कविताः मनको आवाज 

एजुकेशन पाटी

Byएजुकेशन पाटी

५ आश्विन २०७७, सोमबार
रविना महर्जन

बाल्यकाल उस्तै पीडा, तनाव र अभावमा मेरा बितेकै थिए
साथीभाइ मेरा थरकै कारण एक एक गरि टाढा हुँदै गए
संघर्ष गर्दा गर्दै विद्यालय शिक्षा पूरा गरेँ, सारै खुसी थिएँ
बुबाआमाको आँखामा खुसीका आँसुहरु टिल्पिल गर्दै थिए

जब जिन्दगीमा सफलताका सिंढीहरु बिस्तारै उक्लँदै थिएँ
मुहारमा मुस्कान अनि मनमा अथाह सपनाहरु बुन्दै थिएँ
संघर्ष गर्दागर्दै उत्तीर्ण गरेँ परीक्षा शिक्षक सेवा आयोगको
नियुक्ति लिएर हाजिर गर्न जाँदा भयो यति धेरै बिजोग पो

शिक्षाको ज्योती छर्ने कति उत्साह र खुसी मनमा थिए मेरा
मन सारै दुख्यो जब भने, ‘तिमीलाई बस्न गाह्रो हुन्छ यहाँ।’
मेरो थरमा किन यति आपत्ती हजुर एकपटक भनिदिनोस् न
एकचोटि मनैदेखी आफ्नो साथीभाइ सोचेर त हेरिदिनोस् न

रगत त मेरो रातै होनी हजुर ,मेरो पनि मन सारै नै दुख्ने
बौद्धिक व्यक्तिहरुले पनि भेदभाव गर्दा झन् सारै मन रुने
मेरा लागि बस्न एउटा सानो कोठा समेत दिन किन नमिल्नेरु
खाजा खान जाँदा, विद्यालयका सर म्यामहरु उठेर जानुहुने

म पनि शिक्षक नै हुँ , मलाइ किन यस्तो भेदभाव होला हुने ?
ढुंगारुपी विश्वकर्माको जयजय तर हाम्रो होइन रहेछ जानेँ
ए हजुर१ दुई वचन त कमसेकम नरम र मीठो बोलिदिनोस्
आउनुस् सँगै बसी एककप चिया पिम् भनेर त भनिदिनोस्

कुनै दिन मेरै रगत पनि कसैलाई आवश्यक पर्दैन होला ररु
मान्छेलाई यस्तो व्यवहार गर्ने, मन्दिर गएर मात्र धर्म हुन्छ र ?
संविधानका धारा अनि कानुनका दफामा यसो आँखा लगाएँ
लेखाइमा छ तर वास्तविक जिवनमा निकै कठिन थाहा पाएँ

मन टुक्रीएपनी आत्मबल मेरो कहिल्यै पनि टुक्रीन दिने छैन
म एकदम गर्व गर्छु मेरो जातीप्रती, झन् संघर्षशिल बनाउँदै छ
ढिलो चाँडो अवश्य पनि परिवर्तनका किरणहरु ल्याउने नै छु
जिन्दगीमा सफल र उत्कृष्ट शिक्षकको छवि निर्माण गर्ने नै छु।।

 

-निमित्त प्र.अ

मनमैजु मा.वि
प्रतिकृया दिनुहोस्