय बालकल्याण समितिका अनुसार २०७२/०७३ मा सिरहा, पर्सा, झापा, ताप्लेजुङ, रुकुम र गोरखा गरी ६ जिल्लामा जम्मा २९ बालिकार नौ बालक गरी  ३८ जना बालबालिकाले आत्महत्या गरेको पाइएको छ । जसमा ११ देखि १४ वर्ष उमेर समूहका ७ बालिका र ३ बालक गरी १० जनाले, १५ देखि १६ वर्ष उमेर समूहका ११ बालिका र एक बालक गरी १२ जनाले र १७ देखि १८ वर्ष उमेर समूहका ११ बालिका र ५ बालक गरी जम्मा १६ जनाले आत्महत्या गरेका छन् ।

कसरी रोक्ने ?

केही शिक्षक अनैतिक भएपनि धेरै शिक्षकहरु आर्दशवादी नै भएको शिक्षाविद डा. विद्यानाथ कोइराला बताउँछन् । खराब नियतका शिक्षक छुट्याउने तथा नयाँ छनौट गर्दा आदर्श शिक्षक छनौट गरे सो समस्या आफैं हल हुने डा. कोइराला बताउँछन् । पहिले आदर्शमुखी हुने शिक्षक विस्तारै व्यवहारमुखी बन्दै जाँदा शिक्षक अहिले आफ्नो निजी इच्छा, प्रवृत्ति र व्यवहारमुखी बन्दै गएको डा. कोइरालाको ठम्याइ छ । ‘पहिले शिक्षण पेशालाई आदर्श मानिन्थ्यो, अहिले जागिर मात्रै मानिन थालियो । हिजो इज्जत कमाउन खोज्ने शिक्षकमा आज पैसा कमाउने प्रवृत्ति बढ्यो,’ उनले भने, ‘तर आशा जगाउने र सुधारका धेरै बाटाहरु खुल्दै गएका छन् ।’

हुन त, शिक्षकहरुको पेशागत छाता संगठन नेपाल शिक्षक महासंघले पनि अधिकार र कर्तव्य सँगसँगै लग्ने निर्णय गरेको अवस्था छ । यसले सुधारको आशा जगाएको छ । कोइरालाले भने, ‘अधिकार मात्रै भन्दा भाडभैलो हुन्थ्यो, अब कर्तव्य पनि सँगै भन्दाचाहिँ शिक्षकहरु कर्तव्यमुखी बन्दै जानेछन् ।’

राष्ट्रिय शिक्षक संगठनका महासचिव लक्ष्मण शर्मा शिक्षक छनौट र विकास (तालिम) पद्दति फराकिलो बनाएर, विद्यालय तहमा आचारसंहिता बनाई त्यसको पालना गरेर, पेशागत स्तरहरु तोकी त्यसको कार्यान्वयन र समीक्षा नियमित गर्दै त्यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न सकिने बताउँछन् । विद्यालयस्तरबाट पनि प्राथमिक सूचनाहरुलाई समेत गम्भीर मानेर निराकरणतिर लाग्नुपर्नेमा उनको जोड छ । सजाय, दण्ड, जरिवाना कडाइ गर्दै बालिका किशोरीहरुलाई शिक्षित र संगठित तथा सशक्तिकरण गर्दै लग्नुपर्ने शर्मा बताउँछन् ।

२०७३ पुस १२

प्रतिकृया दिनुहोस्