• स्टेफेन हकिङ्ग र हाम्रा विद्यार्थीहरु
    ()


  • -जीतबहादुर शाह


    मलाइ अहिले पनि याद छ, सुर्खेतको खाँडदेवी माध्यमिक विद्यालय चौरासेमा कक्षा १० का विद्यार्थीहरुसँग भलाकुसारी गर्ने क्रममा मैले उनिहरुलाई सोधेको थिएँ – ए प्लस र ए ग्रेड ल्याएर माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गर्ने योजना क–कसको छ ? जवाफमा ए प्लसमा कसैको हात उठेन । ए ग्रेड ल्याउने योजना छ भनेर एक जना विद्यार्थीले हात उठाए । उनिहरुले दिएको माध्यमिक शिक्षा परीक्षाको नतीजा आएपछि थाहा भयो, त्यो विद्यालयबाट त्यतिबेला हात उठाएको विद्यार्थी पावेल पौडेलले मात्रै ए ग्रेड ल्याउन सफल भएछन् ।

    यही प्रश्न यस पटक कक्षा १० मा अध्ययनरत जगन्नाथ माध्यमिक विद्यालय बिजौराका विद्यार्थीहरुलाई सोधे । अफशोच कसैको पनि हात उठेन । बरु सवैको टाउको निहुरियो र वातावरणमा सन्नाटा छायो । उनिहरुलाई कसले कमजोर बनायो ? तिमीहरु ए प्लस र ए ग्रेडमा उत्तीर्ण गर्न सक्दैनौ भन्ने पाठ उनिहरुलाई कसले घोकायो ? के तिनीहरु कमजोर नै हुन् त ? यदि कमजोर नै हुन भने कारण के हो ? उनिहरुको जन्मजातप्राप्त बंंशानु कि हामी ? मनमा यस्तै छटपटि चलिरहेको बेला मैले बैज्ञानिक स्टेफेन हकिङ्गको जीवनी अध्ययन गर्ने अवसर पाएँँ ।


    स्टेफेन हकिङ्ग ७५ वर्षका भए र उनि अहिले पनि जीवित छन् । उनी २१ वर्षको हुँदा उनलाई स्नायूसम्बन्धी रोग(Amyotrophic Lateral Sclerosis- ALS) ले समात्यो । डाक्टरहरुले यो रोग सञ्चो हुदैन, यसले क्रमशः शरीरलाई प्यारालाइज्ड बनाउछ र अन्तमा रोगीको मृत्यु हुन्छ भनेर स्टेफेन हकिङ्गको अवको बाँच्ने समय बढिमा अढाइ वर्ष भनेर घोषणा गरे ।

    डाक्टरहरुको यो घोषणाले स्टेफेन हकिङ्गमा एकतमासले निराशा छायो । केही गरौं भन्ने जोश र जाँगरका साथ खगोलशास्त्र (Cosmology) को बारेमा क्याम्ब्रिज विश्वविद्यालयमा अध्ययन र अनुसन्धान गरिरहेका हकिङ्गले आफ्नो भविष्य कालो र अध्यारो मात्र देख्न थाले । मैले अव मृत्युका दिनहरु गनेर बस्नु बाहेक अरु केही गर्न सक्दिन भन्ने सोचले उनलाइ गाँज्न थाल्यो । डाक्टरले भनेका शब्दहरु उनका निम्ति विष त भए नै, उनमा विद्यमान सिर्जनशील बिचारले पनि डाक्टरले भनेको शब्दका कारण उनकै मृत्युका सहयात्री हुने गरी काम गर्न थाले ।


    जव हकिङ्ग उपचारको क्रममा अस्पतालको बेडमा पल्टिरहेका हुन्छन् त्यही कोठाको अर्को बेडमा एकजना बच्चा ब्लड क्यान्सरबाट छटपटाइरहेको हुन्छ । त्यस्तै अन्य बेडहरुमा पनि विरामीहरु विभिन्न रोगहरु लागेर मृत्युसँग लडिरहेका हुन्छन् । यो सवै परिदृश्यले उनमा यो दुनियाँमा म मात्र दुखी छैन । म जस्ता दुखीहरु अरुहरु पनि धेरै छन् भन्ने कुराको बोध हुन्छ र उनले आफ्नो पूर्वघोषित मृत्युलाई सामान्य रुपमा लिन थाल्छन् ।

    यस्तैमा उनि विरामी भएको दुइ वर्ष पछि सन १९६५ मा उनलाई अगाध माया गर्ने एकजना महिला जन वाक (Jane Walke) ले उनिसँग बिबाह गर्छिन् । यी सवै परिवेशबाट स्टेफेन हकिङ्गमा जीवनप्रतिको आशा अङ्कुराउन थाल्छ । उनि मृत्युलाई विर्सन्छन् र अध्ययनतिर मोडिन्छन् । उनले ब्ल्याक होल लगायत खगोलशास्त्रमा नयाँ नयाँ सिद्धान्तहरु प्रतिपादन गर्दै आफ्नो विद्याबारिधि पूरा गर्छन । त्यत्तिमात्र होइन उनले विश्वप्रसिद्ध सम्मान र अवार्डहरु प्राप्त गर्न पनि सफल हुन्छन् र उनले लेखेका The brief history of time लगायतका पुस्तकहरुले मानिसको मथिङ्गल हल्लाउने काम गरिरहेका छन् ।


    अहिले उनका हातखुट्टा चल्दैनन् । ह्विल चियरको माध्यमबाट हिडडुल गर्छन । तथापि उनले आफूलाई विश्वको चर्चित बैज्ञानिक बनाउन सफल भए । नयाँ नयाँ खोज र अनुसन्धान गर्ने उनको स्वभाव र अभिष्ट अहिले पनि निरन्तर अघि बढिरहेको छ । मानिसको दृढ इच्छाशक्तिको अगाडि मृत्युले पनि घुडा टेक्न बाध्य हुन्छ भन्ने कुरा उनले प्रमाणित गरेर देखाइदिएका छन् । डाक्टरहरुले उनको बारेमा गरेको मृत्युको घोषणालाई समेत उनले असफल सावित गरेर मेडिकल साइन्सलाई समेत चुनौति दिएका छन् । उनले सावित गरिदिएका छन् कि मानिसको सवैभन्दा ठूलो शक्ति उसको विचार र उभित्रको जीवन र जगतप्रतिको इच्छाशक्ति हो ।

    जीवनमा अपाङ्गता भनेको त खराव प्रबृत्ति हो भन्ने स्कट ह्यामील्टनको विचारलाई सत्य सावित गर्दै गर्न चाहनेहरुका लागि शारीरिक अपाङ्गता केही होइन बरु जीवनको यौटा पक्षको अपाङ्गताले जीवनको अर्को पक्षलाई अझै सशक्त बनाएको हुन्छ भनेर कुरालाई आफूसँग भएको मष्तिष्कको उच्चतम उपयोग गर्दै चरितार्थ गरिदिएका छन् ।


    विचार ठूलो कुरा रहेछ, विज्ञान भन्दा पनि ठूलो कुरा । विचार आफैमा विज्ञान रहेछ । त्यसैले खप्तडस्वामीले विचारलाई विज्ञानको रुपमा परिभाषित गर्दै आफ्नो पुस्तक विचार विज्ञानमा यसको चर्चा गरेका छन् । त्यसो त खप्तडस्वामीको जीवनी पढ्दा पनि बोध हुन्छ, जीवनको कुनै कालखण्डमा उनि पनि मेडिकल डाक्टर थिए ।

    स्टेफेन हकिङ्गलाई जस्तै उनले पनि कुनै विरामीको आयु अवको छ महिना भन्दा बढि छैन भनेर घोषणा गरेका थिए । तर छ महिना पछि उक्त विरामी झनै रहरलाग्दो र निरोगी भएर आएपछि उनलाइ आफ्नो पेशाप्रति विरक्तिपन जागेर यहाँ सत्य यो भन्दा पनि अरु केही रहेछ भनेर सन्त र स्वामीको रुपमा उनले आफूलाई बदलेको पाइन्छ । त्यो केही भनेको शक्ति के रहेछ त भन्ने बारेमा अध्ययन गर्दा निष्कर्षमा त्यो शक्ति विचार रहेछ भन्ने कुरा पत्ता लगाएर गए । यसरी विचारले मै हुँ भन्ने विज्ञानलाई समेत थला पारिरहेको अवस्थामा हाम्रा विद्यार्थीहरु भने विचार गरीव र रुग्न भएका कारण थला परिरहेको देख्दा मनमा एकप्रकारले नमीठो अनुभूति हुने गर्दछ ।


    कतिपय विद्यालयका कक्षाकोठाहरुमा पुग्दा शारीरिक हिसावले उर्जाबान देखिने हाम्रा विद्यार्थीहरु विचारको हिसावले जति सवल र सक्षम देखिनु पर्ने हो त्यति देखिदैनन् । उनिहरुमा सम्भावना र सामथ्र्य भए पनि आफ्नै नाभीमा मगमग बासना आउने बिना बोकेर यति मीठो बासना आउने चिज कहाँ छ भनेर जङ्गल चाहार्ने कस्तुरी (मृग) को जस्तो अवस्थामा छन् हाम्रा विद्यार्थीहरु । यसमा हकिङ्गले झै परिवेशलाई आफ्नो विकासका निम्ति अनुकूल बनाउन नसक्नुमा हाम्रा विद्यार्थीहरुको पनि कमीकमजोरी र दोष त होला तर त्यो भन्दा पनि ठूलो कमीकमजोरी र दोष उनिहरुलाई पथप्रदर्शन गर्ने जिम्मेवारीमा रहेका हामी शिक्षक र अभिभावकहरुको देखिन्छ ।

    हामी उनिहरुलाई उनिहरुप्रतिको हाम्रो खोटो र दुराग्रहबाट निर्देशित विचारका कारण असक्षम र कमजोर देखिरहेका छौं । हामीसँग अलिकति पनि विवेक नभए झै गरी उनिहरुलाई ब्यवहार गरिरहेका छौं । यत्तिसम्म कि हामीलाई अरुले जुन ब्यवहार गर्दा निराश र पीडाबोध हुन्छ हामीले उनिहरुप्रति त्यही व्यवहार गरेर उनिहरुलाई खुशी र प्रफुल्लित देख्न खोजिरहेका छौं । थुक्क हाम्रो बुद्धि ∕विष्टन चर्चिलले सिकारुमा सिकाइ र शिक्षाप्रति तिर्खा जगाउनु नै शिक्षाको महत्वपूर्ण पाटो हो भनेका छन् । तथापि हामीले त्यो गर्न सकिरहेका छैनौं । त्यसतर्फ हाम्रो प्रयास पनि भएको देखिदैन ।

    वर्तमानमा हाम्रो प्रयास त उनिहरुलाई हामीले चाहेको शिक्षा उनिहरुले नचाहे पनि जवर्जस्ती कोच्याउने भइरहेको छ । उनिहरुले देखाएका मौलिक व्यवहारप्रति धारे हात लगाउदै बर्षाैंदेखि चलिआएका बासी कुराहरुलाई स्वीकार गर्न बाध्य बनाउने काम हामीबाट भइरहेको छ । विद्यार्थीहरुले भित्रैदेखि नचाहेका कुराहरुलाई कोच्याउनु भनेको त्यो प्रतिको घृणाको स्तर उचाइमा पु¥याउनु हो । त्यही भइरहेको छ आज । समग्रमा सिकाइप्रति तिर्खा जगाउन सकिएको छैन बरु तिर्खा नलागेको घोडालाई जर्वजस्ती पानी खुवाउने काम जस्तै भइरहेको छ हाम्रो शिक्षा दिने काम पनि । त्यही कारण त हाम्रा विद्यार्थीहरु शिक्षाबाट मुक्ति चाहन्छन् । बुकफोवियाका सिकार भइरहेका छन् । जव कि शिक्षा भनेको त्यो होइन । शिक्षा भनेको त सवै प्रकारका लोभलालच, काम, क्रोध, मोह र समस्याबाट मुक्ति हो । शिक्षाको यो अभिष्ट पूरा गर्नका लागि सिकारुमा जरुर पनि शिक्षाप्रतिको तिर्खा अनबरत रुपमा जागिरहनु पर्दछ र जगाइरहनु पर्दछ ।


    जसरी भोक लागेको मान्छे खाना खोज्दै हिड्छ र भोक नलागेको मान्छे आफ्नै सामु खाना भए पनि खाँदैन, हामीले शैक्षिक क्षेत्रमा भोगेको समस्या पनि यस्तै यस्तै हो । हामीले विद्यार्थीहरुलाई शिक्षण सिकाइका लागि भोक जगाउन सकिरहेका छैनौं । उनिहरुलाई प्रेम र श्रद्धाका साथ सिकाइको यात्रामा पाइला चाल्नका लागि उत्साहित गर्न सकिरहेका छैनौं ।

    आफ्नो मेडिकल डाक्टरले घोषणा गरेको मृत्यृको मितिलाई चुनौति दिनका लागि स्टेफेन हकिङ्गलाई जसरी उनको अध्ययन अनुसन्धानप्रतिको निरन्तरताको लगाव र उनकी पत्नी र परिवारले उनिप्रति देखाएको श्रद्धा र प्रेमले काम ग¥यो त्यसरी नै हामीले पनि विद्यार्थीहरुलाई उनिहरुको उद्देश्य निर्माण गर्नका लागि सहयोग गर्नुपर्दछ, उद्देश्य महान बनाउनका लागि विकल्पहरु र दृष्टान्तहरु देखाउनुपर्दछ । यसका साथसाथै उनिहरुको सफलतामा पाइलैपिच्छे स्यावास, बधाइ र धन्यवादका साथ पृष्ठपोषण प्रदान गर्न साहस गर्नुपर्दछ । उनिहरुको उन्नति चाहने हर क्षेत्रका मानिसहरुले दण्ड, नकारात्मकता र अपशब्द त्यागेर प्रोत्साहन, सकारात्मकता र स्यावासी दिन सकियो भने विद्यार्थीहरुलाई उनिहरुको उन्नति र प्रगतिको लागि पर्याप्त रुपमा पुग्छ भन्ने लाग्छ मलाई । सवैलाइ चेतना भया ।

    शाह सुर्खेतका जिल्ला शिक्षा अधिकारी हुन् ।

     

    jbshah072@gmail.com

    मिति २०७४ साल आषाढ २२ गते विहीबार