सिमकोट । कोरोना कहरले विद्यालयमा पठन–पाठन बन्द भएपछि सिकाइ निरन्तरताका लागि हुम्लाका सरोकारवाला सक्रिय बन्न थालेका छन् । सरोकारवालाहरुले यसै विषयमा स्थानीय सरकारसँग छलफल र अन्तक्र्रिया गर्न शुरु गरेका हुन् । यसै सन्दर्भमा सरोकारवालाहरुले जिल्लाको नाम्खा गाउँपालिकासँग वैकल्पिक सिकाइ सहजिकरणका लागि छलफल कार्यक्रम सम्पन्न गरेका छन् ।

विद्यालय बन्द हुँदापनि बालबालिकाको सिकाइ निरन्तरताका लागि गाउँपालिकाले कुनै वैकल्पिक उपायका बारेमा प्रयास नगरेपछि नाम्खा गाउँपालिका शिक्षा सन्जालको समन्वय र आधार विकास हुम्लाको आयोजनामा वृहत छलफल भएको हो ।

छलफलले हाल विद्यालय बन्द रहेको अवस्थामा वैकल्पिक शिक्षण सिकाइलाई सञ्चालनमा ल्याउन सुझाव सहित कार्ययोजना निर्माण गरी कार्यन्वयानमा ल्याउन गाउँपालिका शिक्षा समिति समक्ष पेश गर्ने निर्णय गरेको आधार विकासका शिक्षा अधिकृत कन्जोक लामाले बताए ।

सञ्चालित बैकल्पिक प्रणालीबाट विद्यार्थी सिकाई सहजीकरण सम्बन्धि छलफल कार्यक्रम पोताला होटलमा सम्पन्नभएको हो । उक्त छलफल कार्यक्रममा नाम्खा गाउँपालिका अन्तरगत १० जना प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

यस कार्यक्रमलाई नाम्खा गाउँपालिका शिक्षा प्रमुख खेमराज शाही र आधार विकासका अधिकृत कन्जोक लामाले सहजीकरण गरेका थिए ।

प्रतिकृया दिनुहोस्