अहिले बालबालिकाहरुलाई कसरी सक्रिय बनाउने ?

एजुकेशन पाटी

Byएजुकेशन पाटी

२७ जेष्ठ २०७७, मंगलवार

कोभिड १९ का कारण मुलुक तेस्रो लकडाउनको अवस्थामा छ । कलकारखाना बन्द छन् । मानिसहरु घरमै छन् । नेपालको मात्र के कुरा गर्नु यस्तो अवस्था त विश्वव्यापीरुपमा एकै खालको छ भन्दा हुन्छ । सारांशमा भन्नुपर्दा जहाँ बसेको भए पनि यतिबेला मानिसका लागि परिस्थिति सहज छैन वा अनुकुलको छैन । अझ कतिपयका लागि खानलाउनकै समस्या छ ।

बाँकीका लागि लाउन खानको समस्या नभए पनि समय कसरी बिताउने भन्ने समस्या छ । केहि अपबाद बाहेक भोलि के होला भनेर खासै सोचिएको पनि छैन । यस संकटको घडिमा अहिलेको समय कसरी बिताउने एउटा पक्ष हो भने भोलिको तयारी पनि गर्नु पर्ने हो कि भनेर सोच्ने बेला सँगै आएको छ । यी दुवै विषय उत्तिकै महत्वपूर्ण छन् । साच्चिकै अबका दिनमा के होला ? यो विश्वव्यवस्था अब कसरी अगाडि बढ्ला ? हाम्रै अवस्था पनि के कसरी अगाडी बढ्ला ? हाम्रा दैनिक दिनचर्याहरु हिजोको जस्तै गरेर अगाडि बढालान् कि केहि परिवर्तन होला ? मानिसहरुले विगतमा जस्तै हात मिलाउने वा अंकमाल गर्ने गर्लान कि नगर्लान्  ?

अहिलेको लकडाउनका कारण विश्वभर बालबालिकाहरु विद्यालय जान पाएकै छैनन् । घरमै कोच्चिएर बस्नु परेको छ । स्वभावतः चञ्चले स्वभावका कारण उनीहरुलाई एकै स्थानमा टिकाइ राख्न पक्कै पनि सजिलो छैन । घरमा बालबालिकाहरुलाईटिकाउन अभिभावकलाई ठूलो समस्या छ । साना उमेरका बालबालिकाहरुलाई घरमा टिकाउन समस्या छ भने माथिल्लो कक्षामा अध्ययन गर्ने विद्यार्थीहरु तहको अन्त्यमा लिइने परीक्षा स्थगित भएका कारण मानसिक तनावमा छन् । जबर्जस्त रुपमा घरमा राख्दा यसबाट पछिका दिनमा केहि मानसिक असर गर्ला कि नगर्ला ? शैक्षिक क्रियाकलाप के कसरी अगाडि बढलान् ? अबका दिनमा शिक्षा प्रणालीमा के–कस्तो परिवर्तन आवश्यक होला भनेर सोच्ने बेला आइसकेको छ ।

आशा गरौँ एक दिन संसारले कोभिड १९ को यस महामारीबाट अवश्य पनि छुटकारा पाउने छ । र यस्तो दिन छिट्टै आउनेछ । नागरिकहरु घरमा लकडाउनको अवस्थामा बसे पनि सरकार सो अवस्थामा बस्न मिल्दैन । सरकार केहि नगरी बसेको पनि छैन । लकडाउन नागरिकका लागि हो । जतिसुकै कठिन परिस्थितीमा पनि सरकार र यसका संयन्त्रले नियमित रुपमा काम गरिरहनु पर्छ । नागरिकका लागि सेवा प्रवाह गरिरहनु पर्छ ।

त्यहि भएर विश्वका कतिपय मुलुकका सरकारहरुले कठिन परिस्थितिसँग जुध्दा जुध्दै कोभिड–१९ पछिका लागि योजना बनाउने घोषणा गरिसकेका छन् । वास्तवमा यो आवश्यक पनि छ । किनकी मुलुक भित्रका कतिपय सरकारी निकायहरु कोभिड–१९ सँग जुध्ने कार्यमा काम गरिरहेका छन भने कतिपय सरकारी निकायहरु निष्कृय जस्तै देखिन्छन् । नागरिक जीवन लाईभ र जीवन्त बनाउनका लागि यस्ता निकायहरुले आ–आफ्ना क्षेत्रबाट प्रविधिको प्रयोगबाट हुनसक्ने काम अगाडि बढाउनु पर्ने थियो । तर, कतै अलमलिएजस्तो देखिन्छ । तसर्थ अबका दिनका लागि योजना बनाउनका लागि विज्ञसमूहलाई जिम्मा लगाउन सके अझ राम्रो हुन सक्थ्यो ।

तत्काल अहिले के गर्न सकिएला त ? ठूला काम गर्नका लागि अहिले सम्भव पनि छैन । अहिलेको पहिलो कार्य भनेको अवरुद्ध भएका शैक्षिक क्रियाकलापहरु शुरु गर्नु हो । बालबालिकाहरुलाई मानसिक रुपमा तयार गर्दै लैजानु पनि हो । अभिभावकहरुलाई पनि यसमा संलग्न बनाउने प्रयास गर्नु हो । हामीले हरेक घरका बालबालिकालाईशैक्षिक क्रियाकलापमा सहभागी गराउन सकिन्छ यसबाट अभिभावक र विद्यार्थी दुवैलाईअहिलेको समय बिताउन पनि सहयोग पुग्दछ । अझ महत्वपूर्ण कुरा त मानिसलाई अहिलेको तनावबाट अन्यत्र मोडिन सहयोग पुग्छ ।

यस अवस्थामा के गर्न सकिन्छ त ?

१.    ध्यान गरौं: ध्यान पूर्वीय पद्धतिको अमूल्य निधि हो । जानेर नजानेर हामीले यसको अभ्यास गर्न छाडी सक्यौँ । अहिले हामीलाईयस घटनाले पुनः एउटा मौका दिएको छ । सबै घरमा रहेको समयमा पुनः ध्यानको अभ्यास गर्न गराउन सक्छौँ । हामीलाईयसको विधि वा प्रक्रिया थाहा नहुन सक्छ । तर त्यसका लागि सोधखोज गर्न सक्छौँ । खोजी गर्न सक्छौँ । तसर्थ आफू र आफ्ना बालबालिकाहरुलाई पुनः एकपटक ध्यानमा अभ्यस्त बनाउने प्रयास गरौँ । अहिलेको अवस्थामा समय पनि बित्ने र शारीरिक एवम् मानिसक दुवै रुपमा फाइदा पनि हुने भएकोले यसलाई सदुपयोग गर्नु नै लाभदायक हुनसक्छ । श्रीकृष्णले गीतामा अर्जुनलाईमानिसको चञ्चल मनलाईवसमा ल्याउनका लागि सुझाउनु भएका धेरै उपायमध्ये एकान्तबास र ध्यानका उपाय महत्वपूर्ण मानिएको छ । भोलिका दिनमा यस्तो एकान्तबास हामीले चाहेर पनि बन्न नसक्ने हुनसक्छ । तर, अहिले कोभिड १९ का कारण सबैलाई एकान्तबासको समय उपलब्ध भएको छ । मनमनै बीचार गरौँ र यस समयलाई आफू र आफ्ना छोराछोरीलाईध्यानमा लगाउँ । अभ्यास गर्दै जाऔँ । सिक्न सकिन्छ ।

२.    बालबालिकालाई विभिन्न क्रियाकलापमा संलग्न गराऔँः यसको अभ्यास कम्प्यूटर तथा मोबाइलको उपलब्धतामा भर पर्ने गर्छ । त्यहाँ सबैले मेसेन्जरमा नयाँ नयाँ कुराहरु शेयर गर्ने प्रतियोगिता गर्न सकिन्छ । राम्रा काममा संलग्न गर्न सकिन्छ । केवल खेल्नमात्र दिनेभन्दा पनि बालबालिकाहरुलाई सक्रिय बनाउने क्रियाकलाप गराउनु पर्छ । यसका लागि विद्यालय र घरको बीचमा सहकार्य आवश्यक उपयुक्त एवम् सान्दर्भिक हुन्छ । यसका लागि कसैले भनेर गर्ने भन्दा पनि आफै अगाडि सरेर स्थान विशेषअनुसारका क्रियाकलाप गर्न गराउन सकिन्छ ।  के हाम्रा विद्यालय र त्यहाँ कार्यरत शिक्षकहरु यस कार्यमा लागेका छन् त ? अहिले त धेरै अपेक्षा नगरौँ । मात्र बालबालिकाहरुलाईविभिन्न क्रियाकलापका सक्रिय बनाउने काम मात्र गरे पनि पुग्छ ।  यस्ता कृयाकलापहरु धेरै किसिमका हुन सक्छन् । विद्यार्थीहरुको बीचमा छलफल तथा अन्तरक्रिया हुने खालका क्रियाकलाप उपयुक्त हुन सक्छ ।

३.    विद्यालयले प्रश्न दिने काम गरौँः शिक्षकहरुले आ–आफ्ना विषयमा उपयुक्त खालका प्रश्नहरु तयार गरी दिएर विद्यार्थीहरुलाईघरमा नै बसेर उत्तर तयार गर्न लगाउन सकिन्छ । यस्तो प्रश्न कसरी विद्यार्थीहरुका हातमा कसरी पुर्याउने भन्ने विषय केहि कठिन जस्तो देखिए पनि असम्भव जस्तो लाग्दैन । तसर्थ विद्यालयले यो काम तत्काल शुरु गर्न सक्छ । विद्यार्थी विद्यार्थीका बीचमा संबाद गराउने वातावरण पनि तयार गर्न सकिन्छ । भौतिक दुरीमा रहेर गर्न सकिने काम गर्न पनि प्रोत्साहन आवश्यक हुन्छ । यसैगरी विद्यार्थीहरुलाई विभिन्न परियोजना कार्य दिन पनि सकिन्छ । यस्ता कार्यगर्दा विद्यालयले घरमा रहेका अभिभावकहरुसँग सहकार्य गर्न सक्छ ।

४.    बालबालिकाहरुलाई घरायसी काममा संलग्न गराऔँः अहिलेको समय भनेको बालबालिकाहरुलाई काममा संलग्न बनाउने समय पनि हो । गाँउमा भएको अवस्थामा बारीमा पनि काम गराउन सकिन्छ । शहरमा करेशाबारी भएमा सोहि नभएमा भान्छा घरमा संलग्न गराउन सकिन्छ ।

५.    घरमा नै संवाद गर्ने प्रयास गरौँः अहिले समय सार्थक ढँगबाट बिताउने पनि हो । यसका लागि धेरै सुत्नु पनि आवश्यक छैन । यदि घरमा उमेर पुगेका प्रौढहरु हुनुहुन्छ भने उहाँहरुलाईसमय दिन सकिन्छ । बालबालिका र अभभावकका बीचमा हुने संबादले इतिहास र विगतका कुरामा बालबलिकाहरुलाईजानकार बनाउन सकिन्छ । अभिभावकको समय पनि बित्ने गर्दछ । सकेसम्म एक्लै बसेर झोक्राउनुभन्दा यस्ता संवादले मन हलुका बनाउनका लागि सहयोग गर्छ ।

६.    घरमा सामूहिक शारीरिक अभ्यास गरौँः विहान र बेलुकाको समयमा घरमा सबै परिवार मिलेर घरभित्र मिल्ने खालका शारीरिक अभ्यास गर्न पनि सक्छौँ । यसलाईसमय लगाएर गर्न सकिन्छ । एकले अर्कोलाईसहयोग गर्न सकिन्छ । यस्तो अभ्यास विस्तारै गर्नु पर्छ ।

यस्तो असजिलो बेलामा पनि यस्ता कार्य कसरी सम्भव हुन सक्लान र ? भन्न पनि सकिएला । तर एकछिन शान्त मनले बिचार गरौँ त । हामीले केहि काम गरे पनि नगरे पनि यो समय व्यतित गर्नै पर्छ । घरमा रहनै पर्छ । यसमा अहिले परिवर्तन सम्भव छैन । अहिले गर्न सकिने भनेको यहि समय के कसरी तनावमुक्त भएर बिताउने भन्ने पनि हो । चाहे पनि नचाहे पनि समय व्यतित गर्नै छ । आफ्नो समय हामी आफैले व्यतित गर्ने नै हो । तसर्थ आउनुस यो वातावरण तनावमुक्त भइ व्यतित गर्ने काम शुरु गरौँ । आजैबाट शुरु गरौँ । अहिलेबाटै शुरु गरौँ । सामाजिक सन्जालका अनावश्यक तर्क र कुतर्कका पछाडि नलागौँ ।

अहिले गर्न खोजेको कामका लागि थप रकम चाहिन्छ भनेर पनि नसोचौँ । रकम भएमा मात्र यो काम गर्न सक्छू भनेर पनि नभनौँ । अहिले त यो भए गर्छु वा त्यो भए गर्छू भन्ने बेला नै होइन । जसले जहाँबाट जे गर्न सकिन्छ त्यहिबाट शुरु गरेर अन्यलाई जानकारी दिने बेला हो अहिले । भएकै स्रोत र साधनको प्रयोगबाट नयाँ नयाँ काम गर्ने हो । सामाजिक सञ्जालमा घण्टौँ बिताउने अनि चाहिने नचाहिने खालका भविष्यवाणी खोज्न लाग्ने र त्यसैका आधारमा चिन्तित रहने खालका कार्यबाट बाहिर आउनका लागि यस्तै काममा संलग्न हुने र बालबालिकाहरुलाई संलग्न बनाउने उपायको खोजी र कार्यान्वयन अहिलेको आवश्यकता हो ।

लम्साल सामाजिक विकास मन्त्रालय, सुदुर पश्चिम प्रदेश, धनगढीका सचिव हुन् ।

प्रतिकृया दिनुहोस्