राम्रा प्रधानाध्यापक बन्ने कि बनाउने ?

एजुकेशन पाटी

Byएजुकेशन पाटी

२१ जेष्ठ २०७७, बुधबार

राम्रा प्रधानाध्यापक बन्ने कि बनाउने ? यो प्रश्न अब ज्वलन्त हुनेछ । किनकी, अब यो जिम्मेवारीमा रहेका व्यक्ति आफ्नो विवेकले मात्र नभई कानुनतः योग्य र सक्षम बन्न अनिवार्य हुनेछ । प्रस्तावित शिक्षा नियमावली अनुसार अब खुला प्रतिस्पर्धाका आधारमा योग्यता पुगेको उम्मेदवारले गरेको प्रस्तावलाई हेरेर प्रधानाध्यापक नियुक्त हुनेछन् । उनीसँग छुट्टै सम्झौता गरिनेछ । तोकिएको समयमा नतिजामा सुधार देखिए सम्झौताले निरन्तरता पाउने र असफल भए उनीहरुलाई बर्खास्त गर्ने तयारी शिक्षा मन्त्रालयले गरेको छ । काम नगरेपनि लामो समय प्रधानाध्यापक पद ओगटेर बस्ने परिपाटीको यो प्रावधानले अन्त्य गर्ने मन्त्रालयको विश्वास छ ।

‘सक्षम प्रधानाध्यापक’ बनाउन भन्दै सरकारले विद्यालयहरुमा खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक छनोट गर्ने र सम्झौताअनुरूप नतिजा दिन नसके हटाउने व्यवस्था गर्न लागेको छ । त्यसका लागि सरकारले विद्यालयहरुमा प्रधानाध्यापकहरुको लागि छुट्टै पद (दरबन्दी) को व्यवस्था गर्ने भएको छ ।

यस अघि शिक्षकहरुले नै प्रधानाध्यापकहरुको जिम्मेवारी निर्वाह गर्दै आएका थिए । विद्यालयमा भएकामध्ये वरिष्ठ शिक्षक प्रधानाध्यापक हुने व्यवस्था भएपनि राजनीतिक दबाब र प्रभावमा स्वार्थका आधारमा कुनैपनि शिक्षक प्रधानाध्यापक बन्ने स्थिति थियो । अब सरकारले प्रधानाध्यापकका लागि पदसँगै विभिन्न आवश्यक मापदण्डसमेत तयार पारेर प्रधानाध्यापक छनौट गर्ने भएको छ ।

अब खुला प्रतिस्पर्धाका आधारमा योग्यता पुगेको उम्मेदवारले गरेको प्रस्तावलाई हेरेर प्रधानाध्यापक नियुक्त हुनेछन् । उनीसँग छुट्टै सम्झौता गरिनेछ । तोकिएको समयमा नतिजामा सुधार देखिए सम्झौताले निरन्तरता पाउने र असफल भए उनीहरुलाई बर्खास्त गर्ने तयारी शिक्षा मन्त्रालयले गरेको छ । यसले काम नगरेपनि लामो समय प्रधानाध्यापक पद ओगटेर बस्ने परिपाटीको अन्त्य हुने मन्त्रालयको विश्वास छ ।

अहिले प्रधानाध्यापक नियुक्तिमै विवाद रहेको साथै पर्याप्त अधिकार नहुँदा शिक्षकहरुसँग प्रशासनिक व्यवहार गर्न नसक्ने र शैक्षिक गुणस्तर सुधारमा ध्यान दिन नसकेको निष्कर्ष निकाल्दै मन्त्रालयले शैक्षिक गुणस्तर सुधार गर्न सम्झौतामा प्रधानाध्यापक नियुक्त गर्ने, मावि तहमा विषयगत शिक्षक थप्ने, शिक्षकलाई नियमित बनाउने र क्षमता विकास गर्ने तयारी गरेको हो । यस अघि प्रअ नियुक्तिमा विद्यालय व्यवस्थापन समितिलाई दिइएको अधिकार कटौती गरी जिल्ला शिक्षा कार्यालयलाई सुम्पिने शिक्षा मन्त्रालयले तयारी गरेको हो ।

तर, मन्त्रालयले पूर्ण तयारीबिनै प्रधानाध्यापकका लागि नयाँ व्यवस्था ल्याउन लागेको शिक्षाविद् प्रा.डा. महेशनाथ पराजुली बताउँछन् । ‘सैद्धान्तिक रुपले सही विषय भएपनि व्यवहारमा कार्यान्वयन गर्न तयारी पुगेको छैन,’ उनले भने । प्रअलाई अधिकार दिएर जिम्मेवार नबनाएसम्म विद्यालयमा सुधार हुन सक्दैन ।

कार्यान्वयनमा चुनौती
शिक्षा मन्त्रालयले विद्यालयमा प्रधानाध्यापकहरुको लागि छुट्टै दरबन्दीको व्यवस्था गर्ने तयारी गरेपनि अर्थ मन्त्रालयले भने यसमा असहमति जनाएको छ । शिक्षा मन्त्रालयले संशोधनका लागि तयार पारिएको नियमावलीमा प्रधानाध्यापकका लागि नयाँ दरबन्दी सिर्जना गर्ने व्यवस्था गर्दै सहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको थियो । संशोधित शिक्षा ऐनबमोजिम नियमावलीमा गरिएको नयाँ व्यवस्था अनुसार प्रधानाध्यापकहरुको व्यवस्थापनका लागि आवश्यक बजेट अनुमान गर्दै शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा लागत अनुमान पठाएको थियो । तर, त्यसमा विमति राख्दै अर्थ मन्त्रालयले प्रधानाध्यापकका बारेमा नयाँ दरबन्दी खोल्नुभन्दा पनि उपलब्ध दरबन्दीबाटै व्यवस्थापन गर्न सुझाव दिँदै नियमावलीमा सहमति दिएको अवस्था छ ।

यसबाट एउटा स्पष्ट के भएको छ भने तत्काल कोही पनि योग्य नेपाली नागरिकले खुला प्रतिस्पर्धा गरी प्रधानाध्यापक बन्ने बाटो भने खुल्ने अवस्था छैन । अर्थ मन्त्रालयले बजेट नदिने भएपछि शिक्षा मन्त्रालयको तयारी प्रभावित बन्ने देखिएको छ । तर, मन्त्रालयले कुनैपनि हालतमा यो गरेरै छाड्ने बताउँदै आएको छ ।

मन्त्रालयका प्रवक्ता डा. हरि लम्साल प्रअको दरबन्दी सिर्जना गरेरै छाड्ने बताउँछन् । सबै विद्यालयमा अहिले सम्भव नभएपनि शुरुमा माध्यमिक विद्यालयहरुमा मात्रै भएपनि प्रअको दरबन्दी सिर्जना गर्ने उनको भनाइ छ । ‘बिस्तारै तल्लो तहमा पनि लैजान्छौं । तर हाल मावि तहमा मात्रै भएपनि प्रधानाध्यापकका लागि नयाँ दरबन्दी सिर्जना हुन्छ,’ लम्सालले भने । ठूलो विद्यालयमा जिम्मेवारी तोक्न र प्रधानाध्यापकहरुलाई जवाफदेही बनाउन प्रधानाध्यापकहरुका लागि दरबन्दी सिर्जना गरेर जान खोजिएको उनले जानकारी दिए । ‘अब शिक्षक प्रधानाध्यापक हुन पाउँदैनन् । प्रधानाध्यापक नै नियुक्त गरिन्छ,’ लम्सालले भने ।

प्रस्तावित नियमावलीमा के छ ?
संशोधनका लागि तयार शिक्षा नियमावलीको मस्यौदाको परिच्छेद १७ मा प्रधानाध्यापक र शिक्षकको नियुक्ति तथा काम, कर्तव्य र अधिकारको व्यवस्था गरिएको छ । नियम ९३ मा गरिएको प्रधानाध्यापकसम्बन्धी व्यवस्थाको उपनियम–१ मा ‘विद्यालयको प्राज्ञिक तथा प्रशासकीय प्रमुखको रूपमा काम गर्न प्रत्येक विद्यालयमा एकजना प्रधानाध्यापक रहनेछ । प्रत्येक विद्यालयमा मन्त्रालयले तोकेबमोजिम प्रधानाध्यापकको पद रहनेछ,’ भन्ने उल्लेख छ । प्रधानाध्यापकको नियुक्ति आधारभूत तहको विद्यालय भए कम्तिमा शिक्षाशास्त्रमा स्नातक तह उत्तीर्ण गरेको तथा माध्यमिक तहको विद्यालय भए घटिमा शिक्षाशास्त्रमा स्नातकोत्तर तह पास गरेको हुनुपर्ने नियमावलीमा व्यवस्था गरिएको छ । प्रधानाध्यापकको नियुक्तिको लागि कम्तिमा ५ वर्षको शिक्षण अनुभव भएकाहरुमध्ये आयोगबाट प्रतिस्पर्धा गराई तयार गरेको जिल्लागत सूचीबाट विद्यालय व्यवस्थापन समितिको सिफारिसमा परेको व्यक्तिलाई पाँच वर्षको लागि जिल्ला शिक्षा अधिकारीले नियुक्ति गर्नसक्ने उल्लेख छ । यसरी नियुक्ति गर्नुपूर्व विद्यालय विकासको प्रस्ताव लिई सोही आधारमा जिल्ला शिक्षा अधिकारीसँग कार्यसम्पादन सम्झौता गर्नुपर्ने नियमावलीको मस्यौदामा स्पष्ट व्यवस्था गरिएको छ ।

यस अघि व्यवस्थापन समितिले सामुदायिक विद्यालयमा रिक्त प्रधानाध्यापक पदमा नियुक्तिको लागि प्राथमिक तहको प्रधानाध्यापकको हकमा शिक्षाशास्त्र विषयमा कम्तिमा प्रवीणता प्रमाणपत्र तह वा सो सरह, निम्नमाध्यमिक तहको प्रधानाध्यापकको हकमा शिक्षाशास्त्र विषयमा कम्तिमा स्नातक तह वा सो सरह, माध्यमिक तहको प्रधानाध्यापकको हकमा शिक्षाशास्त्र विषयमा कम्तिमा स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण गरी सम्बन्धित विद्यालयको सम्बन्धित तहमा कार्यरत स्थायी शिक्षकहरुमध्येबाट दरखास्त आह्वान गरी विव्यसअन्तर्गतको शिक्षक छनौट समितिले प्रधानाध्यापक छनौट गर्ने व्यवस्था थियो ।

पहिले शिक्षाशास्त्र विषयमा स्नातक वा सो सरहको परीक्षा उत्तीर्ण गरी माध्यमिक तहमा दश वर्ष स्थायी सेवा गरेको शिक्षक मात्रै माध्यमिक तहको प्रधानाध्यापकको पदमा उम्मेदवार हुन पाउने व्यवस्था भएपनि स्थायी शिक्षकको अभावमा धेरै विद्यालयहरुमा प्राथमिक तहै शिक्षकहरु प्रधानाध्यापक बन्दै आएका छन् ।

प्रधानाध्यापक आफूले गरेको कार्यदक्षता सम्पादन करारबमोजिम काम नगरेको वा निजको कार्य सन्तोषजनक नभएको वा निजको आचरण खराब रहेको कुरा सम्बन्धित निरीक्षकले दिएको प्रतिवेदन र व्यवस्थापन समितिको सिफारिसबाट देखिएमा जिल्ला शिक्षा अधिकारीले निजलाई प्रधानाध्यापकको पदबाट जहिलेसुकै हटाउन सक्ने नियमावलीमा व्यवस्था गरिएको छ । यसअघि सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु विव्यसले हटाउन सक्ने व्यवस्था भएपनि नियमावलीमा जिशिकाले मात्रै हटाउन सक्ने व्यवस्था गरिएको हो । प्रधानाध्यापकले अब निजको शुरु तलब स्केलको दश प्रतिशतले हुन आउने रकम मासिक भत्ता पाउनेछन् । यस अघि मावि तहकाले पाँच सय रूपैयाँ, निमाविकाले तीन सय रूपैयाँ र प्रावि तहकाले मासिक दुई सय रूपैयाँ मासिक भत्ता पाउँदै आएका थिए ।

प्रधानाध्यापक नाम मात्रैका
हाल विद्यालयमा प्रधानाध्यापकहरुको भूमिका नाम मात्रै रहेको थियो । सिन्धु पुरानागाउँ मावि सिन्धुकोट सिन्धुपाल्चोका प्रअ कुमारप्रसाद खतिवडा प्रअहरुलाई नाम मात्रको जिम्मेवारी दिइएको बताउँछन् । ‘प्रअले शिक्षकसँग चर्को स्वरमा बोल्नसमेत सक्दैनन् । कार्बाही गर्न त परै जावस्,’ उनले भने । निजी विद्यालयमा प्रधानाध्यापकले शिक्षकलाई तुरुन्त कार्बाही गर्न सक्ने, निस्कासन गर्न सक्ने भएकाले नै निजी विद्यालयको सिकाइस्तर सरकारीको भन्दापनि उत्कृष्ट रहेको खतिवडाको भनाइ छ । ज्ञानोदय मावि बाफलका पूर्व प्रधानाध्यापक धनञ्जय शर्मा प्रधानाध्यापकलाई राज्यले विश्वास नगरेका कारण समस्या आएको बताउँछन् । ‘प्रधानाध्यापकलाई सीमा र बन्देजहरु लगाइयो र सुधार गर पनि भनियो । प्रअलाई न एउटा शिक्षकलाई सरुवा, घटुवा, बढुवा गर्ने अधिकार छ, न त नयाँ ढङ्गमा काम गर्ने स्वतन्त्रता नै छ,’ उनले भने, ‘सामुदायिक विद्यालय भनेपनि नीति केन्द्रिकृत हुँदा प्रअको भूमिका मूर्ति जस्तो मात्रै भएको छ ।’

शिक्षाविद् प्रा.डा. महेशनाथ पराजुली प्रधानाध्यापक नाम मात्रैको नबनाएर कामको बनाउनुपर्ने र त्यसका लागि अधिकार र जिम्मेवारी थप्दै अनुगमन तथा दण्ड/सजायको व्यवस्था गर्नुपर्ने बताउँछन् । विद्यालयमा एकजना प्रधानाध्यापक चाहिन्छ भनेर मात्रै होइन, प्रधानाध्यापकले विद्यालय बनाउने हो भनेर नीति र कानून आउनुपर्ने उनको भनाइ छ । राम्रा विद्यालय राम्रा प्रधानाध्यापक भएकाले बनेका भन्दै पराजुलीले प्रअका लागि भिन्नै दरबन्दी मात्रै होइन, छुट्टै तालिम र अधिकार पनि दिनुपर्ने बताउँछन् ।

प्रधानाध्यापक कस्तो हुनुपर्ला ?
भारतीय एक अनलाइनमा एक शिक्षकले ‘प्रधानाध्यापक कस्तो हुनुपर्छ’ भनेर एउटा लेख लेखेका छन् । जसमा प्रधानाध्यापकले समयको परिपालन गर्नुपर्ने, समयमा विद्यालय जानुपर्ने, शुरुमा विद्यालयको सरसफाइ र अवस्थाको निरीक्षण गर्नुपर्ने हुन्छ । त्यस्तै, कक्षाकोठा, डेस्क–बेञ्चको अवस्था र सरसफाइको निरीक्षण गर्नुपर्ने, विद्यालयम यति सफा राख्न प्रयत्न गर्ने कि कुनै लामखुट्टे अथवा माखा नभन्कियोस् । हरेक दिन विद्यालयको गेटमा बसेर हरेक शिक्षक विद्यार्थी विद्यालय पोशाकमा सफा र सुन्दर भएर आए/नआएको हेर्ने, नङ्ग काटेका छन् कि छैनन्, दाँत माझेका छन् कि छैनन्, कपाल लामो पो छ कि ? यदि कोही विद्यार्थीले यसो नगरेको भए प्रेमपूर्वक सम्झाउने, कोही विद्यार्थीलाई पनि नपिट्ने, कहिल्यै नरिसाउने, सहिष्णु हुनुपर्ने ती शिक्षक लेख्छन् ।

प्रधानाध्यापक सहकर्मी शिक्षक र विद्यार्थी दुबैलाई प्रेम गर्ने, विद्यार्थीमैत्री डेस्क–बेञ्च, शैक्षिक सामाग्रीयुक्त विज्ञान प्रयोगशाला, नयाँ–नयाँ पुस्तकयुक्त पुस्तकालय, अत्याधुनिक विज्ञान प्रयोगशालाको व्यवस्था गर्नसक्ने व्यक्तित्व हुनुपर्नेमा उनको जोड छ । गरीब जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने, उनीहरुलाई निःशुल्क पाठ्यपुस्तक र पोशाक वितरण गर्ने तथा सहयोगी संस्थाहरुसँग समन्वय गर्न सक्ने, शारीरिक शिक्षा अनिवार्य गर्दै उनीहरुको शारीरिक विकासमा सहयोग गर्ने, विभिन्न खेलकुद कार्यक्रम आयोजना गर्ने जस्ता कामको नेतृत्व प्रधानाध्यापकले गर्नुपर्ने हुन्छ ।

हरेक कक्षामा प्रवेश गर्नुभन्दा पहिले सिकाउने विषयको तयारी गर्न शिक्षकलाई तयार पार्ने, विभिन्न पुस्तक र इन्टरनेटमा खोजेर सिकाउन प्रेरित गर्ने, अभिभावकहरुसँग निरन्तर सम्पर्क राख्ने, नतिजाका आधारमा सिकाइ योजना बनाउने, विद्यार्थीलाई खेल, कथा वा अन्य रमाइलो तरिकाबाट सिक्ने वातावरण सिर्जना गर्ने ल्याकत हुनुपर्ने ती शिक्षकले लेखेका छन् । हरेक दिन शिक्षकहरुसँग गर्ने क्रियाकलापको समीक्षा बैठक गर्ने, कक्षाहरुको अवलोकन गर्ने र त्यसबारे छलफल चलाउने प्रधानाध्यापक हुनुपर्नेमा उनले जोड दिएका छन् ।

ज्ञानोदय मावि बाफलका पूर्व प्रधानाध्यापक धनञ्जय शर्मा प्रधानाध्यापक विद्यालयको शैक्षिक÷भौतिक सुधारको भिजनसहित योजना बनाउन सक्ने, नेतृत्व क्षमता भएको हुनुपर्ने बताउँछन् । शिक्षक र समुदायबाट अधिकतम सहयोग र परिचालन, गैरसरकारी तथा सहयोगी निकायसँग सम्बन्ध विकास, द्वन्द्व व्यवस्थापन गर्न सक्ने हुनुपर्ने उनको मत छ । त्यस्तै, आफ्नो विषयमा कमाण्ड र अन्य विषयहरुको धेरथोर ज्ञान रहेको, विद्यालयमै आफ्नो भविष्य देख्न र खोज्न सक्ने, जागिरे प्रवृत्तिबाट मुक्त, विद्यालयबाटै सामाजिक प्रतिष्ठा हासिल गर्ने लक्ष्य भएको प्रधानाध्यापक हुनुपर्ने शर्मा बताउँछन् ।

विद्यालयप्रति स्वामित्व भएन
सरकारको केन्द्रिकृत नीतिका अनुसार विद्यालयप्रति समुदाय, प्रअ र शिक्षकहरुको स्वामित्व बढ्न सकेको पाइदैन । विद्यालयमा समुदायको नाम मात्रको सहभागिता र प्रअ एवं शिक्षकहरुमा जागिरे मानसिकताका कारण विद्यालय समुदायको भने पनि हुन सकेको देखिँदैन । आफ्नो लगानीबिना समुदायले विद्यालयको स्वामित्व लिँदैन र लिएको पनि पाइदैन । जुन विद्यालयमा समुदायको लगानी बढी छ, त्यहीँ राम्रा बनेको पाइन्छ । विद्यालय भवन बनाउने, शिक्षकलाई नियुक्ति, दण्ड र सजाय, तलब सुविधा, अनुदान दिने, विद्यार्थी कम भए विद्यालय मर्ज गरिदिन्छु भन्ने, सबै नीति र नियम बनाइदिने काम शिक्षा मन्त्रालय, शिक्षा विभाग हुँदै जिल्ला शिक्षा कार्यालय गर्ने गर्छ । तर, भन्ने बेला मात्रै ‘सामुदायिक विद्यालय’ भनेर विद्यालय सामुदायिक नहुने ज्ञानोदय माविका पूर्व प्रधानाध्यापक शर्मा बताउँछन् ।

‘समुदाय, प्रधानाध्यापक र शिक्षकले विद्यालयप्रति स्वामित्व लिएनन् । यही विद्यालयलाई बनाएर प्रतिष्ठा कमाउने हो । हाम्रो सबैथोक विद्यालय हो भन्ने मानसिकता बनाउन आवश्यक छ । त्यो वातावरण बनाउनुप¥यो,’ शर्माले भने ।

राम्रा प्रधानाध्यापक कसरी राम्रा ?
भर्खरै उत्कृष्ट काम गरेको भन्दै जवाफदेहिता र पारदर्शिताको क्षेत्रमा कार्यरतसंस्था एकाउन्टिबिलिटी ल्याबले प्रदान गर्ने ‘इन्ट्याग्रीटी आइडल २०१६’ का विजेता सिद्धबाबा मावि तम्घास गुल्मीका प्रधानाध्यापक डोरविक्रम श्रीष आफूले नयाँ केही नगरेको मात्रै खुरु–खुरु आफ्नो काम मात्रै गरेको बताउँछन् । ‘प्रधानाध्यापकले बढी केही गर्न पर्दैन, मात्रै आफ्नो जिम्मेवारी सही तरिकाले पूरा गरे विद्यालय सुधार्न सकिने उनको भनाइ छ ।

प्रध्यानाध्यापकको पदलाई कसरी अझै बढी जिम्मेवार, बलियो, जवाफदेही बनाउन सकिन्छ भनेर लाग्नु राम्रै भएपनि मुख्य कुरा आफ्नो कर्तव्य पूरा गर्नु नै हो,’ उनले भने ।

‘म त्यस्तो अचम्म केही गर्दिनँ । हरेक दिन समयमा विद्यालय पुगी पहिले शिक्षक साथीहरुसँग सानो छलफल गर्छौं । दिनभरी के गर्ने ? आज नयाँ के गर्ने ? भनेर त्यसको साझँ फेरि रिभ्यु गर्छौं । हरेक दिन केही कक्षाहरुमा पढाउने र केहीको अवलोकन गर्ने गर्छु । विभिन्न विभाग छुट्याएर सहायक प्रअलाई जिम्मेवारी दिएको छु । त्यसको निरीक्षण र फिडब्याक लिन्छु । विद्यार्थीहरुसँग हरेक दिन अन्तक्र्रिया गर्छु । यति गर्दा नै विद्यालय राम्रो बनेको छ,’ उनले भने,‘ राम्रा प्रअ बनाउने होइन, बन्ने हो । मिहिनेत गर्ने हो ।’

नवीन औद्योगिक कदर बहादुर रीता मावि देवीनगर रुपन्देहीका प्रधानाध्यापक प्रेमबहादुर बस्नेत प्रधानाध्यापकले लगनशील, जिम्मेवार, कर्तव्यनिष्ट बन्दै योजनाबद्ध काम गरे विद्यालय सुधार हुने बताउँछन् । ‘पहिले प्रधानाध्यापक सुध्रनुप¥यो अनि शिक्षक, विद्यार्थी र अभिभावक सुध्रन्छन् । यी सबै सुध्रिए शिक्षा सुध्रन्छ,’ प्रअ बस्नेतले भने, ‘प्रधानाध्यापकलाई कुशल व्यवस्थापन गर्ने सरकारको योजना स्वागतयोग्य नै छ ।

कमजोर विद्यार्थी र त्यसको कारण पत्ता लगाएर अतिरिक्त मिहिनेत गर्ने, समुदाय र सहयोगी निकायसँग सहयोग र समन्वय गरी अगाडि बढाउने, पारदर्शी व्यवस्थापन तथा कुशल नेतृत्व क्षमतासँगै निरन्तरको परीक्षासँगै सामुहिक सहकार्य र प्रयासले नै विद्यालय सुधार गर्न सम्भव भएको उनी बताउँछन् । ‘राम्रा प्रधानाध्यापक खोजेर बनाउने विषय मात्रै नभई बन्ने विषय हो । बन्ने प्रतिबद्ध मान्छेलाई जिम्मेवारी दिनु पर्छ,’ उनले भने ।

२०७३ माघ १३

प्रतिकृया दिनुहोस्