अभिभावक मेलाका मेरा अतिथि

एजुकेशन पाटी

Byएजुकेशन पाटी

२७ जेष्ठ २०७७, मंगलवार

त्यो भेला हो कि ? मेला हो ? धेरै मनमा यो सन्देह रहेछ । मेलामा केही कुरा बेचबिखन किनबेच नहुने ! के हो यस्तो पनि मेला ? कसैले भन्ने गर्थे । स्वास्थ्य शिक्षा दिने खालको एउटा कक्ष, पोषण शिक्षा दिने खालको अर्को कक्ष अरू सबै बालबालिका लागि पढाउँदा काम लाग्ने सामग्री कक्ष ।

ठूलाबडा मान्छे आए । सामग्री प्रदर्शन कक्षभन्दा करिब ५० मिटर टाढा दक्षिणतिर टाँगिएको पालमुनि सजाइएका कुर्चीमा बसे । अझ ठूलाबडा मान्छे आए । पालभन्दा करिब १० मिटरको दूरीमा पश्चिमतिर सजाइएको मञ्चतिर लागे । मञ्चको ध्वनि विस्तार यन्त्र ( माइक ) ठास्ठास् ठुस्ठुस् पार्न लागे ।

आशन ग्रहणको लम्बेतान कार्यक्रम सुरु भयो । अभ्यागत (बोलाएर, निम्तो दिएर डाकेर आउने) भन्ने हाम्रो चलनै छैन । डाकेर आउनेलाई पनि अतिथि नै भन्ने चलन छ । पुरानै चलनअनुसार यहाँ पनि प्रमुख अतिथि, अतिथिको आशन ग्रहण गर्ने काम सुरु भयो । कतिले त आयोजकलाई पनि अतिथिको कोटीमा आशन ग्रहण गराए भनी खिस्स हाँस्दे कुर्चीमा बस्थे ।

मैले ठानेका अतिथि ( साना बालबालिका जसलाई कसैले बोलाएको थिएन ) भने मञ्चतिरभन्दा प्रदर्शनी कक्षतिर रमाइरहेका थिए । वक्ताले संविधानका शिक्षाका कुरा गरे पनि, बाल अधिकारका कुरा गरे पनि मेरा अतिथिका कानमा बतास लाग्दैनथ्यो ।

त्यो मिथिला क्षेत्र, राजा जनकले ज्ञानको ज्योति बालेको क्षेत्र, हलोको आविष्कार भएको क्षेत्र, याज्ञवल्क्य र गार्गीको शास्त्रार्थ भएको क्षेत्र, अष्टावक्रको शास्त्रार्थको विशेष चर्चा भएको क्षेत्र भनेर मञ्चमा घाँटी सुकेञ्जेल कराउँदा पनि मेरा अतिथि प्रदर्शन कक्षका सामग्री हेर्दै भुलिरहे ।

‘मञ्चमा पूर्वको मेची नि हाम्रै हो, पश्चिमको काली नि हामै्र हो’ बोलको गीतको प्रारम्भिक धुन मात्रै के बजेथ्यो हुरुरुर्र मञ्चनिर आएर घेरिए, मेरा अतिथि । नडाकिकन हार्रहुर्र जतापनि जाने वास्तविक अतिथिहरू । पूर्वको माया पश्चिमलाई, पश्चिमको माया पूर्वलाई जस्ता बोलका गीतले उनीहरूलाई निकै उत्साहित बनाएको देखिन्थ्यो ।

अहङ्कारको जन्म कसरी हुन्छ ? भन्ने सन्देह निवारणका लागि शुकदेवले आफ्ना बुबा व्याससित सोध्दा बुबाले दिएको जवाफमा चित्त नबुझेर थप जानकारीका लागि राजा जनकसित आएका थिए, शुकदेव । राजा जनकको कार्य व्यस्तताले सो सन्देहको जवाफ पाउन शुकदेवले २ हप्ता पर्खेका थिए ।

हाम्रा बाल अतिथि पनि शुकदेव जस्तै धैर्य भएर ज्ञान आर्जन गर्ने ध्यानमा छन् । कहिले सामग्री कक्षतिर दर्गुछन् र हाम्रो विद्यालयमा पनि यस्तै खेलौना, यस्तै रमाइला सामग्री भए हुन्थ्यो भनी मनमनै मीठो कल्पनामा डुब्छन् । कहिले मञ्चतिर गीत बज्छ र दौड्दै आउँछन् र हाम्रा विद्यालयमा पनि यस्तै भैदिए कति रमाइलो हुँदो हो भन्दै नाच नसकियुञ्जेल ठिङ्ग उभिएरै सुन्छन् ।

मञ्चमा आशन ग्रहण गर्ने अतिथि ( अभ्यागत ) आशन ग्रहणको मर्यादा क्रम नमिलेको भनी ठुस्स परेर कुरा काट्दै गर्दा हाम्रा वास्तविक अतिथिलाई कसैले आशन ग्रहण गराएन र पनि खुसी नै थिए । शायद मेरा अतिथिले सोच्दा हुन् हाम्रा ठूलाबडा कति यान्त्रिक छन् । कसैले बस् भने मात्र बस्छन्, उठ् भने मात्र उठ्छन् । तर हामी कति प्राकृत छौँ । आफ्नो इच्छाले कहिले हुर्र यता आउँछौँ कहिले हुर्र उता जान्छौँ । मेरा अतिथिलाई भेला होस् कि मेला यसको भेद खुट्याउन चासो पनि थिएन । अर्थ गर्ने खाँचो पनि थिएन ।

ती मेरा बाल अतिथि स्थानीय नै थिए । शनिबार भएकाले साँझ गएर विद्यालयको गृहकार्य गर्नु थिएन उनीहरूलाई । उनीहरूलाई न कसैले मिठाई बाँड्यो, न कसैले चियापान गरायो । र पनि उनीहरूमा कुनै आशाभाव थिएन, निराशाभाव थिएन । मानौँ आफ्ना घरका बुबा व्यासको जवाफमा उति सन्तोष नलागेर ज्ञानको खोजीमा आएका शुकदेवहरू थिए । कहिले यो प्रदर्शनी कक्षमा जान्थे । कहिले उः प्रदर्शनी कक्षमा जान्थे ।

मञ्चको कार्यक्रम सकिएसँगै म पनि प्रदर्शनी कक्षतिर लागेँ । कहीँ कागजका हल्का भकुण्डा थिए । कहीँ हल्का किसिमका घरेलु रिङ बनाएका थिए । मैदामा भिन्न भिन्न रङ मिलाएर मुछेर तेल लगाउँदा त्यसमा आउने चमक र छुँदा छाम्दखाको नरमपनले बालबालिकालाई निकै लोभ्याएको थियो । नरमपनले आफूले चाहेको आकारमा ढाल्न सकिने, चिल्लोले गर्दा हातमा पीठो नटाँसिने हुँदा बालबालिकाका लागि हस्तकला अभ्यास गर्न निकै उत्तम देखिएको थियो ।

एकातिर बन्द एकातिर खुला बाँसका ढुङ्ग्रामा काँटी किला ठोकेर सानासाना ढुङ्गाका टुक्रा राखेर तलमाथि गर्दा छिन्द्रिङ छिन्द्रिङ गर्दै निस्कने मीठो आवाजमा बालबालिका खूब रमाएका थिए । तर त्यो साधनको नाम भने निर्मातासमेतलाई थाहा थिएन । त्यसको नाम उसकै कामअनुसार राखियो छिनछिने ।

समतल मिलेको, पातलो एक एक हात लम्वाइ र चौडाइ भएको काठमा एक अङ्गुलको वरिपरि बिट ठोकेर बनाएको साधनमा सफा बालुवा राखेर अक्षर वा विभिन्न आकृति बनाउने मेट्ने गर्न सजिलो हुने तरिका सिकाउने गरिएको थियो ।  यो पनि बालबालिकाले निकै रमाइलो गरी हेरेका र प्रयोग गरेका थिए । सिकाइमा लागि यो साधन निकै उपकारी लागेको थियो । यसको पनि नामकरण भएको थिएन । त्यो आधुनिक धुलौटो थियो । एक जना पाका व्यक्तिले भने धुलौटो अर्कै हुने भन्दै सफा माटाको धूलोलाई यस्तै आकारको तर बिट नभएको पाटीमा राखेर धूलोलाई समतल मिलाएर झिँजाले, चोर औँलाले लेखिन्थ्यो भन्नुभयो ।


त्यो बेला त्यो धूलो हातमा, कपडामा कत्तिको लाग्थ्यो नि ? भन्ने मेरो प्रश्नको जवाफमा उहाँले भन्नुभयो — त्यो त के कुरा गरौँ ? धुलिरम्मै ( धुलाम्मे ) भइन्थ्यो ।

तर यसमा जति काम गर्नुस् न बालुवा पोखिन्छ, न हातमा केही फोहर लाग्छ ? अनि हँसिलो अनुहारले स्विकृतिको मन्टो हल्लाउँदै भन्नुभयो— हो हो, त्यो धूलौटोभन्दा त यै बलौटो जाती रहेछ । यसरी त्यो आधुनिक धूलोटौको नाम बलौटो रह्यो ।

मैदामा विभिन्न रङ छुट्टा छुट्टै मिसाएर सुख्खा रोटी हाल्ने जत्तिकै गिलो हुने गरी मुछ्ने र केहीबेर राम्ररी भिजेपछि त्यो पीठोमा तेल लगाउँदा खूब राम्रो चमक आउनेरहेछ । अनि विभिन्न रङ्गका पीठोका डल्ला आपसमा मिसाउँदा पनि तेलले गर्दा आपसमा मिसिने नटासिने हुनाले रङ्गीबिरङ्गी सामग्री बनाउन निकै्र राम्रो हुनेरहेछ । बालबालिकालाई नरम वस्तु चलाउन र चाहेको आकार बनाउन सजिलो भएकाले पनि हुन सक्छ यो मैदाका रङ्गी बिरङ्गी डल्ला चलाउन बालबालिका निकै रमाएका थिए । त्यो रङ्गीबिरङ्गी गिलो पीठोबाट विभिन्न ठोस सामग्री बनाई सुकाएर प्रयोग गर्दा झट्ट नफुट्ने बलियो र राम्रो हुन्छ होला भन्ने अनुमान मात्र गरियो ।

लप्सीको भित्री दाना र मकै छोडाएका डाँठ ( कोया ) को टुक्रा पनि इनामेलले रङ्गाइएका थिए । लप्सीका दाना गिन्तीका लागि, जोर कि विजोर खेल्न, खेलाउन सकिन्छ । जोर कि बिजोर खेलले बाल बालिकाले अनुमान गर्ने शक्तिको विकास गराउँछ । कोयाका टुक्राको माला बनाउन, डोरी वा सिन्कामा उनेर गणितीय क्रियाकलाप जोड घटाउ गर्न राम्रो हुन्छ ।

त्यहाँ ती लप्सीका दाना र कोयाका टुक्रा रङ्गाउन प्रयोग गरिएको रङ्ग इनामेल थियो । त्यो बालबालिकाले छोइरहँदा विष लाग्ने हुनसक्छ । त्यसैले यस्ता वस्तु  रगाउँदा घरेलु रङ्गको गर्नुपर्ने सुझाव दिइएको थियो ।

त्यहाँ राखिएका अन्य सामग्रीहरूमा माटोबाट बनेका, ढङ्गाबाट बनेका, काठबाट बनेका, बाँसका चोयाबाट बनेका थुप्रै सामग्री थिए । माटोबाट बनेको झाँतो(जाँतो), ढुङ्गाबाट बनेका खल( लोहोरो सिलौटो), काठबाट बनेको हलो, जुवा, बाँसको चोयाबाट बनेका डोका, सुपा( नाङ्ला) आदि थिए ।

यस्तो  मेलामा विभिन्न स्थानीय बालखेलहरू पनि राख्नु राम्रो हुने हुन्छ । यसका लागि विभिन्न विद्यालयको सहभागिता पनि उत्तिकै राम्रो हुन्छ भने आयोजक विद्यालयले मात्रै पनि यसो गर्न सक्छ । ती बाल खेलहरू कुनै सामग्री नै नचाहिने हुन्छन् भने कुनैलाई सामान्य सामग्री चाहिन्छन् । जस्तै चिँ मुसी चिँची, ओकल दोकल, एक दुई तीन, काइँखुट्टी, कपर्दी, हात्तुरी, ओरोडोरो जस्ता खेलका लागि कुनै केही खेल सामग्री चाहिन्नन् । चिँमुसुी, दोकल, एक दुई तीन त थपक्क बसेर खेल्ने खेल हुन् । गट्टा, धुलेबाजी, खग्रेटो जस्ता खेलहरू ज्यादै सामान्य र स्थानीय मूल्यहीन सामग्री चाहिने खेल हुन् । यस्ता खेलले बालबालिकाको, मानसिक, शारीरिक सक्रियता र सामाजिक अन्तर घुलनका लागि निकै सहयोग हुन्छ ।

कतिपय खेलमा नेतृत्वको पालो हुन्छ । यसले नेतृत्व विकास र आफ्नो अधिकारको खोजी गर्ने बानीको विकास हुन्छ । आफ्नो पालोमा आफूले गरेको काम र अरूले त्यै काम कसरी गरे भन्ने तुलना गरी आत्ममूल्याङ्कन गरी अगाडि बढ्ने आत्मबलको विकास गर्न यस्ता बाल खेलले सघाउँछ ।

बाल खेलमा प्रयोग हुने शब्द वा शब्दावली सबै सार्थक नहुन सक्छन् । र त ती बालबालिकाका लागि बढी सार्थक हुन्छन्, प्रिय हुन्छन्  र विशुद्ध उनीहरूका निजी हुन्छन् । यी खेलमा प्रयोग हुने शब्दलवाली ठाउँअनुसार फरक फरक हुन्छन् । तर जहाँका पनि उत्तिकै मीठा, उत्तिकै स्वादिला हुन्छन् । चिँमुसी, ओरोडोरो, ओकलदोकल जस्ता खेलमा प्रयोग हुने शब्दावली ठाउँअनुसार फरकफरक पाइन्छन् ।

कुनै खेलमा कसैले जित्ने हार्ने भन्ने हुँदैन भने कुनै खेलमा हार जितको कुरा हुन्छ । जस्तो चिँमुसी, ओकलदोकलमा हारजितको कुरा हुँदैन । खेल सकिँदा हाहु गरेर रमाइलो गर्ने गरिन्छ । यस्तै रमाइलो गरेर साह्रै साना नानीबाबुहरूदेखि ठूलासम्म खेल्न सकिने रमाइलो खेल हो ओकलदोकल । यसले सानानानीहरूलाई समूहमा मिलेर बस्न, समूहमा सिक्न, रमाइलो गर्न र निश्चित समयसम्म धैर्य गरेर बस्ने बानी वा सीपको विकास गराउँछ ।

ठाउँअनुसार उही नामको खेल खेल्ने ढाँचा, नियम फरकफरक हुनसक्छ । तर  यसबाट बालबालिकाले सिक्ने सीप भने उस्तै हुन्छन् ।

ज्यादा तामझाममा खर्च नगरी एउटा स्रोत केन्द्रका विद्यालयले पालोपालो गरी अभिभावक मेला गर्ने हो भने यसले अभिभावकलाई विद्यालय आउन त सहयोग गर्छ नै आफ्ना बालबालिकामा रहेको सिर्जना अभिव्यक्त गर्न र अरूको सिर्जनाबाट सिक्न सहयोग पुग्ने छ ।

सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाले ल्याएको अभिभावक मेला नवीन सोचका लागि धन्यवाद ।

प्रतिकृया दिनुहोस्