प्राविधिक तथा व्यावसायिक शिक्षामा योजना मात्रै धेरै, कार्यान्वयनचाहिँ कम

सुधारका लागि नीतिभन्दा नियतमा समस्या

एजुकेशन पाटी

Byएजुकेशन पाटी

२७ श्रावण २०७७, मंगलवार

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम क्षेत्रको सुधारका लागि योजना मात्रै बन्ने तर कार्यान्वयन कम हुने गरेको सरोकारवालाहरुले औंल्याएका छन् ।  त्यसैले प्राविधिक तथा व्यावसायिक क्षेत्रको विकासका लागि नीतिमा भन्दा समस्या नियतमा रहेकोमा उनीहरुको जोड थियो ।

आजको शिक्षा साप्ताहिकद्वारा मंगलबार आयोजित ‘कोभिड–१९ को सन्दर्भमा प्राविधिक तथा व्यावसायिक शिक्षाः चुनौती र अवसर’ विषयक भर्चुअल संवादमा बोल्दै सरोकारवालाहरुले प्राविधिक शिक्षालयको बिस्तारभन्दा भइरहेकाकै गुणस्तर र प्रभावकारिता बढाउन सुझाब दिएका हुन् ।

कार्यक्रममा काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति एवं शिक्षाविद् प्रा.डा. सुरेशराज शर्माले योजनाहरु धेरै बन्ने तर कार्यान्वयन चुस्तदुरुस्त नहुँदा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको क्षेत्रमा अपेक्षित सुधार हुन नसकेको बताए । ‘प्लानिङहरु मात्रै धेरै भने तर ती अपरेसन चरणमै पुग्न पाएनन्, अनि कसरी हुन्छ सुधार ?’ शर्माले प्रश्न गरे ।

अहिले धेरैलाई रोजगारी दिनुपरेको छ । सबैको सरोकार पनि त्यही देखिन्छ तर रोजगारी दिनुभन्दा पहिले उनीहरुलाई सीप दिनुपर्ने शर्माले बताए । मुलुकमा सीपभन्दा शैक्षिक योग्यतालाई बढी महत्व दिँदा सीपको क्षेत्रमा राम्रा मान्छेको आकर्षण नदेखिएको भन्दै प्रा.डा. शर्माले सीपलाई राज्यले महत्वमा राख्नुपर्नेमा जोड दिए ।

अब धेरै प्राविधिक शिक्षालयको बिस्तारभन्दा भएकामा गुणस्तरीय, दक्ष प्रशिक्षक र आवश्यक सामग्रीको जुगाड गर्नतिर लाग्नुपर्ने उनको भनाइ थियो । अब सुविधासम्पन्न बनाउँदै एउटै शिक्षालयलाई तीन सिफ्ट सञ्चालन गर्ने मोडलमा जानुपर्ने भन्दै शर्माले योजना बनेपछि कार्यान्वयनको तयारी र कार्यान्वयन जानुपर्ने बताए । उनले प्राविधिक तथा व्यावसायिक शिक्षामा प्रवेश विन्दु (कक्षागत तहहरु) स्पष्ट हुनुपर्ने सुझाब दिएका थिए ।

राष्ट्रिय योजना आयोगकी सदस्य डा. उषा झाले प्राविधिक शिक्षा र व्यावसायिक तालिमको सुधारका लागि योजनाको कमी नभएको र समस्या भने कार्यान्वयनमा मात्रै रहेको बताइन् । सबै नीति र योजनाहरुले व्यावसायिक शिक्षालाई सुधार गर्न चाहेको र पछिल्लो समय ७५३ स्थानीय तहमा यसको बिस्तार गर्ने कुरा रुपान्तरणकारी योजनाको रुपमा राखिएको जानकारी उनले दिइन् । सरकारको राजनीतिक प्रतिबद्धता पूरा गर्न पनि यसलाई योजनामा महत्वका साथ समावेश गरिएको उनको भनाइ थियो । पालिकास्तरका हरेक प्राविधिक शिक्षालयहरुलाई समृद्ध बनाउनैपर्ने र योजना हरेक दस्तावेजले यो कुरा बोलेको बताइन् ।

सिटिइभिटि र प्राविधिक तथा व्यावसायिक शिक्षा एउटै नभएको र त्यसले मात्रै पूरै क्षेत्र नसमेट्ने भन्दै उनले हाल १६ वटा मन्त्रालय र फरक–फरक संस्थाहरुले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको क्षेत्रमा काम गरिरहेको सुनाइन् । तर, उनीहरु आफैं आइसोलेसनमा काम गरिरहेकाले आपसमा तथा उद्योग–धन्दासँग सहकार्य र साझेदारी हुन नसकेको उनको भनाइ थियो । योजना आयोगले प्राविधिक तथा व्यावसायिक शिक्षामा एकरुपताका लागि अन्तर–मन्त्रालय संयन्त्रको बारेमा तयारी गरिरहेको उनले स्पष्ट पारिन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्माले २०७६ चैत्र ५ गतेदेखि बन्द प्राविधिक शिक्षालयहरुलाई सामान्य अवस्थामा फर्काउन नै पहिलो चुनौती रहेको बताए । स्थिति लम्बिँदै जाँदा डिप्लोमा, प्रि डिप्लोमाका कोर्शहरु र त्यसका शैक्षिक शत्र नै खेर जान्छ कि भन्ने पनि चुनौती आएको उनले स्पष्ट पारे ।

व्यावसायिक तालिमको सन्दर्भमा कुरा गर्दा विगत देखि कै श्रमबजार र व्यावसायिक तालिमको बीचमा असमानता छ भन्ने गुनासोलाई हेर्दा कोभिड सन्दर्भमा उत्पादन, रोजगारी आर्थिक क्रियाकलापका सेतुहरु छिन्नभिन्न हुने देखिएको उनको भनाइ थियो । यसले असमानता झनै अवस्था देखिएको प्रवक्ता शर्माले बताए । त्यसैपनि प्राविधिक शिक्षामा लगानी कम भइरहेको बेला कोभिड परिवेशले अझ घटाउन सक्ने आशंका शर्माले गरे ।

कोभिड चुनौतीसँगै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिममा अहिले सूचना प्रविधिको उच्चतम प्रयोग गरेर अगाडि बढ्ने अवसरपनि सिर्जना भएको प्रवक्ता शर्माले बताए । पन्ध्रौं आवधिक योजना, राष्ट्रिय शिक्षा नीति, राष्ट्रिय विज्ञान तथा नवप्रवर्तन नीति र त्यसमा डिजिटल नेपाल फ्रेमवर्कलाई पनि जोड्दै राष्ट्रिय शिक्षा नीतिको कार्यान्वयनमा गएर यस क्षेत्रको रिफर्म गर्न सकिने उनको भनाइ थियो ।

कार्यक्रममा सिटिइभिटिका पूर्व सदस्यसचिव एवं हाल कोलम्बो प्लान स्टाफ कलेज सिपिएससि मनिला फिलिपिन्सका महानिर्देशक डा. रामहरि लामिछानेले कोभिडको सन्दर्भमा यसले प्राविधिक तथा व्यावसायिक क्षेत्रमा पारेको प्रभाव र यतिबेला अन्य देशमा भइरहेको सिकाइ अभ्यासका बारेमा प्रस्तुतिकरण दिएका थिए ।

अन्य क्षेत्र जस्तै कोभिडबाट प्राविधिक र व्यावसायिक क्षेत्रपनि धेरै प्रभावित भएको, सबै शिक्षालयहरु बन्द रहेकाले त्यसलाई सामान्य ढङ्गमा ल्याई सुचारु गर्नु अहिलेको सबैभन्दा ठूलो चुनौती रहेको डा. लामिछानेले बताए । प्राविधिक विषय भएकाले यसमा फेस टु फेस हुनुपर्ने बाध्यता रहेकाले पनि यो बढी असरमा रहेको उनको भनाइ थियो ।

फिलिपिन्समा यो क्षेत्रले पिपिइ निर्माण, खाने कुराको प्याकेजिङ गरी गरी फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई खाना सहयोग गरिरहेको उनले जानकारी दिए । नेपालका शिक्षालयहरुचाहिँ क्यारेन्टाइनको रुपमा परिणत भएका तर फिलिपिन्समा अनलाइनमार्फत् सञ्चालन भइरहेको लामिछानेले बताए । शैक्षिक शत्रलाई खेरजान दिन नहुने भन्दै तत्कालीन र दीर्घकालीन योजना बनाएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।

आजको शिक्षा साप्ताहिकका सम्पादक सुदर्शन सिग्देलले अहिलेको अन्यौलमा उपाय निकाल्न संवाद कार्यक्रम आयोजना गरिएको प्रष्ट्याए । कार्यक्रममा पूर्व सचिव महाश्रम शर्मा, तालिमप्रदायक संस्था इटहरीका कृष्ण शाह, पद्मकन्या विद्याश्रमकी प्राचार्य रिता तिवारी, पत्रकार सुदर्शन घिमिरेलगायतले धारणा राखेका थिए ।

प्रतिकृया दिनुहोस्