हेटौंडा । शारीरिक अशक्तता भएका आफ्नै सन्तानलाई सडकमा बेवारिस छाड्ने प्रवृत्ति बढेको छ । आफूलाई जन्म दिएकाहरुबाट नै यस्ता कार्य भएको देखिँदा अभिभावकको मनबाट मानवता हराउँदै गएको यस्ता घटनाले देखाउँछ ।आफ्नै बाबुआमाले आफ्ना शारीरिक अशक्तता भएका सन्तानलाई सडकमा ल्याएर छाडिदिने गरेका छन् ।

हेटौंडा–९ स्थित मानवसेवा आश्रममा त्यस्ता अशक्त बालबालिका आश्रित छन्, जसको अनुहारको भाव हेर्दा प्रश्न उठ्छ–उनीहरुका अभिभावक त्यसो गर्न बाध्य भए वा जबर्जस्ती सडकमा हुत्याइए । मानवसेवा आश्रमकी अभियन्ता उमा भण्डारीले आफ्ना सन्तानको अशक्तताको सरकारी कार्ड बनाउने र त्यसबाट आएको भत्ता (पैसा) बाबुआमाले खर्च गर्ने तर छोराछोरीलाई छाडिदिने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो–आश्रमका अभियन्ताले परिवार पत्ता लगाएर पुनर्मिलन गराउन खोज्दा पनि परिवारले लैजान मानेका छैनन् । उनीहरुलाई पटकपटक पुनर्मिलन गराउन खोज्दा पनि हामी राख्दैनौं भनी अभिभावकले अस्वीकार गरेको उहाँले स्मरण गर्नुभयो ।बाबुआमाले सडकमा वेबारिस छाडेका ७ बालबालिका आश्रममा आश्रित रहेको भण्डारीले बताउनुभयो ।

ती सबै हेटौंडा बजारका सडकमा छाडिएका हुन् । एक बालक त आश्रमअगाडि नै वेबारिस अबस्थामा भेटिए । आश्रमले आश्रय देला भन्ने आशमा अभिभावकले नै त्यसो गरेको हुनसक्ने उहाँको आशंका छ । मकवानपुरगढी गाउँपालिका, हेटौंडा–१८ र ९ नम्बर वडा र चितवनका बाबुआमाले आफ्ना सन्तानलाई अशक्त भएकै कारण वेबारिस छाडेको आश्रमको तथ्यांक छ ।

मानसिक सन्तुलन गुमाएका, बोल्न नसक्ने, हातखुट्टा नभएका बालबालिकालाई बाबुआमाले नै वेबारिस छाडेका हुन् । १ वर्षदेखि परिवारले नै यस्तो गरेको पाइएको भण्डारीको अनुभव छ । बन्दाबन्दीको अवधिमा यस्ता ४ वटा घटना आएको उहाँले बताउनुभयो । बन्दाबन्दीले चरम आर्थिक अभावको प्रभाव पनि यसमा परेको पाइएको छ ।

केही अपवादबाहेक अशक्तका अभिभावकको कमजोर पक्ष यो पनि हो । ग्रामीण र अशिक्षित समाजमा भन्दा सहरी र शिक्षित समाजमा यो समस्या बढ्दो छ । ‘व्यस्त दैनिकी र बालबालिकाले दिने झन्झटबाट मुक्तिका लागि अभिभावक त्यसो गर्न बाध्य भए पनि व्यबहारिक कोणबाट नियाल्दा त्यति उपयुक्त देखिँदैन,’ भण्डारीले भन्नुभयो–सानै उमेरमा बालबालिकालाई सडकमा पु¥याउँदा अभिभावक र बालबालिकाबीच सम्बन्ध कहिल्यै आत्मीय नहुन सक्छ ।

उनीहरुले पारिवारिक स्नेहबाट सदाका लागि टाढिनुपर्ने अबस्था आउन सक्छ ।‘नानीदेखि लागेको बानी’ भनेजस्तै सानैदेखि सिकाइएको व्यबहार ठूलो हुँदा पनि कायम रहने हुन्छ । सानैदेखि असल र राम्रो बानी/व्यबहार नसिकाइँदा उनीहरुमा नकारात्मक प्रभाव पर्ने देखिन्छ ।
अभिभावकले उनीहरुसँग सकारात्मक व्यबहार गर्दा असल भविष्यको आधार निर्माण हुने हुँदा अभिभावकले असल व्यबहारसँगै नैतिक शिक्षा पनि प्रदान गर्नुपर्ने भण्डारीले औंल्याउनुभयो ।

‘उनीहरुलाई यसरी सडकमा छाड्दा उनीहरुमा एक्लोपन अनुभव गर्ने अबस्था सिर्जना गरिदिन सक्छ,’ भण्डारी भन्नुहुन्छ–उनीहरुमा अनाबश्यक र गलत कुराको सोच आउन सक्छ ।हेटौंडा—४ बस्दै आएका बेसहारालाई आश्रमले दाताको सहयोगमा ७ करोड खर्चेर आफ्नै भवन निर्माण गरी उनीहरुलाई फागनु ४ गते हेटांैडा—९ मा सुरक्षित स्थानान्तरण गरेको हो ।

आश्रममा हाल १ सय ६२ जना आश्रित रहेको भण्डारीले बताउनुभयो । तीमध्ये १ सय २ पुरुष र ६२ महिला छन् । कोरोना महामारीका कारण गरिएको बन्दाबन्दीको बेला २ जनालाई पारिवारिक पुनर्मिलन गराइएको थियो ।आश्रममा आश्रय लिएका अधिकांश मानसिक सन्तुलन गुमाएका र घरबारबिहीन छन् । मानवसेवा आश्रमले अधिकांशलाई सडकपेटीमा कष्टकर जीवन बिताइरहेको अबस्थामा उद्धार गरेको हो ।

आश्रममा महिनाको पहिलो साता नसा तथा मानसिक रोग विशेषज्ञद्वारा स्वास्थ्य परीक्षण गर्ने गरिएको छ । आश्रममा २ नर्स छन् । आश्रम २०६९ भदौ १३ गते स्थापना भएको हो । ७ वटै प्रदेशमा १९ वटा स्थानमा आश्रम रहेको र बागमती प्रदेशमा ६ वटा आश्रम छन् ।

रोशन पराजुलीले समाचारपत्रमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्