काठमाडौँ । कोरोना महामारीका कारण ७ महिनादेखि बन्द काठमाडौंको कागेश्वरी मनोहरा–६, मूलपानीस्थिति विद्यामठ आवासीय विद्यालयमा पठनपाठन सुरु गरिएको छ। भौतिक दूरी कायम गर्दै सातामा ३ दिन विद्यालय सञ्चालन गर्ने गरिएको हो।

बिहान ७ बजेदेखि ११ बजेसम्म पढाउने गरिएको हो। स्वास्थ्य सुरक्षाका नियम पालना गरी विद्यालय खोल्न स्थानीय सरकारले अनुमति दिएपछि पठनपाठन सुरु गरिएको विद्यालयका प्रबन्ध निर्देशक जित बहादुर बस्नेतले बताए।

उनका अनुसार अहिले ६० प्रतिशत मात्रै विद्यार्थी स्कुलमा आउने गरेका छन्। अन्य विद्यार्थी उपत्यका बाहिर भएकाले काठमाडौंमै रहेका मात्र कक्षामा सहभागी भएका हुन्।

‘महामारी थाहा दिएर आउँदैन, जब आउँछ सचेत र संयम रहनुको विकल्प हुँदैन। अहिले हामी कोरोना महामारीले आक्रान्त छौं,’ उनी भन्छन्, ‘महामारीबीच बालबालिकाको भविष्य पनि हेर्नुपर्छ। यो अभिभावक र शिक्षक दुवैको दायित्व हो। त्यसकारण सर्तकता अपनाएर अघि बढ्नुपर्छ।’

निर्देशक बस्नेतका अनुसार भीडभाड नहोस् भनेर विद्यालय हाताभित्र क्यान्टिन सञ्चालन गरिएको छैन। एउटा बेच्नमा दुई विद्यार्थी मात्रै राख्ने राखिएको छ।

‘मास्क, सेनिटाइजर अनिवार्य गर्दै तापक्रम नापेर मात्रै स्कुलमा प्रवेश गराउने गरिएको छ। कक्षाकोठामा पनि मास्क अनिवार्य गराइएको छ। कक्षा सञ्चालन भएपछि ‘ब्रेक टाइम’ राखिएको छैन’, उनले भने।

‘यहाँको भौगोलिक अवस्था पनि राम्रो छ। धेरै भीडभाड हुँदैन। हरियाली पनि धेरै छ। जनस्वास्थ्य मापदण्ड अपनाएर कक्षा सञ्चालन गरिरहेका छौं,’ बस्नेतले थपे।

यसअघि लकडाउनका बेला पनि अनलाइन कक्षा सञ्चालन गरिएको उनले बताए। अनलाइनमा सबै विद्यार्थीको पहुँच नपुग्ने भएकाले फोनबाट भए पनि विद्यार्थीलाई अध्ययन गराइएको निर्देशक थापको भनाइ छ।

‘सबै विद्यार्थीको घरमा इन्टरनेट छैन। इन्टरनेट भए पनि मोबाइल, कम्प्युटर नभएकाले फोन गरेर भए पनि पढाउने शिक्षक निकै थियौं,’ उनले भने।

अनलाइनमा भन्दा विद्यार्थीलाई प्रत्यक्ष भेटेर पढाउँदाको मजै बेग्लै हुने नेपाली पढाउने शिक्षिका दीपा ढुंगानाले बताइन्।

‘तीन दिन भयो स्कुल आउन थालेको। मास्क, सेनिटाइजरसहित विद्यार्थी स्कुल आउने गरेका छन्,’ उनी भन्छिन्, ‘अनि सुरक्षित भएर कक्षा सञ्चालन गर्छाैं।’

अनलाइन कक्षामा सबै विद्यार्थीलाई सहभागी गराउन मुस्किल भएको उनको भनाइ छ। सुरक्षित भएर कक्षामा प्रत्यक्ष साक्षात्कार गरेर पढाउन पाउँदा विद्यार्थीलाई सजिलै बुझाउन सकिन ढुंगानाले सनाइन्।

पवन बराइलीले नागरिकमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्