काठमाडौँ । वाग्मती प्रदेशका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई अनलाइबाट पुन: ताजकी तालिम दिइएको छ । कोरोना भाइरसले गर्दा भौतिक उपस्थिति हुन नसक्ने भएपछि यसरी पहिलो पटक अनलाइन तालिम सञ्चालन गरिएको जनाइएको छ । प्रदेश सरकारअन्तर्गत शिक्षा तालिम केन्द्र धुलिखेलले तालिमको आयोजना गरेको हो ।

केन्द्र प्रमुख डा. तोयनाथ खनालका अनुसार तालिममा २ सय ५० जनाभन्दा बढी शिक्षक सहभागी छन् । ‘१३ वटै जिल्लाका माध्यमिक, आधारभूत र प्राथमिक तहमा कार्यरत शिक्षक सहभागी छन्,’ खनालले भने, ‘यो पहिलो कार्यक्रम हो । यसपछि क्रमश: सबै शिक्षकलाई अनलाइनमैत्री तुल्याएर तालिम दिइने छ ।’

सहभागी शिक्षकलाई १० समूहमा विभाजन गरिएका छन् । एउटा समूहमा २५ जना रहने जनाइएको छ । पाँच दिने तालिममा माध्यमिक तहमा अंग्रेजी, गणित, विज्ञान, सामाजिक र नेपाली विषयको तालिम दिइने छ । आधारभूत तह कक्षा ६ देखि ८ कक्षाका गणित, नेपाली र सामाजिक विषयको तालिम दिइने जनाइएको छ ।

वाग्मती प्रदेशमा ६ हजार ९ सय सामुदायिक विद्यालय छन् । त्यसमा पढ्ने विद्यार्थी संख्या ९ लाख ३८ हजार र पढाउने शिक्षक ३० हजार ७ सय ४६ जना छन् । कोभिड–१९ फैलिएपछि यो वर्षको शैक्षिक सत्रमा देशभरिका विद्यालय खुलेका छैनन् । सहरी क्षेत्रमा शिक्षकले सीमित विद्यार्थीलाई अनलाइन पठनपाठन गरेका छन् । ग्रामीण तथा पहाडी भेगमा अनलाइन जोडिन नसकेको जनाइएको छ । परिस्थितअनुकुल विद्यार्थी र शिक्षकलाई वैकल्पिक ढंगले अघि बढ्नु पर्ने सामाजिक विकास मन्त्रालयका सचिव दीपक काफ्लेले तालिम उद्घाटनको क्रममा बताए ।

गणेश राईले कान्तिपुरमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्