सिमकोट । पाँचौ संविधान दिवस हुम्लामा नेपाल विद्यार्थी संघ र युवा संघ नेपालले छुट्टा–छुट्टै रुपमा दीपावली गरेर मनाएका छन् । जिल्ला सरकारी तवर राजनीति दलहरुले नमनाएको अवस्थामा पार्टीका भातृ संगठनहरुले संविधान दिवस मनाएका हुन ।

नेविसंघले सिमकोट स्थित काली चोकमा दीपावली गरेर संविधान दिवस मनाएको थियो भने युवा संघले लोकतन्त्र चोकमा मनाएको थियो । अन्य कार्यक्रम नगरिए पनि लिम्पियाधुरा सहितको नेपालको नक्सा र राष्ट्रिय झण्डाको आकृति सडक मै कोरेर मैन बत्ती बालेर दुबै संगठनले दिपावली गरि मनाए ।

नेविसंघको कार्यक्रममा काँग्रेस सचिव मोहन विक्रम सिंहको उपस्थिती थियो । नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष धर्म जोशीले निकै संघर्ष गरेर नेपाली जनताको अभिमत प्राप्त संविधान सभाले निर्माण गरेको संबिधान घोषणा भएको दिनलाई नेविसंघले सदैव उल्लासका साथ मनाउने बताए ।

नेपालको संविधानले धेरै कुराको ग्यारेन्टी गरे पनि यसको कार्यान्वय पक्ष कमजोर रहेको दुख व्यक्त गरेका जोशीले तीन तह सरकारकाबिच समन्वय हुन नसक्नु सबै भन्दा कमजोरी रहेको बताए । यता, युवा संघले मनाएको दीपावली कार्यक्रममा कर्णाली प्रदेशका कानून मन्त्री नरेश भण्डारी, संघीय सासद छक्क बहादुर लामा, नेकपाका केन्द्रीय सदस्य बिजय भण्डारी, जिल्ला समन्वय समितिका प्रमुख दान बहादुर रावत लगाएतको सहभागिता रहेको थियो ।

ठूलो बलिदानबाट प्राप्त भएको संविधानलाई जिल्लामा सरकारी तथा राजनीतिक दलका तर्फबाट कुनै औपचारिक तथा अनौपचारिक कार्यक्रम नमनाईनु दुखद पक्ष भएको भन्नेको पनि कमी थिए । यसका लागि लडेका दलहरुले कुनै कार्यक्रम गर्न पनि आवश्यक ठानेनन् ।

प्रतिकृया दिनुहोस्