रसुवा । रसुवाको गोसाइँकुण्ड गाउँपालिका भित्रका विद्यालय असोज १५ गतेदेखि सञ्चालन हुने भएको छ। यसका लागि गाउँपालिका भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयले तयारी गरेका छन्।

शिक्षा शाखा प्रमुख धु्रवप्रसाद लामिछानेका अनुसार स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय खोल्न लागिएको हो। कोभिड–१९ को संक्रमणबाट बँच्नका लागि गाउँपालिकाले गाउँपालिका भित्र रहेका संस्थागत तथा सामुदायिक विद्यालयलाई फेस सिल्ड उपलब्ध गराउन सुरु गरेको छ।

गाउँपालिकाले मंगलबार वडा नम्बर ६ का सम्पूर्ण विद्यालयलाई फेस सिल्ड उपलब्ध गराएकोमा बुधबार बाँकी पाँचवटै वडाका विद्यालयलाई उपलब्ध गराउने जनाएको छ। बिहीबारदेखि विद्यालय सञ्चालनमा आउन लागेको र विद्यालयहरूले फेस सिल्ड किन्दा एकरूपता नआउने भएकाले गाउँपालिकाले नै उपलब्ध गराएको हो।

सामुदायिक विद्यालयलाई फेस सिल्डसहित सेनिटाइजर, साबुन, थर्मनल गन, बाल्टिन लगायतका सामग्री उपलब्ध गराएको छ भने संस्थागत विद्यालयले फेस सिल्ड बाहेकका सामग्री आफैंले खरिद गरेका छन्। विद्यालयले विद्यार्थी, शिक्षक, विद्यालयका कर्मचारीलाई फेस सिल्ड उपलब्ध गराउने छ।

सरस्वती आधारभूत विद्यालयका स्थानीय शिक्षक लानाम घलेले विद्यालय खोल्नुको विकल्प नभएको बताए। ‘अहिले विद्यालय सञ्चालन ल्याउनका लागि आवश्यक तयारी गरिएको छ’, उनले भने, ‘समुदायमा त्रास सिर्जना हुन नदिन बाहिरको शिक्षकको आरटिपिसिआर गर्ने काम भएको छ।’ स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने र विद्यालय नजिकैका बालबालिकलाई मात्र विद्यालय ल्याएमा संक्रमणको जोखिम कम हुने उनको भनाइ छ।

नमुना एभरग्रिन बोर्डिङ स्कुलका प्रिन्सिपल सुदन मरासेनीले गाउँपालिकाले गरेको निर्णय स्वागतयोग्य रहेको बताए। यो विद्यालयले गाउँपालिकासँग अनुमति लिएर यसअघि पनि केही दिन विद्यालय सञ्चालन गरेको थियो।

गाउँपालिकाभित्र सञ्चालनमा रहेका सम्पूर्ण विद्यालय असोज १५ गतेबाट मात्रै खोल्ने निर्णय भएपछि विद्यालयले अध्यापन कार्य रोकेको थियो। विद्यालयमा विद्यार्थी आउने क्रम बढ्दै गएका थिए।

त्यसैगरी जिल्लाको नौकुण्ड गाउँपालिकाभित्रका विद्यालय खुलेका छन्। गाउँपालिकामा एउटा निजीसहित ३० वटा विद्यालय सञ्चालनमा छ। गाउँपालिकाका अनुसार जिल्ला बाहिर रहेका शिक्षक आइसकेका छन्। गाउँपालिका भित्र रहेका विद्यालयमा सामाजिक दूरी कायम गरेर वैकिल्पिक शिक्षण सञ्चालन भइरहेको उपाध्यक्ष सिर्जना लामाले बताइन्। वैकल्पिक शिक्षण सिकाइ कार्यविधि अनुसार विद्यालय सञ्चालन भएका छन्।

उनका अनुसार बाहिरी जिल्लाबाट आउने शिक्षकको आरटि पिसिआर गरिएको छ। उपाध्यक्ष लामाका अनुसार शिक्षण क्रियाकलाप सञ्चालन गर्दा स्वास्थ्यको मापदण्ड पूर्ण पालना गराइएको छ। माध्यमिक तह सञ्चालन भएका विद्यालयले सिफ्ट बनाएर अध्ययन गराइरहेका छन्। विद्यालयमा विद्यार्थी आउने क्रम दैनिक बढ्दै गएको छ।

हिमनाथ देवकोटाले नागरिकमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्